१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

‘खानेपानीका मुहान निकै कम छन्’

सुशीला अधिकारी
उपप्रमुख, नार्गाजुन नगरपालिका

जनप्रतिनिधि चुनिएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुभयो ?
जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्ने बित्तिकै नगरसभा सम्पन्न गर्यौँ । नगरसभाबाट ८२ करोडको बजेट  ल्यायौँ । नार्गाजुन नगरपालिकामा १० वटा वडा छन् । प्रत्येक वडाका लागि दुई करोड रुपैयाँको बजेट बिनियोजन गरेका छौँ । हामी आएसँगै नगरलाई पूर्ण खोपयुक्त नगर घोषणा गरिसक्यौँ । प्रत्येक वडामा उपभोक्ता समिति गठन गरेर विकास निर्माण धमाधम भइरहेको छ । सरकारबाट आउने अनुदान रकम कम भएकाले जनअपेक्षा अनुसारका विकास निर्माण गर्न सकिरहेका छैनौँ।

लक्ष्य अनुसार नै आन्तरिक तर्फको राजस्व संकलन गरिरहेका छौँ । नगरपरिषदबाट पारित भएका योजनाको लागत इस्टिमेट तयार पारेर काम अगाडि बढाइसकेका छौँ । अबको केही समयभित्रै जनताले अनुभूति गर्ने काम देखिनेछ । नगर क्षेत्रका जनताका लागि स्वास्थ्य बिमाको कार्यक्रम अघि सारेका छौँ । अबको केही समयभित्रै स्थानीय जनता स्वास्थ्य बिमाबाट लाभान्वित हुनेछन् ।
जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जसका कारण जनताको आंकाक्षा र चाहना धेरै भए । त्यसैले जनताले अपेक्षा गरेअनुसारको काम गर्न सकेका छैनौँ । हामीसँग बजेट अत्यन्तै सीमित छ । सोचेअनुसार काम गर्न सकिरहेका छैनौँ । प्रर्याप्त बजेट नभएपछि विकास निर्माणलाई अघि बढाउन समस्या भएको हो । भर्खरै प्रदेश सरकार बनेको छ । अब प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने तयारी गरेका छौँ।

तपाईं न्यायिक समिति संयोजक हुनुहुन्छ ? कति र कस्ता मुद्दा आएका छन् ?
न्यायिक समितिको गठन गरेर काम थालिसकेका छौँ । न्यायिक समितिमा ३५ वटा मुद्दा आएका छन् । त्यसमध्ये पाँचवटा मुद्दा फैसला गरिसकेका छौँ । अधिकांश मुद्दा जग्गा विवाद, साँधसीमा विवादलगायतका आउने गर्छन् । त्यस्ता मुद्दा मालपोत कार्यालय र नापी कार्यालयसँग समन्वय गरेर काम अघि बढाइरहेकी छु।

संविधानले तोके बमोजिम नगरपालिकामा देवानी मुद्दा आउने गर्छन् । विशेषगरी चारकिल्ला सीमाना विवाद, जग्गा मिचेको, बहुविवाह, सम्बन्धविच्छेद, झैझगडाको मुद्दा आइराखेका छन् । नगरपालिकामा आएका मुद्दा सकभर मेलमिलापबाटै टुग्याउने प्रयास गरिरहेकी छु । नमिलेका मुद्दा जिल्ला अदालतमा पठाउनेछौँ ।  नगरपालिकामा छुट्टै कानुन अधिकृतको व्यवस्था हुन सकेको छैन । त्यसैले कानुन बुझेकासँग परामर्श गरेर मुद्दा टुग्याउने गरेकी छु ।
अन्य नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चर्काे देखिन्छ, तपाईंको नगरपालिकामा कस्तो छ ?
मेयरसा’प र मेरोबीच केही आन्तरिक विवाद त  रहदैँ  आएको छ । हामी दुवै फरक–फरक राजनीतिक दलबाट आएका छौँ । त्यसैले केही कुरामा मतभेद हुनु सामान्य नै हो । मेयर र उपमेयरबीच विवाद नभएको नगरपालिका देशभरमा नै छैन होला । तैपनि हामी दुवै एक आपसमा समन्वय गरेर काम गरिरहेका छौँ । संविधानले दिएको  आफ्नो क्षेत्राधिकारमा रहेर काम गरिरहेका छौँ । विकास निर्माणका हरेक क्रियाकलापमा छलफल गरेर नै अघि बढिरहेका छौँ ।
नगर क्षेत्रमा भइरहेका विकास निर्माण योजनाको अनुगमनकर्ताका रूपमा कस्ता समस्या देख्नुहुन्छ ?
गत आर्थिक वर्षमा नगरपरिषद्बाट पारित भएका योजनाको अनुगमन गरिराखेका छौँ । वडास्तरीय योजना समयमै सम्पन्न भइराखेका छन्, तर केन्द्रिय सरकार मातहतका योजना समयमै सम्पन्न भएको देखिदैँन  । ठेकेदार कम्पनीले अनेक बहानाबाजी र आलटाल गर्दै आइराखेका छन् । सरकारले समयमा नै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जरुरी भइसक्यो ।
२९ वर्षदेखि चक्रपथ–भीमढुंगा सडक बन्न सकेको छैन, कसरी अघि बढाउदैँ हुनुहुन्छ?
चक्रपथ–भीमढुंगा सडकखण्ड वर्षौदेखि लथालिंग हुदैँ आइराखेको छ । सरकारी  निकाय र ठेकेदार कम्पनीको चरम लापारबाहीकै कारणले २९ वर्षदेखि सडक अलपत्र पर्दै आइराखेको छ । समयमा नै सडक नबन्दा जनताले सास्ती भोग्दै आइराखेका छन्।

हामीले समयमा नै निर्माण सम्पन्न गर्नको लागि सडक विभाग र डिभिजन सडक कार्यालयलाई बारम्बार घच्घचाइसक्यौँ । तर, सोचे अनुसारको प्रगती हुन सकेको छैन । स्युचाटार–रामकोट सडक खण्ड निर्माणमा पनि ढिलासुस्ती भइराखेको छ । सरकारले समयमा स्थानीयलाई  घरजग्गाको मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराउँदा समस्या बल्झिरहेको छ।
सार्वजनिक जग्गा अतिक्रमण रोक्ने कस्ता योजना अघि सार्नुभएको छ ?
लामो समय जनप्रतिनिधि  नहुनुको फाइदा उठाउँदै नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण हुदैँ आएका थिए । जनप्रतिनिधि  आएसँगै सार्वजनिक जग्गा अतिक्रमण रोकिएको छ । पहिला मिचिएका जग्गा फिर्ता ल्याउने तयारी थालेका छौँ । अबको केही समयभित्रै मिचिएका सार्वजनिक जग्गाको लागत तयार पारेर नगरपालिकाको स्वामित्वभित्र ल्याउनेछौँ।
तपाईंको नगर क्षेत्रमा  खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दे हुनुुहुन्छ ?
भौगोलिक रूपले नार्गाजुन नगरपालिका अग्लो भू–भागमा अवस्थित छ। यहाँ प्राकृतिक रूपमा खानेपानीका मुहान पनि निकै कम छन् । त्यसैले नगर क्षेत्रमा खानेपानीको चरम हाहाकार छ।

नगरपालिकाले वडाका विभिन्न स्थानमा ‘डिप बोरिङ’मार्फत खानेपानी उपलब्ध गराउदैँ आएको छ । त्यो प्रर्याप्त छैन । नगरपालिकाले खानेपानीका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयसँग पटक–पटक अनुरोध गरेको छ। त्यसको साथसाथै नगरपालिकाले खानेपानीको वैकल्पिक स्रोतको खोजी पनि गरिरहेको छ।

नार्गाजुन ऐतिहासिक सांस्कृतिक क्षेत्र जोगाउन कस्तो योजना अघि सार्नुभएको छ ?
नार्गाजुन ऐतिहासिक र सांस्कृतिक सहरको रूपमा प्रख्यात छ । उपत्यकाको चार धाममध्ये इचंगुनारायण मन्दिर यही नगरक्षेत्रमा पर्दछ । नगरपालिकाले इचंगुनारायाण मन्दिरको बृहत गुरुयोजना तयार पार्ने काम अघि बढाइसकेको छ । अबको केही समयभित्रै इचंगुनारायण मन्दिरलाई व्यवस्थित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनाउनेछौँ।
महिलाका लागि कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपालिकाले महिला शसक्तिकरण र सीपमूलक कार्यक्रम मार्फत महिलालाई आत्मनिर्भरता तर्फ लैजाने योजना बनाएको छ । यहाँका महिला विभिन्न घरेलु व्यवसायमा अग्रसर भएका लागेका छन् । नगर क्षेत्रका महिलाहरूले अचार, पेन्सिल, मैनबत्ती, मखमलको जुत्ता तथा मोजा उत्पादन गरिरहेका छन्।

उनीहरूले उत्पादन गरेका सामान तथा सामग्रीले उचित बजार पाउन सकेका छैनन् । नगरपालिकाले महिलाका लागि बजार व्यवस्थापन गरिदिन जमिनको जोहो गरिरहेका छौँ । जमिन पाउने बित्तिकै पूर्वाधार निर्माण गरेर महिलाको घरेलु उत्पादनलाई व्यवसायिक रूपमा बेचबिखन गर्ने  स्थान बनाउनेछौँ । त्यसैगरी नगरपालिकाले सीपमूलक  तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइराखेको छ।  
कस्तो नगर बनाउने सपना देख्नुभएको छ ?
नमुना नगर क्षेत्र बनाउने अभिभारा लिएर अघि बढिरहेका छौँ । नगर क्षेत्रका बासिन्दाका लागि हरेक प्रकारका सेवासुविधा उपलब्ध गराउने योजना लिएर अघि बढ्नेछौँ । खानेपानी, सडक, ढल, बिजुलीलगायतका सम्पूर्ण पूर्वाधार तयार गरेर जनमैत्री बनाउँदै लैजाने लक्ष्य छ।  

प्रस्तुतिः हिमाल लम्साल
 

प्रकाशित: २३ चैत्र २०७४ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App