आफ्नो सुविधामा भए ठिक अन्यथा सबै गलत, यो प्रवृत्ति मानव–समाजको चरित्र नै हो । यहाँ तल प्रयुक्त नेपाल प्रज्ञाप्रतिष्ठानको विवरणले मेरो कलमप्रति पक्कै यही संकेत गर्ला।
यद्यपि त्यो चरित्रलाई एकछिन पर सारेर केही शब्द लेख्न बस्दा उसको वर्तमानको तस्बिर यस्तै नै देखिन्छ–प्राज्ञको कुर्सीमा विराजमान गराउनुपर्ने व्यक्तिलाई जिउँदो रहुञ्जेल सम्मान गर्न नसक्ने, अनि निधन भइसकेपछि उसको शवलाई प्रतिष्ठानको आँगनमा केही छिन सुताएर प्रतिभाप्रति आफ्नो कर्तव्य पूरा गरेको सोच्दै छ आजको प्रज्ञाप्रतिष्ठान।
यही प्रज्ञाप्रतिष्ठान लेखक वर्गलाई परिचयपत्र उपलब्ध गराएर समाजमा लेखकको परिचय स्थापित गर्ने अग्रगामी सोच राख्दै छ । साँच्चै, यो दिमाग ठिक रहेकै मान्छेहरूकै कार्य–योजना हो ? यो जिज्ञासा मेरो मात्रै होइन, यस्तो कार्य–योजना सुन्नेहरूसमेत छक्क परेका छन् । मेरो मनको खुलदुलीजस्तै कवि गीतकार रत्नशमशेर सोध्छन्– ‘लेखक हुनुको परिचयपत्र कता टाँसेर हिँड्ने हँ ?’
साँच्चै परिचय–पत्रको अर्थ के ? त्यसबाट प्राप्त हुने सुविधा के ? अस्वस्थ भएर अस्पताल जाँदा लाग्ने खर्च वा एक रूपैयाँको सिटामोल किन्न जाँदा एक मोहरमा हस्तान्तरण गर्छ औषधि पसलेले ? कि त परिचयपत्रले चामल–दाल, तरकारी किन्नमा विशेष सघाउ पुर्याउँछ ?अथवा यातायात सुविधामा त्यो परिचय–पत्रले निश्चित प्रतिशत छुट दिन्छ ? कि त घरमा बिजुली बत्ती वा खानेपानी प्रयोग गरेबाफत सरकारले केही छुट दिन्छ ? परिचय–पत्र हात नपर्दै उठाइएका प्रश्न हुन् यी । हातै परेपछि त परिचय–पत्र हेर्दै कति जिज्ञासा उठ्ला लेखकहरूको मनमा ? अनुमान गर्न मुस्किल छ ।
यसै समयबीच, लोकतन्त्र–प्राप्तिसँगै विधागत रूपमा निर्माण भएका तीन प्रतिष्ठानले आफ्नो दुई कार्यकाल पूरा गरिनसक्दै फेरि एउटै प्रतिष्ठानमा ‘मर्ज’ गर्ने योजना सरकारले अघि सारिसकेको छ । साथै लेखक–कलाकारहरूले सरकारको यो योजनाप्रति असहमति जनाएर विरोध व्यक्त गर्ने क्रम पनि सुरू भइसकेको छ।
प्रज्ञाप्रतिष्ठान आफ्नो विधाअन्तर्गत एउटाबाट तीनमा खण्डित भइसकेपछि सम्बन्धित प्रतिष्ठानहरूले यी आठ वर्षमा के–कति प्रगति गरे ?
वास्तवमै यो त अन्याय नै होइन र ? मलाई लाग्छ– सरकारको यो मर्ज–योजनाको ज्यादतीप्रति लेखक–कलाकारले शब्द–विरोध व्यक्त गरेर मात्रै हुँदैन, अब बकाइदा सडकमै उत्रिनुपर्छ । म त भन्छु, अबको विरोधसँगै थप नयाँ माग राख्नुपर्छ सरकारसँग– हामीलाई अब यो तीन प्रज्ञाप्रतिष्ठानले हुँदैन, तीन सय चाहिन्छ, तीन हजार चाहिन्छ । र, यो बिना आधार त्यत्तिकै भनिएको होइन, यसो भनिनुमा एउटा तर्कले काम गरेको छ।
तर्क यस्तो छ– हातमा ढुंगाका स–साना दुई–चार हातमा लिएर कुनै घरको कौसीमाथि चढ्नुस् । र, पूर्व फर्केर एक ढुंगा फ्याँक्नोस् । त्यहाँबाट एउटा मान्छेको आवाज आउनेछ– ‘ऐया !’ । अब तपाईं कुनै अर्को घरको कौसीबाट पश्चिमतर्फ फर्केर अर्को ढुंगा फ्याँक्नोस् । त्यहाँबाट पनि त्यसरी नै ‘ऐया’को आवाज आउनेछ ।
पूर्व–पश्चिम मात्रै होइन, उत्तर–दक्षिण चारै दिशा जता फर्केर ढुंगा हाने पनि त्यही ‘ऐया’को आवाज सुनेपछि तपाईं आश्चर्यमा पर्नुहुनेछ, जब त्यो ‘ऐया’ भन्ने आवाजको अनुहार पहिल्याउने हुनेछ– अहो यो के ?
– यो कवि,
– यो कथाकार,
– यो उपन्यासकार,
– यो कलाकार,
अर्थात्, तपाईं जता फर्कनुस् त्यहाँ तपाईंले लेखक–कलाकार नै पाउनुहुनेछ । अब यस्तो परिस्थितिमा जाबो तीन प्रतिष्ठान त लेखक–कलाकारको जमातमा अचारको ‘छोँप’जत्तिको पनि भएको छैन, हुँदैन नै ।अन्यथा, देशमा साहित्य–कला–संस्कृति विकास गर्ने प्रतिबद्धताका साथ काम गर्ने हो भने आजको तीन प्रतिष्ठान होइन, पहिलेकै एउटा प्रज्ञाप्रतिष्ठान पर्याप्त हुन्छ, थियो नै ।
खोज्नेहरूले खोजून् त, प्रज्ञाप्रतिष्ठान आफ्नो विधाअन्तर्गत एउटाबाट तीनमा खण्डित भइसकेपछि सम्बन्धित प्रतिष्ठानहरूले यी आठ वर्षमा के–कति प्रगति गरे ? सन्दर्भवश, नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली कवितालाई विश्व–बजारको कुन कुनासम्म फैलायाे ? कदाचित् फैलाइएको रहेछ भने एउटा प्रश्न– पहिलेको भन्दा हाम्रा नेपाली कविता विश्वका मान्छेले कति बढी मनपराएछन् ? अर्थात् कति कविका किताब विश्व–बजारमा कति बढी बिकेछन् ? साहित्य–प्रबद्र्धनका लागि केवल योजनाका डिङ हाँक्ने प्राज्ञ महोदयहरूले त्यसको हिसाब अब देखाउनुपर्छ ।
हैन भने यस्तो शब्दमा उनीहरूले प्रतिक्रिया व्यक्त गर्नुपर्यो ‘हामीलाई हाम्रो राजनीतिक पार्टीले जागिर दिएका हुन् । प्राज्ञजस्तो विशेष नागरिकलाई यस्तो प्रश्न सोध्ने हिम्मत कसरी गर्यौ ?’त्यसो होइन भने उसको सुस्पष्ट जवाफ दिनै पर्छ– आफ्ना लाइनका, आफ्ना वर्गका आसेपासेलाई दिइएका तथाकथित ‘परियोजना’हरूबाट खास उपलब्धि के–के भए ? क्लियर कट साथ बुभून् प्राज्ञ महोदयहरूले– किताबको संख्या बढाएर मात्रै साहित्यको विकास हुन्छ भनेर सोच्नु आफुमा नै हास्यास्पद हुन्छ ।
आज करोडौँ खर्च गरेर नेपाल प्रज्ञाप्रतिष्ठानको जीर्ण भवनलाई श्रृङ्गारपटार गरिँदै छ । र, यही रङ्गाइएको भवनभित्रको ‘कुर्सी’ सुरक्षित गर्न पुनर्बहाली–प्रक्रियामा वर्तमान प्राज्ञहरूको दौडधूप सुरू भइसकेको छ । बदनाम नै किन नहोस्, पुनः प्राज्ञ बन्न, आपूmलाई अघिल्लो पटक प्राज्ञ बनाउने पार्टी परिवर्तन गरेर सत्ताधारी पार्टीअध्यक्षको हातको ‘रातो टीका’लगाउने प्रक्रियामा समेत लागिसकेका सुन्नमा आएको छ ।
यिनका अलावा अन्य आकाङ्क्षीहरूको लर्को त कति हो कति ! गणना गर्नै नसकिने संख्यामा देखिन्छ । त्यो हेर्दा यस्तो लाग्छ– मानौँ जसरी पनि एक पटक प्राज्ञ नहुने हो भने परलोकमा ‘बैतरणी’ नै पार भइँदैन ।विश्वास गर्न सकिन्न, आजको प्रज्ञाप्रतिष्ठान ऊबेला सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा, केदारमान व्यथित, लैनसिंह वाङ्देल, विजय मल्लजस्ता साहित्यिक महारथीहरू रहेका त्यही मन्दिर हो । अहँ, सक्दै सकिन्न, विश्वास गर्ने कुनै आधार पटक्कै फेला पार्नै सकिन्न ।
प्रकाशित: ९ असार २०७५ ०१:३३ शनिबार