अघिल्लो साताको शनिबार (माघ १३ गते) । जोरपाटीमा झण्डै आधा घन्टा कुरेपछि साँखु जाने बा३ख ६१३१ नम्बरको बस आइपुग्यो । लामो समय कुरेपछि आएको बसमा चढ्न यात्रुबीच हानाथाप भयो । यात्रुको चापले बसमा गोडा राख्ने ठाँउ समेत थिएन । सहचालक भने अझै यात्रु थप्न कराइरहेका थिए, ‘थली... साँखु... सालीनदी... ।’
चेपिएर बसेका यात्रुलाई पनि सहचालकले ‘सर्नुस्’, ‘उता फर्किनुस्’, ‘मुन्टो घुटाउनुस्’, ‘त्यहाँ समाउनुस्’, ‘मिलेर बस्नुस्’, ‘नत्र झर्नुस्’ भन्न छाडेका थिएनन् । चावहिल–साँखु यात्राका क्रममा देखिएको यो दृश्य उपत्यकाका हरेक जसो रुटमा चल्ने गाडीमा देखिन्छ।
चावहिल–साँखु सडकका यात्रुले भने सार्वजनिक यातायातका सदावहार समस्यासँगै केही वर्षदेखि अर्को सास्ती पनि खेपिरहेका छन्, सडक मर्मत नबन्दाको सकस । लामो समयदेखि सडक निर्माण र मर्मत नहुँदा यो रुटमा चल्ने गाडी ढलपल गर्दै दौडन्छन् । खाल्डामा हुत्तिदै गाडी पस्दा सिटमा बसेका यात्रुको ढाड र करङ नै भाँचिएला जस्तो हुन्छ, उभिएका यात्रुको टाउको बसमा ठोकिन्छ।
चेपिएर बसेका यात्रुलाई पनि सहचालकले ‘सर्नुस्’, ‘उता फर्किनुस्’, ‘मुन्टो घुटाउनुस्’, ‘त्यहाँ समाउनुस्’, ‘मिलेर बस्नुस्’, ‘नत्र झर्नुस्’ भन्न छाडेका थिएनन् । चावहिल–साँखु यात्राका क्रममा देखिएको यो दृश्य उपत्यकाका हरेक जसो रुटमा चल्ने गाडीमा देखिन्छ।
चावहिल–साँखु १२ किलोमिटर सडक पार गर्दा यात्रुले लामो जाममा बस्नुपर्छ । वर्षात्मा हिलो हुने सडक अहिले भने धुलाम्मे छ । यो सडकमा यात्रा पुरा गरेर फर्कदा हरेक यात्रुको शरिरभर धुलैधुलो हुन्छ।
सडक विस्तारका नाममा भएको राजनीतिले वर्षेनी हुँदै आएको मर्मत समेत रोकिएपछि यो सडकमा यात्रा गर्ने यात्रु र सवारी साधन चलाउने चालकले समेत सास्ती खप्दै आएका छन् । तर, यसप्रति न जिम्मेवार सरकारी निकायले चासो दिएको छ, न त यात्रुले नै संगठित दबाब।
चावहिल–साँखु सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने कार्य २०७२ मा अघि सारिएको भएपनि हालसम्म काम हुन सकेको छैन । धमधम काम भएको भए यतिबेलासम्म सडक विस्तार सम्पन्न भइसकेको हुन्थ्यो । तर, सरकारी बेवास्ताकै कारण सडक मर्मत समेत हुन सकेको छैन।
अहिले सडकको अधिकांश भागमा कालोपत्रे देखिदैन । खाल्डैखाल्डा भएको सडकमा उडेको धुलोका कारण आसपासका घरहरू धुस्रेफुस्रे भएका छन् । धुलो कम गर्न भन्दै कहिलेकाँही सडकमा हालिने पानीले सडक चिप्लो भएर बाइक लडिरहन्छन्।
गत पुस १७ गतेदेखि यही माघ १७ गते सम्म साँखुस्थित सालीनदीमा स्वस्थानी तथा माधवनारायण मेला चलेको थियो । त्यसबेला साँखु जाने हरेक यात्रुले यो सडकका विषयमा गुनासो मात्र गरे । कतिपयले त सामाजिक सञ्जालमा यसको तस्बिर राखेर यात्राको सकस बारे कुरा समेत उठाए।
‘गाडी नपाउने समस्या त छँदैछ,’ अघिल्लो साता सालीनदी मेलामा भेटिएकी ललिता गुरुङले भनिन्, ‘भताभुंग सडकले जोखिम झनै बढेको रहेछ ।’ उनले यात्रा यत्ति धेरै सकसपूर्ण हुन्छ भनेर जानेको भए मेलामै नआउने बताइन्।
‘चावहिल–साँखुको यात्रा गर्दा कति सकस हुन्छ भनेर नसोध्नुस्,’ साँखुबाट बौद्धमा दैनिक दूध बेच्न जाने हिराप्रसाद फुयाँलले भने, ‘झेल्न बाँकी केही छ जस्तो लाग्दैन ।’ उनका अनुसार यो सडकको दूरावस्था विस्तार सुरु गर्नुपूर्व पनि थियो । विस्तार थालेपछि समस्यारू अझ बढेका छन्।
उनी मात्र होइन, यो सडकमा यात्रा गर्ने हरेकले यस्तो समस्या भोग्दै आएका छन् । ‘सडक बिग्रेको वर्षौ भइसक्यो,’ जोरपाटीका नारायण पौडेलले भने, ‘हिउँदभरि धुलाम्मे हुन्छ, वर्षा लागेसँगै खेतजस्तै हुन्छ ।’ वर्षौँदेखि सडक हिँडिनसक्नु हुँदा पनि सरोकारवालाले चासो नदिएको उनी बताउँछन्।
यही सडकमा गाडी चलाउँदै आएका चालक मीनबहादुर बुढाथोकी सडककै कारण सवारी साधन चलाउन समेत समस्या भएको बताउँछन् । ‘साँघुरो र भत्केको सडक किनारामा निर्माण सामग्री थुपारेर अझ साँघु¥याउँदा जाम बढेको छ,’ उनले भने ।
विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तुप समेत यही सडक खण्डमा पर्छ । यहाँ घुम्न आउने विदेशी पर्यटकले समेत सास्ती खेप्दै आएका छन्।
यो सडक विस्तार आयोजनाले सडक बनाउन २०७२ असोज १३ गते चारवटा प्याकेजमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । चार खण्ड मध्ये तीन खण्डको विस्तार म्याद गत पुसमै सकिएको हो । तर, अहिलेसम्म ३५ प्रतिशत मात्रै काम भएको छ । विस्तार कार्य सम्पन्न भइसकनु पर्नेमा विभिन्न समस्याले विस्तार सुस्त रहेको आयोजना प्रमुख दीपक केसीले बताए।
‘हामीले काम थाल्नुअघि काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड मिचेर बनाएका संरचना भत्काउनुपर्छ,’ केसीले भने, ‘यस्ता संरचना पन्छाउन नसक्दा विस्तार अघि बढ्न नसकेको हो ।’ मापदण्डविपरीत बनेका संरचना भत्काएर बाधा हटाउने हो भने आयोजना काम गर्न तयार रहेको उनको दाबी छ।
हालको सडक मर्मत नगरिनुमा भने आफूहरूकै कमजोरी रहेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले स्वीकारे । ‘सडक विस्तार धमाधम भइहाल्छ भनेर सोही अनुसार ठेक्का आह्वान ग¥यौँ,’ उनले भने, ‘सोचे जसरी विस्तार अघि बढ्न सकेन, ठेक्का लागेका सडक मर्मत गर्न पनि सकिएन।’
उनले ठेक्का सम्झौतामा मर्मतको पाटो समावेश नगर्दा पनि समस्या भएको हो । ‘विस्तारको जिम्मा लिएको ठेकेदारसँग मर्मतका लागि कुनै सम्झौता गरिएको छैन,’ उनले भने, ‘जसले गर्दा अर्को एउटा ठेकेदारले जिम्मा लिएको सडकमा मर्मतका लागि अर्को ठेक्का आह्वान गर्न समस्या छ।’
किन भएन विस्तार ?
यो सडक क्षेत्रमा पर्ने मापदण्ड विपरितका संरचना हटाउन नसक्दा सडक विस्तार अवरुद्ध भएको हो । विस्तार आयोजनाका अनुसार बौद्ध जोरपाटी खण्डमा खानेपानी तथा ढल चुहावट भई सतहमा पानी बग्दा पनि सडक मर्मतमा समस्या भएको छ ।
दक्षिणढोकामा अदालतको अन्तरिम आदेशका कारण २३ एवं थली र डाँछीमा ३८ वटा घर भत्काउन समस्या भएको छ । त्यसले विस्तारको गति रोकेको छ । यसैगरी सीमा विवाद र मुआब्जाको समस्या पनि देखिएको छ । केही ठाउँमा भने विद्युत तथा टेलिफोनका पोल नहट्दा अवरोध पुगेको छ।
विस्तारपछि यो सडक २२ मिटर फराकिलो बन्नेछ । यसका लागि अहिले भइरहेको सडक केन्द्रबाट ११–११ मिटर क्षेत्रफल खाली गर्नुपर्ने मापदण्ड छ । केन्द्रबाट ११ मिटरभित्रै विभिन्न संरचना बनेका छन् । यस्ता संरचना हटाएर सडक खाली गराउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणको हो।
‘हामीले मापदण्ड मिचेर बनेका संरचना हटाउने प्रयास गरिरहेका छौँ,’ प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले भने, ‘स्थानीयकै विरोधले गर्दा समस्या आइरहेको छ ।’ कतिपय स्थानीयले प्राधिकरणको अनुरोध स्विकारेर संरचना भत्काइरहेका छन् भने कतिपयले आनाकानी गरिरहेका छन् । दुईचार ठाउँमा भने अदालतको अन्तरिम आदेशका कारण संरचना भत्काउन नसकिएको तिवारीको भनाइ छ । कतिपय स्थानमा अदालतले क्षतिपूर्ती दिएर सडक विस्तार अगाडि बढाउनु भन्ने फैसला गरिसकेको छ । तर, क्षतिपूर्तीको लागि पर्याप्त बजेट नहुँदा संरचना हटाउन नसकिएको तिवारीले बताए।
‘मुआब्जा पाए स्थानीयवासी मापदण्ड विपरितका संरचना हटाउन तयार छन्,’ उनले भने, ‘अर्थ मन्त्रालयले हामीलाई बजेट दिएको छैन, कसरी मुआब्जा दिनु र संरचना भत्काउनु ?’
प्रकाशित: २२ माघ २०७४ ०६:३६ सोमबार