हामी परम्परासँग यसरी जोडिएका छौँ कि पुरानो चालचलन, रीतिरिवाज छाड्नै सक्दैनौँ। त्यसैले समाजका सनातनी विषयलाई मज्जाले अंगाल्नु हाम्रो नियति नै भइसकेको छ। स्वाभाविक पनि हो कि हाम्रो विचार, हाम्रो कार्यविधि, क्रियाकलाप अनि हामी जेमा अभ्यस्त छौँ, त्यसैलाई अपनाउनु सजिलो पनि हुन्छ। यसो गर्दा न कुनै चुनौती सामना गर्नुपर्छ न त थप तनाव नै झेल्नुपर्छ। यही कारण पनि मानिस हम्मेसी नयाँ/नौलो विषयमा हात हालिहाल्न चाहँदैन । नेपाली समाज पनि यसको अपवाद हुने कुरै भएन।
प्रसंग हो– सासूको । अर्थात प्रचलित बोलीमा भन्ने हो भने सासू आमाको। हामीले सधैँ आमालाई ठूलो महत्व दिँदै आयौँ। तर तिनै आमा शब्दको अगाडि सासू जोडिएपछि भने फरक व्यवहार प्रदर्शन गर्दै आएका छौँ । आखिर सासू नामक अर्को शब्द जोडिँदैमा आमाको भन्दा पृथक व्यवहार गर्नुपर्ने कारणै के छ र? आमालाई माया गर्नुपर्छ भन्ने हामी सासूलाई चाहिँ त्यही कर्म गर्नबाट किन विमुख हुन्छौँ ? कतै परम्परादेखि नै सासू शब्दलाई नकारात्मकरूपमा हेरिँदै आएकाले त हैन? यतिखेर सोचनीय विषय भएको छ।
वास्तवमा सासू आमापछिकी आमा हुन्। एउटी आमाले सन्तान जन्म दिएपछि राम्री बुहारी भित्र्याउने, राम्रो ज्वाइँ प्राप्त गर्ने आशा गरेकी हुन्छिन्। यो आशा उनको आफ्नो भन्दा पनि छोरा र छोरीको सुखद् दाम्पत्य जीवनसँग गाँसिएको हुन्छ। उनीहरूको समृद्धि र निरन्तर प्रगतिसँग जोडिएको हुन्छ। जसले सधैँ आफ्नै प्रगति र उन्नतिका लागि दिन/रात खर्च गर्छ उसैलाई अवहेलना गर्न मिल्छ? यही हो हाम्रो संस्कार? यही हो पूर्खाले हामीलाई छाडेर गएका कोशेली?
आजभोलिकै दृश्य हेरौँ न। तन्नेरी छोरा, छोरी, बुहारी, नाति, नातिना सबै आआफ्नै ध्यानमा मग्न हुन्छन्। कोही मोबाइल, कोही ल्यापटप त कोही आइप्याड। कोही फेसबुक, कोही च्याट त कोही फोनमा ब्यस्त। तर घरकी बूढी भने भातभान्साको जोहोमा जोतिएका दृश्य सामान्य लाग्न थालेका छन्। चाहे उनलाई सन्चो नहोस् वा अरु कुनै समस्या आइपरोस्, एउटी ज्येष्ठ महिलाले चाहिँ जसरी पनि सम्पन्न गर्नैपर्ने पनि कहीँ हुन्छ ? तर यस्ता दृश्य न हामी अनौठो मान्न थालेका छौँ न त यसमा आफ्नो दायित्व के हो भनेर सोच्नै आवश्यक ठान्छौँ।
यदि यसबारे सोचेका हुन्थ्यौँ भने हामी पनि उनलाई सघाउँथ्यौँ होला नि। उनको पनि दुःखसुख बुझ्थ्यौँ र त्यसमा साथ दिन्थ्यौँ होला नि। उनका पनि चाहना सुन्थ्यौँ र त्यसमा गर्न सकिने काम गथ्र्यौँ होला नि। तर आज समाज जति विकसित हुँदै जाँदो छ त्यति नै हामी यस्ता गम्भीर विषयलाई हल्का बनाउँदैछौँ। आखिर हाम्रो सोचचाहिँ पुरानै राखेर समाजमात्र आधुनिक हुन सक्छ र? ख्वै अहिलेको पुस्ताले बुझेको?
खासमा सासू कम्ता गर्वलायक शब्द हैन। जब एउटी छोरी ठूली हुन्छिन्। विवाह हुन्छ। कसैको बुहारी हुन्छिन् त कसैको भाउजू । अनि कसैको माइजू बन्छिन् कसैकी आमाजू। त्यसैगरी कसैको काकी, कसैको अन्टी, कसैको आमा आदि । यी सबै चरण पार गरेपछि बल्ल एक महिला सासूमा रूपान्तरित हुन्छिन्। यसबीचमा उनले सासू पदवीमात्र पाउन्नन्, घर÷परिवार र समाजमा निर्वाह गरेका विभिन्न भूमिकाले उनलाई निकै परिपक्व पनि बनाइसकेको हुन्छ । उनी परिवारमात्र हैन, समाजमा समेत धेरै कुरा थाहा पाएकी, समस्या परेकालाई सल्लाह दिन सक्ने तथा सच्चा अभिभावकको पहिचानसमेत बनाइसकेकी हुन्छिन्।
तर विडम्बना, विभिन्न हण्डर खेप्दै, विभिन्न दुःख, कष्टका साथ हजारौँ अनुभव संगाल्दै मात्र आफ्नै सन्तानको निरन्तर प्रगतिका खातिर लागिरहेकी एउटी साहसी महिला जब सासूमा परिणत हुन्छिन् तब उनीप्रति तिनै सन्तानले देखाउने व्यवहार भने रुखो हुन थालेको छ। सन्तानको एकांकी प्रवृत्ति र स्वार्थी मनोवृत्तिको सिकार तिनै ज्येष्ठ महिला हुन थालेकी छिन्। खासगरी बुहारीले उनलाई प्रदर्शन गर्नुपर्ने व्यवहार उचित देखिएको छैन। यो प्रवृत्ति अहिलेको नेपालको ‘आमप्रवृत्ति’ का रूपमा फैलँदो छ। जुन निकै चिन्ताको विषय बन्दै गइरहेको छ।
एउटी महिलाले आफ्नो जन्मघरमा जति कुरा सिकेकी हुन्छिन् कर्मघरमा पनि त्योभन्दा कम ज्ञान पक्कै हासिल गर्दिनन्। जन्मघरमा लाडप्यारमा हुर्किएका हजारौँ छोरीले बुहारीका रूपमा हासिल गर्ने ज्ञान सिक्ने कर्मघर गएपछि नै हो । यस्तो ज्ञानको मुख्य स्रोतकर्ता भने तिनै सासू हुने गर्छिन् जसले उनलाई पाइला/पाइलामा सबै कुरा सिकाउँछिन्। सासूले सिकाउने यिनै ज्ञान हुन् जसले उनलाई परिपक्व महिला बनाउँछ र एउटी कुशल गृहिणी पनि। सोझो अर्थमा भन्दा बाँकी दिनमा उनले अपनाउने कार्यशैली र निर्वाह गर्ने दायित्व यिनै सासूले पिलाउने ज्ञानमा आधारित हुन्छ। यदि सासूले राम्रो मार्ग प्रदर्शन गर्न सकिनन् भने बुहारी पनि कुशल हुने सम्भावना न्यून रहन्छ । त्यसैले पनि बिहेवारीका सम्बन्धमा ‘कूल र मूल’ का प्रसंग जोडेका हुन सक्छन् बूढापाकाले।
तर पछिल्लो समय, सन्तानले र अझ खासगरी बुहारी पुस्ताले सासूका यी महत्वपूर्ण भूमिका नजरअन्दाज गरिरहेका छन्। समाजले पनि सासूबाट खप्नुपरेका बुहार्तनलाई मात्र प्राथमिकता दिँदै आएको पाइन्छ। तिजका गीत हुन् वा मेला/पर्ममा गाइने, रत्यौलीमा गाइने गीत हुन् वा कुनै चाड/पर्वमा, सासूलाई नकारात्मकरूपमा प्रस्तुत गरिँदै आएको छ। त्यसैले पनि हाम्रो समाज सधैँजसो सासूप्रति नकारात्मक बन्दै आयो। मानौँ, सासू भनेका बुहारीलाई सताउनकै लागि जन्मेका हुन्। आखिर समाज विगतको दर्पण न हो, हामी पनि त्यसबाट अलग हुन किन सक्थ्यौँ र?
समय सधैँ एकनाशको हुँदैन। न एकै किसिमले प्रवाह हुन्छ। अर्थात समय परिवर्तनशील छ। त्यसैले हामी पनि समयको प्रवाहसँगै अघि बढ्नु आवश्यक छ। नत्र यसले विकासलाई अवरुद्ध गर्छ। हाम्रा उन्नति र प्रगतिको बाधक बन्छ। त्यसैले अब पनि समाजले कलंकित गरेका सासूका तिनै नारा बोकेर हिँड्ने हो भने कहिल्यै उभो नलागिने निश्चित छ। उनीसँग सिकेका राम्रा कुराको अनुशरण गर्दै तिनको फैलावटसमेत गर्नु आवश्यक छ। उनको सहस्र ज्ञान ग्रहण गर्दै त्यसको सान्दर्भिकता र महत्व अहिलेको पुस्तालाई बुझाउन जरुरी छ । अनि उनले यी सब कसका लागि र किन भनिरहेकी वा गरिरहेकी छिन् भनेर सबैलाई ‘कन्भिन्स’ गराउनुपर्छ।
हाम्रो समाज संस्कारै संस्कारले भरिभराउ प्रकृतिको छ। यसले सबैखाले मान्यता र संस्कार अंगाल्नु नेपाली समाजको विशेषता पनि हो । यसै क्रममा हामीले बाबु र आमाको योगदान पनि स्मरण गर्दै आएका छौँ– बाबुको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिनका रूपमा। जुन दिन हामी जहाँ भए पनि सकभर आमा र बुबाको मुख हेर्न आइपुग्छौँ र औकातअनुसारको मिष्ठान्न भोजन पनि उपलब्ध गराउँछौँ। जो भेट्ने सामथ्र्य राख्दैनौँ, उसले पनि फोनमार्फत वा सामाजिक सञ्जालमार्फत नै किन नहोस् आफूलाई जन्म दिने बाबु र आमाको स्मरण गर्छौँ। यो हाम्रो नेपाली समाजको विशिष्ठ परम्परा पनि हो। अब सासू अर्थात सासू आमाको भूमिकालाई पनि स्मरण र कदर गर्ने दिनका रूपमा ‘सासूको मुख हेर्ने’ दिन पनि मनाउने हो कि? पहल गरौँ, अवश्य सम्भव छ।
प्रकाशित: २ भाद्र २०७५ ०२:२५ शनिबार