१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

केटीले मन पराएको पत्तै पाइनँ

तस्बिर : कृष्पा श्रेष्ठ

सह–प्राध्यापक लालदेउसा राई सन् १९३३ मा जन्मिएका हुन्। राई त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक शिक्षक हुन् । राईले गोरखापत्र तथा राइजिङ नेपालमा समेत काम गरिसकेका छन्। बुबा चन्द्रध्वज देउसा राई र आमा शुभलक्ष्मी हुन्। राईलाई नेपाली पत्रकारिता जगतको पितासमेत मानिन्छ। उनले विभिन्न तालिम तथा पुरस्कार पाएका छन्। ‘अखबारी पत्रकारिता’, ‘एन इन्ट्रोडक्सन टु पब्लिक रिलेसन्स’लगायतका पुस्तक प्रकाशित छन्। ८० को दशक काटिसक्दा पनि प्राध्यापन पेशामा राई सक्रिय छन्। 

राईकी आमाले करिब ४० वर्षअगाडि मृत्युहुनुपूर्व तैँले अब सवारी साधन नचलाउनू भनेकी रहिछिन्। त्यसैले आमाको आज्ञापालन गरेर सवारी साधन चलाउन छोडेको बताउँछन्, राई। 

राई भूतकालतिर त्यति फर्किँदैनन् रे। जहिले पनि भविष्य हेर्छन्। उनले आत्म सन्तुष्टि लिएका छन्। सकारात्मक सोच्छन्, रे।  बिहान एमए तहमा पत्रकारिता पढाउन बालाजुबाट भृकुटी मण्डपसम्म आउँछन्, राई। ८० को दशक पार गरिसक्दा पनि कक्षामा उनको शारीरिक तथा मानसिक तन्दुरुस्तता जवानी जस्तै देखिन्छ। सेमेस्टरको कक्षामा विद्यार्थीलाई ज्ञानको सागर बाँडेर राई घर फर्किन्छन्। अनुहार भर्भराउँदो छ। औसत होचो कद। तन्दुरुष्त। मुस्ताङे स्याउजस्ता गाला। हँसिलो गहुँगोरो चेहरा।

कुराकानीका लागि पत्रकारिता विभागमा पुग्दा पनि राई भर्खर कक्षाबाट निस्किएका थिए। पत्रकारिता विभागमा बसेर कुराकानी अगाडि बढ्यो। 

गाई जंगलमा, हजुरबुबा दार्जिलिङमा

सह-प्राध्यापक लालदेउसा राईको पुख्र्यौली घर खोटाङको रुभुङ रावा खार्पा हो। राईका हजुरबुवा १२/१३ वर्षको उमेरसम्म खोटाङमै हुर्किए। हजुरबुबा एक दिन गाई चराउन गएका रहेछन्। गाई चराउँदा चराउँदै आफ्नो गाउँको दुःख देखेर दिक्क लागेछ। गाई र गाई गोठालो गर्ने लौरो जंगलमै छोडेर टाप कसेछन्। राईका हजुरबुबा दार्जिलिङ पुगेछन्। राईले हजुर बुबालाई एक दिन सोधेछन् कसरी दार्जिलिङ आउनु भएको हजुरबा? हजुरबाले जवाफ दिएछन्, ‘घरमा हेरेँ केही थिएन। केही कम्पनी रुपैयाँ कमाउन मन पर्‍यो। पैसा कमाउन बाहिरै जानु पर्ने। त्रियुगा खोला जसो त होला भनेर एक्लै हिँडेँ।’

दार्जिलिङमा त्यतिबेला भर्खर रेल चल्दै थियो रे। दार्जिलिङको गुन्द्रे बजारमा सानो चिया पसल खोलेछन्,हजुरबाले। चिया बगानको गोरे सरदारको परिवारसँग सम्पर्क बढेछ। गोरे सरदारको छोरीसँग हजुरबुबाको विवाह भएछ। 

हजुरआमा पसलमा हजुरबुबा प्रेसमा 

चिया पसलले मात्रै नधान्ने भएपछि श्रीमतीलाई चिया पसल छोडेर आफू छापाखानामा जागिर खान थालेछन्। गोरेले छापाखानामा अक्षर टिप्ने काम दिएछन्। त्यहाँ राईका हजुरबाले अक्षर टिप्ने काम त पाए नै अक्षर सिक्ने प्रेरणासमेत पाएछन्। अक्षरको ज्ञान बढ्न थाले छ। छापाखानाको हेड कम्पोजिटरसम्म भए। 

अलिअलि अक्षर ज्ञान पाउन थालेछन्। प्रेसको म्यानेजरले सधैँ पत्रिका फैलाएर पढ्थ्यो अरे। राईका हजुरबालाई  गोरेले के पढ्छ भनेर साह्रै जिज्ञासा भएछ। ‘एक दिन त सोध्ने आँटै गर्नु भएछ हजुरबाले’,राई सुनाउँछन्,‘ गोरेले अनुमति दिएपछि गोरेको कोठामा हजुरबुबा छिरेछन्।’ र सोधेछन्, ‘के पढ्नु भएको!’ ‘गोरेले उत्तर दिएछन् बेलायतको क्वीन एलिजाबेथले गरेको भाषण पढ्दैछु’, राईले सुनाए,‘ हजुबुबालाई अच्चम्म लागेछ।’ 

राईका हजुरबुबालाई सात समुद्रपारि भएको खबर भारतमा पढ्न पाइने कुराले छोएछ। उनले गोरेलाई सोधेछन्, ‘यो काम कसले गर्छ गोरेले पत्रकारले समाचार लेख्ने काम गर्ने बताएपछि पत्रकारको काम गज्जब लागेछ राईका हजुबालाई। नातिलाई पनि पत्रकार बनाउनु पर्छ भन्ने लागेछ। घरमा आएर नातिलाई तँ पत्रकार बन्नुपर्छ भनेछन्। 

राईका हजुरबाको दिमागमा पत्रकार भन्ने शब्द कहिल्यै हराएन। राई त्यतिबेला ७/८ कक्षामा पढ्दै थिए। ‘हजुरबुबाले पत्रकारिता पढाउनुभयो, हजुरबुबाले गर्दा नै पत्रकारिता पढेको हुँ,’ राई भन्छन्। 

हजुरबुबाको मूल मन्त्र

राईका हजुरबुबाको एउटै मूल मन्त्र रहेछ, आफ्ना साखा सन्तानलाई जसरी हुन्छ शिक्षा दिने। अहिले राईका परिवारमा उनकी श्रीमती, छोरा–छोरी, नाति–नातिनालगायत छन्। बुहारी गतवर्ष बितेकोमा साह्रै दुःख व्यक्त गर्छन् राई। राई अहिले जुन ठाउँमा छन्, हजुरबुबाको आशीर्वाद र आत्मा सन्तुष्टिलाई श्रेय दिन्छन्। 

स्कुलमा ऋतु विचार 

हाइस्कुलमा धरणीधर शर्मा कोइराला, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानले पढाउँथे। पारसमणि ७ कक्षाका शिक्षक थिए। ८ कक्षामा बंगालीले पढाउँथे। 

सूर्यविक्रम ज्ञवाली ९ कक्षामा नेपाली पढाउँथे। ज्ञवालीले पढाउँदा व्याख्या गरेको लेखनाथ पौड्यालको ऋतु विचार खण्डकाव्य अहिले पनि सम्झिन्छन् राई। 

त्यो बेला नौ कक्षामा पढेका लेखनाथका दुई हरफ सुनाउँछन् राई,

‘दिने मेघ सर्‍यो माथि, लिने खोला बग्या तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ।।’

धरणीधर कोइरालाले १० कक्षामा अंग्रेजी पढाउँथे। स्कुलमा पढ्दा राईसहित पाँचजना साथीहरु साह्रै मिल्थे रे। त्यसैले उनीहरुलाई पाँच पाण्डवसमेत भनिन्थ्यो रे। 

सन् १९४८ मा एसएलसी (म्याट्रिक) पास गरेछन्, राईले। 

हजुरबुबाले डाक्टर, इन्जिनियर हैन नातिलाई पत्रकारितै पढाउने इच्छा भएकाले हजुरबुबाको इच्छाअनुरूप नै पत्रकारिता पढेको राई सुनाउँछन्।  

गीताले मन छोयो

राई भन्छन्, ‘स्कुल लेभलसम्म पढ्दा पनि मलाई पत्रकारिता भनेको के हो थाहै थिएन।’ एसएलसीपछि दार्जिलिङमा कलकत्ता विश्वविद्यालयको  कलेजमा ज्वाइन गरेछन्, राईले। संस्कृत विषय लिएर पढेछन्। संस्कृतमा हाईएस स्कोर आएको सुनाउँछन् राई। संस्कृत नै किन छान्नु भयो भन्ने प्रश्नमा राईले भने, ‘संस्कृति त जान्नै पर्‍यो। कल्चर जान्नका लागि संस्कृत विषय पढ्नै पर्ने रहेछ।’ यस्ता विद्वत् विद्वान शिक्षकका कारणले पनि आफूलाई संस्कृत पढ्ने इच्छा भएको बताउँछन्, राई।

पछि धरणीधरलाई भेटेको थिएँ। राईको छोरा त्यहाँमाथि दार्जिलिङको ठाउँमा संस्कृत पढ्दैछु भनेपछि कोइराला छक्क परेको सुनाउँछन् राई। कोइराला मात्रै हैन, दार्जिलिङमा पनि राईले संस्कृत पढेको देखेर छक्क पर्थे रे। 

कलकत्ता युनिभर्सिटीमा डा. लेहरी (बंगाली) थिए रे। राईलाई उनले गीता पढाएछन्। लेहरीले असाध्यै राम्रो गीता पढाउने राई बताउँछन्। लेहरीले दिएका शास्त्रीय ज्ञानको अहिले पनि राई प्रशंसा गर्छन्। गीताको उपनिषदले राईको मन छोए छ। त्यसैले गीता पढेको  सुनाउँछन्। 

कलकत्ता जाने सल्लाह

बीए तहमा भने राईले इकोनोमिक्स, इङ्लिस, हिस्ट्रि, नेपाली पढेछन्। राईले बीए सिध्याए। कलेजमा बंगालका प्रोफेसरलाई पत्रकारिता विषयका बारेमा जिज्ञासा राखेछन्। प्रोफसरले पत्रकारिताका बारेमा सबै बताइदिएछन्। पत्रकारिता पढ्ने इच्छा भए कलकत्ता जान सल्लाह दिएछन्।  

पत्रकारिताका विषयमा सल्लाह लिएपछि राईलाई पनि पत्रकारिता पेशा गज्जब लागेछ। पत्रकारिता पढ्ने भए राई। घरमा आएर हजुरबुबालाई भनेछन्, ‘म पत्रकारिता पढ्ने भएँ।’ राईका हजुरबुबा नातिले आफ्नो सपना पूरा गरिदिने भएपछि दंग परेछन्। तर दार्जिलिङ छाडेर कलकत्ता जानुपर्ने बताउँदा हजुरबुबाले जसरी पनि नाति पढाउन छोरालाई खर्च पठाउन भनेछन्।

ज्वाइँको होस्टल

राई कलकत्ता विश्व विद्यालयमा गएर एमए तहमा पत्रकारितामा भर्ना भएछन्। भर्ना गर्दिएका काकाले बस्नका लागि विश्वविद्यालयमै होस्टल मिलाइ दिए। 

होस्टल सुविधा सम्पन्न भएको सम्झिन्छन्, राई।   होस्टलमा पैसा तिर्नु पर्थ्याे। राईलाई घरबाट उनका बुबाले पैसा पठाइदिन्थे। 

होस्टलमा केटीहरु हुन्थेनन्, केटाहरु मात्रै हुन्थे रे। बंगालीले त्यो युनिभर्सिटीको होस्टललाई ज्वाइँको होस्टल भन्थे रे। ‘किनकि होस्टल अत्यन्तै आरामदायी थियो,’ जवानीतिर फर्किँदै राईले प्रफुल्लित मुद्रामा खित्का छोडे, ‘ज्वाइँले खाने मेज्मान जस्तै खान पाइन्थ्यो।’ खानका लागि मात्र होइन बस्नका लागि पनि होस्टलका कोठा त्यत्तिकै आरामदायी थिए। 

बिहान कानुन, दिउँसो पत्रकारिता 

साथीहरुसँग परिचय हुँदै गयो। कतिपय साथीहरु त पत्रकारितासँगै कानुन पनि पढ्दा रहेछन्। साथीहरुले कानुन पढेको देखेर राईलाई पनि कानुन पढ्न मन लागेछ। ‘होस्टल र ल क्याम्पस त्यति नजिक थियो कि टुथब्रस गर्दै ल क्याम्पस पुग्न सकिन्थ्यो,’ राई भन्छन्।  राईले कानुनमा पनि ज्वाइन्ट गरेछन्। बिहान कानुन र दिउँसो पत्रकारिता पढ्थे। दुई वर्षे एमए पत्रकारिता र तीन वर्षे कानुन सँगै पढे। चार वर्षमा प्रयोगात्मकसहित एमए पत्रकारिता र कानुनमा पनि डिग्री पूरा गरे। सन् १९५८ मा एमए सकेको बताउँछन् उनी।

क्याम्पसमा पढ्दा कानुनमा लेडिजको संख्या न्यून भएको बताउँछन् उनी। पत्रकारितामा भने करिब ६० प्रतिशत छात्र र ४० प्रतिशत छात्रा हुन्थे रे। ‘अधिकांश विद्यार्थी बंगाली हुन्थे, म एकजना मात्रै कक्षामा नेपाली विद्यार्थी थिएँ,’ राई भन्छन्। 

‘नो’ बंक

कहिले पनि कलेज बंक गरिन। क्याम्पसमा पढ्दा बुबाले मिहिनेत गरेर पठाएको पैसा सम्झिन्थे रे राई  म बंक गर्न गएको हैन, पढ्न गएको हो भन्ने लाग्थ्यो रे राईलाई। कक्षा बंक गर्ने कुरा कहिल्यै पनि नसोचेको बताउँछन्। 
आईए पढ्दा पनि कहिल्यै बंक नगरेको सुनाउँछन् राई। ‘नो बंक, बंकको कुरै छैन’, राई भन्छन्। स्कुल पढ्दा पनि कहिल्यै बंक नगरेको बताउँछन् राई। स्कुल–कलेज पढ्दा आफूले कहिल्यै पनि बदमासी गरेनन् रे राईले। 
स्कुलदेखि कलेजसम्म कहिल्यै गुरुहरुको गाली तथा पिटाइ नखाएको बताउँछन्, राई। उनी भन्छन्, ‘म कहिल्यै झगडा पनि गरिँन। सबैसँग मिल्थेँ। फुटबल खेल्थेँ।’ 

केटीसँग जिस्किन्थेँ

लभको कुरामा प्रवेश गरेपछि राईका ओठमा बिस्तारै मुस्कान देखिन्छ। तर स्कुल–क्याम्पस पढ्दा अमेरिकनलगायत पश्चिमा किसिमको लभको कल्पनासमेत नगरेको बताउँछन् राई। 

‘महिला साथीसँग कुरा गर्दा बडो डराएर कुरा गर्नु पर्ने क्या’ जवानीलाई सम्झिँदै राई हाँस्छन्, ‘म त कलेज पढ्दा पनि केटीसँग बोल्थेँ, जिस्कन्थेँ।’ जवानीमा ‘जेन्डर रियाक्सन’ हुनु स्वाभाविक पनि हो। राईको जेन्डर रियाक्सन कलेजमा मात्रै भएछ। 

आईए–बीएमा ठिटा– ठिटीहरुसँग नाटक गरेको, जिस्किएको, पिक्निक गएको, रमाइलो गरेको हँसिलो मुहारमा सम्झिन्छन्, राई। तर कलेज पढ्दा कहिल्यै पनि लभको चक्करमा नफसेको बताउँछन्। कलेजमा पुगेपछि केटीहरुसँग भेट भएको बताउँछन्, उनी। ब्वाइज मात्रै पढ्ने स्कुल भएकाले स्कुलमा पढ्दासम्म केटीहरुसँग बोल्ने राम्रो अभ्यासै थिएन रे उनलाई। 

केटीले मन पराएको छनकै पाइँन 

कलेजमा केटीलाई अलि–अलि जिस्क्याउँथे रे उनी । जोक्स भनेर हँसाउँथे । तर केटीलाई प्रेम प्रस्ताव गर्ने आँट भने कहिल्यै आएनछ। 

‘जिस्क्याउने त मेरो बानी नै थियो । केटा–केटी सबैलाई जिस्क्याउँथें’, ८५ को वसन्तमा रमाएका राई हाँस्दै भन्छन्, ‘केटीहरुले मन पराएको पनि थाहै भएन क्या। कसैले मन पराएको भए पनि वान साइटेड लभ भयो होला क्या।
‘मैले लभमा त्यति धेरै ध्यान दिइनँ। केटीले मन पराएको छनकै पाइनँ,’ राईले अर्को मुस्कुराहट छोड्दै भने। 
कलेज पढ्दा, केही केटी राम्रो लागे पनि उनले प्रेम प्रस्ताव राख्ने आँट भने गरेनछन्। उनी हँस्यौली गर्थे रे तर कसैले मन पराएको पत्तै पाएन छन्। कलेजमा कसैले डाइरेक्ट प्रेम प्रस्ताव पनि नगरेको बताउँछन् राई। कसैले प्रेम प्रस्ताव गरे पनि टारिदिन्थे रे।  

रिपोर्टिङ गर्दा, प्रधानकी छोरीसँग लगन– गाँठो 

आफ्नो खुट्टामा नउभिइकन विवाह गर्दिन भन्ने अठोट राख्दा–राख्दै जागिरे भएपछि प्रधानकी छोरीसँग भेट हुँदा राईले ३८ वसन्त पार गरिसकेका थिए। 

राईले करिब ५० वर्ष अगाडि विवाह गरेछन्। इलामका प्रधानकी छोरीसँग काठमाडौंमा विवाह भयो। कस्तो किमिसको विवाह हो भन्ने प्रश्नमा राईको जवाफ छ, ‘प्रेम र मागी दुवै हो।’ प्रधानकी छोरी र राईको छोरा प्रेमिलापको विजयपछि घर सल्लाहमा विवाह भएछ। राईजिङ नेपालमा जागिर खाएको तीन वर्षमा राईले विवाह गरेछन्। 

प्रधानकी छोरी महिला विकास कार्यक्रमकी कर्मचारी रहिछन्। पत्रकारिताको सिलसिलामा उनीसँग राईको भेट भएछ। राई महिला विकास कार्यक्रममा रिपोर्टिङ गर्न गइरहँदा रहेछन् त्यही भेट भएर कुरा मिलेछ। उनलाई प्रधानकी छोरी बडो सुन्दरी लागेछ। ‘मलाई पनि मन पर्छ भन्थिन् क्या,’ ५० वर्ष अगाडिको जवानीमा फकिँदै राई हाँस्छन्। 

करिब पाँच महिना लभ पर्‍यो। आत्मा मिल्दै गयो। दुवै खुल्दै गए। दुवैले विवाह गर्ने सोच बनाए तर कसले पहिले विवाहको प्रस्ताव गर्‍यो भन्ने कुरा राईले हेक्का राखेनछन्। 

अन्तरजातीय विवाह, घर सल्लाह भई कुरा मिलेछ अनि काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा प्रधानकी छोरी र राईको लगन गाँठो गाँसियो। 

म्याद गुज्रिएपछि चिठ्ठी 

राष्ट्रिय समाचार समिति (रासस) मा जागिर खुलेछ। साथीहरुले दरखास्त दिन भनेछन्। राईले भारतबाटै दरखास्त दिएछन्। दूतावास हुँदै चिठ्ठी नेपाल आउँदो रहेछ। राससमा चिठी आइपुग्दा दरखास्त दिने म्यादै सकिएछ। भारतबाट एक महिनापछि राससमा चिठी आइपुगेछ। 

कलकत्तामा पढ्दा उनका केही नेपाली साथी पनि थिए। ती साथीले पछि नेपालमा पत्रकारिता पढेका मानिस छैनन्, काठमाडौं आउ भनेर राईलाई बोलाएपछि राई काठमाडौं आएछन्। सुरुमा आउँदा खानपिन नमिलेर रगत–मासीले समेत थलिएछन्, राई। 

राइजिङ नेपालमा चार सयको जागिर

राई आउनुभन्दा अगाडि नै सन् १९५६ तिर राईका बुबा काठमाडौं आएर बालाजुमा एकतले घर बनाइसकेछन्। राईका बुबा सिक्किमको चिफ इन्जिनियरबाट रिटायर्ड भएर नेपाल आएछन्। भारतजस्तो ठूलो ठाउँमा हराइने डर भएपछि राई पनि बुबाको सल्लाहमा काठमाडौं आएछन्। 

काठमाडौं आएर साथीले निकालेको ‘नेपाल रिभ्यु’ मासिक म्याग्जिन (जर्नल) मा एडिटरको रूपमा काम गरे। मासिक दुईसय तलब पाउँथे। त्यसपछि राइजिङ नेपालमा सन् १९६८ देखि १९७६ सम्म मासिक चार सयमा जागिर खाएछन्। 

छात्रा पढाउँदा लाजले भुतुक्कै 

सन् १९७६ (विसं २०३३) को कुरा हो। विष्णुबहादुर सिं रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको क्याम्पस प्रमुख थिए। भरदत्त कोइरालाले राईलाई क्याम्पस लगेछन्। क्याम्पस प्रमुखसँग कुरा भयो। प्रविणता प्रमाणपत्र तहमा पत्रकारिता सुरु गर्ने सहमति भयो। साउनबाट आरआरमा पत्रकारिता (११ मा) पढाउन थालेछन्, राईले। सुरुको ब्याजमा १२ जना विद्यार्थी थिए। सात महिनापछि आरआरमा स्थायी शिक्षक भए, राई। स्थायी भएपछि राइजिङ नेपालको जागिर छोडेको बताउँछन्, उनी। 

पत्रकारिता पढाउँदा सन् १९८१ तिरको आईए (प्रविणता प्रमाणपत्र) को एउटा वर्षलाई राई कहिल्यै भुल्दैनन्। त्यो वर्ष पत्रकारिता पढ्न यति धेरै छात्रा आएछन् कि राई नै छक्क परे। अच्चम्मै लागेछ। राई कक्षामा छिर्छन् छात्रा नै छात्रा, विद्यार्थी। कक्षामा ९० प्रतिशतभन्दा धेरै छात्रा। छात्र त ३/४ जना मात्रै । छात्रा भने ४०/४५ जना।

राईलाई पढाउन साह्रै अप्ठेरो लागेछ। राईलाई छात्राले घेर्दा साह्रै अप्ठेरो लाग्थ्यो रे। कक्षामा छिर्दा सारीचोलो लाएका विद्यार्थी कक्षैभरि देख्दा राई लाजले भुतुक्कै हुँदा रहेछन्। विद्यार्थीले प्रश्न गर्दा पनि अड लागेछ। 

विद्यार्थीसँग कसरी अन्तरक्रिया गर्ने ? राईलाई फसाद परेछ। बिस्तारै बानी पर्दै गएछ। कक्षा सकियो। पढाउने आत्मविश्वास भएकाले पढाउन सफल भएछन् राई। अर्को वर्षदेखि छात्रा विद्यार्थी हराउँदै गए रे। त्यसपछि कुनै ब्याजमा पनि त्यतिधेरै छात्रा नभएको बताउँछन्, उनी। किन त्यो वर्ष त्यति छात्रा आएका हुन् भन्ने खास कारण आफूले पत्ता नलगाएको राई बताउँछन्। 

सन् १९८० को दशकमा पहिलो ब्याच स्नातक तहमा पत्रकारिता पढाइ पाटन क्याम्पसबाट सुरु भयो। दोस्रो ब्याजदेखि आरआरमै पढाइ भएको बताउँन्, राई। विसं २०५८ सालदेखि एमएमा पनि पत्रकारिता पढाइ सुरु हुन थाल्यो। 

मध्यम पढाइ 

राईको पढाइ मध्यम स्तरको भएको बताउँछन्। कहिल्यै फेल नभएको बताउँछन्। अब्बल पनि थिएनन् रे। आईएमा राईले लोजिक विषय पनि बढेका रहेछन्। लोजिक मन पर्ने विषय भएकाले त्यसमा हाईएस्ट नम्बर आउँथ्यो उनको।  
अहिलेको जस्तो कम्प्युटर तथा सोसल मिडिया थिएन। रेडियो पनि कम थियो। म्याग्जिनमा जोड हुन्थ्यो। भारतीय पत्रकारिताले भारतको स्वतन्त्रतामा के भूमिका खेल्यो भनेर पढिन्थ्यो। १७८० मा भारतकै पहिलो पत्रिका हिक्किज ग्याजेट सुरु भएको सुनाउँछन् राई। 

हाम्रो इतिहास र सभ्यता नयाँ होइन, ६ हजार वर्ष अगाडिको हो। राईका अनुसार सञ्चारको प्रक्रिया सक्रिय हुनुपर्छ। मानिसले सकारात्मक सन्देश पाउनु पर्छ। 

प्रकाशित: १९ श्रावण २०७५ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App