१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

मोबाइलको घन्टी

 ‘आज पूज्यताको घरमा धेरै रमाइलो भयो । आलुको अचार, सेल, मासु सबै मिठो थियो । दक्षिणा पनि धेरै नै दिनुभयो ।’ कृपाले हाँस्दै भनिन्।सफलताले सही थापिन्, ‘हो पूज्यताको परिवार नै साह्रै राम्रो हुनुहुन्छ । गएको वर्ष देवालीमा पनि यस्तै रमाइलो भएको थियो ।’मानवीले भनिन् ‘हो रमाइलो भएको थियो बाबै ! आउच् ! कसको ब्यागमा मोबाइलको घन्टी बज्यो ।’सफलताले कान ठाडो पार्दै भनिन् ‘हो मोबाइल त बजेकै हो । कृपाको ब्यागमा हो कि ?’कृपाले हाँस्तै भनिन् ‘तिम्रो ब्यागमा नै बजेको हो !’

सफलताले हिँड्दाहिँड्दैको पाइला रोकेर भनिन्, ‘कसरी मेरो ब्यागमा मोबाइल बज्छ ?’कृपाले ‘पख है’ भन्दै सफलताको ब्याग खोलेर हेरिन् । नभन्दै सफलताको ब्यागमा नै मोबाइल बजिरहेको थियो । कृपाले मोबाइल झिकेर हत्तपत्त उठाउँदै भनिन् ‘हजुर पुष्पा अन्टी ! सफलताको ब्यागमा हजुरको मोबाइल परेछ । म अहिल्यै ल्याइहाल्छु ।’ यत्ति भन्दै कृपा हातमा मोबाइल बोकेर दौडिन्।

सफलता भने आफ्नो ब्यागमा पुष्पा आन्टीको मोबाइल कसरी पर्यो भन्दै अचम्म परिन् । सफलताको आँखाबाट आँसु झर्न मात्र सकेन । उनी अलमल्ल परिन् । ‘कसरी मेरो ब्यागमा मोबाइल पर्यो ? कसले हालिदियो मोबाइल ? मलाई पुष्पा आन्टीहरूले के भन्नुभयो होला ?’ यस्तै सोचेर उनको खुट्टा लगलग काँप्यो । उनका आँखामा आँसु पनि टिलपिल गर्यो ।साथीहरूले भने सफलतालाई चिन्ता नगर्न भनिरहेका थिए । मानवीले सम्झाउँदै भनिन् ‘सफलता तिमी धेरै इमान्दार छ्यौ भन्ने सबैलाई थाहा छ । पीर नगर ।’

सफलताले रुञ्चे स्वरमा भनिन् ‘यो कसको काम होला ? जानीजानी ब्यागमा मोबाइल हालेको हो । नत्र कसरी मेरो ब्यागमा मोबाइल पर्छ ? मैले मोबाइल छोएकीसम्म छैन । यो त अचम्मै भयो ।’कृपाले दौड्दै आएर भनिन् ‘पुष्पा आन्टीले भन्नुहुन्थ्यो, सफलता साह्रै इमान्दार छिन् । कसैले झुक्किएर उनको ब्यागमा मोबाइल हालिदियो होला ।’कृपा र मानवीले पनि त्यसै भने।

सफलता चिन्तित हुँदै घर आइन् । सबै कुरा बावुआमालाई सुनाइन् । सफलताको बावुले ‘खाएको विष मात्र लाग्छ, नखाएको विष लाग्दैन’ पीर नगर भनेर सम्झाउनुभयो । तर सफलतालाई भने चिन्ता लागिरह्यो । बेलुका सुतेपछि पनि उनी धेरैबेरसम्म पनि निदाउन सकिनन् । मनमा दिउँसोकै घटना खेलिरह्यो । ‘ब्यागमा मोबाइल कसरी पर्यो होला !’  त्यही सोचिरहिन् । धेरै बेरपछि मात्र बल्ल निदाइन्।

भोलिपल्ट कक्षामा पुग्दा सबैले उनको मुखमा हेर्न थाले । अनमोलले हाँस्दै भने, ‘मेरो ब्यागमा मोबाइलको घन्टी बज्यो बाबै !’
सफलताले झुक्किएर कसैले आफ्नो ब्यागमा मोबाइल हालेको होला भनेर सफाइ दिइन्।एक कान दुई कान गर्दै सबैको कानमा सफलताको ब्यागमा मोबाइलको घन्टी बजेको कुरा पुग्यो । सात कक्षाकी प्रथम विद्यार्थी सफलतालाई सबैले ‘ऊ मेरो ब्यागमा मोबाइलको घन्टी बज्यो’ भन्दै जिस्क्याउन थाले । सबैले उनको नाम नै भन्न छोडे । बोलाउँदा पनि ‘मोबाइलको घन्टी’ भनेर बोलाउन थाले । त्यति मात्र होइन, साथीहरूले सफलतासँग बस्न र हिँड्न पनि छोडिदिए ।

त्यही पीरले उनले राम्रोसँग खाना खान पनि छोडिन् । दिन प्रतिदिन दुब्लाउँदै गइन् । बिस्तारै पढ्न पनि छोडिन् ।एक दिन सफलता नराम्रोसँग बिरामी परिन् । डाक्टरलाई देखाएर औषधी दिँदा पनि निको भएन । उनलाई झन गाह्रो हुँदै गयो । निद्रामा पनि ‘मोबाइल मेरो ब्यागमा कसरी प¥यो ?’ भन्दै  बर्बराउन थालिन् ।  सफलताका बावुआमालाई छोरीको त्यो चाला देख्दा साह्रै पीडा भयो । उहाँहरूले सफलताको स्कूलमा गएर सबै कुरा प्रिन्सिपल सरलाई बताउनुभयो।

प्रिन्सिपल मोहन सरले नम्र स्वरमा भन्नुभयो ‘मोबाइलको कुरा त मैले पनि सुनेको हुँ । त्यो कुरालाई मैले त्यति ध्यान दिएको थिइनँ । सात कक्षामा पढाउने  सर मिसले सफलता सबै विषयमा फेल भइन् भन्दा चाहिँ साह्रै पीर लागेको थियो । तपाईंहरू बस्दै गर्नुहोस् । म उनको कक्षामा पुगेर आउँछु । केही उपाय लाग्छ कि ।’सफलताको बावुआमाले हात जोडेर भन्नुभयो, ‘सफलतालाई बचाउनुहोस् सर !’

प्रिन्सिपल सर ‘सक्दो कोसिस गर्छु’ भन्दै अफिसबाट निस्किनुभयो । सफलताको बावुआमाले सत्यको साथ दिनु भनेर भगवानसँग प्रार्थना गर्नुभयो ।कक्षामा गएर प्रिन्सिपल सरले अलि रिसाउँदै कृपा, मानवी, पुज्यतातिर हेर्दै भन्नुभयो ‘ल भन, तिमीहरूमध्ये कसले सफलताको ब्यागमा मोबाइल राखेका हौ ? त्यो दिन तिमीहरू साथ नै थियौ रे होइन ? फेरि कसले स्कुलमा आएर ब्यागमा मोबाइल परेको कुरा गर्यो ?’

मानवीले बिस्तारै उठ्दै भनिन्, ‘मैले सफलतालाई चोरनी भनेको होइन । कसले सफलताको ब्यागमा मोबाइल राखिदिएछ भनेकी थिएँ । अरू सबैले सफलताले नै चोरेकी हुन् भने । मैले उनको ब्यागमा मोबाइल राखेको चाहिँ होइन सर !’प्रिन्सिपल सरले फेरि कड्केर भन्नुभयो, ‘हो यसरी साँचो बोल्यौ भने म केही गर्दिनँ । नत्र म स्कूलबाट नै निकालिदिन्छु । तिमीहरूले दिएको चोटले गर्दा उनी यो जाँचमा सबै विषयमा फेल भइन् । हुँदाहुँदा अहिले बिरामी परेकी छन् रे । बुझ्यौ बद्मासहरू ?’

कृपाले उठेर रुञ्चे स्वरमा भनिन् ‘मलाई पुष्पा अन्टीले फोटो खिच्न भनेर मोबाइल दिनुभएको थियो । मैले मेरो ब्याग भनेर सफलताको ब्यागमा मोबाइल हालेछु । आउँदा दिन्छु भन्दै थिएँ, बिर्सिएछ । बाटोमा मोबाइलको घन्टी लाग्दा पो म झसङ्ग भएँ । सफलता रिसाउलिन् भनेर मैले केही नभनेकी हुँ । मैले जानेर गल्ती गरेको होइन सर ! अब यस्तो गल्ती गर्दिनँ । सफलतासँग पनि माफी माग्छु ।’प्रिन्सिपल सरले रिसाउँदै भन्नुभयो, ‘तिम्रो सानो गल्तीले गर्दा सफलताले कति धेरै चोट सहनुपर्यो । झुक्किएर तिम्रो ब्यागमा मोबाइल परेछ भनेको भए हुन्थेन ?’

कृपाले भनिन्, ‘अबदेखि यस्तो गल्ती कहिल्यै गर्दिनँ । सफलतालाई सबैले चोर्नी भन्लान् भनेर सोचेकी पनि थिइनँ सर !’कृपाले आफ्नो गल्ती स्वीकार गरेपछि बल्ल कक्षाका सबैले सत्य कुरा थाहा पाए । साँचो कुरा भनेकोमा कृपा र मानवीलाई प्रिन्सिपल सरले स्याबासी दिनुभयो । ‘अब कसैले कहिल्यै यस्तो गल्ती नगर्नू । साँचो कुरा समयमा नै भन्नू ।’ भनेर प्रिन्सिपल सर कक्षाबाट बाहिर निस्किनुभयो । सफलतालाई चोर भन्ने उनका साथीहरू  पनि पछुताए । प्रिन्सिपल सरले सफलताको बावुआमालाई सबै कुरा भनिदिनुभयो ।सफलताको बावुआमाले प्रिन्सिपल सरलाई धेरैधेरै धन्यवाद भनेर खुसी हुँदै घर आउनुभयो । घरमा बावुआमालाई पर्खिरहेका थिए, सफलता । आमा र बावुले स्कूलमा भएको सबै कुरा सफलतालाई सुनाउनुभयो।

आफ्ना बावुआमाको मुखबाट यस्तो कुरा सुनेर सफलता धेरै खुसी भइन् । उनको बिरामी कता हरायो कता ! खुसीले बुरुक्क उफ्रिइन् सफलता । धेरै दिनदेखि नपल्टाएको किताबतिर ध्यान गयो । त्यसै थन्किएको  ब्यागबाट किताब पल्टाउँदै भनिन् ‘बाबा ममी म फेरि प्रथम हुने गरी नै पढ्छु ।’छोरीको कुरा सुनेर सफलताको बुवाआमाको मनमा असीम खुसी प्रवाह भयो । उहाँहरू सफलतालाई हेर्दै फिस्स हाँस्नुभयो । बावुआमाको ओठमा हाँसो देखेर सफलता पनि फिस्स हाँसिन् ।

 

प्रकाशित: २६ जेष्ठ २०७५ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App