५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

उठ्नै छाड्यो फोहर

जोरपाटी चोकको फोहोरमा माक्स लगाएर हिँड्दै यात्रु ।   तस्बिरः श्याम राई

मिना डंगोलको जोरपाटी चोकमा कस्मेटिक पसल छ । केही समयअघिसम्म दिनभरजसो पसलमा बस्ने उनी अहिले दैनिक दुई–तीन घन्टा मात्रै पसल खोल्ने गरेकी छन् । व्यक्तिगत वा अन्य कुनै कामले उनले पसल नखोलेकी भने होइनन्, यसको कारण हो– पसलमा छेउमा थुपारिएको फोहर। 

पसल नै नखुलेपछि व्यापार ह्वात्तै घटेको उनी बताउँछिन् । फोहरका कारण अहिले दिनभरि पसलमा बस्न नसक्ने उनले सुनाइन् । ‘गन्हाएर बसिसक्नु हुन्न, सटर अगाडिको फोहर देखेपछि ग्राहक पनि आउँदैनन्,’ उनले भनिन्, ‘असारयता पसल अगाडिको सडक डम्पिङ साइट बनेको छ।’

महाँकालवारीमा कोल्ड स्टोर पसल चलाउँदै आएकी इन्दिरा मिश्रको समस्या पनि उस्तै छ । उनले पसल अगाडि फोहर नउठेपछि पसलमा ताला लगाएको गुनासो गरिन् । ‘पसल अगाडि फोहरको डंगुर छ, खोल्यो भने ग्राहक आउँदैनन्, आफूलाई पनि फोहर गन्हाएर बसिनसक्नु हुन्छ,’ उनले भनिन्, ‘पसल बन्द गरेपछि परिवार चलाउन मुस्किल परेको छ।’ उनले महिनाभरको कमाइले सटरको भाडा समेत तिर्न नसकेको बताइन्।

यो त उदाहरण मात्र हुन्, सडक किनार र चोकमा थुपारिएको  फोहर महिनादिनसम्म नउठ्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । यात्रु नाक थुनेर हिँडडुल गरिरहेका देखिन्छन् । ‘पहिले–पहिले महानगरको गाडि फोहर उठाउन समयमै आउथ्यो, आजकाल महिना दिनमा एकपटक पनि आउँदैन,’ स्थानीय रामप्रसाद खतिवडाले भने, ‘मास्क लगाएर हिँड्दा पनि गन्हाउँछ ।’ उनले फोहर उठाउन नगरपालिका समक्ष हारगुहार गरे पनि जिम्मेवार निकायले नसुनेको गुनासो गरे।

सडक किनार र चोकमा थुपारिएको फोहोर महिना दिनसम्म पनि नउठ्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन्। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले यसको समाधान छिट्टै खोज्ने बताए । ‘हामी छिट्टै वैकल्पिक उपायबाट फोहोर व्यावस्थापन गर्ने योजना थालेका छाँै,’ उनले भने, ‘फोहर नउठ्ने यहाँको मात्रै समस्या होइन, उपत्यकाकै समस्या हो ।’ उनले फोहर फाल्नका लागि वैकल्पिक उपायका खोजिरहेको जानकारी दिए । 
‘सिसडोल फोहरले भरिएको छ, अब केही समयमात्रै त्यहाँ फोहर फाल्न मिल्छ,’ त्यसपछिको विकल्प अझै भेटिएको छैन,’ उनले भने। 

उनका अनुसार जथाभावी फोहर फ्याक्नेलाई निगरानी राख्न नगरपालिकाले सिसी क्यामेरा जडानको अवधारणा अघि सारेको छ । त्यसको लागि २० लाख बजेट पनि छुट्याएको छ । त्यस्तै विश्व सम्पदामा सूचिकृत बौद्ध नाथ स्तुप गेट अगाडि, मध्य बानेश्वर र सेतोपुल क्षेत्रमा पनि फोहोरको डंगुर थुप्रिएको छ । उक्त फोहर उठाउने विषयमा नगरपालिकाले कुनै पहल गरेको देखिन्न।

सिसडोलमा फोहोर राख्ने ठाउँ नभएपछि फोहोरलाई व्यवस्थापन गर्न नसकिएको काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामा जानकारी दिए । उनले भने, ‘फोहोर व्यवस्थापनमा हामी पनि चुकेका छौं, यसबारे महानगरपालिका नै सोचमग्न छ।’ 

 

प्रकाशित: १५ भाद्र २०७५ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App