मान्छेहरू दौडिरहेका
व्यस्त सडकमा उभिरहेछु
र खोज्दै छु बिसाउन
आफूले बोकेर ल्याएको कर्तव्यको डोको
सम्पन्न सहरमा
समय निष्ठुरी भइदिँदा
हुन्छु पत्कर जस्तो
असिनाले चुटेको फूलजस्तो
र धागो चुँडिएको चङ्गाजस्तो
आँखाहरू ठोकिन्छन्
दुखेका समाचारहरूमा
निरन्तर दुख्छु
खुकुरीको प्रहारमा अचानोझैँ मर्मामत
र, उनिन्छु
माछोझैँ समयको बल्छीमा
प्रत्येक आँखामा उम्रेका
खुद्रा सपना बटुलेर
मिसिन्छु मान्छेहरूको भीडमा
उज्यालो खोज्न
समाउँछ अँध्यारोले
रहरका पोल्टाहरूमा
भेटिन्छ देशको नक्सा जतनले बोकेको
जोख्न सक्दिनँ तराजुमा
बलिदानको मूल्य
मान्छेहरूकै निम्ति
एकमुठ्ठी खुसी किन्न
दौडिरहेछु
इमानको डोजरले आशाको बाटो खन्दै
सम्भावित घाम भेट्न
विचारको नदी दिएर
आफ्नै ठानेको छु सहरलाई
जहाँ, तुवाँलोको छानो ओढेर
बसेको छ घन्टाघर
अस्तित्व खोज्दै छ धरहरा
अक्षरहरूबाट फुत्किँदै छन्
युवाका सपना
देशको भविष्य
हरेक रात सपना ओथारो हालेर
प्रत्येक बिहान निराशा कोरल्दै
सम्झन्छु–
मान्छेले खनेका विभेदका खाडलहरू
आपसमा टुटेका मनहरू
आँगनमा साँध हालेको दृश्यहरू
घरीघरी झस्काउँछ
भूकम्पको भाइब्रेसनले
नाकाबन्दीको रिङटोनले
भोकको रेमिट्यान्सले
यी झस्काइहरूसँगै
झस्केका छन् नेपालीहरू
र, बाँचेका छन्
भोलिका सुखद सपनाको आडमा ।
प्रकाशित: ९ असार २०७५ ०१:१९ शनिबार