विमल भौकाजी
कविहरूले कुनै प्रतीक वा विम्ब प्रयोग गरेर लेखेका कविता आजकल कमै देखिन्छन् । कविता लेख्नुको नाममा मञ्चमा उक्लिएर श्रोताका बीच अभिनयपूर्वक वाचन–कला प्रस्तुत गर्दै केवल ताली बटुल्ने संस्कृति बढेर गएको छ, आजको साहित्यिक वृत्तमा।
अर्को अर्थ नलगाउने हो भने कवितालाई ‘बजारिया’ बनाएर रमाइलो मान्नेतर्फ कविहरू बढी आकर्षित भइरहेका भेटिन्छन् । साँच्चै, आज कवितालाई ‘तमासा’ बनाइएको छ।
त्यसो त, कविताचाहिँ कुनै तेस्रो लोकबाट आएको वा ल्याइएको विषय भने होइन । यो पनि यही समाजको विषय हो । समाज हाँस्दा कवि पनि हाँस्छ, समाज रमाउँदा कवि पनि नाच्छ र समाजलाई पीडा हुँदा कवि पनि रुन्छ । त्यसैले कविता मात्रै कुनै अलौकिक विषय पक्कै होइन । यद्यपि यतिचाहिँ भन्नैपर्छ– सामान्यतः अन्यभन्दा अलिक भिन्न विषय हो ‘कविता’।
साहित्यिक विधाको सन्दर्भ जोडेर भन्ने हो भने कथा, निबन्ध, नाटकको दाँजोमा कविता फरक छ । फरक यस मानेमा कि यो मान्छेको संवेदनासँग बढी निकट छ । अनुभूतिजन्य विषय हो कविता । खास गरेर, पत्रकारिता प्रवृत्ति प्रयोग नगरीकन प्रतीकात्मक तवरले विषयवस्तुको मर्म उठान गरेर त्यसले मान्छेको मुटुलाई छुन सक्नु कविताको सफल पक्ष हो ।ऊ
मासुको सोखिन छ
उसलाई मासु मनपर्छ
मासुको गन्ध पनि मनपर्छ
मासु खान्छ-खेल्छ
फेरि खेल्छ-फेरि खान्छ
खेलेर थाक्दैन-खाएर अघाउँदैन
किनकि ऊ मासुको सोखिन छ
उसलाई मासु मनपर्छ-असाध्यै मनपर्छ ।
‘मासु’ यो कविताको केन्द्र हो, जसलाई प्रतीक बनाएर कवयित्री सीता पाण्डेले अत्यन्तै छोइने किसिमले लेखेकी छन् । सरसर्ती पढ्दा सामान्य लाग्ने यो कविता वास्तवमा गहनतम विषयमा आधारित छ । कवितामा प्रष्टसँग मनुष्य–समाजको चित्रण गरिएको छ।
मासु मनपराउने मान्छे समाजका एक पात्र हुन् र त्यो पात्र निश्चित रूपले ‘लोग्नेमान्छे’ हो । र, मासु भनेर तोकिएको पात्र ‘नारी’ हुन् ।यो २१औँ शताब्दीमा पनि नारीप्रति पुरुषले हेर्ने नकारात्मक दृष्टिकोण अझै बदलिएको छैन । मान्छेकोे यो विकृत पक्षले समाजमा उत्तिकै जरा गाढेर बसेको छ । आँखा चिम्लिँदैमा वास्तविकता कसरी बिलाउँछ ?
नारीलाई केवल मासुको रूपमा देखिने र भोगिने ‘वस्तु’ बनाइएको वास्तविकता हाम्रासामु ज्युँका त्युँ छँदै छ । र, यो वस्तुको ‘डिजाइनर’ लोग्नेमान्छे मख्ख छ, मस्त छ– वस्तुसँग खेल्न । जतिसुकै बेला र जहाँसुकै पनि लोग्नेमान्छे त्यो वस्तुसँग खेलिरहन्छ । मनपर्दी खेल्छ । अघाउँजी खेल्छ । फेरि पनि खेल्छ । फेरि अघाउँछ । तर, खेल्ने र अघाउने क्रम कहिल्यै समाप्त हुँदैन ।
उसलाई...
मासुसित खेल्न
न सोच्नुपर्छ, न विचार गर्नुपर्छ
कुनै समय र ऋतु पर्खिनुपर्दैन
दिन र रात छुट्ट्याउनुपर्दैन...
घरमा-कोठामा-चोटामा-बैठकमा
बगैँचामा-पार्कमा-रेस्टुराँको केबिनमा
ह्वाइट हाउसमा-रेड हाउसमा
ब्ल्याक हाउसमा-समुद्रको हाउसमा
शिवपुरीको जंगलमा
बालुवाको थुप्रोमा-घाँसको मैदानमा
ऊ, जहिले र जहाँ पनि तयार हुन्छ–
मासु खान-मासुसित खेल्न।
मासुसित खेलेर कहिल्यै नअघाउने भोको जीव हो लोग्नेमान्छे । खेलेको खेल्यै, खेल्न थालेपछि खेल नसकिउन्जेल उसले आफ्नो परिचय भुल्छ । आफ्नो परिवेश भुल्छ। अगाडि को छ, पछाडि को छ, उसले पूरै संसार भुलिदिन्छ । स्वाभिमान के हो ? नैतिकता के हो ? इज्जत के हो ? इमान के हो ? मासुसँग खेल्ने अवसर छोप्नासाथ ऊ एकाएक महाभारतको दुःशासन बन्छ, धृतराष्ट्र बन्छ र मासुलाई ‘द्रौपदी’ देख्छ।
अरू कुरामा ऊ इमानदार छ
उदार पनि छ
तर मासुको मामिलामा विश्वास नगर्नुस् है
जाली छ-झेली छ-बेइमानी गर्छ
लोभी छ-जिब्रो चाट्छ-चुहाउँछ ।
यतिसम्म कि, मासुसँग खेल्दाखेल्दै ऊ त्यही मासुलाई डसना बनाएर ओछ्याउँछ र ओढ्ने बनाएर ओढ्छ पनि । ओढ्ने, ओछ्याउने, रोमाञ्चित हुन्छ ऊ । के साँझ, के बिहान, के मध्याह्न, मासु ओछ्याउँछ, मासु ओढ्छ।
यतिसम्म कि मासुसँग खेल्दाखेल्दै ऊ त्यही मासुलाई डसना बनाएर ओछ्याउँछ र ओढ्ने बनाएर ओढ्छ पनि । ओढ्ने, ओछ्याउने, रोमाञ्चित हुन्छ ऊ । के साँझ, के बिहान, के मध्याह्न, मासु ओछ्याउँछ, मासु ओढ्छ ।
सायद जाडोको भूत चढ्छ, उसको शरीरमा । त्यही ओढ्ने–ओछ्याउनेमा लुटपुटिरहन्छ ऊ । तर जति लुटपुटिन्छ ऊ, झन्–झन् लुटपुटिइरहन्छ । कहिल्यै सन्तुष्ट हुँदैन।उसको दैनिकी खेल हो यो । खेलेर कहिल्यै थाक्दैन ऊ । खेल्ने, खाने, पिउने, सम्पूर्ण– मासु। मानौँ, सधैँभरि मासुमाथि राज गर्न पाउने उत्सवमय दसैँको सुविधा पाएको छ, उसले। त्यसैले हरहमेसा मासुको दसैँ मनाउन ऊ तल्लीन रहन्छ।
भन्सारको सुब्बाले
व्यापारीको मालसामान जाँचेझैँ
सुनारले सुन जाँचेझैँ जाँच्छ
मासु थिच्छ-औँलाले कोट्ट्याउँछ
मासु केलाउँछ-खेलाउँछ
चिथोर्छ-निचोर्छ-गिजोल्छ
एक अर्थमा ऊसँग मान्छेमा हुनुपर्ने कुनै चरित्र नै छैन । उनीजस्तै मान्छेमाथि अत्याचार गरिरहन्छ । स्पष्ट छ– पुरुषप्रधान समाजको परम्परा छ, उसको शरीरका नसामा बग्ने रगतमा । त्यसैले लोग्नेमान्छे हुनुको अभिमान छ उसमा । यस अर्थमा अनाचार गरिहिँड्न कुनै किसिमको पर्दाले छेक्दैन, उसलाई, सदा व्यभिचार गरिरहन्छ ऊ ।खोई कसले स्थापना गर्यो, यस्तो संस्कार, मान्छेको समाजमा ? को होला यस्तो प्रक्रिया प्रारम्भ गर्ने मान्छे ?
आफूमाथिको अन्याय–शोषण र पीडा खपिरहन बाध्य छ मासु, युगौँदेखि । तानातान, यताबाट उता, उताबाट यता भाग लगाइन्छ । लुछिन्छ मासु, चिथोरिन्छ,कोपरिन्छ । रोजी–रोजी, छानी–छानी बजारको ठूलो ‘तमासा’ बन्छ ।र, कुनै एक समय सहनुको हदबाट बाहिरिएर चिच्याउँछ मासु– ‘ऐड्ढया !’
‘मासु बिउँझिन्छे-साँच्चै बिउँझिन्छे
चिच्याउँछे-कराउँछे-रिसाउँछे
आक्रोशित हुन्छे
अचानक भूकम्पझैँ-आँधीबेरीझे हुन्छे
र भन्छे–
तिमी मान्छे हौ कि तराजु हौ ?...
तिमी कसाई हौ कि मान्छे ?
कदाचित संविधानको कुनै धारामा मासुको दुरुपयोगमाथि कुनै प्रतिबन्धको कानुनी व्यवस्था हुँदो हो त मासुको प्रयोगमाथि कुनै न कुनै किसिमको यहाँ आचारसंहिता लागू हुनुपर्ने । तर, यो हो २१औँ शताब्दीको कथित सभ्य समाज ! सायद यही अवस्थालाई भनिएको हो– हामी अग्रगमनतिर लम्किरहेका छौँ।
महिलावादका पृष्ठपोषक, मूलतः हातमा कलम लिएर ‘विद्रोह’ लेख्ने कवि–कवयित्री ! नढाँटी भन्नुस्– तपाईं स्वयंले मासु बनेर प्रयोग हुने वा मासुको प्रयोग गर्ने आफ्नो ‘गुण’लाई कतिसम्म त्याग्न सक्नुभएको छ ?
प्रकाशित: १७ चैत्र २०७४ ०१:४० शनिबार