९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

‘बा’को त्यो अनुहार !

धमिलो प्रतिबिम्ब !वा यस्तै केही शब्द बोल्ने गरेको पाइन्छ– कसैको स्मरण गर्दा । तर, यतिखेर मेरो स्मृतिमा जे छ–जो छ त्यसमा कुनै धमिलोपन छैन, एकदमै स्पष्ट एउटा अनुहार छ– मेरा बाको ।  ७२ वर्षको आयुसम्म सदासर्वदा हाँसिरहेको अथक–परिश्रमी त्यो अनुहार !

कुनै औपचारिक शिक्षा लिनुभएन उहाँले । तर, गुणन र भागको हिसाबमा त्यति छिटो चल्ने क्यालकुलेटर–दिमाग सम्भवतः मैले आजसम्म कसैको पनि भेटेको छुइनँ ।एक दिन !म सायद ४–५ कक्षामा पढ्थेँ त्यसबेला । त्यो दिन स्कुल छुट्टी भएको हुनुपर्छ । तर, मेरो स्कुलका एक शिक्षक हुनुहुन्थ्यो हाम्रो छेउमै ।एउटा कापी र कलम उहाँतर्पm लम्काउँदै मेरा बाले उहाँलाई इशाराले भन्नुभयो– ‘ल, यो हेर्नुस् त सर !’सरले कापी र कलम हातमा लिनुभयो र कापीमा लेखिएको पङ्क्ति पढ्नुभयो ।

तत्काल सरले केही लेख्नुभयो त्यहाँ, अनि सोच्नुभयो । निधार खुम्च्याउनुभयो । के मिलेन कुन्नि ! फेरि लेख्नुभयो, फेरि निधार खुम्च्याउनुभयो । थाप्लोमा हात राख्नुभयो । यो क्रम निकैबेर चल्यो । अन्ततः बोल्नुभयो– ‘खोई काका, सकिनँ हो मैले त ! के भा’को भा’को ?’बाले कापीतर्फ हेर्नुभयो र थोरै मुस्कानका साथ सरको हातबाट कापी–कलम लिनुभयो ।अब कापी–कलम मेरो हातमा थमाउनुभयो बाले ।मेरा आँखाहरू कापीमा बाले लेख्नुभएको पङ्क्तिमा स्थिर भए ।आहा, क्या सुन्दर हस्तलिपि !

वास्तवमा म सधैँ लोभिने गर्थें उहाँका अक्षरहरूसँग । सोच्थेँ– यस्तो अक्षर लेख्न पाए ! कुनै कलाकारले बुट्टा भरेजस्तो ! एकैनासे मसिना । र, छाम्दा नै पनि मिहिन भान हुने ।मैले कापीमा लेखिएको अक्षरहरू परैबाट खुट्ट्याएँ । बाले त्यहाँ लेख्नुभएको थियो– ‘एघार हजार एघार सय एघारलाई अंकमा लेख !’त्यसको ठीक तलतिर पटक–पटक केरमेट गरिएका मेरा सरका अक्षरहरू थिए– ११ ११ ११ ।


हेर्दा ११, ११, ११ शुद्ध थियो । तर, गणितीय हिसाबमा एकदमै अशुद्ध । त्यो ११ हजार ११ सय ११ थिएन । जति पटक पढे पनि त्यो १ लाख ११ हजार १ सय ११ थियो ।तर, कसरी खोई, मेरो दिमागमा कहाँबाट बाको गणितीय ऊर्जा आयो कुन्नि !मैले झटपट शुद्ध जवाफ लेखिदिएँ– १२१११ ।बाले मेरा शिक्षकको अगाडि मलाई धाप दिनुभयो ।त्यतिखेर मलाई कुनै ठूलो समर जितेको आभास भएको थियो ।

‘बा’लाई ‘बुबा’ या ‘बाबा’ भन्ने पनि प्रचलन छ । अझ आधुनिक भाषामा ‘ड्याडी’को सम्बोधनले नेपाली समाजमा निकै नै गहिरो जरा गाडिसकेको छ । तर, मेरो मुखमा ‘रामनाम’जस्तो सदैव ‘बा’कै सम्बोधन रहिरह्यो । चाहे उहाँले हार्मोनियम बजाउँदै कुनै पुरानो गीत गाइरहँदा आनन्दपूर्वक सुनिरहेको अवस्थामा होस् अथवा गाली गर्दा या आफ्नो गल्तीमा गालामा सामान्य चड्कन–चिउरा खाँदा मेरा आँखाबाट आँसु झरेका अवस्थामा होस्; कहिल्यै उहाँप्रति मनमा नकारात्मक भाव आएन ।उहाँले खडा गर्नुभएको आदर्शको आँगनमा खेलेँ–हुर्कें।

उहाँकै नैतिक पृष्ठभूमिबाट निर्माण भएको छ मेरो जीवन । कहिल्यै रक्सी–जाँडको थोपो पनि भित्रेन उहाँको जीवनमा, त्यही ‘जीन’ ममा पनि ट्रान्सफर भयो । अहिले यस्तो मामिलामा आपूmप्रतिभन्दा बढी बाप्रति गर्व लाग्छ ।उहाँका स्वावलम्बी अनुहार हरदम सलबलाइरहन्छ मेरो अगाडि–पछाडि, दायाँ–बायाँ ।वि.सं. १९८८ मा रामेछापको अनकण्टार गाउँ साँघुटारमा आफ्ना पितालाई गुमाएको छ महिनापछि जन्मनुभएको गर्भेटुहुरा, मेरा बा!

मेरा बाले आफ्नै पौरखी हातहरूले निमाण गर्नुभएको घर थियो– विद्यार्थी घर । शुक्रबारको हाफ छुट्टिपछि आफ्नो घर गएर, एक हप्तासम्मका लागि सामलतुमल बोकेर आइतबार बिहान लिखुपारी वा वारीकै गाउँहरू– गाम्नाङ, यसम, घोराखारी, सैपुबाट पढ्न आउने विद्यार्थीहरूको बासस्थान थियो त्यो घर । त्यही घरमा बसेर एक कक्षादेखि एसएलसी दिनेहरूमध्ये केही व्यक्तिहरू देशको प्रशासनको महत्वपूर्ण स्थान– सचिव, मन्त्रीसम्म पनि बनेका छन् । विडम्बना, तिनैमध्ये केही महत्वाकांक्षी उपबुज्रुकहरू त्यस ठाउँमा रहेको मेरो बाको नामको अवमूल्यन गर्ने नाकाम कोशिश गर्दै छन् । स्थानीय बासिन्दाहरूलाई थाहा छ– ‘साँघुटार बजार’को पर्याय हुन्, मेरा बा अर्थात् भीमबहादुर भौकाजी।

त्यतिखेरै, शिक्षा मान्छेको अपरिहार्यता हो भन्ने सचेतनाले भरिपूर्ण मन–मस्तिष्क प्रयोग गर्दै बिना स्वार्थ एउटा पाठशालाको उहाँले परिकल्पनामा गर्नुभयो । निजी अनुदान (मुठी दान) प्रणाली बसाल्नुभयो र त्यस ठाउँका आफन्त–छिमेकीको श्रमदान सापट लिएर विद्यालयको भवन निर्माण गर्नुभयो । विद्यालयको भौतिक संरचना निर्माणमा अहोरात्र शारीरिक श्रम गर्नुभयो । आवश्यक काठको व्यवस्था गरेर आफ्नै हातले झ्याल–ढोका बनाउनुभयो, पर्खाल उचाल्नुभयो ।

‘हिमगंगा हाइस्कुल’को नामले स्थापित त्यो विद्यालयको भौतिक विकासका लागि तत्कालीन राजा महेन्द्रले पूर्वको अनौपचारिक भ्रमणको बखत साँघुटार पुग्दा पाँच सय रूपैयाँको सहयोग गरेको तथ्य रेकर्डमा पढ्न पाइन्छ । तत्कालीन सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो बा । आज दुःख लाग्छ– मेरा बाले समाजसेवाको निमित्त निःस्वार्थ निर्माण गर्नुभएको त्यो विद्यालयको संरचनाको एउटा सानो अंश पनि त्यहाँ शेष छैन । विकासको नाममा, एउटा ऐतिहासिक मोडेलको भवन भत्काएर त्यही ठाउँमा नयाँ विकासे भवन स्थापना गरिएको छ ।

यसमा शंकै छैन– त्यतिखेर बाको कर्म–क्षेत्र आजको जस्तो राजधानीमा हुँदो हो त उहाँ राष्ट्रिय स्तरको एक महत्वपूर्ण कलाकार बन्नुहुन्थ्यो । सीमित घेराकै किन नहोस्, एक महान् कलाकार हुनुहुन्थ्यो मेरा बा ।

मलाई लाग्छ– ऊबेला मेरा बाको सोचमा पक्कै यो कुरो थिएन कि पुराना भत्काएपछि मात्रै नवनिर्माणको थालनी हुन्छ । त्यसो त साँघुटारमा जन्मँदा त्यहाँ थियो नै के र ? उहाँले सबै नयाँ सोचका साथ नवनिर्माण थाल्नुभएको थियो । उहाँकै सोचको परिणति थियो– हेल्थ सेन्टर, सानो बैंकको रूपमा सटही काउण्टर, हुलाकघर इत्यादिको स्थापना । दुर्गम स्थान भए पनि मानिसका आधारभूत आवश्यकताहरू सम्पूर्ण पूरा हुने एउटा नमुना प्रदेश उतिखेरै बनाइसकिएको थियो साँघुटार बजारलाई ।साँघुटारमा हाम्रो एउटा दोकान थियो । दैनिक उपभोग्य खाद्यान्नदेखि लत्ताकपडा र बिरामी पर्दा सामान्य औषधिहरूसमेत रहन्थे त्यहाँ ।

अनगिन्ती पटक रात–बिरात लिखुको किनारमा आफन्तको लाश राखेर मलामीहरूले हाम्रो घरमा बालाई पुकारेका सम्बोधन मेरा कानमा अहिले पनि उस्तै गरेर गुञ्जिरहन्छ । अथवा दसैँको उत्सवमय चाडमा आफ्नो पारिवारिक खुसीलाई एक क्षण तिलाञ्जली दिएर, बाले गाउँका गरीब–दुःखीको लागि आफ्नो दोकानबाट धर्धरी कपडा च्यातेर दिनुभएका ती सत्कार्यिक दृश्यहरू कसरी बिर्सन सकिन्छ ? भलै त्यहाँ व्यापारिक पेशा जोडिएको किन नहोस् !
कुनै अन्य सांस्कृतिक चाडपर्वहरू, जस्तो– श्रीकृष्णजन्माष्टमी होस् या फागुपूर्णिमा, अथवा तिहारको देउसी; जुनसुकै बेला हार्मोनियम बोकेर समूहको नेतृत्व गर्न हरहमेशा मेरा बा नै अगाडि । त्यस्ता कार्यक्रममा उहाँको साथ कहिल्यै छुटेन– स्कूलका हेडसर तिलविक्रम रोका, ज्ञानबहादुर कर्माचार्य, शम्भुदास श्रेष्ठ, तोत्र–सप्त–तीर्थ बज्राचार्य, केदार–बद्रीदास भौकाजी, टीकादास–शम्भुकाजी श्रेष्ठ, धर्मानन्द वाग्लेहरूसँग।


त्यसभन्दा पनि अघि बढेर, मेरा बा स्वयम्ले निर्देशन गर्नुभएको र आफुले पनि अभिनय गर्नुभएका नाटकका संवादहरू मेरो मन–मस्तिष्कमा तरोताज छ । खास गरेर भीभनिधि तिवारीद्वारा लिखित नाटकहरू ‘सहनशीला सुशीला’, ‘विवाह’, ‘पुतली’, ‘नैनीका राम’ वा ५–७ दिनसम्म लगातार मञ्चन गरिने ‘महाभारत’, ‘रामायण’का नाटकीय दृश्यहरू कति सटिक हुन्थे ! अझ, ती नाटकमा भाग लिने पात्रहरू– पुष्पलाल उदास (हरिकाजी सर), गोपालदास भौकाजी जसले नारी–पात्रको भूमिका निर्वाह गर्नुहुन्थ्यो, उहाँहरूको अभिनय कति वास्तविक लाग्थ्यो ! आज, बासमेत उहाँका कतिपय ती समकक्षीहरू यो लोक छाडेर कहीँ अर्कै संसारमा विराजमान हुनुहुन्छ । यतिखेर सोचिरहेछु– जहाँ हुनुहुन्छ उहाँहरू एकसाथ हुनुहुन्छ।

यसमा शंकै छैन– त्यतिखेर बाको कर्म–क्षेत्र आजको जस्तो राजधानीमा हुँदो हो त उहाँ राष्ट्रिय स्तरको एक महत्वपूर्ण कलाकार बन्नुहुन्थ्यो । सीमित घेराकै किन नहोस्, एक महान् कलाकार हुनुहुन्थ्यो मेरा बा ।
बासँगको स्मृति लेख्दै गर्दा मैले यहाँ खोज्नु परिरहेछ– कुनचाहिँ स्मृति नलेखूँ हँ ? लेखूँ त यी दुई–चार पङ्क्तिमा कुनचाहिँ घटनालाई महत्व दिएर छानूँ ? प्रत्येक दिन–दिन, प्रत्येक पल–पल अविस्मरणीय छन् उहाँसँगका ।

नाम होस्, जसरी पनि होस् चाहे बदनाम नै किन नहोस् भन्ने धारणाको पछि–पछि दौडिरहेको यो समाजमा त्यति अचाक्ली मेरा बाको नाम नहोला, तर जति नाम छ उहाँको त्यति नै पर्याप्त छ– उहाँ जुगौँ जुग बाँच्नका लागि । त्यसैले म ढुक्क छु– जन्मेर उहाँले आफ्नो पौरखले निर्माण गरेको साँघुटारको अस्तित्व जबसम्म रहन्छ उहाँको नाम पनि सँगसँगै रहिरहनेछ । उसो त मलाई थाहा छ राम्रोसँग–इतिहासको महल भत्काएर कहाँ भत्किन्छ ? भग्नावशेषभित्र पनि इतिहासको जग गाडिएको हुन्छ ।

 


 

प्रकाशित: ३० असार २०७५ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App