५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

‘अग्ला र कंक्रिटका भवनले सहरको सौन्दर्य बिगार्यो’

निशान भट्टराई, गायक
तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । पोखरा प्राकृतिक रूपमै सजिएको छ । सहर पनि सफा र सुन्दर छ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं पनि राम्रो लाग्छ । यहाँ देशैभरका मानिसले रोजगार पाएका छन् । हाम्रो देशको मुख्य ठाउँ नै काठमाडौं हो । गर्न चाहने र इच्छा हुनेहरूको लागि काठमाडौंमा सबैथोक पाइन्छ । तर, पछिल्लो समय काठमाडौं अलि बिग्रिएको छ । कतै–कतै विकास निर्माणका काम भए पनि धेरै ठाउँ अस्तव्यस्त छ।

तपाईंको विचारमा काठमाडौं कसरी व्यवस्थित बन्न सक्ला ?
काठमाडौंलाई सबैले बराबरी माया गर्ने हो भने सुन्दर हुन्छ । यहाँ त फाइदा लिने र लुट्ने मात्रै छन् । कसैले पनि यो मेरो दायित्व हो भनेर बुझेनन् ।

सरकारी निकाय र सहरवासीले बेवास्ता नगरेको भए काठमाडौं यति साह्रै निर्दयी र दिक्कलाग्दो हुँदैनथ्यो होला । अर्को कुरा हामीलाई प्रकृति र पुस्ताले दिएका सम्भावना पनि खोज्न सकेका छैनौं । पुरानो अस्तित्व खोज्दै जाने हो भने हामी धेरै धनी बन्नेछौं।

उपत्यका बाहिर अन्य कुन–कुन सहर घुम्नुभएको छ ?
नेपालका धेरै सहर पुगेको छु । उपत्यका बाहिरका सहरमध्ये पोखरा राम्रो लाग्यो । पोखरा काठमाडौंभन्दा सफा र व्यवस्थित छ । अनेकौँ प्राकृतिक दृश्य पनि पोखराबाटै नियाल्न पाइन्छ । यो पोखराको राम्रो पक्ष हो । पूर्वको इलाम, भेडेटार, दमकलगायत ठाउँ पनि मलाई सुन्दर लाग्यो।

कुन–कुन देशका सहर घुम्नुभएको छ ?
१३ देशका सहर पुगेको छु । अस्ट्रेलिया, कोरिया, दुबई, कतार, लण्डन, अमेरिका, पोल्याण्ड, जर्मनी, स्पेनलगायत देशका सहर पुगेको छु । विदेशका सहर व्यवस्थित, अनुशासित, शान्त र सुविधायुक्त छन् ।

तपाईँको विचारमा हाम्रा सहर किन बिग्रिए जस्तो लाग्छ ?
अग्ला र कंक्रिटमा भवनले सहरको सौन्दर्य बिगारेको छ । उपत्यकामा सबैतिर घरमात्रै बनाउने क्रम बढेको छ । यसले हाम्रो मौलिकता खोस्दै छ।

विदेशका सहर घुम्दा कस्तो महसुस भयो ?
एमदमै रमाइलो लाग्यो । विदेशका सहर यस्ता छन् भन्ने सुन्दै आएको थिएँ । तर, प्रत्यक्ष देख्न पाउँदा रमाइलो र ठाउँ बुझ्ने अवसर पाएँ । मैले घुमेका धेरै सहर भौतिक सेवा–सुविधाको हकमा सम्पन्न थिए । ती सहरी इलाकामा फोहोर देखिनँ । हाम्रोमा त्यस्तो छैन।

हाम्रा सहर किन त्यस्तै बन्न नसकेका होलान् ?
हाम्रा सहर त्यस्तै बन्नलाई अझै धेरै समय लाग्छ । यही गतिले विकासका काम सञ्चालन गर्ने हो भने हामी सधैँ यस्तै हुन्छौँ । यहाँका सरकारी उच्च निकायका पदाधिकारी विदेशका मुख्य सहर घुमेका छन् । तर, उनीहरू आफ्नोमा काम गर्दैनन् ।

बनाउने हो भने हाम्रा सहर विश्वमै नमुना बन्छन् । यहाँ पाइने प्राकृतिक सौन्दर्य विदेशी मुलुकमा कमै पाइन्छ । हाम्रा सहर प्राकृतिक रूपमै सजिएका छन्, मात्रै तिनलाई व्यवस्थित पार्न जरुरी छ।

तपाईं बसेको सहर कस्तो होस् भन्ने चाहनुहुन्छ ?
सबैखाले सुविधा होऊन् । सहरमा बस्ने हरेक मानिस सभ्य होऊन् । एकले अर्कोको पीडा बुझ्न सकुन् । कसैले पनि रिस डाहा नगरोस् । सहरको अधिकार सबैले समान रूपमा उपभोग गर्न पाउन् । आइपर्दा हातेमालो गर्ने प्रवृति सहरवासीमा विकास होस् । म यस्तै सहरको कल्पना गर्छु । यति भयो भने सहर सुन्दर लाग्नेछ ।

काठमाडौंको मन नपर्ने पक्ष के हो ?
धराप सडक, ट्राफिक जाम, अव्यवस्थित पार्किङ, भीडभाड, प्रदूषणलगायत नै यहाँको नकारात्मक पक्ष हो । यसले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ।

सकारात्मक पक्ष ?
काठमाडौैंमा सबैखाले सेवा–सुविधा पाइन्छ, यो नै यहाँको राम्रो पक्ष हो । त्यस्तै, सांस्कृतिक सम्पदा, जात्रा पर्वहरू, मठ–मन्दिर, अनुकूल मौसम यहाँको सकारात्मक पक्ष हो ।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरमा बस्ने त्यति सभ्य छैनन । सबैले अरुको गल्ती मात्रै देख्छन् आफ्नो गल्ती देख्दैनन् । मलाई त सहरवासीकै गलत सोच र प्रवृृत्तिले सहर बिग्रिएजस्तो लाग्छ ।

सहरमा बस्ने अधिकांश आफू बसेको ठाउँप्रति गैरजिम्मेवार छन् । सहरवासीको बानी स्वार्थी छ । यहाँ अरुको दुःखमा साथ दिने कमै भेटिन्छन् । गाउँमा जस्तै सहरमा पनि ऐँचोपैँचो चल्ने भए सहर सुुन्दर हुन्थ्यो होला।

तपाईंको विचारमा सहरको विकास कसरी होला ?
सहरमा बस्ने सबै जिम्मेवार हुनुपर्छ । सरकारी निकायमा बस्नेले आफ्नो काम पारदर्शी ढंगले गर्नुपर्छ । सहरवासी सबै मिलेर बेला–बेला सम्बन्धित निकायलाई घचघच्याइरहनुपर्छ।

पछिल्लोे समय घुमेको सहर ?
पछिल्लो समय मकाउ पुगेको थिएँ।

उपत्यकानजिकै घुम्न जानुपर्यो भने कहाँ जानुहुन्छ ?
फनपार्क, चोभार, सागालगायत ठाउँतिर जाने गर्छु।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई नेपालभित्रकै मनाङ मुस्ताङ पुग्ने मन छ।

उपत्यकाको मनपर्ने खानेकुरा ?
सबैखाले परिकार खान्छु । विदेशमा भएको बेला नेपाली खानाको याद आउँछ ।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: १८ असार २०७५ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App