१ कार्तिक २०७८ सोमबार
अन्य

‘माइन्डफुलनेस’ : खुसीको सूत्र

बौद्ध भिक्षु माथ्यु रिकार्ड (७२) लामो समयदेखि ‘माइन्डफुलनेस’ ध्यान अभ्यासकर्ता हुन् । ध्यानकै कारण उनको मस्तिष्कमा आमूल परिवर्तन आएको वैज्ञानिक तथ्यबाट पुष्टि भएको छ । त्यही परिवर्तनले उनलाई आज ‘संसारकै खुसी’ व्यक्तिको पहिचान दिएको छ । 

आठ वर्षअघि ‘टाइम’ म्यागेजिनले वैज्ञानिक तथ्यसहित उनलाई ‘खुसीयुक्त व्यक्ति’ भन्दै आवरण लेख छाप्यो, त्यसपछि विश्वभर उनको चर्चा बढ्दै गयो । ध्यानबाट आफूले पाएको खुसीको सूत्र विश्वभर बाँड्दै हिँडने माथ्यु ध्यान र अध्ययनका लागि अधिकांश समय नेपालमै बस्छन् ।

 सन् १९७२ मा  फ्रान्सको पाश्चर युनिभर्सिटीबाट ‘मोलिक्युलर जेनेटिक्स’मा पिएचडी गरेका उनले वैज्ञानिक ‘करिअर’ छाडेर तिब्बती बौद्घ परम्परा अँगाले । बौद्घ भिक्षु बनेर ध्यान–साधना, अध्ययन र समाजसेवामै जीवन समर्पित गरे ।  आफ्नो जीवन रूपान्तरण तथा खुसीयुक्त बनाउन ध्यानको महत्वपूर्ण योगदान रहेको उनको स्वीकारोक्ति छ । 

दैनिक नियमित २० मिनेट ध्यान गरेमा मानिस पहिलेको दाँजोमा बढी खुसी हुने अमेरिकी न्युरोवैज्ञानिक रिचर्ड डेभिड्सनको निचोड छ।

अमेरिकाको विस्कन्सिन विश्वविद्यालय, म्याडिसनका न्युरो वैज्ञानिक रिचर्ड डेभिड्सनले उनीमाथि अनुसन्धान गरे । ध्यानावस्थामा रहेका माथ्युको मस्तिष्कमा अन्य सामान्य मानिसभन्दा ‘गामा वेभ’ बढी क्रियाशील रहेको पाइयो । यसले मानिसमा खुसी र सिर्जनशीलता ल्याउने वैज्ञानिकहरूको दाबी छ । माथ्युको हकमा पनि यो लागू हुन्छ । माथ्यु एक प्रतिनिधि पात्र हुन्, अन्य ध्यान अभ्यासकर्तामाथि  अनुसन्धान गर्दा उनीहरूमा मस्तिष्कको ‘प्रिफ्रन्टल कर्टेक्स’ सक्रिय रहेको पाइयो । तसर्थ, उनीहरू आममानिसभन्दा बढी खुसी थिए  । 

दैनिक नियमित २० मिनेट ध्यान गरेमा मानिसले पहिलेको दाँजोमा बढी खुसी महसुस गर्नसक्ने रिचर्डको निचोड छ । डेभिड्सन र उनको टिमले ध्यान अवस्थामा बौद्घ भिक्षुको मस्तिष्कको अवस्था कस्तो हुन्छ भनी सात वर्षदेखि अनुसन्धान गर्दै आएको छ । इइजी, एमआरआई र एफएमआरआईको सहायताबाट ‘ब्रेन स्क्यान’ गर्दा अन्य साधारण व्यक्तिको भन्दा ध्यान गर्ने व्यक्तिको मस्तिष्कको तरंग फरक पाइएको छ । 

वैज्ञानिक प्रामाणिकता पाएपछि अमेरिका तथा युरोपमा ‘माइन्डफुलनेस’ ध्यान लोकप्रियताको शिखरमा पुगेको छ । भौतिक उन्नतिको चुलीमा पुगेका त्यहाँका मानिसले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक उन्नतिका लागि ध्यानलाई जीवनको अभिन्न अंग बनाएका छन् । आधुनिक चिकित्सा पद्घतिको विकल्पको रूपमा समेत यसलाई प्रयोग गर्न थालिएको छ । यति हुँदाहुँदै पनि पश्चिमी मुलुकमा चर्चित ‘माइन्डफुलनेस’ बौद्घ ध्यान पद्घतिसँग सम्बन्धित छ । तिब्बत, नेपाल र भारतबाट सुरु भएको बौद्घ ध्यान पद्घति परिष्कृत रूपमा ‘माइन्डफुलनेस’का नाममा अमेरिका, युरोपलगायत मुलुकमा फैलँदै गएको छ । 

सति, स्मृति र माइन्डफुलनेस 

कुनै पनि विचार तथा पद्घतिको विकास हुन निश्चित समय एवं चरणबाट गुज्रनुपर्ने हुन्छ । बौद्ध दर्शनमा प्रचलिनमा आएको ‘सतिध्यान’ पश्चिमी मुलुकमा स्थापित हुन वर्षौ लागेको पाइन्छ । बौद्ध धर्म तथा संस्कृतिको उद्गमस्थल नेपाल,भारत, तिब्बत हुँदै हाल युरोप तथा अमेरिकामा यसका मूल्य मान्यता तथा ध्यानका विधि क्रमिक रूपमा फैलिएको देख्न सकिन्छ । यसकै फलस्वरुप हुन सक्छ– ‘सति ध्यान’ लाई विश्वका लाखौं मानिसले ‘माइन्डफुलनेस’ का रूपमा दैनिक अभ्यास गरेर फाइदा लिएका छन्  । 

कुनै पनि वस्तुको वास्तविक स्वभावलाई निर्णयकर्ता नबनीकन साक्षी भावले हेर्ने र आफूबारेको सत्य खोजी गर्ने विधि विपश्यना हो । विपश्यना पनि एक प्रकारको ‘माइन्डफुलनेस ध्यान’ हो, जसले  जसले जीवनलाई होसपूर्वक बाँच्न सिकाउँछ ।

पाली भाषामा ‘सति’ अनि संस्कृतमा ‘स्मृति’ हुँदै विकास भएको ध्यान पद्धति पश्चिमी मुलुकमा ‘माइन्डफुलनेस’ का रूपमा प्रचलित छ । असंख्य विचारसँग खेल्ने मनलाई तालिम दिनका लागि ध्यानका विभिन्न अभ्यास गरिन्छ । आपूm निर्णयकर्ता नबनीकन कुनै पनि व्यक्तिले वर्तमान क्षणमा भावना, विचार र संवेदनामा ध्यान केन्दित गर्ने विधि ‘सतिध्यान’ अर्थात् ‘माइन्डफुलनेस’ हो, जुन बौद्ध परम्परामा आधारित छ । 

पालीबाट आएको ‘सति’को अर्थ होस भन्ने हुन्छ । श्वासप्रश्वासमा केन्द्रित भएर सति ध्यान अभ्यास गर्नका लागि सावधानी अतिआवश्यक कुरा हो । विपश्यना, सतिपट्ठान र आनापाना सति बौद्घ ध्यान पद्धतिअन्तर्गत पर्छन्  । संस्कृतबाट आएको ‘स्मृति’कोे अर्थ ‘सम्झिनु वा स्मरण गर्नु’ भन्ने हुन्छ ।  मानसिक तत्वको दृष्टिबाट हेर्दा यसले मनको उपस्थितिको महत्व दर्शाउँछ, वर्तमानप्रति जागरुक हुन प्रेरित गर्छ ।  विगतका विचार संगृहित भएर रहेको मनको अवस्थालाई स्वभाविक रूपले रुपान्तरण गर्दै वर्तमानमा बाँच्न सिकाउँछ । 

ध्यानले कुनै पनि वस्तुको पछाडि लागेर मन र विचारलाई अस्थिर ढंगले परिचालन हुनबाट नियन्त्रण गर्छ । यसको मुख्य कार्य मनलाई अनावश्यक द्विविधाबाट मुक्त राख्दै होसपूर्वक जागरण मार्गमा अघि बढाउनु हो । समग्रमा, ‘माइन्डफुलनेस’ मा हाम्रो मनमा रहेका विचारका शृंखलालाई जागरुक रूपमा साक्षीभावले हेरिन्छ । 

पाली भाषाका विद्वान थोमस विलियम राइज डेभिड्स (१८४३–१९२२) ले सबैभन्दा पहिले सन् १८८१ मा ‘सति’ लाई अनुवाद गरी ‘माइन्डफुलनेस’ नाम दिए । यसैगरी, ‘सम्म सति’ लाई उनले अनुवाद गरी ‘राइट माइन्डफुलनेस’ नामकरण गरेका छन्, जसको अर्थ सक्रिय, जागरुक मन भन्ने हुन्छ । डेभिड्सका अनुसार डेनियल जोन जोगर्लिले सन् १९४५ मा ‘सम्मसति’ लाई ‘करेन्ट मेडिटेसन’ भनी उल्लेख गरेका थिए । 

भिक्षु बोधिले पनि ‘सति’ लाई अंग्रेजी अनुवादमा ‘मेमोरी’ भनी उल्लेख गरेका छन् । पश्चिमका अन्वेषक तथा लेखकले ‘सति’लाई अंग्रेजीमा अवेरनेस, माइन्डफुल अटेन्सन, रिटेन्सन आदि उल्लेख गरेका छन् । मेरियकम वेबस्टर शब्दकोषका अनुसार ‘माइन्डफुलनेस’ जागरुक रहेको अवस्था हो र यसको पर्यायवाची शब्दका रूपमा ‘होसपूर्वक बाँच्ने अवस्था’ अर्थात् ‘अवेकफुलनेस’ भनिएको छ । माइन्डफुलनेस शब्दको पर्यायवाचीका रूपमा अटेन्सन, अलर्टनेस, अवेरनेस, कन्सस्नेस, अब्जर्भेसन आदि उल्लेख छ। 

जोन कबाट जिन र माइन्डफुलनेस 

मानिसको दैनिक जीवनमा आइपर्ने तनाव व्यवस्थापन गर्न ‘माइनडफुलनेस’ ध्यानले प्रभावकारी रूपमा काम गर्दै आएको छ । ध्यानको अभ्यासले आधुनिक चिकित्सा प्रणालीबाट निको भएका बिरामी निको भएका छन ।  

दीर्घ बिरामीहरूको पीडिामा मल्हमपट्टी लगाउन सन् १९७९ मा डा. जोन कबाट जिनले युनिभर्सिटी अफ म्यासाचुसेटमा एक कार्यक्रम सुरु गरे, जसको नाम राखिएको थियो– माइन्डफुलनेस बेस्ड स्ट्रेस रिडक्सन (एमबिएसआर) । यसले चिकित्सा क्षेत्रमा ‘माइन्डफुलनेस’ को अवधारणा तथा अभ्यास व्यवहारमा लागू गर्न मद्दत पुग्योे । अमेरिकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका दीर्घरोगीलाई ‘माइन्डफुलनेस’पद्धतिले धेरै फाइदा पु¥याएको छ  । माइनडफुलनेस ध्यानका अभ्यासकर्ता कबाट अहिले पनि एमबिएसआर विधिबाट बिरामीको उपचारमा संलग्न छन्  । पछिल्लो समय युरोप, अमेरिका र एसियाका स्वास्थ्य संस्थामा समेत यो विधिलाई उपयोग गर्ने गरिएको छ ।

एमबिएसआरमा अपनाइने ‘बडी स्क्यान’ भन्ने विधि बर्माको महासी सहादको परम्पराबाट आएको हो । बर्माकै अर्का सन्त ऊ बा खिन परम्पराको विपश्यना ध्यान विधि सन् १९७६ देखि सत्यनारायण गोयन्काले विश्वभर पैmलाउँदै आएका छन् । अहिले विश्वमा अधिकांश देशमा विपश्यना ध्यान केन्द्र रहेका छन् , जहाँ १०, २०, ३० र ४५–दिने ध्यान शिविर सञ्चालन गरिन्छन् ।

एमबिएसआर अहिले लोकप्रियताको शिखरमा छ । विद्यालय, अस्पताल पुनस्र्थापना, जेष्ठ नागरिक केन्द्रलगायत क्षेत्रमा माइन्डफुलनेस ध्यानको सहायताले तनाव घटाउने उपाय सिकाउन थालिएको छ । एमबिएसआरमा विचार, अनुभव शरीरको संवेदना र वरिपरिको वातावरणप्रति सजग रहनुपर्छ । हरेक क्षणमा के भइरहेको छ भनी सजग रहँदै मानव मस्तिष्कप्रति केन्द्रित हुन यसले मार्ग तय गर्छ । विगत वा भविष्यप्रति ध्यान दिनु सट्टा वर्तमान समयमा के भइरहेको छ भनी जागरुक रहन ध्यानले सिकाउँछ ।

लोकप्रिय बन्दै ‘माइन्डफुलनेस’

पछिल्लो समय अमेरिकाका विश्वविद्यालय, कलेज र स्कुलमा ‘माइन्डफुलनेस’प्रति आकर्षण बढ्दै गएको छ । ‘माइन्डफुलनेस’लाई व्यक्तिगत अनुभवमा मात्र सीमित नराखी त्यसको प्रयोगात्मक पक्षलाई शिक्षा क्षेत्रमा लागू गरिएको छ । स्कुलका विद्यार्थीलाई ‘माइन्डफुल रिडिङ’, ‘माइन्डफुल राइटिङ’, ‘माइन्डफुल वाकिङ’, ‘माइन्डफुल इटिङ’ लगायत अभ्यास गराइन्छ । यसले विद्यार्थीको सिकाइमा राम्रो प्रभाव पार्नुको साथै उनीहरूमा खुसी बढेको भेटिएको छ । 

‘माइन्डफुलनेस’ विधिले गर्दा विद्यार्थीमा खुसीसाथ सिक्ने तत्परता बढेको पाइएपछि अमेरिकाका राजनीतिकर्मीसमेत यो अभियानमा सरिक भएका छन् ।  सन् २०१२ मा अमेरिकी  कंग्रेसम्यान टिम ¥यानले ‘ए माइन्डफुल नेसन’ भन्ने किताब लेखेर स्कुल–स्कुलमा बाँडी सचेतनामूलक अभियान चलाएका थिए । उनले आफ्नो गृह जिल्लाका स्कुले विद्यार्थीलाई ‘माइन्डफुलनेस’ सिकाउनका लागि कार्यक्रम नै तर्जुमा गरे । 

 सन् २००० मा लस एन्जेलस क्षेत्रको सार्वजनिक तथा निजी स्कुलमा केटाकेटीका लागि तयार पारिएको ‘माइन्डफुलनेस बेस्ड प्रोग्राम’ (द इनर किड्स प्रोग्राम) ले विद्यार्थीलाई पढाइ तथा प्राज्ञिक सफलताका लागि विद्यार्थीलाई उत्प्रेरित गरेको पाइयो । यसबाट विद्यार्थीको एकाग्रता बढ्नुको साथै आचरणमा समेत सुधार भएको पाइयो । ‘माइन्डफुलनेस’ अभ्यास गरेका विद्यार्थी अन्यभन्दा शान्त, अनुशासित र खुसी रहेको अनुसन्धानले देखाएको थियो । ‘माइन्डफुलनेस’ ध्यान सिकेका स्कुलका शिक्षक खुसी तथा सिर्जनशील हुने भएकाले शिक्षण प्रभावकारी बनेको पाइएको छ ।  यस अर्थमा शिक्षक, विद्यार्थी सबैका लागि ‘माइन्डफुलनेस’ कोसेढुंगा साबित भएको छ । 

द डेभिड लिन्च फाउन्डेसनले सान फ्रान्सिस्कोका मिडिल स्कुलमा ‘माइन्डफुलनेस’ ध्यानमा आधारित ‘शान्त रहौं’ भन्ने कार्यक्रम सञ्चालन गरेको  थियो । यसबाट शिक्षक अनुपस्थित रहने, निराश हुने, रिसाउने, झर्कनेजस्ता समस्या निराकरणमा सहयोग पुगेको थियो । यसैगरी, विद्यार्थीमा पनि नियमित स्कुल आउने, परीक्षाको नतिजा राम्रो हुने, बानी व्यहोरामा परिवर्तनजस्ता नतिजा देखिएको थियो । ‘माइन्डफुलनेस ध्यान’ले विद्यार्थीको जीवनमा रूपान्तरण ल्याएपछि युरोपका बेलायत, फ्रान्स, जर्मनी, इटालीलगायत देशका शिक्षण संस्थामा समेत यसलाई अवलम्बन गर्न थालिएको छ । 

अमेरिका, बेलायतलगायत मुलुकले राज्यका महत्वपूर्ण निकायका अधिकारीलाई ‘माइन्डफुलनेस’ को तालिम दिएको छ । सन् २०१४ मा ब्रिटिस संसदमा आयोजित कार्यक्रममा सांसदलाई ‘माइन्डफुलनेस’ ध्यान सिकाइएको थियो । व्यवसाय, कानुन, जेल, सरकारी निकाय आदिमा पनि ‘माइन्डफुलनेस’ कार्यक्रम उपयोगी देखिएको छ । माइकल क्यारोलको माइन्डफुलनेस पद्घतिमा आधारित ‘अवेक एट वर्क’ किताब विश्वभरि प्रसिद्ध छन्, जसमा उनले व्यावसायिक तथा व्यापारिक कामलाई होसपूर्वक  कसरी सम्पन्न गर्ने भन्ने उल्लेख गरेका छन् । 

विभिन्न देशका  जेलहरूमा त ‘माइन्डपूmलनेस’ ध्यानलाई नियमित कार्यक्रमकै रूपमा सिकाउन थालिएको छु । जेलमा ‘माइन्डफूलनेस’ सिकाउन थालेपछि त्यहाँका कैदी– बन्दीको आचरण तथा व्यवहारमा व्यापक सुधार भएको पाइएको छ । उग्र व्यवहार देखाउने कैदीमा आशावादी सोच विकास हुनुको साथै पहिले गरेको खराब कामप्रति प्रायश्चित गर्ने बानीको विकाससमेत भएको छ । 

माइन्डफुलनेस र नेपाल

नेपालमा पछिल्लो समय ‘माइन्डफुलनेस’ ध्यानप्रति चासो र आकर्षण बढ्दै गएको छ । काठमाडौं तथा राजधानीबाहिरका बौद्घ विहार, विपश्यना केन्द्र लगायत अन्य सेन्टरमा पनि यो ध्यान अभ्यास गरिन्छ । काठमाडौंको मुहानपोखरी, पोखरा, लुम्बिनी, इटहरीलगायत स्थानमा विपश्यना केन्द्र छन् ।  विपश्यनामा शरीरका संवेदनाप्रति सजग रहेर ‘माइन्डफुलनेस’ अभ्यास गरिन्छ । 

हरेक अंग्रेजी महिनाको १ र १४ तारिख गरी दुईपटक आयोजना गरिने विपश्यना ध्यान शिविरमा डाक्टर, इन्जिनियर, कर्मचारी, विद्यार्थी, शिक्षक, उद्योगीलगायत समाजका विभिन्न क्षेत्रका मानिस सहभागी हुन्छन् । बालबालिकाका लागि समेत एकदिने विपश्यना शिविर आयोजना गरिँदै आएको छ । ध्यानप्रति युवा पुस्ताको सहभागिता बढ्दै गएको छ । नेपालका शिविरमा सहभागी हुनकै लागि विदेशीसमेत आउने गरेका छन् । विभिन्न स्कुलले योग र ध्यानको कक्षा सुरु गरे पनि ‘माइन्डफुलनेस’ विधि अझै सर्वसुलभ हुन सकेको छैन । 

मिङ्ग्योर रिम्पोछेले काठमाडौंको तेरगार ओसेलिङ गुम्बामा सुरु गरेको ‘जोय अफ लिभिङ’ ध्यान पद्घति पनि माइन्डफुलनेसअन्तर्गत पर्छ । उनको ध्यानको मुख्य विशेषता वर्तमान क्षणप्रति सजगता हो । सन् २०१५ देखि नीति तथा सदाचार संस्था (इभिन्स नेपाल)ले साप्ताहिक रूपमा ‘माइन्डफुलनेस’को सामूहिक ध्यान कार्यक्रम गर्दै आएको छ । इभिन्सले माइन्डफुलनेसलाई सीपमूलक कामसँग जोड्नुपर्ने अवधारणा अगाडि सारेको छ । इभिन्सको अभिन्न अंगको रूपमा ‘नेपाल सेन्टर फर माइन्डफुलनेस एन्ड कम्प्यासन’ सञ्चालित छ ।  यसबाहेक बौद्घ र ठमेलका विभिन्न संस्थाले बेलाबखतमा माइन्डफुलनेस ध्यानका कार्यक्रम सञ्चालन गरेको पाइन्छ । 

माइन्डफुलनेस : खुसीको साँचो

सामान्यतः मस्तिष्कले आफ्नै हिसाबले काम गरिरहेको हुन्छ भन्ने आमबुझाइ छ । तर, पछिल्लो समय न्युरो वैज्ञानिकहरूले मस्तिष्कको स्वभावबारे नयाँ अनुसन्धान गर्दै आएका छन् । मानिस खुसी वा बेखुसी हुनुमा मस्तिष्कबाट महत्वपूर्ण भूमिका हुने उनीहरूको मत छ ।

वैज्ञानिकहरू यसो भन्न थालेका छन्–खुसी एउटा कला हो, जुन मस्तिष्कलाई तालिम दिएर प्राप्त गर्न सकिन्छ । हो, त्यो तालिम दिने माध्यम चाहिँ ‘माइन्डफुलनेस’ ध्यान हो । 

खुसी तथा स्वस्थ रहनका लागि मस्तिष्कलाई दिइने तालिम अन्य अभ्यास जस्तै हुन्छ । जसरी एउटा व्यक्तिले गितार बजाउन तालिम गर्नुपर्छ, त्यसरी नै खुसी रहनका लागि मस्तिष्क ‘माइन्डफुल’ हुनैपर्छ, यसकै लागि तालिम दिनुपर्छ ।  माइन्डफुलनेस ध्यानको नियमित अभ्यासले स्नायु प्रणालीको ‘न्युरल सर्किट’ क्रियाशील बन्छ । नियमित ध्यान गर्ने गरेमा केही वर्षभित्र मस्तिष्कको लचकता (प्लास्टिसिटी) बढ्न गई सिर्जनशीलता तथा खुसी बढ्छ । 

ध्यानले मानिसमा सकारात्मक सोच, प्रेम, करुणा, मैत्रीभाव बढाउन महŒवपूर्ण भूमिका खेल्ने वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ । अमेरिकी न्युरो वैज्ञानिक रिचर्ड डेभिड्सनका अनुसार कुनै व्यक्तिले  दुई सातासम्म नियमित दैनिक आधा घन्टा ध्यान ग-यो भने उसको मस्तिष्कमा क्रमिक रूपमा फरकपना आउन थाल्छ ।

ध्यानको निरन्तर अभ्यासपछि मस्तिष्कको कार्यप्रणालीमा परिवर्तन आउनुका साथै  यसले जीवनमा उच्चतम खुसी ल्याउँछ । जीवनमा  सुख, शान्ति र खुसी ल्याउन लामो अवधि ध्यान अभ्यास गर्नुपर्छ । 

सन् २०१४ मा ‘द युएस एजेन्सी फर हेल्थकेअर रिसर्च एन्ड क्वालिटी’ ले ‘माइन्डफुलनेस’ ध्यानबारे अनुसन्धान गरेको थियो । ‘व्यक्तिको नकारात्मक सोच, तनाव डिप्रेसन, रिस आदि घटाएर खुसी ल्याउन ‘माइन्डफुलनेस’ ध्यानको महत्वपूर्ण भूमिका रहेको देखियो,’ अनुसन्धानमा उल्लेख छ ।

प्रकाशित: १७ वैशाख २०७५ २०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App