१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

कथाभित्रको कथा

आज बिहानैदेखि मलाई मेरी आमाको खुब याद आइरहेको छ । आमासँग बिताएका अतीतका रमाइला पलहरू मेरा आँखामा क्रमैसँगले सजिन पुग्छन्।

आज आमाको औधी माया लागिरहेको छ । आज उहाँको पुण्यतिथि हो । आजकै दिनमा उहाँको नाममा कुनै वृद्धाश्रममा गएर त्यहाँको आमाहरूलाई केही उपहार दिने र भोजन खुवाउने सोच पहिले नै राखेकी थिएँ । फलस्वरूप एउटी बहिनीलाई सहयोगीको रूपमालिएर एउटा वृद्धाश्रममा पुग्छु ।वृद्धाश्रमको चारैतिर मेरा आँखा घुम्छन् । बडो एकान्त, रमणीय र सुन्दर लाग्छ ।

उमेर र समयसँगै ओझेलमा पर्दै गएका थुप्रै आमाहरूलाई त्यहाँ देख्छु । सबै आमाहरूको अनुुहारमा आ–आफ्नै भावहरू झल्किरहेको प्रष्टसँग देख्छु ।सबै आमाहरू आ–आफ्नै सुरमा व्यस्त थिए । कोही घामतिर ढाड सेकाएर रामायण पढिरहेका थिए त कोही आफ्नै फाटेका गुन्युचोली सिलाउँदै थिए भने कोही कपास हातमा लिएर बत्ती काटिरहेका थिए । तर, तीमध्ये एक जना आमा आँखाभरि आँसु टलपलाएर एकोहोरिँदै आफुभित्रै हराएकी देखिन्थिन् । मेरो मन चसक्क चस्किन्छ।

सम्झन्छु, धन्न मेरी आमाले यस्तो परिवेशमा बस्नु परेन । ‘थ्याङ्क्स् गड !’ एकछिन मौन भई लामो सुस्केरासँगै मबाट आवाज निस्कन्छ ।आश्रमका आमाहरू मेरी आमा नभएता पनि ‘आमा’जस्तै हुन्, आमाजत्तिकै हुन् । कसै न कसैकी आमा हुन् ।९ महिना गर्भमा राखेर यो सुन्दर संसार देखाएका आमाहरूले आज आफ्नै बच्चाहरूबाट अपहेलित भई एउटा आश्रमको परिधिलाई नै आफ्नो सानो संसार मानेर जिउन बाध्य भइरहेका छन्।

सोच्छु, सबै आमाहरूको कस्ता किसिमका कथा–व्यथाहरू होलान् ! आश्रमकी सञ्चालिका दिदीलाई भेटेर आश्रमको बारेमा बुझ्दा त्यहाँ १८ जना आमाहरू रहेका जानकारी पाएकीले सञ्चालिका दिदीसँग आफु त्यहाँ आउनुको कारण बताउँछु र मेरो साथ गएकी बहिनीको सहयोग लिई सबै आमाहरूलाई बिस्कुट, जुस, विभिन्न मिठाइहरू वितरण गरेँ र उपहारको रूपमा एक–एकवटा पछ्यौरा ओढाइदिँदै ढोग गरेँ । सबै आमाहरूले खुसी हुँदै हामीलाई आशीर्वाद दिनुभयो । तर, एक जनाआमा, जो अघि आँखाभरि आँसु टलपलाएर एकोहोरिइरहेकी थिइन्– उनलाई खानेकुरा दिएर पछ्यौरा ओढाई दिँदादिँदै गर्दा उनले मेरो हात सुमसुम्याउँदै मलाई अँगालो मारेर रुन थालिन् । म असमञ्जस्यमा परेँ।

मैले ती आमालाई धेरै सम्झाएँ, फकाएँ, आँसु पुछिदिँदै ढाडस दिएँ । तर, मेरै आँखाबाट पनि खोई कतिखेर हो आँसुका थोपाहरू झरिसकेका रहेछन्, मलाई नै पत्ता भएन । उनले उल्टै मेरा आँखाबाट गालामा झरेका आँसु पुछिदिँदै भनिन्– ‘नानी ! कुन्नि किन हो, तपाईं मेरी छोरी नभए पनि छोरीजस्तै लाग्यो ।’ यति भनी उनी एकछिन मौन भइन् अनि एक्कासी भक्कानिएर रोइन्।

आमाका आँसु पुछिदिँदै साहस बटुलेर भन्छु– ‘तपार्इं मलाई छोरी पनि सम्झनुहुन्छ, फेरि मनका पीडाहरू पोख्न पनि सक्नुहुन्न, किनआमा ? ... तपाईंलाई के भयो ? आफ्नो मनको कुरा खुलस्तसँग भन्नोस् न आमा !’
आमाले एकपटक मेरो अनुहारतर्पm हेरिन् र भनिन्– ‘भन्छु नानी, तपाईंलाई भन्छु ।’उनले लामो सास तानेर सुरूमा खुइय...गर्दै आकाशतर्फ एकोहोरो हेरिन् र अतीतमा डुबिन्।

‘उहाँ शिक्षक, म शिक्षिका ! हाम्रो पहिलो भेट शिक्षकहरूको सम्मेलनमा पाल्पामा भएको थियो । उहाँ मेरो गुणप्रति र म उहाँको व्यवहारप्रति आकर्षित भयौँ । केही समयपछि नै हाम्रो दुवैको आकर्षण मागी विवाहमा परिणत भयो ।
हाम्रो जीवन निकै खुसी र सुखपूर्वक बित्दै गयो ।

विवाह भएको तीन वर्षभित्र हाम्रो छोरो जन्म्यो– सम्बोधन । उसको पालनपोषण, रेखदेख, घरव्यवहार र स्कुल सबै म आफुले भ्याउँथेँ । छोरो ९ वर्षको थियो, एक दिन उसको बुबा काठमाडौँ जानु हुँदा बाटोमा गाडी दुर्घटना भएर बित्नुभयो । त्यसपछि घरको सम्पूर्ण जिम्मामा नै थुप्रियो । धेरै दुःख गरेर छोरालाई हुर्काएँ, बढाएँ अनि पढाएँ । ऊ कलेज पढ्ने भयो ।मलाई साह्रै माया गथ्र्यो उसले । ठूलो भइसक्दा पनि सम्बोधन मेरो काखमा शिर राख्दै मेरो गाला सुमसुम्याउँदै बोल्ने गथ्र्यो।

मेरो आँखामा कहिल्यै आँसु देख्न सक्दैनथ्यो । उसको बुबालाई सम्झेर रुँदारुँदै एकपटक मेरो आँसु पुछ्दै मलाई सम्झाएको थियो, ‘अरे मुमा ! तपाईंको छोरो हुँदाहुँदै तपाईंले रुन सुहाउँछ ? हेर्नुस्, धेरैभन्दा धेरै आमाहरूमध्ये तपाईं सबैभन्दा भाग्यमानी आमा बन्नुहुनेछ ।’ उसको कुरा सुनेर मैले भनेँ– ‘अहिले यस्तो भन्छस् बाबू ! पछि समयसँगै बदलिन के बेर ! ...समयले मानिसलाई कहाँ–कहाँ पु¥याउँछ, कहिले हँसाउँछ कहिले...’

मेरो कुरा पूरा हुन नदिई उसले मेरो मुख छोप्दै भन्यो– ‘तपाईंको जीवनमा कहिल्यै दुःखको क्षण आउनदिन्नँ, सदैव तपाईंलाई खुुसी र सुखी राख्छु ।’उसको कुरा सुनेर भावविह्वल भएको थिएँ म । उसलाई हेर्दै भनेँ– ‘मेरो भन्नु नै यो दुनियाँमा तँबाहेक को छ र ! मलाई खुसी र माया यसरी नै दिनू । सम्पत्ति भनेको छाडेर जाने कुरा हो । तेरो बाबा र मैले कमाएको सम्पत्ति–घर छ । अब घर हेर्ने, कमाउने जिम्मा तेरो हो बाबू । त्यसो त घरमा सम्पत्तिमात्र भएर हुँदैन, सुख र शान्ति हुन आवश्यक छ । यसलाई तैँले सधैँ कायम राख्नू !’

मेरो काखबाट शिर हटाएर मलाई मायालु नजरले हेर्दै ऊ बोलेको थियो– ‘तपाई मेरो लागि भगवान् हुनुहुन्छ आमा ! तपाईं नै मेरो लागि सुख, शान्ति, सम्पत्ति सबैथोक हुनुहुन्छ ।’‘ल... ल... बाबू, म ढुक्क भएँ ।’ उसको नाक समाउँदै खुसी प्रकट गरेकी थिएँ मैले ।धेरै समयपश्चात् एक दिन मेरो अगाडि आएर लाज र अप्ठेरो मान्दै सम्बोधनले भनेको थियो– फेसबुकबाट एक युवतीसँग उसको चिनजान भएछ । पछि त्यो चिनाजानी गाढा मित्रता हुँदै प्रेममा परिणत भएछ । मेरो छोरालाई विवाहको प्रस्ताव राखिछे उसले।

उनीहरूको खुुसीको लागि मैले विवाहको स्वीकृति प्रदान गरी विवाह गरिदिएँ । विवाह भएको एक–दुई महिनासम्म त राम्रै थियो । हामीहरू खुसी नै थियौँ । त्यसपछि मेरी बुहारीको स्वभावमा एकाएक परिवर्तन हुँदै आयो । उसलाई सधैँ रमाइलो गर्नुपर्ने, बाहिर रेस्टुरेन्टमा गएर खानुपर्ने, साथीहरूलाई घरमा बोलाएर होहल्ला र जमघट गर्नुपर्ने... । मैले सम्झाउँदा उल्टै ममाथि आइलाग्न थाली । छोरोले पनि सम्झाउँदो रहेछ तर उल्टै ऊमाथि पनि जाइलाग्न थालेछ ।हुँदा–हुँदा मैले गरेको पूजापाठ मात्र हैन, मलाई नै देखिनसक्ने भई । उसले गर्ने रमाइलोमा मैले डिस्टर्व गरेँ रे, बाधक बने रेँ । पछि छोरोले पनि मलाई बुझ्न छाडिदियो । मलाई हैन श्रीमतीको पक्ष लिन थाल्यो र मेरो ममतालाई छिया–छिया पारिदियो।

एवम् रीतले दिनहरू बित्दै गए । घरमा सुख–शान्ति हराउँदै गयो । रातदिन कचकच हुन थाल्यो । यतिसम्म कि बुहारीले मलाई हेर्न त के बोल्नसमेत छाडी । छोराले मेरो कुरालाई सुन्ने आँटसमेत गरेन । ऊ लाचार बनिरह्यो ।
सोचेँ, नौ महिनासम्म कोखमा राखेर जन्माई हुर्काएँ–बढाएँ, तर भर्खर आएकी बुहारीको कुरा सुनेर म बढी भएछु । धेरैभन्दा धेरै आमाहरूमध्ये तपार्इं भाग्यमानी आमा बन्नुहुने छ भन्ने छोरोको भनाइ ठीक उल्टो हुनगयो । म अभागी आमा बन्न पुगेँ । हो रहेछ, समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँदो रहेछ ।...’

आमा एकक्षण स्तब्ध भइन् । फेरि दिल खोलेर निकैबेर रोइन् । केही बेरपछि आँसु पुछ्दै भनिन्– ‘अन्तिममा बुहारीको खुसीको लागि छोरोले मलाई यहाँ ल्याइराख्यो । म मानेकी थिइनँ । म बरु बेग्लै बस्छु, अझ पनि केही गरेर खान सक्छु, ममा हिम्मत छ भन्दासमेत मेरो कुरा सुनेन । यहाँभए सबै जना हुन्छन् भनेर छोडी गयो । यस्ता पनि छोरो हुँदो रहेछ नानी ! संसार यस्तै रहेछ, के गर्ने ? मैले आफ्नो भाग्यलाई दोष दिनबाहेक अहिले केही गर्न सकिनँ ।... ’

आमाको कुरा सुनेर म स्तब्ध भएँ । उनीप्रति एकदमै माया र श्रद्धा जागेर आयो । मैले मेरा आँखाका आँसुलाई निकै रोक्न कोसिस गर्दागर्दै पनि रोक्न असमर्थ भएँ । तप्–तप् आँसुका थोपाहरू झर्न थाले मेरा आँखाबाट । मैले निकै साहस बटुलेर आमाको हात समाउँदै भनेँ– ‘आमा, तपाईंको छोरो भएर पनि नभएको जस्तै भयो । सम्झनुस्, तपाईंको छोरो थियो । तर, अहिले छैन । तर, तपाईंकी छोरी भएर म आएकी छु ।

आमा ! आजदेखि तपाईं मेरी आमा र म तपाईंकी छोरी । अब तपाईं र म एकसाथ बस्नेछौँ । तपाईलाई आज नै म मेरो घरमा लानेछु ।’‘हैन नानी ! म यहीँ ठीक छु । यहाँका सबै आमाहरू मेरा साथीहरू हुन् । सबैलाई हेरेर म चित्त बुझाएर बस्नेछु । बरु बेला–बेलामा नानीलाई भेट्न आउनुहोस् है, म यसैमा खुसी हुनेछु ।’मेरो मन मानेन । त्यहाँको सञ्चालिका दिदीसँग अनुमति लिई गर्नुपर्ने सबै कागजात तयार गराएर मैले आमालाई आफ्नो घरमा ल्याउने मौका पाएँ।

आज मेरी आमाको पुण्य तिथिको दिन, बित्नुभएकी मेरी आमालाई अर्की नयाँ आमाको रूपमा पाएँ । मैले आफ्नो जीवनलाई धन्य सम्भेँ।एकाएक मेरो अनुहारमा खुसी छायो । मैले आफ्नो दुवै हात बढाएर आमालाई हेर्दै भनेँ– ‘आमा... !’आमाले पनि सबै दुःख बिर्सेर, मेरा हातमा दुवै हातले कसिलो गरी समाएर चुम्बन गर्दै मुसुक्क हाँसिन् र मलाई अङ्कमाल गर्दै भनिन्– ‘मेरी छोरी... !’पर डाँडामा अस्ताउँदै गरेको सूर्य पनि मुस्कुराइरहेको थियो ।
(गत साता विमोचन भएको कथासंग्रह ‘सेतो स्कार्प’मा संग्रहित)

प्रकाशित: २३ असार २०७५ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App