१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

ईर्ष्यालाग्दो जोडी

विवाहपछि ठाकठुक नहुने परिवार सायदै होलान् । ललितपुरको एक जोडी यस्तो छ । जुन जोडी देखेर छरछिमेकी जेलियस हुन्छन्। 

ललितपुर–९ शंखमूलका हर्षरत्न शाक्य र ललितपुर मंगल बजारकी शीलाबीच विवाह भएको तीन दशक नाध्यो । शीला उमरेले ५६ पुगिन्, शाक्य ६० वर्ष । उनीहरुको सक्रियता तन्नेरीको जस्तो छ ।

शाक्यले दिदीको घरमा भाइटीका लगाउन जाँदा शीलालाई देखेपछि दिदीमार्फत प्रेम प्रस्ताव पठाए । शीलाले प्रस्ताव स्वीकार गरेपछि प्रेम सम्बन्धमा बाँधिएर बिहे गरे । ‘दिदीको घरमा भाइटीका लगाउन जाँदा देखेपछि वहाँ (शीला)लाई दिदीमार्फत म्यासेज पठाएँ,’ उनले भने, ‘त्यहाँबाट हाम्रो डेटिङ सुरु भयो ।’ 

यो जोडी व्यवसायमा सफलता त पाएको छ नै सामाजिक रुपमा उत्तिकै परिचित छ। आर्थिक पक्षलाई भन्दा सामाजिक प्रतिष्ठानलाई दुबैले महत्व दिएका छन्। इज्जत खोजेर पाइँदैन भन्ने दुबैको मान्यता छ।

‘दुई वर्षको डेटिङपछि विवाह ग-यौं,’ दुवैले मुखामुख गरेर हाँस्दै भने, ‘अहिलेसम्म सामान्य ठाकठुक पनि भएको छैन ।’ 
‘म सहनशील भएर होला,’ शाक्यले ठट्टा गर्दै थपे ।

शाक्य भेटेनरी डाक्टर हुन् भने शीला स्नातक तहसम्मको शिक्षा लिएकी छन् । दुवै जनाले फरक व्यवसाय गरेका छन् । हर्षरत्न पशु औषधि बिक्री गर्ने ग्रुप अफ सेभेन सिज्का प्रबन्ध निर्देशक हुन् । शीला मिडिया टू मिडिया प्रालिकी प्रबन्ध निर्देशक । 

व्यवसाय फरक गर्छन् । फुर्सदको समयमा प्रायः सँगै हुन्छन् । व्यवसायसँगै सामाजिक संघसंस्थामा दुवै जना उत्तिकै सक्रिय छन् । रोटरी इन्टरनेसनल लगायतका संघसंस्थामा उनीहरु सँगै काम गर्छन् । 

शाक्य दम्पति देखेर साथीभाइ ‘जेलियस्’ हुन्छन् । ‘साथीहरुले व्यंग्य कस्न भ्याइहाल्छन्,’ शाक्यले भने, ‘ओहो, तपाईंहरु सधैँ सँगसँगै ?’ रोटरी इन्टरनेसनलमा दुवै आबद्ध भएकाले सामाजिक काममा प्रायः सँगै हुन्छन् । एकअर्काको भावना बुझेर अघि बढ्दा आत्मसम्मान हुने दुवैको बुझाइ छ । समुदायमा उनीहरुलाई ‘एक्टिभ कपल’को रुपमा लिइन्छन् ।

कक्षामा सधैँ अब्बल हर्षरत्न अमृत साइन्स कलेजमा आइएस्सी गरेपछि अध्ययनका लागि भारत गए । भारतको बेङ्लोरमा भेटेनरी चिकित्सा अध्ययन गरेका शाक्य करिब तीन वर्ष सरकारी सेवामा काम गरेपछि चित्त नबुझेर छाडेका थिए । सरकारी सेवा बन्धन जस्तो लागेको उनको अनुभव छ । ‘सरकारी बन्धन बाहिर रहेर स्वतन्त्र रुपमा काम गर्ने मेरो इच्छा थियो,’ शाक्यले भने, ‘त्यही भएर राजिनामा दिएँ ।’ 

कृषि तथा पशुपक्षी मन्त्रालयमा राजिनामा बुझाउन जाँदा सरकारी जागिर छाडेर के गर्न खोजेको भनेर धेरै साथीभाइले आश्चर्य पनि व्यक्त गरे । नछाड्न पनि सुझाए । ‘राजिनामा लिएर गएको थिएँ,’ वितग स्मरण गर्दै उनले भने, ‘किन छाड्नु हुन्छ ? अझै सोच्नुहोस् । हतारमा राजिनामा नदिनुस् भनेको अहिले पनि याद छ ।’ सरकारी सेवा भित्रको चाकरी प्रथा मन नपरेको उनी बताउँछन् ।
जागिर छाडेपछि भारत पुगेर बहुराष्ट्रिय कम्पनीमा काम गरेका शाक्यले अहिले त्यहाँ सिकेको अनुभवलाई उपयोगमा ल्याएर व्यवसाय गरिरहेका छन् । लामो समय विदेशी कम्पनीमा काम गरेका शाक्य स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएका हुन् ।

आम्दानीको हिसाबले निकै राम्रो थियो । उनले भारु करिब १७ हजार रुपैयाँ अम्दानी गर्थे । ‘त्यति बेला नेपालको सरकारी तलब १२ सय रुपैयाँ थियो,’ उनले भने, ‘पैसा सबै चिज होइन भनेर बहुराष्ट्रिय कम्पनीको आकर्षक जागिर छाडेर आएको हुँ ।’

स्वदेश फर्किएपछि साथीभाइ र परिवारको सहयोगमा सुरु गरेको बिजनेसले अहिले ठूलो आकार लिएको छ । करिब ३५ लाख लगानीमा सुरु गरेको व्यवसाय अहिले करिब ३० करोड रुपैयाँमाथि पुगेको छ । भेटेनरी औषधिसँगै किड्नी डायलासिसका मेडिकल इक्युपमेन्ट पनि उनी बिक्री गर्छन् । शाक्यका बाबु आशाराम शाक्य प्राध्यापनमा गर्ने भए पनि उनले बिजनेस नै रोजे । ‘बिजनेस गर्ने क्षमता र सीप भएकाले कठिन भएन,’ उनले भने, ‘व्यवसायमा धेरै चुनौती सामना गर्नुपर्छ ।’

छोराछोरी हुर्किएपछि हाउस वाइफ बस्नु हुँदैन भनेर शाक्यकी पत्नी शीलाले सुरु गरेको मिडिया कम्पनी पनि स्थापित भैसकेको छ । ‘सुरु गर्ने आइडिया भने वहाँ (पति)कै हो,’ शीलाले भनिन् । मिडिया बिजनेस सफलताको श्रेय हर्षरत्नले शीलालाई नै दिए । ‘वहाँ (सिला)को डेडिकेसन निकै महत्वपूर्ण छ,’ उनले भने, ‘एक पटक मनमा लागेपछि लक्ष्य प्राप्तिमा लागिरहनु हुन्छ ।’ 

पत्रिका, टेलिभिजन लगायतका सञ्चार माध्यममा विज्ञापन पठाउने र प्रिन्ट हाउसमा प्रिन्टिङको काम गर्छिन् । सेभ द चिल्ड्रेन लगायतका संस्थासँग लामो समय काम गर्दै आएकी छन् । ‘अरु व्यवसायभन्दा फरक चुनौती छ,’ उनले भनिन्, ‘सुरुमा धेरै कठिन भए पनि अप्ठ्यारो परिस्थिति सामना ग-यौँ ।’ उनको मिडिया कम्पनीमा १० जनाले काम गर्छन् । उनको कम्पनीमा दुई करोड बढीको कारोबार हुन्छ ।

व्यवसायमा धेरै हण्डर ठक्कर खाए पनि सफलता चुमेकोमा प्रफुल्ल छिन् । तीतामीठा अनुभवलाई सिकाईको रुपमा लिन्छिन् । ‘पैसा उठाउन कठिन हुने,’ उनले भनिन् । आफ्नो कम्पनीबाट काम सिकेर धेरैले नयाँ व्यवसाय सुरु गरेकामा उनलाई गर्व लाग्छ । ‘सुरुमा मिहिनेत गराएर सिकायो,’ उनले भनिन्, ‘दुई तीन वर्ष काम गरेपछि आफ्नै कम्पनी खोल्छन् ।’ त्यसले उनलाई गर्व पनि लाग्छ । कर्मचारीले छोड्दा कठिन भए पनि काम सिकेपछि स्वउद्यमी बनेकोमा खुसी लाग्ने उनी बताउँछिन् । मिडिया बिजनेसले उनमा आत्मविश्वास बढाएको छ । ‘सबै क्षेत्रका व्यक्तिसँग डिल गर्न पाउँदा आनन्द लाग्छ,’ उनले भनिन्, ‘एउटा संस्था हाँक्दा योजनाबद्ध रुपमा काम गर्नुपर्छ ।’ 

महिला सबै क्षेत्रमा अग्रसर हुनुपर्छ भन्ने मान्यता राख्छिन् उनी। ‘आफैँ स्वावलम्बी हुनुपर्छ,’ उनले भनिन्, ‘अरुसँग हात थाप्नुभन्दा महिलाले अगाडि आएर आँट, खुबी देखाउनु पर्छ ।’ सफल मिडिया उद्यमी शीला महिला सशक्तीकरणका लागि समाजलाई मात्र दोष दिएर नहुने तर्क गर्छिन् ।

व्यवसाय गर्न बाहिरबाट हेर्दा जति सजिलो छ, काम गर्न उत्तिकै कठिन र चुनौती भएको यो दम्पतिको अनुभव छ । ‘लगानी र मिहिनेतले मात्र पनि व्यवसाय सञ्चालन गर्न सजिलो छैन,’ शाक्यले भने, ‘दत्तचित्त भएर योजनाबद्ध रुपमा काम गर्नुपर्छ ।’ व्यवसाय गर्दा नमीठा अनुभव पनि छन् । भुक्तानी नभएपछि मुद्दामामिला गरेर फैसला हुँदा पनि भुक्तानी नभएको तीतो अनुभव पनि सँगालेका छन् ।

शाक्य दम्पतिका दुई छोराछोरी छन् । एक छोरा अमेरिकामा  सफ्टवेयर इन्जिनियर र छोरी जापानमा छिन् । व्यावसायिक सफलतामा पारिवारिक सहयोग पनि महत्वपूर्ण रहेको उनीहरुको बुझाइ छ । ‘ससुरा प्रोफेसर नै भएकाले अघि बढ्न सजिलो भयो,’ शीलाले भनिन् ।

भाइको परिवारसँग संयुक्त रुपमा बस्दै आएका उनीहरुको दैनिक बिहान पाँच बजेबाट सुरु हुन्छ । करिब दुई घण्टा शारीरिक व्यायाम गरेर घर फर्किएपछि मिलेरै किचनको काम गर्छन् । ‘भान्सामा उहाँले पनि सघाउनु हुन्छ,’ शीलाले भनिन् । 

१० बजे घरबाट दुवै जना अफिस निस्किए पनि बेलुका भने शीला पाँचै बजे घर फर्किन्छिन् । शाक्य भने साढे आठ बजेसम्म घर पुग्छन् । 

दम्पतिले फरक–फरक बिजनेस गरेकोमा दुवै खुसी छन् । ‘एउटै व्यवसायमा दुवै जना बिहानदेखि बेलुकासम्म सँगै काम गर्दा मोनोटोनस पनि हुन्छ,’ शीला भन्छिन्, ‘फरक व्यवसायमा स्वतन्त्र रुपमा आ–आफ्ने ढंगले काम गर्न पाइन्छ ।’

फुर्सदको समय र बिदाको दिन सामाजिक काममा जाने गरेका उनीहरु रोटरीमार्फत वार्षिक एक हजार डलर सघाउने गरेको बताए । बौद्ध विहारमा आमा–बुबाको नाममा पूर्वाधार निर्माणमा सघाएका छन् । शाक्य नेपाल भेटनेरी मेडिसिन इम्पोर्टस एसोसिएसनका पूर्व अध्यक्ष पनि हुन् ।

यो जोडी व्यवसायमा सफलता त पाएको छ नै सामाजिक रुपमा उत्तिकै परिचित छ । आर्थिक पक्षलाई भन्दा सामाजिक प्रतिष्ठालाई दुवैले महत्व दिएका छन् । इज्जत खोजेर पाइँदैन भन्ने दुवैको मान्यता छ । ‘समाजमा योगदान गर्नुपर्छ,’ शाक्यले भने, ‘सामाजिक दायित्वबाट विमुख हुनु हुँदैन ।’ पैसाले मान्छे ठूलो बनाउँदैन, उसको बानी व्यवहारले मात्र मान्छे ठूलो हुने हो भन्ने उनीहरु दुवैको जीवनसिद्धान्त छ । आफ्नो कामलाई समाजले सम्मान ग-यो भने आत्मसन्तुष्टि हुन्छ । 

मिहिनेत नगरेसम्म सफलता नमिल्ने भएकाले कडा परिश्रम गर्न यो जोडी सुझाव दिन्छ । ‘भाग्यको पछाडि जाने होइन, परिश्रम ग-यो भने हामी अगाडि भाग्य पछाडी आउँछ,’ शाक्यले भने, ‘त्यसका लागि आफैं मिहिनेत गर्नुपर्छ ।’

प्रकाशित: १ श्रावण २०७५ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App