१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

गुराँसे पदमार्ग

कालेश्वर
मुलुकभित्र महादेवका धेरै मन्दिर छन्। त्यस्तै एउटा मन्दिर ललितपुरको दक्षिणी थुम्को (२,५०० मिटर) मा छ, कालेश्वर। मनोकांक्षा पुरा गर्न भक्तजन त्रिशुल र घन्टा चढाउँछन्। केही समय अघि कालेश्वर मन्दिर पुनःनिर्माण गरिएको छ।

कालेश्वरको देब्रेपट्टि अर्को अग्लो डाँडा छ। कथा अनुसार पार्वतीले महादेव जहिले पनि आफू भन्दा माथि बस्ने गुनासो गरेपछि महादेवले पार्वतीका लागि आफु भन्दा अग्लो डाँडा बनाइदिए–बुर्जा डाँडा। त्यहाँबाट हिमाल दर्शनका साथै हरिया थुम्का देख्न सकिन्छ।

कालेश्वर पुग्न गोटिखेलबाट तीन घन्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन २ घन्टा। गोटिखेल बजार दक्षिण ललितपुरको धार्मिक पर्यटकीय गन्तव्य हो। गाउँमा दक्षिणबाट उत्तरतिर मसान खोला बग्छ । हिन्दु धर्मशास्त्रमा यस्तो उत्तरबाहिनी नदीको ठूलो महत्व छ।

त्यहाँ कालखोला, धामीखोला र टुँगुनखोला जोडिएको त्रिबेणीधाम छ। त्यही त्रिबेणीलाई वैतरणीधाम भनिन्छ।

वसञ्त ऋतुमा हाम्रा डाँडापाखा राष्ट्रिय फूल लाली गुराँसले रंगीन बन्दैछन्। यसपाली पानी ढिलो परेकाले काठमाडौंका डाँडापाखामा भर्खरै गुराँसको लाली चढ्दैछ। यतिबेला गुराँसको मुस्कान हेर्दै ऐंसेलु चाख्दै र चराको चिरबिर सुन्दै यात्रा गर्दा तन/मन दुबैमा स्फूर्ति बढ्छ। नयाँ वर्षमा सबैजना नयाँ ठाउँ घुम्ने योजना बनाउँछन्। कोही लामो यात्रामा निस्कन्छन् त कोही छोटोमा। काठमाडौं सेरोफेरोमा पनि २ देखि ३ दिनसम्म पदयात्रा गर्न सकिन्छ।

कथा अनुसार यमराजले महादेवको तपस्या गर्दा यहाँको त्रीबेणीमा नुहाएर कपडा सुकाएका थिए। कपडा सुकाएको ढुँगालाई अचेल महाकाल ढुँगा भनिन्छ। र, महाकाल देवताका रुपमा पूजिन्छ। कालले नुहाएको खोला भएकाले त्यहाँ बग्ने नदीलाई काल मोचन खोला भनिन्छ।

त्यसैगरी गोटिखेल माथि कालेश्वर जाने बाटोमा ठूलो चट्टान छ । त्यसलाई चन्दन ढुँगा भनिन्छ। कालले चन्दन घोटेर ढुँगालाई स्यानो चनौटामा अड्याएको रे!  सानो ढुँगामाथि ठूलो अजंगको ढुँगा छ।

त्यही बाटो हुँदै चमेरे गुफा पनि पुगिन्छ। कालेश्वर मन्दिरबाट आधा घन्टा घण्टामै पुगिन्छ गुफा। गुफाभित्र ठूलो चोक छ जहाँ मन्दिर, गणेश, हात्तीका सुँढ,  गाईका थुन आदिका आकृति देखिन्छ।

कालेश्वर डाँडामा खाने–बस्ने सुविधा छैन। तल सिसवन डाँडा र गोटिखेल बजारमा खाजाघर, लज र होमस्टे सुविधा पाइन्छ।

कसरी पुग्ने : लगनखेल–गोटिखेल ५२ किमि। लगनखेलबाट गोटिखेल जाने बस छुट्छन्। गोटिखेल बजारबाट ६ किमि उकालोमा कालेश्वर मन्दिर, कालेश्वरबाट गोटिखेलसम्म पदयात्रा। पदयात्रा दुरी ः १२ किमि। समय : ६ घन्टा।

कामीडाँडा
काभे्रको कामीडाँडा (२,१०० मिटर) आकर्षक छ। सपक्क मिलाएर बनाइएका खेतका आली। चारैतिर हरिया डाँडा। डाँडाका बीचबीचमा बस्ती। एउटाको टुप्पामा महाँकाल र कुमारीमाईको मन्दिर। गाउँमा चिया बगान छ जहाँ लुकामारी खेल्न सकिन्छ।

डाँडा शितल छ। त्यसैले काठमाडौंको गर्मी छल्ने गन्तव्य बन्न सक्छ। सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि देखिन्छ । आकाश उघ्रिएका बेला उत्तरतिर हिमाल हाँस्छन्।

माओवादी द्वन्दका बेलादेखि कामीडाँडा चर्चित भएको हो। तिनताका त्यहाँ   माओवादी परेड खेल्थे । उनीहरुले खनेको बंकर अझै देखिन्छ।

डाँडामा पहिला कामीको घर भएकाले कामीडाँडा भनिएको। गाउँमा तामाङ, बाहुन, क्षेत्री, नेवार, कामी, दमाई आदिको बसोबास छ। गाउँलेहरु खेतीपाती र पशुपालनमा रमेका छन्।

कामीडाँडा हाइकिङ खोपासीबाट सुरु गर्नु राम्रो। खोपासीबाट ख्याकु भञ्ज्याङ हुँदै गाउँको बाटो हिँड्नुपर्छ। एक घन्टा उकालो चढे डाँडागाउँ भञ्ज्याङ (१,६०० मिटर) पुगिन्छ। त्यहाँबाट ओरालो झर्ने लड्केश्वर खोला (१,३०० मिटर) सम्म।  खोलाबाट दुई घन्टा ठाडो उकालो चढेपछि च्यासिङखर्क छिर्केडाँडा हुँदै कामीडाँडा पुगिन्छ ।

गाउँमा इलामे जोडी  गोपाल र मुना नेपालले होमस्टे चलाएका छन्। त्यहाँ एक रात बसेर फर्कनु राम्रो। यात्रामा न्याना कपडा बोक्नु पर्छ।

कसरी पुग्ने : काठमाडाैं–बनेपा–पनौती–खोपासी बसमा। खोपासी–कामीडाँडा ८.५ किमि। कामीडाँडामा बास। भोलिपल्ट कामीडाँडा–बल्थली–खोपासी १२ किमि। पदयात्रा दुरी २० किमि। समय ः २ दिन । पनौती–कामीडाँडा २३ किमि सिधै गाडी चल्छन्। पनौतीबाट बिहान ११, दिउसो १ र ३ बजे बस छुट्छन्।

दामन
हिमाल हेर्ने राम्रो गन्तव्य–मकवानपुरको दामन (२,३२२ मिटर)हो जहाँबाट  अन्नपूर्ण, लाङटाङ, गणेशदेखि गौरिशंकरसम्म देखिन्छ । दामन माथि सिम भञ्ज्याङ झन् चिसो छ। त्यहाँ जाडो याममा हिउँ पर्छ।

हिन्दु र बौद्धमार्गीको साझा तिर्थ मानिन्छ दामन। त्यहाँ हिन्दुका महादेव र बौद्धमार्गीका गुरु पद्मसंभवका मूर्ति छन्। त्रिभुवन राजपथको दामन खण्डबाट डेढ किमि भित्रको एउटै शिलालाई हिन्दु महादेव मान्छन् भने बौद्धमार्गी पद्मसंभव।  नजिकै एउटा गुम्बा पनि छ। गुम्बाभित्र अवलोकितेश्वर, शाक्यमुनि बुद्ध, पद्मसंभव र अमितावका मूर्ति अनि त्रिपिटक छन्।

ऋषेश्वरमा फागु पूर्णिमा, ठूलो एकादशी, बुद्ध पूर्णिमा र साकादावामा मेला लाग्छ। ऋषेश्वर दर्शनले सन्तान प्राप्त हुने, सुस्वास्थ्य र धनलाभ हुने जनविश्वास छ।

अन्नबाली या अन्य उत्पादन हुनेवित्तिकै नुवागीका रुपमा मन्दिरमा चढाइन्छ।

मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने दामन क्षेत्रमा तामाङ समुदायको बसोबास छ। त्यहाँ भ्यु टावर छ। टावरको दुरबीनबाट हिमाल आँखैमा आईपुग्छ।

दामन र सिम भञ्ज्याङमा राम्रा होटल छन्। चित्लाङको इन्द्रसरोवरदेखि दामनसम्म सुनाखरी पदमार्ग छ। ११ किलोमिटर लामो पदमार्गमा जेठ–असारमा सुनाखरी फूल्छ। यतिबेला गुराँस फूलेको छ। चिल्लाङमा एक रात बसेर मार्खु, कुलेखानी हँुदै दामन पुग्न सकिन्छ।

बाइकिङ र साइक्लिङ गर्दा थानकोट गोदाम, चित्लाङ हुँदै दामन ५२ किमि।    

कसरी पुग्ने : काठमाडौंबाट नौबिसे हुँदै दामन ७० किमि। निजी सवारी साधनमा ३ घन्टा। काठमाडौंको कलंकीबाट बिहान ७ बजे दामन हुँदै हेटौंडा जाने बस छुट्छ । थानकोटको त्रिभुवन पार्क पछाडि गोदामबाट कच्ची बाटो चित्लाङ, बज्रवाराही हुँदै दामन ५२ किमि । हाइकिङ इन्द्रसरोवरदेखि दामन ११ किमि। समय ४ घन्टा।

बेथानचोक
महाभारत शृङखलाको अग्लो डाँडा–काभ्रेपलाञ्चोकको बेथानचोक (३,०२० मिटर)। त्यहाँबाट धौलागिरीदेखि सगरमाथासम्म देखिन्छ। बीचका अन्नपूर्ण, लाङटाङ, गौरीशंकर हिमाल त देखिने नै भए।

मन्दिर, हिमाल र हरियाली हेर्न उपयुक्त गन्तव्य।

सूर्योदय र सूर्यास्त पनि सुन्दर देखिन्छ।

डाँडामा धर्मशाला बाहेक बस्ती छैन। लोठ सल्लाको जंगल छ। मन्दिरमा वर्षका दुई पटक, नयाँ वर्ष र फागु पूर्णिमामा मेला लाग्छ। फागु मेलामा झाँक्रीहरुले ढ्याँग्रो ठोक्छन्। रातभर तामाङ शेलो घन्किन्छ। तिर्थालु रातभर मन्दिरमा जाग्राम बस्छन्। बिहान नारायणको दर्शन गरेर फर्कन्छन्।

फलामेटार र ढुँखर्कको साँधमा नारायणको मन्दिर छ। डाँडामा सात तले गुफा पनि छ। गुफाभित्र थरिथरिका आकृति छन्। गुफामा पुग्ने गोरेटो असजिलो छ।

ढुँखर्क नाउँ रहनुमा एउटा किंवदन्ती छ। पहिला बेथाननारायण भक्तपुरबाट ढुँखर्क आएका रहेछन्। भगवान यता आएपछि भक्तपुरका राजा भुपतिन्द्र मल्ल घोडा चढेर नारायण दर्शन गर्न ढुँखर्क पुगेछन्। उनी पूग्दा त्यहाँको चौरमा बाघ देखेर उनले–धुँखर्क भनेछन्। नेपाल भाषामा धुँ भनेको बाघ र खर्कको अर्थ चौर
हो। पछि धुँखर्कलाई नै ढुँखर्क भनियो।

बेथानचोक बेस क्याम्प गेल्डुङमा खाना र बास सुविधा पाइन्छ। त्यहाँ भन्दा मास्तिर होटल तथा पसल छैन। डाँडामै बस्न सिल्पिङ व्याग, टेन्ट र खाना आफैं बोक्नु पर्छ।

कसरी पुग्ने : काठमाडौं–पनौती ३२ किमि। पनौती–ढुँखर्क १३ किमि। ढुँखर्क–बेथानचोक करिब ९ किमि। पनौती बसपार्कमा ढुँखर्क जाने बस पाइन्छ। तिनले दुई घन्टामा गेल्डङ बजार पु-याउँछन्। गेल्डुङबाट ठाडो उकालोमा साँढे तीन घन्टा पदयात्रापछि बेथानचोक। पदयात्रा दुरी १८ किमि। समय ७ घन्टा।

कलिञ्चोक
दोलखाको कालिञ्चोक अध्यात्म, प्रकृति र संस्कृतिको त्रिबेणीधाम हो। डाँडामा  भगवतीको बास छ। हिन्दु मात्र होइन, बौद्धमार्गी पनि कालिञ्चोक दर्शन गर्छन। त्यो शितल डाँडा (३,८०० मिटर)बाट हिमालको लामो फेरो देखिन्छ। सूर्योदय र सूर्यास्त पनि देखिन्छ।

डाँडामा पुग्दा मन आनन्दित हुन्छ। कालिञ्चोक बेस क्याम्प कुरी बजारबाट एक घन्टा उकालो चढे डाँडामा पुगिन्छ। त्यहाँ धमाधम केबलकार निर्माण भैरहेको छ। केही समयपछि कुरीबाट केबलकारमै कालिञ्चोक जान सकिन्छ।

कुरी क्षेत्रमा गुराँसे जंगल, गुम्बा र चउर छन्। चिसो ठाउँ भएकाले न्याना कपडा बोकेर यात्रा गर्नु पर्छ।

कुरी माथि होटल छैनन्। कुरी बजारमा चालिस वटा होटल तथा रिसोर्ट छन्। त्यहाँ वर्षैभरी नेपाली पुग्छन्। चरिकोट–कुरी १७ किमि। बस तथा जिपमा यात्रा गर्न सकिन्छ। चरिकोटबाट हिँडेर जाँदा ६ घन्टा लाग्छ।

कालिञ्चोक यात्रा योजना बनाउँदो चरिकोट नजिकै दोलखा बजारको भीमेश्वर मन्दिर दर्शनलाई पनि समेट्नु पर्छ। पुरानो नेवार बस्तीमा नेवारका इष्ट देवता भीमसेनको ठूलो मन्दिर छ। दोलखा बजारमा पुराना घर, मन्दिर र चैत्य पनि छन्।

बास बस्न र खाना खानका लागि चरिकोट र दोलखा बजारमा होटल, लज तथा रेष्टुँरा सुविधा छ।

कसरी पुग्ने : काठमाडौं–चरिकोट १३३ किमि। काठमाडौंको पुरानो बसपार्कबाट चरिकोटसम्म बस तथा जिप चल्छन्। बसमा ५ घन्टा। चरिकोट–कालिञ्चोक १७ किमि रिर्जभ्ड जिपमा दुई घन्टा। चरिकोट–कालिञ्चोक पदयात्रा ६ घन्टा।

प्रकाशित: १ वैशाख २०७५ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App