कृति घिमिरे
कक्षा–८
न्यू सिरस इंग्लिस बोर्डिङ स्कुल, काठमाडौं ।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको छ ।
आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ।
‘रक्तदान जीवनदान । रक्तदान महादान’ यि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । तर रक्तदान गर्नु अघि केही कुरामा ध्यान पु¥याउनुपर्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।
अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्यूकेमिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पताजस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ । यस्तोमा हामो एक सहयोगले यस्ता कयौं मानिसको अमूल्य जीवन बच्छ । कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो ।
रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत गर्छ । यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँछ । परिवारको कोही सदस्यको निधनलाई केही हदसम्म दुर लैजान सक्छ । रक्तदान एउटा दान मात्र होइन, यो त आफू आफ्ना परिवार र आफ्नाहरुको रगत सम्बन्धी बिमाजस्तै हो ।
देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं । रक्तदान जीवनदान हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।
प्रकाशित: २० माघ २०७४ ०४:११ शनिबार