७ वैशाख २०८१ शुक्रबार
अन्य

नेपाली भाषा र स्तरवृद्धिको अवस्था

नेपालमा अंग्रेजी भाषा लोकप्रिय हुँदैछ । निजी कम्पनीमा मात्र नभएर सरकारका सबैजसो तह र तप्कामा अंग्रेजीको भाषाको महत्व बढ्दै छ।

अन्तर्राष्ट्रिय भाषा भएकाले पनि यसको प्रभाव सबैतिर पर्नु स्वभाविकै हो । प्रत्येक राष्ट्रले आफ्नो देशको भाषाको विकास र विस्तारमा सहयोगी भूमिका निर्वाह गर्छ । नेपालमा भने त्यस्तो गरेको पाइएको छैन । नेपाली भाषाको संरक्षण गर्ने भनेर नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भएको छ । तर, त्यो संस्थामा पनि राजनीति हाबी छ । राजनीतिका कारण राम्रा मान्छेभन्दा राजनीतिक गर्ने व्यक्तिको नियुक्तिले प्राज्ञिक व्यक्तिहरू पछाडि पर्दैछन्।

सरकारी विद्यालयमा नेपालीमा पठनपाठन भएका कारण सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दैछ । अंग्रेजी भाषा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिँदै छ । इसाईहरूले आफ्नो धर्मको प्रचारसँगै अंग्रेजी माध्यमका विद्यालय स्थापना गरिरहेका छन् । यस्तै अवस्था रहे नेपालमा नेपाली भाषाको पठनपाठन अबको केही वर्षमा अन्त्य हुने सम्भावना देखिएको छ ।

नेपाली भाषाको अन्त्य हुनु भनेको नेपाली संस्कृति, परम्परा र नेपालीपनको अस्तित्वमा खतरा आउनु हो । यसलाई रोक्न केही पहल भएता पनि आधिकारिक पहल गरेको देखिँदैन । राजनीतिले सबै ठाउँलाई प्रभाव पारेको छ । यस्तो कार्यले नेपालको भाषा त सकिने छ । अर्कोतर्फ नेपालको सबैजसो गौरव गर्ने कुरा समाप्त हुने छन् । त्यसैले यसलाई रोक्न तत्काल आवश्यक छ । नेपाली भाषा कसैको पेवा नभएर प्रत्येक नेपाली नागरिकको भूमिका अपरिहार्य छ।

नेपालमा जातीय क्षेत्रीय धेरै भाषा छन् । २०६८ सालको जनगणना अनुसार १२३ भाषाका वक्ता रहेको तथ्यांकले देखाएको छ । यसमा अन्य भाषाका तुलनामा नेपाली भाषाका वक्ता धेरै रहेको देखिन्छ । सुरुमा आर्यभाषाको नाम खासखुस भन्ने थियो । यो भाषा विक्रमको १५ आै शताब्दीसम्म नेपालको पश्चिमी भूभाग कर्णाली प्रदेशको सिँजा साम्राज्यमा प्रचलित थियो । यो नै पछि नेपाली नामाकरण भएको हो । नेपाली भाषा खस, पर्वते, सिञ्जाली तथा गोरखा भाषा नामले पनि चिनिँदै आएको छ।

अहिले बोलिने नेपाली भाषा धेरै परिष्कृत भएर आएको छ । नेपाली भाषा यहाँसम्म ल्याउनमा धेरै नेपाली भाषीले योगदान पुर्याएका छन् । सुरुमा बोलिने नेपाली भाषा र अहिलेको नेपाली भाषामा आकाश जमिनको अन्तर पाइन्छ । अहिले हामीले बोलिरहेको नेपाली भाषा विकसित भएर आउन हाम्रा पुर्खाको ठूलो योगदान छ । राणा शासनमा नेपालमा पढ्न पाइँदैनथ्यो ।

प्रत्येक राष्ट्रले आफ्नो देशको भाषाको विकास र विस्तारमा सहयोगी भूमिका निर्वाह गर्छ । नेपालमा भने त्यस्तो गरेको पाइएको छैन । नेपाली भाषाको संरक्षण गर्ने भनेर नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भएको छ । तर, त्यो संस्थामा पनि राजनीति हाबी छ ।
 

त्यसैले केही शिक्षित मान्छेले आफ्ना छोराछोरीलाई भारतका विभिन्न ठाउँमा लगेर पढाएको इतिहास हाम्रासामु छ । त्यसैले पनि भारतको बनारस भूमिलाई नेपाली भाषा साहित्यको विस्तार गर्न पहिलो योगदान जान्छ । नेपालमा नेपाली भाषाको विस्तारमा १९५८ सालमा गोरखापत्रको प्रकाशनले धेरै ठूलो योगदान गरेको छ । त्यस्तै जयपृथ्वीबहादुर सिंहको अक्षरांक शिक्षाले नेपाली भाषा शिक्षणमा अहम् भूमिका खेल्यो । रानीपोखरीको दरवार हाइस्कुल, त्रिचन्द्र कलेजको योगदानलाई पनि भुल्न मिल्दैन।

नेपाली भाषामा व्याकरण र विभिन्न पत्रपत्रिकाको प्रकाशन ज्यादै पाइन्छ । यसले पनि नेपाली भाषाको स्तरवृद्धिमा सहयोग पुर्याएको छ । नेपाली साहित्यलाई नेपाली उखानटुक्का तथा गाउँखाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ । यसको प्रयोगले पनि नेपाली भाषाको स्तरवृद्धि भएको छ । नेपाली भाषाबारे कम्प्युटर र इन्टरनेट प्रविधिबाट विश्वका विभिन्न कुनामा बसेका नेपालीको सम्पर्क र सम्प्रेषण पनि सहज बन्दै गएको छ । अहिले नेपाली टाइप गरेर पनि गुगलबाट विभिन्न समाग्री प्राप्त गर्न सकिन्छ । फेसबुक टिव्टरमा पनि नेपालीमै पोस्ट गर्न सकिने प्रविधि भित्रिसकेको छ।

रुस, उत्तर अमेरिका, संयुक्त अरब इमिरेट्स, बेलायत, भुटान, हङकङ, बेल्जियम, जापान, जर्मनी, भारत, रुस, म्यानमारलगायत मुलुकमा पनि नेपाली भाषा बोलिने गरेको छ । त्यसैले नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा हो । दक्षिण एसियाका दुई प्रमुख देश नेपाल र भारतमा नेपाली भाषाले राष्ट्रिय भाषाको रूपमा स्वीकृत पाएको छ । नेपालदेखि फैलिएको नेपाली भाषा पूर्वमा बर्मा, पश्चिममा पञ्जाव र उत्तरमा हिमवत्खण्डदेखि दक्षिण एसियाको गाङ्गेय समभूमि तथा अन्य ठाउँमा पनि नेपाली भाषा विस्तार भएको छ । नेपाली भाषा नेपालको राष्ट्रियतासँग जोडिएको भाषा हो । देश बचाउन हाम्रा पुर्खाले नेपाली भाषामा गीत गाई युद्ध गरेका थिए । त्यसैले राष्ट्रियताप्रति जिम्मेवार व्यक्तिले पनि नेपाली भाषालाई सम्मान गरेको पाइन्छ।

अन्तर्राष्ट्रिय जगतमा आफ्नो भाषाको जगेर्ना सरकारले गर्छ । उनीहरूको राष्ट्रियता भित्र आफ्नो राष्ट्रको भाषा पनि पर्छ । जापानी बजारमा पाइने औषधिमा अंग्रेजी अक्षर देख्न पाइँदैन । चीन, कोरिया, जर्मन, फ्रान्सजस्ता विश्वका शक्तिशाली देशमा उच्च शिक्षासम्म आफ्नै देशको भाषामा पठनपाठनको व्यवस्था अनिवार्य गरिएको छ ।
नेपाली भाषा भारतको दार्जिलिङ, सिक्किम, आसाम, बर्मा, कलकत्ता, पटना, देहरादुन, दिल्ली, मेघालय, मिजोराम, मणिपुर, पश्चिम भारतका राज्य पञ्जाव, गुजरात, जम्मुकश्मीर, हिमाचल, कुमाउ, गढवाल, देहरादून मुम्बईसम्म विस्तार छ । दार्जिलिङमा माध्यमिक तहसम्म नेपाली भाषा शिक्षण गर्ने गरिन्छ ।

सिलिगुढी उत्तर बंगाल विश्वविद्यालय तथा काशी हिन्दू विश्वविद्यालयले नेपालीमा एमएसम्म अध्ययन गराउँदै आएको छ । भारतमा सन् २००४ मा नेपाली भाषालाई संविधानमा नै मान्यता दिएको छ । नेपाली साहित्यलाई भारतको साहित्यिक अकादमीले सन् १९७५ मा नै मान्यता दिई यसको प्रवद्र्धनमा विभिन्न क्रियाकलाप गर्दै आएको छ ।जापानको टोकियो युनिभर्सिटीमा ३५ भाषाको अध्यापन हुन्छ । त्यसमा नेपाली भाषाको मागमा तीन दिनमै कोटा पुगेको थियो भनी त्यसै विश्वविद्यालयका प्राध्यापक हारुहितो नोजुले वताएका छन् । त्यहाँ जापानी नागरिक हारुहितो नोजुले प्राध्यापन गर्छन् ।

उनी त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागबाट स्नातकोत्तर हुन् ।ग्रीक र ल्याटिन भाषाबाट विकसित अंग्रेजी भाषा चिनियाँ भाषाभन्दा कम जनसंख्याको मातृभाषा हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय भाषा बनेको छ । भारतमा राष्ट्रिय भाषाको रूपमा अघि बढिरहेको नेपाली भाषा एक सम्पर्क भाषाको रूपमा भविष्यमा खडा हुने तरखरमा रहेको नेपाली भाषाको स्तरवृद्धिमा किन समस्या आइरहेको छ ? १७ औँ शताब्दी पूर्वदेखि नेपाल बाहिर फैलिएको नेपाली भाषा र साहित्य एसिया महाद्वीपको जिउँदो र शक्तिशाली सामाजिक सम्पत्ति रहँदा रहँदै नेपाली भाषाको उद्गम मानिने नेपालमा भने भाषाको संरक्षण हुन नसक्नु विडम्बना हो।

विश्वले नेपाली भाषा भन्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, शान्तिको अग्रदूत गौतमबुद्धको देशमा प्रयोग हुने भाषा भनेर चिन्छ । तर, यहाँ नेपाली भाषा मास्नमा भाषाविद् नै लागेको देख्दा दिक्क लाग्नु स्वभाविकै हो । कुनै पनि ठाउँको भाषाले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षको बोध हुन्छ । त्यसलाई संरक्षण संवद्र्धन गर्नु सबै नेपालीको कर्तव्य हो ।

आज नेपाली भाषा मास्नेले भोलि अन्य क्षेत्रीय र जातीय भाषा मास्दैनन् भन्ने विश्वास छैन । अहिले पनि विभिन्न विद्वान भाषाको नाममा राजनीति गरेर नेता बन्नमा लागेको देखिन्छ । तर, त्यो भन्दा अहिले कसरी नेपाली भाषालाई संरक्षण गर्ने भन्नेमा हामी सबै नेपाली केन्द्रित हुनुपर्छ ।

नेपाली भाषाको संरक्षण, संवद्र्धन गर्नु सबै नेपालीको कर्तव्य हो । नेपाली भाषाको विकास र विस्तार गर्न पृथ्वीनारायण साहको योगदान उल्लेखनीय छ । नेपालको एकीकरणसँगै भाषाको पनि एकीकरण भएको थियो । त्यो समयमा विभिन्न राज्यमा विभिन्न भाषा प्रयोग हुने गरेका थिए । साहकै एकीकरणपछि उनैले सम्पर्क भाषाको रूपमा नेपाली भाषाको विकास भएको हो । तर, नेपालको एकीकरण भएको बेलामा बोलिने भाषा र अहिले बोलिने भाषामा धेरै अन्तर रहेको छ । भाषा परिवर्तनशील भएकाले त्यस्तो भएको हो । भाषामा परिवर्तन हुनुपर्छ।


नेपाली भाषा नेपालीको सम्पर्क भाषा, राष्ट्रिय भाषा दुवै हो । तर, नेपाली भाषा पढ्ने मानिसको संख्या कम हुँदै गइरहेका छन् । नेपालमा अंग्रेजी पढाइले नेपाली भाषालाई पर धकेलिरहेको छ । नेपाली पढेकाले सीमित क्षेत्रमा मात्र काम पाउँछन् भनेर नेपाली पढेकालाई अरूहरूले हेयको दृष्टिले हेर्ने परिपाटीको विकास हुँदै गइरहेको छ । नेपाली भाषा राम्रोसँग उच्चारण गर्ने, शुद्ध लेख्ने मानिस कमी हुँदै छन् । जहातहीँ नेपाली भाषा लेख्दा अशुद्धसँग लेखिएको देखिन्छ ।

ठूलाठूला कम्पनी उद्योगमा समेत केही कुरा नेपालीमा लेखेको हेरियो भने भाषागत, शुद्धाशुद्धी गलत देखिन्छ । यस्तो गलत लेखाइले एकातिर नेपाली भाषा बिग्रिएको छ भने अर्कातिर राम्रो लेख्न र पढ्न आउनेहरूसमेत झुक्किने गरेका छन् । यस्ता क्रियाकलाप हुनु भनेको कतै नेपाली भाषाको शुद्धता त हराउँदै गइरहेको छैन ? भन्ने तर्क गर्न थालिएको छ । त्यसैले सबै मिलेर नेपाली भाषालाई बचाउँदै स्तरवृद्धि गर्दै लैजानुपर्छ।

 

प्रकाशित: २३ असार २०७५ ०१:०५ शनिबार

नेपाली भाषा स्तरवृद्धिको अवस्था