१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:३० अपराह्न
अन्य

युवालाई नकारात्मक बाटोमा लाग्न नदिन 'तरहरा रन'

दुई हजारभन्दा बढी सहभागी हुने

युवालाई नकारात्मक बाटोमा लाग्न नदिने उद्देश्यसहित इटहरी वडा नं. २० मा आउँदो फागुन २४ 'दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड' आयोजना हुँदैछ।

तरहरा रनको आयोजनामा हुने दौडमा दुई हजारभन्दा बढी धावक-धाविकको सहभागिता रहने बताइएको छ। रनका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार आठवटा विधामा दौड हुनेछ।

शुक्रबार (आज) आयोजक संस्थाले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई ३ किलोमिटर, १२ वर्षदेखि माथिको समूहका लागि दश किलोमिटर दौड हुनेछ।

जसमा १२ वर्षदेखि  १६ वर्ष, १६ वर्षदेखि ४० वर्ष, ४० वर्षदेखि ६० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका लागि अलग-अलग समूहमा प्रतिस्पर्धा गराइनेछ। अध्यक्ष राईले अघिल्लो संस्करणमा ६० वर्षभन्दा माथि उमेर समूहको लागि दौड नभएकोमा यसपटक थपिएको बताए।

यस्तै, दौडका लागि स्पाइनर इन्जुरी भएकाहरूको लागि एक किलोमिटर, गृहणी तथा पारिवारिकका लागि तीन किलोमिटर र दूरदराजसँगै विदेशमा बस्नेहरूलाई १० किलोमिटरको दौडमा प्रतिस्पर्धा गराइनेछ।  

खुल्ला दौड प्रतियोगिताअन्तर्गत १६ वर्षदेखि ४० वर्ष उमेर समूहका (पुरुष महिला दुबै) लाई प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई नगद २० हजार र तृतीय हुनेलाई नगद १० हजारसहित मेडल प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। यसैगरी १२ वर्षदेखि १६ वर्षभन्दा कम उमेरका धावकमध्ये प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई सात हजार र तृतीयलाई पाँच हजार प्रदान गरिनेछ। १२ वर्षभन्दा कम उमेरका धावकमध्ये प्रथम, दोस्रो र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल वितरण गरिनेछ।

यस्तै, ४० वर्षदेखि ६० वर्ष उमेर समूहमध्ये दौडमा प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई सात हजार र तृतीयलाई पाँच हजार प्रदान गरिने बताइएको छ। ६० वर्ष माथिको उमेर समूहमध्ये प्रथम, दोस्रो र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल वितरण गरिनेछ।  

यस्तै, स्पाइनर इन्जुरी भएका समूहमध्ये प्रथम, दोस्रो र तृतीयलाई पनि क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल वितरण गरिनेछ। गृहिणी र पारिवारिक रमाइलो दौडमा सहभागी हुनेलाई मेडल र प्रमाणपत्र मात्र प्रदान गरिनेछ । यस्तै, दूरदराज र विदेशबाट आएकालाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।  

दौडमा कोशी प्रदेशसँगै काठमाडौं र भारतको दार्जिलिङ, सिक्किमलागयतका स्थानबाट धावक-धाविकाको सहभागिता रहने आयोजक संस्थाका मीनकुमार खवासले बताए। तरहरा रनको पहिलो संस्करणमा ५०० को अनुमान गरेता पनि एक हजार सात सयको सहभागिता रहेको थियो ।  

खेल क्षेत्रलाई चलायमान बनाउनका निम्ति र स्वास्थ्यलाई स्फूर्त राख्नका निम्ति उक्त दौड प्रतियोगिता आयोजना गरिएको उनले बताए।

खास गरेर तरहरा बजार इटहरी उपमहानगरपालिकामा समेटिनु अघि यसको छुटै पहिचान थियो। इटहरी उपमहानगरपालिकामा समेटिएपछि यसको पहिचान इटहरीसँगै समेटिएको छ। त्यही कारणले गर्दा हरेक फरक फरक रचनात्मक गतिविधि गरेर तरहरालाई चिनाउन र लागूऔषधकको कुलतमा फस्न नदिन यस्ता कार्यक्रम निरन्तर गर्न थालिएको आयोजक संस्थाका खवासले बताए।  

प्रतियोगिता सञ्चालन गर्न कूल १९ लाख ७७ हजार ३०० रुपैयाँ हाराहारी खर्च भएको अनुमान गरिएको छ। यसका लागि सहभागीबाट दर्ता शुल्क ४०० रुपैयाँ लिइनेछ। यस्तै, उपमहानगरपालिकासहित विभिन्न दाताबाट सहयोग रकम प्राप्त हुने आयोजकले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८१ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App