'शैर के दुनियाँका मुसाफिर ये जिन्दगी फिर कहाँ '
निकै पहिले कतै सुनेको उर्दू पंक्ति टुपलुक्क आइपुग्छ स्मृतिमा। समय सदैव एकनास कहाँ हुन्छ र! जिन्दगी एक छोटो कहानी न हो। सास टुटेपछि सिद्धिन्छ कथा पनि । यतै कतै रहन्छ तेरो, मेरो भन्नु पनि। अनि छाडेर जानुपर्छ जायजेथा।
जिन्दगीको कमाई भन्नु त्यही अनुभव, ज्ञान र सम्झना न हो । जो झाँगिन्छ यात्री बनेर घुमिरहँदा । बेलाबखत यात्राले सम्झनाका तहलाई विस्तारै स्पर्श गरिरहँदा प्रिय बन्दा हेछन विगतका दिनहरू । यसरी घुम्ने क्रममा वैशाख अन्तिम साता बन्दीपुर, हिलेखर्क हुँदै छिम्केश्वरीसम्म यात्रा गर्ने अवसर जुर्याे।
यात्राका योजनाकार थिए, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गीतकार सागर उदास । साथमा थिए कवि तथा गीतकार श्रीराम भट्टराई र यात्रामै आत्मीय बनेका तनहुँका नौजवान जीवन गिरि।
तनहुँ धार्मिक र प्राकृतिक हिसाबले पर्यटन हब बनिसकेको छ। खासमा तनहुँ ब्यासको तपोभूमि हो। धार्मिक ग्रन्थमा पराशर लगायत ऋषिमुनिको तपस्थलका रूपमा वर्णन गरिएको छ तनहुँलाई।
अध्यात्म र प्रकृतिको संगमस्थल रहेछ तनहुँको छिम्केश्वरी । त्यसैले जीवनमा एकपटक दर्शन गर्नै पर्ने पावन भूमि हो छिम्केश्वरी ।
कथा भन्छ– परापूर्व कालमा हालको दमौली बजार ठूलो तलाउ थियो। मालुङ डाँडा सेरोफेरोमा तपस्या गर्थे ऋषि पराशर। उता श्रृग ऋषिको तपस्थल थियो, काहुँ सेरोफेरो। पराशरले शक्ति प्रयोग गरी बादल बोलाएर अन्धकारमय मौसम भएपछि मत्स्य गन्धालाई भोग गरेर जन्मेका हुन्, वेदव्यास । मादी र सेतीको संगमस्थल नजिक व्यासले तपस्या गरेको भुगोल छ।
सुन्दर र कलात्मक देखिने प्राचीन ढुंगा र स–साना गुफाको सौन्दर्यले मोहित तुल्याउँछ सबैलाई । नजिकै देखिने घना जंगलले शोभायमान ती डाँडाबाट आएर स्पर्श गर्ने बतासको आनन्द छुट्टै छ।
एकोहोरो हेरिरहन मन लाग्छ सेती र मादीको संगम स्थलमा उत्पन्न हुने छालको सौन्दर्य। उदासका अनुसार रमाइलो कथा छ सेती र मादीको। अन्नपूर्ण हिमालबाट बग्दै आउने मादी दिदी र सेती बैनीका रूपमा चिनिन्छिन्। कृष्ण जन्माष्टमीमा भेट हुँदा दुवैले तीजमा माइत जाने सल्लाह गरे बमोजिम हिँडेकी हुन रे घरबाट । सेतीलाई सासू मनाउन निकै समय लागेछ । दिदी पुगिसकेकी होलिन् भनेर हतारिदै दमौली पुगुँञ्जेल छोटो बाटो रोज्दै कुना, कन्दरा, पहाड छेडेर अनकन्टारमा हाम फाल्दै दौडेकी हुन रे । यही क्रममा समस्थ पोखरालाई छेडेर आइन्। मादी समयमै घरबाट हिँडिन् र बाटामा सबैसँग बोल्दै, हाँस्दै घरि दाहिने घरि देब्रे फैलिँदै आइन् । पूर्वसल्लाहबमोजिम दुवैको भेट भयो दमौलीमा।
दमौलीबाट अब लागौं बन्दीपुरतिर । त्यहाँको होमस्टे र बासिन्दाको अतिथि सत्कार शैली लोभलाग्दो छ । वैशाख २८ गते साँझ बन्दीपुरमा हामीसँगै थिए, नौजवान जीवन । जो निकै रसिक र प्रेमिल देखिए । बुझ्दै जाँदा थाहा भयो, विछोडका घाउहरू बोकेर पनि मस्कुराउने कला सिकेकारहेछन् । हँसिलो अनुहारका धनी गिरि बजाइरहेका हुन्थे पुराना सेन्टिमेन्टल गीत ।
राती ८ बजेतिर बन्दीपुर पुग्दा बाटैमा भेटिएकी हुन्, मोहरिया सामुदायिक होमस्टेकी कोषाध्यक्ष सीता कपाली र सदस्य हरिमाया सुनार । होमस्टे खुलेको वर्ष दिन मात्र भएको रहेछ । त्यहाँका बोलीचाली र अतिथि सत्कार देख्दा लाग्थ्यो– होमस्टे खुलेको वर्षौ भइसक्यो । सजिलैसँग अतिथिको मन जित्ने कला थियो उनीहरूसँग ।
बन्दीपुरको हावापानी र रमणीयता नियाल्दा लाग्छ स्वर्गको एक टुक्रा यहीँ रहेछ, जहाँ मुस्कुराइरहेको देश देखिन्छ । टुँडिखेलबाट हेर्दा देखिने मस्र्याङ्दीको नागबेली चालले गतिशिल जिन्दगी बाँच्न सिकाइरहेझैं लाग्छ । साँझ खाना र बस्ने व्यवस्था शानदार होटलको भन्दा कम थिएन । लोकल परिकार र अग्र्यानिक तरकारीमा जोड दिएका छन् तिनले । सचिव सुरेन्द्र थापा र कोषाध्यक्ष सीतालगायतका पदाधिकारी हातमा फूलको गुच्छा लिएर आइपुग्छन् पाहुनाको स्वागत गर्न ।
‘बन्दीपुरमा ०४५ सालतिरै खोलेका हुन् जापानिजले नोट्रेडम बोर्डिङ स्कुल । सर्वसाधारणका छोराछोरीलाई निःशुल्क शिक्षा दिने उद्देश्यले खोलिएको स्कुलले सुरुसुरुमा गरिब र विपन्न परिवारलाई चामलसमेत वितरण गथ्र्यो,’ हरिमाया विगत सम्झिन्छिन् । एक समय बन्दीपुर छाडेर हिँडेछन् कयौं मान्छे । रित्ता प्रायः देखिन्थे रे घरहरू । माथि डाँडाहरूले चियाउँथे घरको छानोलाई र गुहार मागेझै गर्थे कयौं छानाहरूले तिनै रमणीय र सुन्दर डाँडासँग ।
०६२/०६३ पछि फर्किए छन् अधिकांश मान्छे बन्दीपुरतिरै । भन्न थालेछन्, ‘यहाँको जस्तो हावापानी मनमोहक प्राकृतिक सुन्दरता अन्त कहाँ भेट्नु र । अब यतै बिताउने हो बाँकी जिन्दगी ।’
‘बन्दीपुर स्वर्गको एक टुक्रा नै हो । अहिले दमौलीतिर सरे पनि हाम्रो नि घर पहिले यतै हो,’ बीचबीचमा कुरा थप्दै थिए उदास दाई । र सम्झिरहन्थे क्षेत्रप्रताप अधिकारीका गीतका पंक्तिहरू पनि ।
सपनीमा छेकिए पनि विपनीमा
देखिन्छ तनहुँसूर
नेटो काटी गएझैं लाग्छ पाइलाभरि
किन्छ बन्दीपुर
बन्दीपुरबाट हिलेखर्कसम्म यात्रा तय भयो हाम्रो । शान्त मुद्रामा प्रकृतिका काखमा आँखा गतिशील भइरहे वरपरका दृश्यमा । मन प्रफुल्लित भइरह्यो रमणीय परिवेशमा । हिलेखर्क पुग्नुअघि नै बाटोमा प्रशस्त मात्रामा देखिन्थे कालिज । काफलका बोटमा झुम्मिएका चराको आवाज उस्तै मनकारी ।
बादलले पँखेटा फिजार्दै थियो । बाहिर चिसो हावा चलिरहेको थियो । भित्र उदास र भट्टराईले सुनाएका किस्साले उत्पन्न भएको हाँसोले गर्मी बढाइरहेको थियो ।
बन्दीपुरबाट करिव दुई किमी पार परिसकेपछि देखिन्छ, ढाङगाउँ । जहाँ आदिवासी जनजातीको बस्ती छ । उनीहरूको संस्कृतिका मनै लोभ्याउने पाटाले तानिरहेकै छ पर्यटकलाई । ढाडगाउँ कटेपछि सुरु हुन्छ दुवैतिर घना जंगल अनि सुन्दर पहाड । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार बन्दीपुरबाट हिलेखर्क १५ किमि टाढा छ भने हिलेखर्कबाट छिम्केश्वरीको फेदीसम्म पुग्न ५ किमि दूरी पार गर्नुपर्छ । डाँडाको फेदीबाट १ घन्टा उकालो चढेपछि पुगिन्छ छिम्केश्वरी ।
हामीसँगै यात्रारत कवि तथा गीतकार श्रीराम भट्टराईले आँबुखैरेनीतिरबाट छिम्केश्वरी यात्रा गर्न सहज हुने बताए । उनी बरादी, बिरानचौर, हिलेखर्क मोटर मार्गका अध्यक्ष हुन् । बरादीबाट हिलेखर्कसम्म बाटो पुर्याउन द्रुतगतिमा काम भइरहेको छ । त्यसका लागि आँबुखैरेनी गाउँपालिकाले ३१ लाख, १ नं वडा कार्यालयले ४ लाख बजेट छुट्टयाएका छन् । सडक स्तरोन्नतीका लागि भनेर सरकारले ५० लाख रकम विनियोजन गरेको रहेछ ।
आँबुखैरेनीदेखि छिम्केश्वरी फेदीसम्मको १२ किमि सडक पूरा भएपछि छिम्केश्वरीमा चहलपहल बढ्नेछ ।
हिलेखर्कबाट कच्ची सडकमा यात्रा गर्दा केही पर पुगेपछि देखिन्छन्– टाढाका बस्तीहरू, लोभलाग्दा फाँट अनि जिन्दगीका केही बिम्बहरू । प्रायः बादलको घुम्टो ओढिरहने छिम्केश्वरी महाभारत शृंखलाको सबैभन्दा अग्लो पहाड मानिन्छ । धार्मिक मान्यता अनुसार मासु खाएर छिम्केश्वरी चढ्नु हुँदैन ।
मनकामना, अलका, थानिका थान, छिम्केश्वरी, ढोरबाराही, गोरखाकालिका र छाब्दीबाराही ६ जना दिदीबैनी मानिन्छन् । अरु दिदीबैनीले सुँगरको बली खाएकाले छिम्केश्वरी रिसाएर कण्डो उल्टा फर्काएर बसेकी हुन् भन्ने किंवदन्ती छ ।
शक्तिपिठ मानिने छिम्केश्वरीको प्रचार गर्न सके अत्यधिक मात्रामा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । प्राकृतिक सुन्दरता मात्र हेर्न भए पनि एकपल्ट पुग्नै पर्ने ठाउँ रहेछ ।
फर्किंदा खाना खान झरेका हौं हिलेखर्क बजार । छिम्केश्वरी जाने सडकबाट करिव तीन सय मिटर तल ओर्लिनुपर्छ बजार पुग्न । इन्द्रध्वज गुरुङका अनुसार सुरुमा खर्कहरू मात्र थिए । बर्खामा निकै हिलो हुन्थ्यो । त्यसैले त्यो ठाउँको नाम हिलेखर्क रहन गयो ।
छिम्काको लेकमा ईश्वरीको बासस्थान भएपछि त्यो लेकलाई छिम्केश्वरीको लेक भनिन थालियो । छिम्केश्वरीका बारेमा कयौं मिथक छन् । छिम्केश्वरी काली हुन् । तिनै कालीका सात बहिनी मध्ये दुई बैनी तनहुँसुरमा बस्थे जहाँ दुइटा तोप राखिएका थिए । राम्रो आराधना भएन भनेर एउटा तोप उडेर छिम्का लेकको टुप्पोमा गएर बस्यो । पछि तिनैलाई छिम्केश्वरी माई भनियो । अर्को तोप उड्न खोज्दा पुजारीले पँखेटा काटिदिएछन् । त्यो एउटा पखेटा काटिएको तोप अहिले पनि तनहुँ सुरमा छ ।
हिलेखर्कका ६५ वर्षे बाटु गुरुङका अनुसार सात बहिनी मध्येकी छिम्केश्वरी जेठी मानिन्छन् । त्यसपछि क्रमैसँग आउँछन् गोरखा कालिका, तनहुँ कालिका, मनकामना, छाब्दीबाराही, देवीथाना, र हिलेखर्क डापाकी कन्यादेवी । अरु दिदीबैनीले सुँगुरको बली खाएकाले छिम्केश्वरी रिसाएर टाउको निहुराएर कण्डो उल्टा फर्काएर बसेकी हुन भन्ने किम्बदन्ती छ ।
धार्मिक मान्यता अनुसार माछामासु जाँडरक्सी खाएको मान्छेले मन्दिर प्रवेश गरेमा हावाहूरी चल्ने असिना झर्ने र अनिष्ट हुने जनविश्वास छ । पवित्र मन लिएर दर्शन गरी वर माग्दा मागेको मिल्छ भन्छन् हिलेखर्ककै ६७ वर्षे इन्द्र गुरुङ । सुरुमा मगर पुजारी रहेको मन्दिरमा हाल आएर गुरुङ थरका पुजारी छन् । महिनैपिच्छेको पूर्णिमा र नवरात्रीका बेला टाढाटाढाबाट दर्शनार्थी आउँछन् ।
डाँडाको टुप्पोमा पानी पाइँदैन । मन्दिर जीर्ण छ । मनकामनाजस्तो सुविधासम्पन्न र आकर्षक बनाउन सकेको भए यात्रुको घुइँचो लाग्थ्यो । शक्तिपीठका रुपमा मानिने छिम्केश्वरी माईको प्रचार गर्न सके अत्यधिक मात्रामा धार्मिक पर्यटक भित्र्याउन सकिने कुरामा दुइमत छैन ।
प्राकृतिक सुन्दरता मात्र हेर्न भए पनि एकपल्ट पुग्नै पर्ने ठाउँ हो । श्रीराम भट्टराईका अनुसार आँबुखैरेनीबाट छिम्केश्वरी डाँडाको फेदीसम्म पुग्न १२ किमि दूरी पार गर्नु पर्छ । यो बाटो निकै नै छोटो पर्छ ।
हिलेखर्कका आधा दर्जन घरमा होमस्टे सुविधा छ । त्यहाँ स–साना पसल पनि छन् । केही होटल छन् । पाहुना स्वागत गर्न बसेका सुन्दर मन छन् । सुपथ मूल्यमा पाइन्छ लोकल कुखुराको मासुभात, गुन्द्रुक र ढिँडो । साथमा नरेपा पनि । चिसो ठाउँ गाउँले परिवेश, एकान्तको बस्ती । सरल र साधुको जिन्दगी बिताइरहेका मान्छे भेट्दा खेलेका थिए मनमा कयौं कुरा । न ठानेको हैन यतै कतै सानो झुपडी बनाएर जिन्दगीका केही पल बिताउन पाए हुन्थ्यो भनेर । सोचे जस्तो कहाँ हुन्छ र जीवन !
फर्किंदा नजरले भ्याएसम्म गाडीको झ्यालबाट नियाली रहेँ– त्यो बस्ती, ती डाँडा, हावाको तालमा नाचिरहेका मकैका बोटको सौन्दर्य । धेरै दिनपछि आज सम्झिएँ, हफिज जालान्धरीका यी पंक्ति –
हमी मे थि न कोइ बात याद न तुमको आ सके
म ने हमे भुला दिया हम न तुमे भुला सके
प्रकाशित: ९ भाद्र २०७५ ०५:३५ शनिबार