डा. उमा श्रीवास्तव
हर्मन तथा निःसन्तान रोग विशेषज्ञ
तपार्इंले यो पेसा सुरु गर्दा निःसन्तानको उपचारको अवस्था कस्तो थियो ?
२५ वर्षअघि मैले पुतलीसडकमा निःसन्तान केन्द्र भनेर खोलेपछि धेरै मिडिया र घरबेटीले समेत ‘सन्तान हुने केन्द्र’ भनेर लेखिदिनुस् भन्नुभयो । पत्रपत्रिका पनि खनिए । लन्डन विश्वविद्यालयबाट सन् १९८८ मा निःसन्तान विषयमा पढेर आउँदा त्रिवि शिक्षण अस्पतालमा समेत कुनै पनि जाँचसमेत थिएन । वरिष्ठहरू भन्छन्, ‘यति धेरै बिरामी आउँछन् तर सेवा छैन भनेर कराइरहेको सुन्थ्याैं।’
हामीले सब फर्टिलिटी क्लिनिक भनेर खोलेका थियौँ । त्यतिबेला त्रिवि शिक्षण अस्पतालमा सुरुमा महिलाको डिम्बवाहिनी नलीको एक्सरे र वीर्य जाँच गथ्र्यौं । अनि यो विषय नेपालमा छैन भनेर मैले केही गर्नुपर्छ भनेर म त्रिवि शिक्षण अस्पतालबाट फिजियोलोजी (शारीरिक विज्ञान) पढ्न गएँ । मैले मेरो प्रोफेसरलाई भनेर विशेष कोर्स डिजाइन गरेर फिजियोलोजीअन्तर्गत रिप्रोडक्टिभ इन्ड्रोक्राइनोलोजी (हर्मन) विषय नेपालमा आवश्यकता छ भनेर फोकस गर्न लगाएँ ।
त्यो क्रममा पहिलो पहल त्यहाँ नै लन्डनमै रोयल फ्रि अस्पताल लन्डनमा टेस्ट ट्युब बेबी उपचार गरिरहेको देखेँ । महिलाको डिम्ब र पुरुषको वीर्य निकालेर फटिलाइज गराई ट्युबमा बच्चा विकास गरेर पाठेघरमा राखेर गर्ने प्रविधिलाई त्यतिबेलादेखि मैले सपनाको रूपमा लिएको थिएँ । नेपालमा पनि यसरी नै सुरु गर्नुपर्छ भनेर । त्यतिबेलै मैले हर्मन जाँच प्रविधि सिकेँ । पढेर फर्किएपछि त्रिवि शिक्षणमा मैले क्लिनिकल विषयमा अभ्यास गर्न बाटो खोल्न आग्रह गरेँ, तर आइओएमले मानेन । म मेरो ‘बन्ड’ अवधि सकिएपछि टिचिङबाट बाहिरिएँ ।
पुतली सडकमा दुई वटा कोठा लिएर निःसन्तान उपचार सेवा सुरु गरेँ । स्रोत साधन केही थिएन तर निःसन्तानको उपचारसम्बन्धी किताब किनेर ल्याएकी थिएँ । मेरो प्रोफेसनले मलाई तँसँग राजा वीरेन्द्रसँग नभएको सम्पति छ भन्थे । केही स्त्री तथा प्रसूतिरोग विशेषज्ञ साथीहरूको सहयोग लिएँ । त्यतिबेला हप्तामा २/३ जना प्यासेन्ट मात्रै हुन्थे, अहिले दैनिक ५/६ जना त्यस्ता समस्या लिएर आइपुग्छन् ।
२५ वर्षअगाडि र अहिले निःसन्तान समस्या कस्तो छ ?
२५ वर्षअघि मैले त्रिवि शिक्षण अस्पताल छोडेर क्लिनिक खोल्दा हप्तामा २/३ जना मात्रै निःसन्तान उपचारका लागि दम्पति आइपुग्थे । ठूला पदमा भएका, घरानियाहरू फोन गरेर हामीलाई छुट्टै अरू बिरामीले नभेट्ने र नदेख्नेगरी समय दिनुस् भन्थे । बच्चा हुँदैन भन्ने कुरा थाहा भए समाजमा नराम्रो हुन्छ भन्ने सोच थियो । धेरैजसो पुरुषमा त्यस्तो फिलिङ हुन्थ्यो । सुरुमा हेर्दा निःसन्तानका समस्या महिलामा बढी हो कि जस्तो लाग्थ्यो । पछि ज्ञान बढ्दै गयो, प्रविधि भित्रियो, औषधि पाइन थाल्यो, अनि थाहा भयो कि समस्या त बराबरी नै रहेछ ।
गाइनोकोलोजिस्ट र परिवार नियोजन विशेषज्ञ साथीहरूसँग मिलेर खोलेको थिएँ । पछि उहाँले पनि छोड्नु भयो । मसँग ज्ञान हर्मनसम्बन्धी थियो, केही निःसन्तानसम्बन्धी पनि जानेकी थिएँ । अब त्यसैलाई मूल ध्येय बनाएर लागेँ । जाँचका लागि उपकरण पनि थिएन । मैले पछि बम्बैमा प्रयोग गरिने एउटा हर्मन जाँचको प्रविधि (एलाइजा टेस्ट) ल्याएँ । बल्ल हर्मन टेस्टिङ सुरु गरेँ । काम गर्दै समस्या थाहा पाउँदै उपचार सुरु गरेँँ । त्यतिबेला नेपालमा हर्मन टेस्ट गर्नेहरूसमेत थिएनन् । पछि २ वर्ष हर्मन टेस्टिङ गरेर सम्मेलनहरूमा जाँदै, सिक्दै गरेर अगाडि बढेँ । पछि म भारतमा टेस्ट ट्युब बेबी प्रविधि सिक्न गएँ । मैले पढ्दा लण्डनमा समेत पेटबाट प्वाल पारेर डिम्ब निकालेको देखेकी थिएँ । ४ वर्षको दौरानमा त योनिद्वारबाट निकाल्ने प्रविधि आइसकेको रहेछ । त्यो समयमा समस्या लिएर आउनेहरूमा मानसिकताको समस्या थियो ।
मानसिकताको समस्या भन्नाले ?
चिकित्सा विज्ञानले समस्याहरूको वर्गीकरण गरेर हेर्छ । पुरुषका कारण हुने निःसन्तान, महिलाका कारण हुने निःसन्तान र दुवैका कारणले हुने निःसन्तान समस्या । महिलामा डिम्बवाहिनी नली बन्द हुने, डिम्ब विकास नै नहुने समस्या वा सिस्ट वा संक्रामक रोगजस्ता समस्या हुन्छन् । पुरुषमा शुक्रकीटको कमी हुने, शुक्रकीट बाहिर आउने मार्गमा अवरोध भएको अवस्था हुन्छन् । अर्कोतर्फ दुवै स्त्री/पुरुषमा पनि समस्या रहेको हुनसक्छ ।
पहिला छोराछोरी नभए दोस्रो विवाह गरिहाल्थे होला, अहिले छोराछोरी नभए पनि त्यस्तो प्रचलन त घट्दो नै छ नि ?
धेरै दम्पतिमा सन्तानको चाहना गुम्सिएर रहेको हुन्छ । एउटा सन्तान भएपछि अर्को सन्तान आँट्न आर्थिक अवस्था कस्तो छ भन्ने पनि सोच्न थालेको अवस्था अहिले । अहिले पनि सहरी र पढेलेखेकै समाजमा पनि सन्तान भएनन् भनेर दोस्रो विवाह गर्ने प्रवृत्ति छ । महिलाहरू अहिले पनि सन्तान नहुनुको कारक भनेर थुपै शारीरिक यातानाको शिकार भइरहेका छन् । कतिपयको घर नै तहसनहस भएको छ । आफ्नै सानिआमाको अमानवीय व्यवहार सहन नसकेर त्रिशूलीमा फाल हान्न गएको र भाइले बचाएको घटना पनि छ ।
अहिले भएका उपचार त सबै सहर केन्द्रित छन्, गाउँमा निःसन्तानको उपचार हुन्छ भन्ने चेतना र पहुँच कसरी पु-याउन सकिन्छ ?
१३ देखि १५ प्रतिशतमा निःसन्तान समस्या छ । अहिले निःसन्तानको सम्पूर्ण परीक्षण एवं उपचार नेपालमै सम्भव हुन्छ ।
२०१२ मा स्वास्थ्य मन्त्रालयले म्यानेजमेन्ट अफ इम्फर्टिलिटी नेपाल भनेर एउटा प्रोटोकल बनाउन लगायो । अहिलेसम्म कार्यान्वयनमा आएको थाहा छैन । नेपालमा प्राइमरी, सेकेन्डरी, जोनल केन्द्रीय अस्पताल सबैको तहमा साधारण जाँच गर्न सकिन्छ । हेल्थ पोस्टमै पनि बच्चा नभएर आएका पुरुषको वीर्यको जाँच गराउन माइक्रोस्कोप र स्वास्थ्यकर्मीलाई तालिम दियो भने पु-याउन सकिन्छ ।
प्राइमरी लेभलमा समस्या थाहा पाएपछि जिल्ला तहसम्म पुगेर अल्ट्रासाउन्ड गरी डिम्ब विकास भए/नभएको, पाठेघर भए/नभएको थाहा पाउन सकिन्छ ।
निःसन्तानको उपचार विकल्प के/के छ नेपालमा ?
मेल फिमेलको उपचार हुन्छ । वीर्य नै कम भएको अवस्थामा अरू कसैको वीर्य लिएर सहमतिमा बच्चा गराउन सकिन्छ । धेरै बच्चा भइरहेका छन् । नेपालको परिप्रेक्षमा वीर्य कसको हो भन्ने गोप्य राखिन्छ । अहिले प्रिम्याचुअर ओभरियान फेल्योर भन्ने हुन्छ । ३५ वर्षमै डिम्ब विकास रोकिन्छ । यस्तो अवस्थामा अन्य श्रीमान् वीर्य लिने र अन्य महिलाबाट डिम्ब लिएर पनि पाठेघरमा लगेर सिधै राख्न सकिन्छ, पाठेघरमै हुर्काउन सकिन्छ । यस्ता उदाहरण प्रशस्त छन् । यस्तो अवस्थामा निश्चित जाँच गरिनुपर्छ । यस्तो अवस्थामा अहिले वीर्यदाताबाट आएका सबै वंशाणुगत रोग भने रोक्न सकिन्छ ।
२५ वर्षको करिअरमा कति तनाबमा आएकाहरू काखमा बच्चा लिएर फर्किएका छन् ?
अहिले मेरै सेन्टरमा २० देखि २५ महिलाहरू गर्भवती हुन्छन् । मैले सुरुमा आइभिएफबाट जन्माएको बच्चा नेपालगञ्जको थियो, त्यो परिवार सम्पर्कमा छैन । काठमाडौकै अर्को दम्पतिको बच्चा त अहिले इन्जिनियरिङ सक्यो । कतिपय बच्चाहरू आउँछन् र आमा भन्छन् । बडो खुसी लाग्छ ।
आएकामध्ये ४/५ जनाको गर्भ तुहिन्छ । यहाँ गर्भ रहेपछि नियमित परीक्षणका लागि अन्यत्रै जानेहरू पनि हुन्छन् । कहिलेकाहीँ उपचार गरेर पठाएपछि दोस्रो बच्चा चाहिने बेला आउँछन् । अहिले त बच्चा भएपछि लिएर आएर काखमा राखिदिन्छन्, मिडियामा समेत जान इन्कार गर्दैनन् । धेरै सचेत भइसकेका छन् । यो कुराले निकै खुसी दिन्छ । पहिलापहिला उपचार गरेर बच्चा भएको भन्नेमा हिनताबोध मान्थे कि अहिले केही घटेको छ । कम भने भएको छैन ।
निःसन्तानको सबैभन्दा सजिलो उपचार के छ ?
हर्मनको सुई तर यो जसले पायो उसले गर्नु हुँदैन । आइभिएफ त निकै खतरनाक उपचार हो । जसलाई चाहिँदैन, उसले यो सुई प्रयोग गर्नै हुन्न । यो हर्मनको साइड इफेक्ट छ । २/२ महिनाको अन्तरमा आइभिएफ गरेर ती महिलालाई हामीले के बनाउने हो ? भोलि गएपछि ट्युमर विकास होला, क्यान्सरै होला । म आफैँले नेपालमा आइभिएफ ल्याए पनि त्यसको खासै प्रचार गर्दिनँ । अहिले त स्केन्डिभियान देशहरूमा आइभिएफको समस्या देखिएको भनेर त्यसमा कडाई अपनाएको छ ।
निःसन्तान उपचार महँगो छ, सरकारले केही सहयोग गर्न सक्तैन ?
हामीजस्तो निजी क्षेत्रले त १० प्रतिशतलाई निःशुल्क सेवा दिइरहेका छौँ भने सरकारले चाह्यो भने गर्न सक्ने कुरा धेरै छ । हामीकहाँ पूर्वपश्चिमदेखि दम्पति आउँछन्, एउटा कोठामा बसेका हुन्छन् । बच्चा नभएर तनाबमा हुन्छन् । पैसा छैन् भन्छन्, रुन्छन् । यस्तो अवस्थामा हामीले कसरी पैसाका कारणले उनीहरुलाई फर्काऊँ ? हामीले पनि सोच्नुपर्छ– एउटा नयाँ मानव सृजना गर्दैछौँ । बच्चा हुनु पनि राष्ट्रका लागि आम्दानी हो । तर दम्पतिले आफू सन्तान चाहन्छन् भने आफूलाई सक्षम बनाउनुपर्छ आर्थिक रुपमा ।
मैले गुजरातमा एउटा निःसन्तान उपचारको ठूलो अभियान देखेँ । गुजरातमा १० लाख दम्पतिमा आइभिएफ सेवा दिइएको पाएँ । मैले उनीहरुलाई सोधेँ, यो कसरी सम्भव भयो ? त्यहाँ सरकारले हर्मन इजेक्सन निःशुल्क दिएको रहेछ । डाक्टरहरूले काउन्सिलिङ र प्रोसेसिङ गरिदिएछन् । उनीहरूले पुरुषहरूलाई महिनामा कम्तिमा १० हजार कमाउन सक्ने भएपछि आइज भनेर काउन्सिलिङ गरेछन् । यो देखेपछि मैले पनि दानपत्र फोडेर उपचार दिन थालेँ ।
यस उपचारमा हर्मन इजेक्सन नै महङ्गो हुन्छ । सरकारले जसरी परिवार नियोजनका सुईहरू किनिदिएजस्तै निःसन्तानको इन्जेक्सन किनिदिने, अनुदान दिने हो भने आइभिएफ प्रविधि महँगो हुँदैनथ्यो । ५० हजारमै आइभिएफ दिन सकिन्थ्यो । इजेक्सन ल्याउने विधि सहज बनाउनुपर्छ ।
प्रस्तुती : दीपक दाहाल ।
प्रकाशित: २६ असार २०७५ १२:११ मंगलबार