१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

महिलाभन्दा पुरुष फेसनेबल

तस्बिर : कृष्पा श्रेष्ठ

सविना महर्जन १९ वर्षदेखि लगातार फेसनको क्षेत्रमा छिन् । घरमा आमा–बुबाको सहयोग पाएर फेसन सिकेकी उनले लामो समयसम्म अरूकै बुटिकमा काम गरिन् । तर एक वर्षदेखि आफ्नै बुटिकमा रमाइरहेकी छिन् । कुपन्डोलमा लाइक्रा नामक बुटिकमा व्यस्त उनै फेसन डिजाइनर महर्जनसँग पुष्पा थपलियाले गरेको कुराकानीः

तपाईंको विचारमा फेसन के हो ?

फेसन भनेको त्यो हो, जेमा आफूलाई सहज र राम्रो अनुभव गरिन्छ र त्यो देखेर अरू पनि आहा कति सजिलो होला भनेर अनुभव गर्छन् । उदाहरणका लागि तपाईं कुनै पार्टीमा जानुभयो, त्यहाँ एकदमै राम्रो र गह्रौं लेहेंगा लगाउनुभयो, जुन तपार्इंलाई बस्न, हिँड्न अफ्ठ्यारो परिरहेको छ । त्यो फेसन हैन । फेरि तपार्इं क्याजुअल ड्रेस जस्तो कि टि–सर्ट पाइन्ट लगाएर पार्टीमा जानुभयो, देख्नेहरुले तपार्इंलाई अनौठो मानेर हेरे, त्यो पनि फेसन हैन । फेसन गर्नका लागि आफूलाई सजिलो हुनुपर्छ र अरूलाई पनि सहज लाग्ने खालको हुनुपर्छ । अझ भनाैं तपाईंको पहिरनलाई, मेकअपलाई पहिले तपार्इंको शरीरले स्विकार्नु प-यो अनि समाजले स्वीकार गर्न सक्नुप-यो । त्यो नै फेसन हो । 

यो त भयो फेसन भनेको के हो भन्ने कुरा । तपाईंको आफ्नो फेसनको राज के हो नि ?

त्यही त हो नि, म आफूलाई सजिलो हुने र समाजको आँखालाई पनि सहज हुने फेसन गर्छु । यही नै राज भन्ने त छैन । सबैले आफूलाई सहज हुने र परिस्थिति सुहाउने फेसन गरे यो राज मेरो मात्रै रहँदैन । म सानै हुँदा पनि मेरो आमाले मलाई स्कुल पठाउँदा चिटिक्क पारेर पठाउनुहुन्थ्यो । मेरो आमा अहिले पनि आफ्ना ड्रेसहरु मिलाएर सुहाउँदो तरिकाले लगाउनुहुन्छ ।  अनि मेरो बालाई यसरी नै मिलाएर लगाएको मन पर्छ । सबैले यही सानो कुरामा ध्यान दिने हो भने फेसनबारे राम्रोसँगै थाहा पाउँछन् जस्तो लाग्छ । सबैले थाहा पाइसकेपछि त यसलाई कसरी राज भन्न सकिन्छ र हैन ?

ठिकै छ, तपाईंको फेसनको राज त राज रहेन, तर फेसन डिजाइनर बन्नुको राज के हो नि ?

मैले अघि पनि भने नि । सानैदेखि चिटिक्क पारेर आमा बाले स्कुल पठाउँदाताका नै मेरो मनमा यो पेशाप्रति आकर्षण बढेको थियो । जब एसएलसी दिएँ, अनि घरदेखि बाले सिलाइ–कटाइ सिक्न पठाउनुभयो । अहिले पो फेसन डिजाइनिङ कोर्स गर्न पाइन्छ, त्यो समयमा त यो कोर्स नै थिएन । सिलाइ–कटाइ भने पनि फेसन डिजाइनिङ भने पनि कुरो एकै थियो । त्यही सिलाइ–कटाइ सिकेदेखि नै मैले एक कपडा पसलमा काम गर्न थालेँ । त्यो समयमा काठमाडौंमा जन्मिएकी, खान लाउन समस्या नहुने घर भए पनि मैले आफ्नो करिअर बनाउन निकै मिहिनेत गरेकी छु । बिहानै उठ्यो सिलाइ सिक्न गयो, पसलमा काम ग-यो अनि राति घर आयो । वरपरकाले सिलाइ–कटाइ सिक्न गाकी भनेर खिसी पनि गर्थे । पछि फेसन कोर्स गरेँ सन् २००१ मा । नेवार परिवारमा त झनै यो काम गर्नै नहुने भन्नेमा पथ्र्यो । तर, अहिले खुसी लाग्छ, यही कुपण्डोल एरियामा भएका बुटिकहरुमा ७० प्रतिशत नेवार समुदायकै महिलाले सञ्चालन गरेका बुटिक छन् । 

नेपालमा कस्तो फेसन चलेको छ त आजकाल ? विशेष गरेर महिलामा चलेको फेसनबारे बताइदिनुस् न ?

अब ठाउँ हेरेर फेसन गर्ने हो । क्याजुअलमा हिजोआज टिनएजर्सहरुमा एङकल लेन्थ भएको पेन्ट, लङ आउटर, लङ कुर्ता, स्टेट पेन्ट, टि–सर्ट पेन्ट नै चलेको छ । पार्टी ड्रेसमा आउटर प्लस लेहेँगा, लङ चोली, साटनको साडी लगायतको छ । जो हल्का लगाउन चाहन्छन् उनीहरुको रोजाइमा साटनको सारी हो, नत्र हेभी लगाउनेका लागि भरेका लेहेँगा र भरेका सारीहरु नै हुन् । एज वाइज हेर्ने हो भने, प्लस टु पढ्ने केटाकेटीहरु कोरियन ड्रेस रुचाउँछन् । ठूलो साइजको कपडा पनि उनीहरुले मिलाएर लगाएको देख्दा म त दंग पर्छु । ओभर साइजको ड्रेस भए पनि सानो बेल्ट मिलाएर बाँधिदिँदा राम्रो देखिन्छ, फेसन भनेको पनि त्यही हो, हामी सामान्य कपडालाई पनि स्टाइलिष्ट तरिकाले लगाउन, प्रिजेन्ट गर्न सक्छौं । 

अनि पुरुषहरुको फेसन चैं कस्तो छ नि ?

तपाईं मेरो कुरा मान्नुस्, नमान्नुस्, नेपालमा, विशेष गरेर काठमाडौंमा महिलाको तुलनामा पुरुषको फेसन सेन्स एकदमै बढी छ । उनीहरुको फेसन स्टाइल महिलाको भन्दा दोब्बर बढी होला जस्तो लाग्छ मलाई त । उदाहरण मेरै घरमा छ । मेरो श्रीमान् र छोरा फेसनको मामिलामा म भन्दा धेरै अगाडि हुनुहुन्छ ।  उहाँहरुले लगाउने कपडा, फेब्रिक, स्टाइल साह्रै राम्रो छ । फेसनको मामिलामा मभन्दा धेरै अगाडि हुनुहुन्छ ।  उहाँहरुले लगाउने कपडा, फेब्रिक स्टाइल साह्रै राम्रो छ । हामी दुई कतै निस्कनुप-यो भने तयार हुन पनि मलाई भन्दा उहाँलाई नै बढी समय लाग्छ । 

पुरुषहरु त फेसन नै गर्दैनन् भन्ने पो सुनिन्छ त ?

यो सुनिएको मात्रै हो ।  सबैभन्दा बढी फेसनेबल त महिलाभन्दा पुरुष नै हुन्छन् । महिलाहरु एकपटक लगाएको कपडा एकैपटकमा फेसन आउट भएको ठान्छन्, धेरै कपडा किन्छन् त्यही भएर बाहिरदेखि हेर्दा महिला फेसनेबल देखिएको जस्तो लागेको हो, पुरुषहरु कम सपिङ गर्छन् तर निकै गुणस्तरीय छनोट गर्छन् । क्वान्टिटी कम हुन्छ, क्वालिटी बढी हुन्छ, पुरुषहरुको सपिङमा । पछि त्यही कम कपडालाई उनीहरु सुहाउँदो तरिकाले लगाउँछन् । चेन्ज गरिगरी एकै कपडा लगाउँछन् तर त्यहाँ फेसन सेन्स भरपुर हुन्छ  । 

नेपालमा आयोजना हुने फेसन सो हरुमा त पक्कै जानुहुन्छ, कस्तो लाग्छन् ती सोहरु ? 

धेरैमा त गएको छैन, तर केहीमा जान्छु । म आफू पनि सोलो फेसन सो गर्ने योजनामा छु ।  त्यो फेसन सो म नेपालमा हैन, विदेशमा गर्नेछु ।  किनभने नेपाल विदेशी फेसन सोको स्तरमा पुगिसकेको छैन । कमसेकम म विदेशमा फेसन सो गरेर नेपाली फेसनलाई विदेशमा पु-याउन चाहन्छु । त्यसका लागि तयारी भइरहेको छ । नेपालमा आयोजना हुने सो हरु पनि पहिलेको तुलनामा राम्रा हुँदै आएका छन्, तर जति हुनुपर्ने हो त्यति भने भइसकेको छैन । 

किन भएन होला त, विदेशी फेसन सो जस्तो नेपालको फेसन सो ? 

यही कारण त म भन्न सक्दिन, जहाँसम्म लाग्छ, ज्ञानकै अभाव होला । नेपालमा कस्तो संस्कृति छ, यहाँका मानिसहरु कस्तो फेसन रुचाउँछन्, कस्तो रुचाउँदैनन् भन्ने थाहै नपाइकन फेसन सो को आयोजना हुने गर्छ । फेसन सो भनेको त्यो हो, तीन महिना या एक वर्षभित्र आम मानिसले स्विकारिसक्नु हो तर यहाँ समय र परिस्थितिअनुसारको फेसन सो हुँदैन । छोटो कपडा लगाए ग्ल्यामर भइन्छ भन्ने भ्रम परेको छ यहाँ । यो गलत हो । 

फेसन सो मा सेलिब्रेटीहरु जान्छन्, -याम्पमा हिँड्छन् । उनीहरु -याम्पमा हिँडे भनेको भन्दा पनि कतै टाँक चुड्डिएको कतै गोप्य अंग देखिएकै कारण मिडियाको गसिप पेजमा छाउँछन् । यसमा फेसन डिजाइनरको भूमिका कस्तो हुनुपर्ने होला? 

सेलिब्रेटीलाई फेसन सोको -याम्पमा उतार्नुको कारण नै उनीहरुको देखासिकी गरेर आम मानिसमा फेसन सेन्स पु-याउनु हो । उनीहरु नै सजिलो नहुने ड्रेस बनाइदिनु फेसन डिजाइनरको पनि गल्ती त होला तर सेलिब्रेटीहरुको गल्ती बढी देखिन्छ । उनीहरु कुनै सोको -याम्पमा उत्रिँदैछन् भनेपछि आफूमा सहज छ या छैन, कपडाको कुनै भागमा डिफेक्ट पो छ कि भनेर समय लगाएर हेर्नुपर्छ । तर यहाँ -याम्पमा हिँड्नुभन्दा पाँच मिनेट अगाडि आउँछन् र हेर्दै नहेरी, फिटिङ छ या छैन निर्क्याेल नै नगरी सिधैँ स्टेज चढ्छन् । अनि पत्रकारलाई पनि त्यस्तै मसला चाहिन्छ । 

अनि फेसन सोमा प्रस्तुत हुने डिजाइनबारे कस्तो धारण छ नि तपाईंको ? 

मैले अघि पनि भने, राम्रा हुँदै गएका छन् । पढेलेखेका डिजाइनरहरु यो मार्केटमा आउन थालेका छन् । तर समस्या कहाँनेर छ भने, उनीहरु आम मानिसले स्विकार्न नसक्ने, सजाएर राख्न मात्रै मिल्ने, लगाउन नमिल्ने खालका डे«सहरु डिजाइन हुन्छन् । यो भने मलाई राम्रो लाग्दैन । 

फेसन सो छाडेर फेरि तपाईंतिरै फर्कौं । मनपर्ने ब्रान्डहरु के–के हुन् र किन ? 

म ब्रान्डको पछि लाग्दिन । अझ भन्दा म आफैंलाई एक ब्रान्ड बनाउने कोसिसमा छु । मलाई सहज हुनुप-यो, जहाँ पाउँछु, जे पाउँछु उठाइहाल्छु । मेकअपका सामानहरु भने मेरा ग्राहकहरु विदेश गएका बेला ल्याइदिनुहुन्छ । मेरो छालाका लागि केही ब्रान्डका मेकअप सामान प्रयोग गर्छु, जसमा सबैभन्दा बढी सामान म्याकको हुन्छ । मेरो लिपिष्टिकको कलेक्सन एकदमै बढी छ, धेरै मन पर्छ त्यही भएर फरक–फरक कलरका लिपिष्टिकहरु मसँग छ । कपडाका केही ब्रान्डहरु पनि मलाई मनपर्ने खालका छन् । जस्तो कि, टि–सर्टहरु मलाई स्प्रिट र जाभाको मनपर्छ । 

फेसनकै लागि भनेर कति खर्च गर्नुहुन्छ नि ?

हाँस्दै, मलाई मेरो घर परिवारका सदस्यले निकै खर्चालु भन्नुहुन्छ । तर फेसनकै लागि यति भन्ने चैं छैन । मलाई गहनाहरु पनि निकै मनपर्छ । त्यही अनुसार जुत्ताको कलेक्सन पनि थुप्रै भइसक्यो । त्यही भएर म अनलिमिटेड खर्च गर्छु फेसनमा । 

फेसनका ब्लगहरु, साइटहरु पनि हेर्नुहुन्छ कि ?

अँ, म यही क्षेत्रमा भएपछि अपडेटका लागि पनि हेर्नैप-यो । फेरि यही सर्कलका साथीहरु छन् सामाजिक सञ्जालहरुमा पनि । यसो फेसबुक चलायो, त्यहीँ पनि फेसनसम्बन्धी विभिन्न समाचार सामग्री, टिप्सहरु आइरहेको हुन्छ । अहिले युट्यूबले पनि मलाई निकै सजिलो बनाएको छ । नेपालको र इन्डियाको फेसन धेरै लिन्छ, युट्यूबमा भारतका नामी नामी फेसन डिजाइनरले राम्रा–राम्रा आइडिया दिइरहेका हुन्छन् । आफू यही क्षेत्रमा भएपछि अपडेप पनि हुनुप-यो नि हैन त ?

तपाईंलाई मनपर्ने कलर ?

हट पिङ्क र रेड मलाई धेरै मनपर्ने कलरहरु हुन् । यी कलर मनपर्नुको कारण पनि छ । रेड मन पराउने मानिस मनदेखि राम्रो हुन्छ र पोजेटिभ सोच्छ, अनि हट पिङ्क त सबै महिलाहरुको रोजाइको भइहाल्यो ।  

मनपर्ने ड्रेस ?

अफिसियलमा कुर्ता सुरुवाल मनपर्छ अनि क्याजुअलमा टि–सर्ट पेन्ट । पार्टी वेयरमा भने सारी नै लगाउँछु । 

सपिङ गर्न कत्तिको मनपर्छ नि ?

सपिङ गर्न मन नपर्ने को होला र ? मलाई त एकदमै मनपर्छ । मैले नेपालका मुख्य मुख्य बजारहरु सबैमा सपिङ गरेर भ्याएकी छु । पसलका लागि पनि सपिङ गर्नुपर्ने भएकाले यो त मेरो कामै भइहाल्यो । 

विदेशमा भने सपिङ गर्नुहुन्न ?

मैले पसलका लागि इन्डियादेखि सामान ल्याउने हो । त्यहाँ पनि आफँै जानु पर्दैन । जमाना सजिलो छ, कन्ट्याक गरेपछि मगाएजस्तो सामान छिट्टै आइपुग्छ । आफ्ना लागि भने म प्रायः नेपालमै सपिङ गर्छु । अहिले नजिकै लविङ मल खुलेर झनै सजिलो भएको छ । 

एक्लै सपिङ गर्नुहुन्छ कि परिवारको साथमा ?

फुसर्द भए परिवारको साथमा नत्र एक्लै । अर्को कुरो सपिङ विनायोजना गरिन्छ जस्तो लाग्छ । मेरो फेबरेट कुरो म जहाँ भेट्छु, जतिखेर भेट्छु उठाइहाल्छु । 

तपाईं घडी लगाउनु हुन्न ?

घडीको कुरा गर्नासाथ मलाई मेरो सानो फिङ्गर वाचको याद आयो । मेरो बिहे हुनुभन्दा अगाडि, हस्ब्यान्ड त्यो बेलामा ब्वाइफ्रेन्ड भनौं, उहाँ विदेश जाँदा मलाई फिङ्गर वाच ल्याइदिनुभएको थियो । त्यो यति राम्रो थियो कि, जो मानिस आए पनि मेरो औंलामै सबैको ध्यान गइहाल्यो । सबैले फुकाल्न लगाएर आफू लगाउँथे र मलाई कहाँबाट ल्याएको भनेर सोध्थे । त्यो घडी कता हरायो कता । त्यो बाहेक मलाई घडी लगाउनमा खासै रुचि छैन । समय हेर्नका लागि आफ्नो हातमा सधैँ मोबाइल भइरहन्छ । यसो पार्टीतिर जाँदा मलाई त कडाहरु, चुरीहरु नै लगाउन मनपर्छ ।

मोवाइल कुन ब्रान्डको छ नि ?

(देखाउँदै) यो आईफोन ७ प्लस हो । आईप्याड प्रोको छ ।  

प्रकाशित: २४ असार २०७५ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App