भर्खरै अन्तर्राष्ट्रिय महिला दिवस साताव्यापी कार्यक्रम गरी सम्पन्न भयो । अन्तर्राष्ट्रिय महिला दिवस सन् १९०९ फेब्रुवरी २८ देखि सुरु भएको हो र पछि गएर १९१३ मार्च ८ मा विश्वभर मनाउन थालियो । विगतका दिनदेखि अहिलेसम्म महिलाका समस्याहरु लिएर नाराको रुपमा र त्यस नारालाई प्राथमिकता दिएर त्यसैमा काम गर्ने परम्परा चलिआइरहेको छ । यस वर्षको नारा थियो– पे्रस फर प्रोग्रेस अर्थात् प्रगतिका लागि हैंसे गरौँ । अग्रणी महिलाहरुले अघि बढेर महिला हित तथा अधिकारका लागि आवाज नउठाएको भए यसरी आज महिलाको आवाज अन्र्तराष्ट्रिय रुपमा बुलन्द हुने थिएन । उनीहरुकै करबलका कारण अन्तर्राष्ट्रिय स्तरमै महिलाको व्यक्तित्व विकासका काम हुन सक्तैन थियो होला ।
मार्च ८ को दिन भनेको अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने, सुरुवाती संघर्ष गर्नेहरुलाई सम्झेर नमन गर्ने दिन पनि हो । साथै, अर्को मार्च ८ सम्झेर हरेक दिन योग्य महिलाहरुले घरेलु हिंसाबाट अन्य चेलीबेटी बचाउने, बढीभन्दा बढी महिला उद्यमी बनाएर महिलालाई स्वावलम्बी बनाउने, महिला सशक्तीकरणमा जोड दिने दिन नै मार्च ८ हो ।
यो दिवस मनाउन थालेको सय वर्षभन्दा बढी भइसकेको छ । यस्ता पर्व र दिवसले महिलाहरुलाई सधैँ प्रेरित गरिरहेको छ । निरन्तरको दबाबका कारण अन्तर्राष्ट्रिय तवरमा नै महिलाका मुद्दामा निकै प्रगति भएको छ । दक्षिण एसियाली मुलुकहरुमा भने महिलाको व्यक्तित्वको विकासका लागि जति विकास हुनुपर्ने हो त्यति हुन सकेको छैन । अझै पनि रीतीरिवाजमा महिलाहरु जकडिएका छन् । पृथ्वीको आधाभन्दा बढी धर्ती ओगटेका महिलाहरुको उत्थानका लागि केही वर्षका लागि संविधानमै बुँदाहरु ल्याउनु पर्छ । जस्तो अनिवार्य शिक्षा, भोकेसन तालिम, व्यापारमा छुट जस्ता हरेक राम्रा कार्यहरुमा प्रोत्साहन तथा छुटका विभिन्न कार्यहरु ल्याउनु पर्छ ।
सबैभन्दा घिनलाग्दो अवस्था चाहिँ बढ्दो बलात्कारका घटना नै हुन् । महिला तथा बालिका बलात्कारका घटना बढ्नुले उनीहरु जुनसुकै उमेरका भए पनि सुरक्षित छैनन् भन्ने देखाउँछ । पर्सामा गएको महिना एक आठ वर्षे बालिका बाख्रा चराउन निस्केका बेला बलात्कृत भइन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा सजाय दिने प्रावधान हुनुपर्छ । घरैमा बलात्कृत, जङ्गलमा बलात्कृत हुने अवस्थाको अन्त्य गर्नका लागि एउटा वृहद् स्तरको जागरण, सचेतनाका कार्यक्रम आवश्यक देखिन्छ ।
जबसम्म महिलाको हकहित, शिक्षा, स्वास्थ्य, सुरक्षा आदि लिएर सरकार गाउँ, घर तथा दुर्गम क्षेत्रसम्म जान सक्दैन, जबसम्म शिक्षित महिलाहरु नै महिलालाई सचेत गराउन अग्रसर हुँदैनन्, नेपालका महिला कुनै न कुनै रुपमा पीडित भइरहन्छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस सकियो, यससँगै जागरुक संस्था, महिला तथा सक्रिय समाजसेवीको जिम्मेवारी सकिएको छैन । हरेक संस्था र जागरुक महिला तथा सक्रिय समाजसेवीले एउटा गाउँ सुधार्ने अभियान चलाउन जरुरी छ । यस कार्यलाई सरकारले सहयोग गर्नु आवश्यक छ । यसो नगर्दा र खाली वर्षमा एक चोटि महिला दिवस मनाउनका लागि सहरका रेडियो, टेलिभिजन, पत्रपत्रिका, होटलमा हुने सभा गोष्ठी, सेमिनार, फेसबुके अभियान र शुभकामनाले मार्च ८ वरपरका एक सातामा मात्र सीमित हुनपुग्छ ।
मार्च ८ भनेको वर्षभरि नै महिला हक र अधिकारका क्षेत्रमा गरिएका काममध्ये सर्वोत्कृष्टलाई सम्झने दिन हो । त्यो दिन उत्कृष्टमध्येका सर्वोत्कृष्टलाई सम्झने र त्यसलाई निरन्तरता दिन आइपर्ने बाधा, व्यवधानलाई कसरी समाधान गर्न सकिन्छ भनी निक्र्योल र त्यसलाई निरन्तरताका लागि सुनिश्चित गर्ने दिन हो । यस दिनले आफूले गरेका कामकार्बाही आत्मविश्लेषण गर्ने र गएका वर्षमा देखिएका कमजोरीलाई अझ सुधार्दै बढीभन्दा बढी राम्रो कार्य गर्नेछु भनेर प्रण गर्ने दिन हो ।
मार्च ८ को दिन भनेको अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने, सुरुवाती संघर्ष गर्नेहरुलाई सम्झेर नमन गर्ने दिन पनि हो । साथै, अर्को मार्च ८ सम्झेर हरेक दिन योग्य महिलाहरुले घरेलु हिंसाबाट अन्य चेलीबेटी बचाउने, बढीभन्दा बढी महिला उद्यमी बनाएर महिलालाई स्वावलम्बी बनाउने, महिला सशक्तीकरणमा जोड दिने, यी सबै कार्यका लागि हरेक दिन सरकारलाई घच्घचाउने दिन हो ।
अनि मात्र हामीले मार्च ८ लाई सफल मार्च ८ भन्न सक्छौँ । aakriti72@gmail.com
प्रकाशित: ६ चैत्र २०७४ १०:३१ मंगलबार