५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

उद्घाटनमा बालियाे निरन्तरता पाएन

बेलाबेलामा सडकमा फोहोरको डुंगुर देखिन्छ । त्यस्तो बेलामा काठमाडौं महानगरपालिका भन्छ, ‘सिसडोलको डम्पिङ साइट भरिएर फोहोर उठाउन सकिएन।’

महानगरले फोहोरलाई मोहोर बनाउन बायो ग्यास प्लान्ट जडान गरेको छ । टेकुमा जडान गरिएको उक्त प्लान्टमार्फत फोहोर खपत गरेर बिजुली बाल्न सकिन्छ । तर, फोहोर फ्याँक्ने ठाउँ नभएर सडक भरिँदा समेत महानगरले बायो ग्यास सञ्चालनमा ल्याएर फोहोरको व्यवस्थापन गर्न सकेको छैन।

सडकमै फोहोर थुप्रिने समस्या बढ्दै गएपछि २०७१ तिरै महानगरले फोहोरको सदुपयोग गरेर बिजुली बाल्ने योजना ल्याएको थियो । युरोपेली युनियनको सहायतामा १ करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान पनि गर्यो । स्थानीय तहको चुनाव भएपछि आएका मेयर विद्यासुन्दर शाक्यले नै प्लान्टको उद्घाटन गरेर फोहोरबाट बिजुले बाले । २०७४ जेठमा उद्घाटन गरेर प्रयोगमा ल्याइएको फोहोरबाट विजुली भने महानगरले एक महिना पनि बाल्न सकेन्।

फोहोरबाट विजुली बाल्ने परियोजनामा युरोपेली संघ (ईयू) को ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी छ।

महानगरका अनुसार करिब १ करोड ८६ लाखको लगानीको परियोजनामा महानगरको झण्डै ४० लाख खर्च भएको छ । यती धेरै लगानी गरेर सञ्चालनमा ल्याइएको फोहोरबाट बिजुली भने अहिले अलपत्र जस्तै छ।

बिहिबार टेकुस्थित प्लान्ट जडान गरिएको ठाउँमा पुग्दा बिजुली बलेको थिएन । ‘सँधै होइन्, बेलाबेलामा बिजुली बाल्छौं,’ महानगरपालिका वातावरण विभागका प्रमुख हरिबहादुर कुँवारले भने, ‘शुरुमाचाँही फुल फेजमै (१४ किलोवाट) बालिएको थियो, नियमित भने गर्न सकेनौं।’

उनका अनुसार बिजुली बाल्ने हो भने दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्ने क्षमता मेसिनको छ । शुरुमा बिजुली उत्पादन गरेर आसपासको क्षेत्रमा बेच्ने योजना समेत महानगरले बनाएको थियो । तर, उपत्यकामा लोडसेडिङको अन्त्यसँगै उत्पादित बिजुली बेच्ने योजना तुहियो।

‘फोहोरबाट उत्पादन गरेको बिजुली विक्रि गर्दा विद्युत प्राधिकरणको भन्दा तीन गुणा महंगो पर्ने रहेछ,’ कुँवरले भने, ‘त्यसैले शुरुमा पनि उत्पादित बिजुली कार्यालय प्रयोजनकै लागि प्रयोग गरिएको थियो ।’ उनका अनुसार फोहोरबाट बिजुली उत्पादनलाई व्यवसायिक तबरबाट सञ्चालन गर्न भने चुनौती रहेकाले नमुनाको रुपमा मात्रै प्लान्ट सञ्चालनमा ल्याइएको हो । यसरी नमुनाको रुपमा मात्रै प्रयोग गर्दा पनि मेसिनमा खराबी आइरहन्छ । भारतबाट खरिद गरेर ल्याइएको मेसिन महिनादिन अघि मात्रै बिग्रिएको थियो । भारतबाटै मिस्त्री झिकाएर मेसिन मर्मत गरिएको महानगरले जनायो।

मेसिनले कुहिने फोहोरबाट मात्रै बिजुली उत्पादन गर्दछ कुहिएर लेदो बन्न सक्ने फोहोर कमै मात्रमा संकलन हुने भएपछि बिजुली उत्पादन चुनौती रहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन्।

‘सबै प्रकारको फोहोरबाट बिजुली बल्ने होइन,’ उनले भने, ‘कुहिने तथा लेदो हुने फोहोरबाट मात्रै बिजुली बाल्न सकिन्छ । त्यस्तो फोहोर कमै मात्रमा संकलन हुने गरेको छ ।’ संकलित फोहोरबाट कुहिने फोहोर छान्नको लागि महानगरले ५ जना कर्मचारी खटाएको छ । महानगरका अनुसार ती कर्मचारीले फोहोर छानेर थुपारेपनि हप्ता दश दिनमा बिजुली बालिन्छ । महानगरमा दैनिक पाँच सय टन फोहोर उत्पादन हुन्छ । मेसिनबाट दैनिक ३ सय टन फोहोर खपत गरेर बिजुली बाल्न सकिन्छ । महानगरले वेवास्था गर्दा मेसिन प्रयोगविहिन भएर बसेको छ । दाताको सहयोगमा संस्थागत लगानी कम हुनेहुँदा यसरी आएका अधिकांश मेसिन तथा योजनाहरु अलपत्र अवस्थामा रहने गरेको पूर्वसचिव भिमप्रसाद उपाध्यायको भनाई छ।

प्रकाशित: ८ भाद्र २०७५ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App