पाँच दशकदेखि अविरल बगिरहेको दीपक जंगमको सांगीतिक यात्राले अजर जंगममा आएर नयाँ आयाम खोजिरहेको छ । गीतमा संगीत दिने कलामा निपुण दीपक आफ्नो जमानामा कहलिएका रचनाकार, संगीतकार र गायक हुन् । संगीतका प्राध्यापकसमेत रहेका दीपकको परिवारमा संगीतको बहार देखिन्छ । दीपककी पत्नी बेनी जंगम पनि संगीतकै प्राध्यापक हुनुका साथै संगीतमै पिएचडी गरेकी छन् । उनका संगीत विषयमा थुपै लेख रचना र संगीतसम्बन्धी पुस्तक पनि प्रकाशित छन् । दीपक र बेनी छोरा अजरभित्र रहेका गीत, संगीतको क्षमतालाई निखार्ने भूमिकामा लामो सयमदेखि लागिपरेको उनीहरूसँगको कुराकानीले स्पष्ट पार्छ । छोरी नेहा संगीतमा रुचि राख्ने भए पनि अन्य क्षेत्रमै रमाइरहेको दीपक बताउँछन् ।
अजर भन्छन्, ‘मैले आमाबाट अध्ययन गर्ने कुरा ग्रहण गरेँ, बुबाबाट उहाँको क्रिएटिभिटी पनि लिएको छु ।’ अहिलेको युवा पुस्तामा जम्दै गरेका अजर विरासतमा प्राप्त गरेको सांगीतिक माहोललाई आधार मान्छन् भने आफैले नेपाली संगीतमा नयाँपन दिने योजना बनाएका छन्् । संगीतमा स्नातकोत्तर सकेर पिएचडीमा ‘इनरोल’ गरिसकेका अजरका गीत धमाधम आउने क्रममा छन् । ‘जिन्दगीले हिसाब माग्छ’, ‘आजफेरि एकान्तमा’, ‘मेरो जस्तै’, ‘आकाश मिचिएको सहर’लगायतका गीत तीन वर्षयता सार्वजनिक भएका र अवार्ड जित्ने गीतको श्रेणीमा पर्छन् भने नोमिनेसनको चरणमा पुगेका गीत ‘मनलाई छोएर जानेहरू’, ‘मेरो रोदन’, ‘म जान्न’ लगायतका गीत छन् । ७÷८ वर्षअघि चर्चामा रहेको ‘सानो–सानो माया म त परेनी भूलैमा’ आजकल फेरि टिभी रेडियामा गुन्जिन थालेको बताउँछन् अजर ।
नेपालको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाको आँकलन गर्दै अजरको यात्राका बारेमा दीपकको सुझाव छ ‘आफँै इनार खनेर पानी खान सक्नुपर्छ ।’ त्यसो त अजर पनि आफ्नै इनार खन्ने सोचमा छन् ।
आफ्नो जमानामा नारायण गोपाल, गुलाम अलि, कर्ण दास, अरुणा लामा, दीप श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की र पछिल्लो पुस्ताका रामकृष्ण ढकाल, निशा देसारलगायतका लोकप्रिय गीतमा संगीत दिएका दीपक गीत रचना र गायनमा पनि उत्तिकै उस्दाद मानिन्छन् । अजरमा आफ्नो भन्दा परिष्कृत र अहिलेको समाजको चाहनाअनुसारको संगीत खोजिरहेका छन् दीपक बेनी ।
अजरसँग अहिले पनि एकभन्दा बढी योजना छन् । तर, उनी भन्छन्, ‘३ वर्षयता मैले संगीतमा फोकस गरेको छु, मेरो मुख्य योजना संगीतमा आफ्नो नयाँपन दिने हो, नयाँ धार दिने हो ।’ सांगीतिक परिवेश भए पनि अजर संगीतमै करिअर बनाउने पक्षमा थिएनन्, अलमल थियो लामो समयसम्म । कारण, उनी खेलकुदमा पनि उत्तिकै तेजिला छन् । बाल्यकालदेखिकै खेलकुदप्रतिको मोहलाई सानोमा प्रहरी स्कुलमा होस्टल बसेर पढ्दा अझ निखारिएको उनको अनुभव छ । जिम्न्यास्टिकका राष्ट्रिय खेलाडी अजरले २०६७ सालमा राष्ट्रिय खेलाडीको सम्मान बटुलेका छन् । जिम्न्यास्टिकले नै उनलाई एसियासम्म पु¥याएको हो । खेलकुदका पदकहरू सजाएर राखेका अजर संगीतमै डुब्नुको पछाडि आमा–बाबुको भूमिका देखिन्छ । दीपक भन्छन्, ‘हामीले पटक–पटक दुईटा डुंगामा खुट्टा राख्नुहुँदैन, एउटैमा राख भन्दै आएका हौं, पछिल्लो समय संगीतमा फोकस भएको छ ।’ अजरको शब्दमा, ‘खेलकुदप्रतिको चाहना मेरो बाहिरी परिवेशको हो, संगीत मेरो भित्रदेखिको भाग्य (डस्टिनी) संगीत हो ।’ उनमा सानै उमेरदेखि गीत र संगीतप्रति आकर्षण थियो । आमा बेनी भन्छिन्, ‘अजर सानो १, डेढ वर्षको उमेरमा पनि गीत गाउँथ्यो, तोते बोली बोल्दा पनि गीत भने राम्रो गाउँथ्यो, राम्रोसँग बोल्न ढिलै थालेको हो ।’ २०४४ सालमा रेकर्ड भएको एउटा मान्छेको मायाले ... गीत अजरको प्रिय थियो, त्यसबेला सम्म पनि उनी तोतेबोली बोल्थे । त्यस्तै गुलाम अलिको स्वरमा बज्ने मवीवी शाहको रचनाको ‘गाजलु ती ठूला ठूला आँखा’ गीत पनि अजरले बाल्यकालदेखि गुनगुनाउँथे । अबोध बाल्यकालमा आफ्नै बाबु दीपकले संगीत भरेका गीत सुन्दै हुर्किएका अजरले आफैँले बाबुको संगीतमा पनि गीत गाएका छन् । ‘जिन्दगीले हिसाब माग्छ’ गीत अजरले गाए जसमा दीपकले संगीत दिएका छन् । रचना भने भूपेन्द्र महतको हो । ३ वर्षअघि बाबुको संगीतमा अजरले गाएको यो गीतले चर्चा मात्र पाएन, अवार्ड जिताउने गीतमा दरियो ।
बाल्यकालमा तोते बोलीमा अजरले गाएका ‘एउटा मान्छेको मायाले कति’ र ‘गाजलु ती ठूला–ठूला आँखा’ गीतहरू रेकर्ड गरेर राखेको सुनाउँछिन् बेनी । उनी भन्छिन्, ‘बेला–बेलामा सुन्ने गरेकी छु ।’ अजरलाई पनि सुनाउने उनको योजना भने अहिलेसम्म जुरेको छैन । आमाले तोतेबोलीको स्वरको कुरा गरिरहँदा अजर भन्दै थिए, ‘तपाईंले भन्नु मात्र हुन्छ, अहिलेसम्म सुन्न पाएको छैन ।’
म्युजिकले अजरलाई कति गहिरो प्रभाव पार्छ त ? ‘मानिसहरू भन्छन्, मिठो गीत संगीत गुन्जियो भने मानिसहरू आनन्द मान्छन्, निदाउँछन्,’ अजर भन्छन्, ‘मलाई डिस्टर्व गर्छ, के गरौं, कसो गरांै भन्ने हुन्छ, शरीरका अंग–अंगमा गीत–संगीत झन्किन थाल्छ, म निदाउन सक्तिन, अरू काम गर्न पनि डिस्टर्व हुन्छ ।’ उनको शरीरमा संगीतको नशाले राज गर्नुका पछाडि घरको माहोल एउटा कारण हुनसक्छ । तर, दीपक भने घरको माहोल मात्र नभएर छोरीभित्रको विशेषता प्रमुख कारण ठान्छन् । ‘सानो छँदै मैले मसँग संगीत सिक्न आउनेलाई पढाउँदा उसले कतिपय कुरा ग्रहण गरेको हुनुपर्दछ,’ दीपक भन्छन्, ‘बचपनदेखि नै गितार बजाउन जानेको हो, संगीतका उपकरणमा उसको सहज पहुँच बन्यो ।’
संगीत अनुरागी दीपक र बेनी दुवै छोरा संगीतमै लागोस् भन्ने चाहना भए पनि अजर भने खेल र संगीतलाई लामो समयसम्म सँगसँगै लिएर हिँडिरहेका थिए । खेलहरूमा भाग लिने, अवार्ड लिने शौख एकातिर थियो भने भित्रभित्रै रहेको संगीतको शौेखलाई उनी जसोतसो धानिरहेका थिए । ६० सालमा आयोजना भएको ट्यालेन्ट हन्टिङ कार्यक्रममा अजर पहिलो भए । खेल र संगीतसँगसँगै लिएर हिँडिरहेका अजरको टर्र्निङ प्याइन्ट यही हो त ? होइन, उनी भन्छन्, ‘म खेलमा तानिएको थिएँ, भित्रभित्रै संगीतको भोक छँदै थियो ।’
अजरलाई संगीतमै आकर्षिक बनाउने घटना भने दीपक मुटुको बिरामी भएपछि हो । २०७० सालमा बाबु मुटुको बिरामी भएर चिकित्सकहरूले उपचारसमेत चुनौतीपूर्ण भएको जानकारी दिएपछि अजर भावनात्मक रूपले बाबुसँग नजिकिँदै गए र बाबु–आमाकै पदचिह्नमा फर्किए । ‘बुवा बिरामी भएपछिको अवस्थालाई टर्निङ प्वाइन्छ भन्छु म,’ अजर भन्छन्, ‘बुबालाई एक्लै छोड्न नहुने अवस्था आयो, मर्निङ वाकमा पनि मसँगसँगै हन्थेँ, त्यसै बेलादेखि म भावनात्मकरूपमा बुवासँग अझ नजिक भएको हुँ ।’ दिल्लीमा ओपन हर्ट सर्जरी गरेपछि दीपक अहिले स्वस्थ छन् र ६७ वर्षको उमेरमा पनि संगीत भर्ने काममा पछि पर्दैनन् ।
दुईटा डुंगामा खुट्टा नराख्न सल्लाह दिँदै आएका दीपक र बेनी अहिले सन्तुष्ट देखिन्छन् र छोराको संगीतक्षेत्रमा चालेको पाइला सम्भावनायुक्त आँकलन गर्दैछन् । दीपक भन्छन्, ‘उसमा आफँै रचना गर्ने, संगीत दिने र गाउने कला छ, त्यस्तो कला सामान्यतया धेरै गायकमा हुँदैन । उसले संगीतमा उच्च अध्ययन गरेको छ, त्यसले बेग्लै फाइदा हुनजान्छ ।’ संगीतमै पिएचडी गरिरहेका अजरको अध्ययनको रोचक पाटो छ । चकचके स्वभाव र खेलकुदमा दत्तचित्त राख्ने अजरले एसएलसी पनि पास गर्दैन कि भन्ने भय थियो, आमा–बाबुमा । ‘मैले त स्कुलमा गएर टेस्टमै फेल गर्दिनु, अर्कोपटक राम्रोसँग पढेर पास हुने गरी पढ्छ भनेकी थिएँ’ बेनी भन्छिन्, ‘स्कुलका शिक्षकले त्यसो गर्न मानेनन्, पास हुन्छ भन्ने आश्वासन दिएका थिए, पास पनि भयो फस्ट डिभिजनमा ।’ एसएलसी पछिको पढाइको बारे बाबु–आमा र छोराको कुरा मिलेन । छोरा विज्ञान पढ्न चाहन्थे, त्यहीअनुसार उनीहरूले विज्ञानमा भर्ना गरिदिए । तर, छोराले विज्ञानमा राम्रो गर्दैन भन्ने परीक्षा आमा–बाबुले गरिसकेका थिए । भयो पनि त्यस्तै, खेलकुदमा बरालिएका अजर विज्ञानबाट अगाडि पढेर अगाडि बढ्ेनन् । तर, छोराको भित्री तहको जानकार आमाले अजरले थाहै नपाइकन आरआर कलेजमा संगीत विषयमा भर्ना गराएकी थिइन् । ‘उसले विज्ञानमा राम्रो गर्दैन भन्ने थियो, मैले संगीतमा फर्म भरिदिएँ,’ बेनीले भनिन्, ‘पछि लौ मैले फर्म भरिदिएकी छु, जाँच देऊ भनेपछि पहिलो र दोस्रो वर्षको एकै वर्ष जाँच दियो र फस्ट डिभिजनमा पास पनि भयो ।’ आमाको करबलले संगीतमा प्रविणतापत्र उत्तीर्ण गरेका अजर अहिले संगीतमै पिएचडी गर्दैछन् । ‘पढाइमा रुचि नराख्ने मात्र हो, पढद राम्रोसँग आउँछ ।’ आमाबाट शैक्षिक विरासत प्राप्त गरेको बताउने अजरको सांगीतिक यात्रामा बाबुको क्रिएटिभ सोच र चिन्तन सहयोगी हुने अपेक्षा उनले राखेका छन् ।
संगीतमा ५ दशकको अविरल यात्रा गरेका दीपक र संगीतमा विद्यावारिधि गरेकी बेनी संगीत क्षेत्रलाई सम्भावनाको क्षेत्र ठान्छन् र छोरालाई यतै केन्द्रित बनाउने ध्येयमा देखिन्छन् । ‘हाम्रो जस्तो जमाना होइन, अहिलेको समय । आर्थिक क्षेत्र फराकिलो बनेको छ । संगीतको सिमाना फैलिएको छ,’ दीपकले भने, ‘अहिले संगीतको बजार विस्तार भएको छ, युट्युवको जमाना हो अहिले ।’ नेपालको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाको आँकलन गर्दै अजरको यात्राका बारेमा दीपकको सुझाव छ ‘आफँै इनार खनेर पानी खान सक्नुपर्छ ।’ त्यसो त अजर पनि आफ्नै इनार खन्ने सोचमा छन् । ‘आधुनिक र शास्त्रीय संगीतको ज्ञान, संगीतमै उच्च शिक्षा अध्ययन, रचना, गायनको क्षमता छ,’ दीपक भन्छन्, ‘बलियो जगमा उभिएर ऊ राम्रैसँग अगाडि बढ्छ भन्ने विश्वास छ हामीलाई ।’
विरासतमा पाएको पारिवारिक माहोललाई अजर जग मान्छन् भने त्यही जगमा उभिएर आफ्नैे–आफ्नै धार बनाउने सोचमा रहेको बताउँछन् । ‘पारिपारिक विरासत त म चाहेर पनि त्यहाँबाट टाढा जान सक्तिन, चाहेर पनि पर जान सक्तिन’ अजरले भने, ‘मेरो आफ्नै धार हुन्छ, आधुनिक, गजल र पप संगीतको प्रभावले खारिएको, माभिएको नयाँ धार ।’
प्रकाशित: २६ चैत्र २०७४ १२:०६ सोमबार