१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

योगमायाको आयाम

पुस्तक    : योगमाया
लेखिका   : नीलम कार्की निहारिका
प्रकाशक  :साङ्ग्रिला बुक्स, २०७४
पृष्ठ      : ५०४
मूल्य   रु. :  ५७५

किताब लेख्दा, खास गरेर उपन्यास लेख्दा दुई किसिमका धारणा राखेर लेखिएको पाइन्छ । एक किसिमका लेखक, जो स्वच्छन्द रूपमा कल्पनाको संसारमा उडेर लेख्छन् । अर्को किसिमका लेखक भने यथार्थको भूमिमा बसेर लेख्छन्।

तथापि, यथार्थको नाममा मूलतः ऐतिहासिक उपन्यास लेख्दा जस्ताको तस्तै पत्रकारीय रिपोर्टिङ गरेजस्तो गरेर लेख्ने यहाँ प्रचलन छ । उपन्यासको नाम दिइए पनि त्यहाँ औपन्यासिकता पाइन्न, सुनिआएको, पढिआएको इतिहास मात्रै हुन्छन् ती । यहीँनिर त्यो परम्पराको पाटोको विपरीत विशुद्ध ऐतिहासिक पात्र र विषयवस्तुलाई केन्द्रमा राखेर एउटा पुस्तक साहित्यिक बजारमा आएको छ, जसको नाम हो, ‘योगमाया’।

नेपाली पाठकले भोगिरहेको एउटा कटु वास्तविकता छ, त्यो के भने केवल युधीर थापा प्रवृत्तिका वा व्यक्तिगत कुण्ठा-घटनालाई व्यक्त गरिएका कथावस्तु लिएर तयार गरिएका तथाकथित लोकप्रिय लेखकका लेखन मात्रै पढ्नुपर्ने आजको बाध्यता छ । तर, केही समयअघि मात्रै यस्तो बाध्यताबाट पाठकलाई मुक्ति दिँदै पौराणिक–पात्र द्रौपदीको मूल चरित्रमा आधारित ‘चीरहरण’जस्तो नयाँ स्वादको उपन्यास लेखेर एउटा अलग्गै ख्याति कमाएका उनै लेखिका नीलम कार्की निहारिकाले ‘योगमाया’ लिएर आएकी छन्।

योगमाया नेपालको इतिहासमा एउटा महत्वपूर्ण न कि नारी–पात्र मात्रै हुन्, पुरुषहरूले समेत आँक्नै नसक्ने एक विद्रोही पात्र, जसले नारीमुक्तिको पक्षमा जिन्दगीको पूरै समय समर्पण गर्दै अन्ततः त्यही महायज्ञमा आफ्नो शरीरको समेत बलिदान गरिन् ।राणाकालको बिगबिगीका बेला नारी वर्ग, जसको अभिव्यक्ति–स्वतन्त्रता पुरुषको भन्दा स्वभावतः कम थियो, त्यस्तो अवस्थामा शासकलाई घुँडा टेकाउन उनले अग्नि समाधिजस्तो अकल्पनीय÷असोचनीय बाटोलाई हतियार बनाउन खोजेकी थिइन् ।

त्यस्तो कुन ठूलो कारण थियो कि एक बालविवाहितालाई शोषित–पीडित सम्पूर्ण नारी वर्गका उन्मुक्ति–अभियानमा आफ्नो जीवनको पूरै समय दिएर अन्ततः शरीर नै उत्सर्ग गर्नुपर्ने ‘योगमाया’ बनायो ? कुनै जघन्य घटना त अवश्यै घटित भएकै थियो होला, उनको त्यो वैवाहिक जीवनमा ! यो एक ऐतिहासिक पात्रमा आधारित उपन्यास भएकाले पनि उठ्न सक्ने सवाल हो यो ।

तर, त्यो बाटो योगमायाको बहादुरी थियो कि मूर्खता ? शासकलाई घुँडा टेकाउन प्रयोग गरिने आजको विकसित रूप ‘भोक–हडताल’को अवस्थामा उनको त्यो बाटोको पक्कै पनि लेखाजोखा हुँदै गर्ला । यद्यपि, अन्ततः योगमायाले ‘जलसमाधि’ अर्थात् आत्महत्याकै बाटो रोजिन् । यस मानेमा कसैको आत्महत्याले पछिल्लो पुस्तालाई सहज जीवनयापन गर्न सक्ने बाटो खोलिदिन सक्छ भन्ने मान्यताको अन्तर्यलाई आजको समयले कसरी हेर्ला ? यो भने चासोकै विषय हुन सक्छ।

योगमायाको जीवनी थाहा नहुनेले यसलाई केवल उपन्यासको रूपमा पढ्न सुरु गरे पनि पुस्तक–आरम्भको तेस्रो पृष्ठपछि नै प्रसिद्ध साहित्यकार पारिजातको उपस्थिति देखिनुले पाठकहरू सहजै यथार्थ भूमिमा आइपुग्छन् । इतिहासको विषयलाई वर्तमानसँग जोडेर त्यसलाई औपन्यासिक रूपमा ढाल्न सक्ने यो प्रस्तुति नौलो छ।

एक अमेरिकी नागरिक बार्बरा निम्री, जो पुस्तकभित्र योगमायाको विषयलाई उठान गर्ने पहिलो पात्र छिन्– उनको भेट पारिजातसँग भएपछि ‘ठूलीहजुर’को उपशीर्षकबाट उपन्यासको थालनी हुन्छ । रमाइलो के छ भने ५०५ पृष्ठको पुस्तकमा ठूलीहजुरको सिलसिला ४७२ पृष्ठमा पुगेपछि मात्रै समाप्त हुन्छ । तर, उपन्यास त्यत्तिकै समाप्त हुँदैन । त्यसपछि आउने ‘दुखुना भन्छे’ उपशीर्षकले पनि यो सिलसिलालाई जोडेरै अगाडि बढाउँछ।

उपन्यासको अन्त्यमा जुन दृश्य वर्णन छ, त्यसले ‘योगमाया’को जीवनलाई बडो उच्च ढंगले सार्थकता प्रदान गरेको देखिन्छ । ‘जलसमाधि’ हेतु ६५ जनाका पाइला एक–एक अगाडि बढ्दै जान्छन् । गडगडाइरहेको अरुणतर्पm हिँड्दै हुन्छन्– उज्यालोको लस्कर । तिनका एउटै छ आवाज–
अधर्मको नाश होस् !
धर्मराज्य स्थापना होस् !
त्यसपछि, अरुणको त्यो ठूलो ढुंगामा सबैभन्दा पहिला ठूलीहजुरको पाइला उक्लन्छ । अनि, अन्यका । क्रमशः त्यो पाइला–उक्लाइमा उक्लनेहरूका आवाजले शिखर छुन्छ–
अधर्मको नाश होस् !
धर्मराज्य स्थापना होस् !
अधर्मको अन्त्य हुनेछ !
धर्मको उदय हुनेछ !

सुखद् भविष्यको किरण देखाएर उपन्यासको दुःखद् अन्त्य हुन्छ । अपितु उपन्यासको समाप्तिपश्चात् उपन्याससँगै जोडिएर आएको ‘प्रसंगवश’ले पुस्तकको महत्ता अझ चुलीमा पु¥याएको छ । कल्पना र यथार्थको बीचमा रहेर स्वयंको जीवनको एक भाग वास्तविकतालाई ‘प्रसंगवश’मा प्रस्तुत गरेर लेखिकाले पुस्तकलाई निकै रोमाञ्चक तुल्याएकी छन् ।

म दाबी गर्न सक्छु– गहन अध्ययनकर्ताको हकमा यो पुस्तक पढ्न सुरु गर्नेले नसिध्याईकन छोड्नै सक्दैन ।
सिंगो उपन्यास योगमायामाथि केन्द्रित भएका कारण सबै पात्र योगमायाकै परिवेशमा घुमेका छन् । यसको सीधा प्रतिविम्ब पात्रहरूले उपन्यासमा बोलेका भाषामा देखिन्छ, जहाँ क्षेत्र विशेष पूर्व भोजपुरमा बोलिने भाषाको प्रयोग भएको छ।

समग्रमा, योगमायाजस्तो ऐतिहासिक पात्रको जीवनीबाट अनभिज्ञका लागि ‘योगमाया’ निकै उपयोगी खुराक बनेको छ । तर, एउटा सामान्य प्रश्न भने उठ्न सक्छ– माइतीघरबाट एक किसिमको सामान्य अपहेलित वा त्यति वास्ता नगरिएकी (त्यागिएकी होइन) र आफ्नो घरमा कुनै किसिमको सानातिना घरायसी पीडा भोगेकी नारीले आत्महत्याको सोच राख्न सक्छिन् ?

योगमायाको पनि प्रारम्भिक जीवन हेर्दा त्यही तस्बिर सामुन्ने आउँछ । तर, त्यस्तो कुन ठूलो कारण थियो कि एक बालविवाहितालाई शोषित–पीडित सम्पूर्ण नारी वर्गका उन्मुक्ति–अभियानमा आफ्नो जीवनको पूरै समय दिएर अन्ततः शरीर नै उत्सर्ग गर्नुपर्ने ‘योगमाया’ बनायो ?

कुनै जघन्य घटना त अवश्यै घटित भएकै थियो होला, उनको त्यो वैवाहिक जीवनमा ! यो एक ऐतिहासिक पात्रमा आधारित उपन्यास भएकाले पनि उठ्न सक्ने सवाल हो यो । पाठक वर्गले सवाल उठाउन सक्छ– उपन्यास तयार गर्ने सिलसिलामा त्यो पाटोमा लेखिकाको ध्यान नपुगेको हो कि ?तर, प्रश्न उठाउन सजिलो छ । मलाई लाग्छ, उस खालका प्रश्नको उत्तर खोज्ने अलिकति अभिभारा पाठकको भागमा पनि आजका लेखकले छाड्ने गर्नुपर्छ ।

अन्यथा, कसरी सचेत भनेर आजका पाठकलाई कहलाइनु ? वास्तवमा, कुनै कृति त्यसमा पनि ऐतिहासिक विषयक कृति तयार पार्दा लेखकले बेहोर्नुपर्ने मानसिक पीडा–परिश्रमलाई व्यक्त गर्न सक्ने शक्ति अक्षरहरूमा हुँदैन । त्यसमाथि जतिसुकै परिश्रम गरेर कृति तयार गरेको भए पनि लेखकहरू आफ्नो कृतिमाथि सम्पूर्ण रूपले सन्तुष्ट बन्न सकेका हुँदैनन् । अर्कोतिर, सामान्यतः पाठकले कृति पढ्दा पूर्ण सन्तुष्टि खोज्छन् नै । ठीक यही स्थितिमा ‘योगमाया’लाई बुझ्न सकिन्छ।

योगमाया विषयक विवादहरू नरहेका पनि होइनन् । योगमायाको विषयमा भोलि पनि लेखिने नै छ । यही ‘योगमाया’ पूर्ण पनि होइन । यसर्थ, माथि उठाइएको सवालको जवाफलगायत योगमायासम्बन्धी अन्य जिज्ञासाको निरूपण भोलिका दिनले पक्कै गर्नेछन् भन्ने आशा गर्न सकिन्छ।

 

 

प्रकाशित: १२ जेष्ठ २०७५ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App