१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

सुरक्षित यात्रा कसरी गर्ने? | सुरक्षा टिप्स

गाडीको स्टेरिङ ह्विल समाइसकेपछि र सडकमा गाडी लिएर प्रस्थान गरिसकेपछि तपाईंको मुख्य ध्यान केबल सडकमा र सवारी सुरक्षामा हुनुपर्छ । सुरक्षित किसिमले गाडी चलाउनु अत्यावश्यक छ, सवारी चालकका लागि, सो सवारीमा सवार अन्य जनका लागि र सडकमा हिँड्ने सर्वसाधारणका लागि । सवारी चालक भइसकेपछि सुरक्षाको जिम्मेवारी बोध र ट्राफिक नियम पालन गर्नुपर्छ । सुरक्षित यात्रा गर्न तपाईंले तलका केही कुराहरु अभ्यास गर्नु आवश्यक छ।

तपाईंको ध्यान केबल सवारी साधन चलाउनेमा हुनुपर्छ

सडकमा निस्किसकेपछि तपाईंले आफ्नो ध्यान बिथोल्ने हजार थरिका चिज भेट्न सुरु गर्नुहुन्छ, तर तपाईंको शतप्रतिशत ध्यान सवारी चलाउने र सडकमा मात्र हुनुपर्छ । सडकका मान्छेहरु के गर्दैछन् वा अर्को गाडीको चालकले के गर्दैछ, मा होइन ।

सवारी चलाउन सुरु गरेपछि सर्वप्रथम आफ्नो मोबाइल फोनलाई छेउमा राखिदिनुहोस् र सवारी अवधिभर मोबाइल प्रयोग गर्दै नगर्नुहोस्, कल गर्न होस् या मेसेज गर्न । सवारी चलाउँदा मोबाइलको प्रयोगबाट हजारौं दुर्घटना हुने गर्छ, त्यसैले सतर्कता अपनाउनु आवश्यक छ । तपाईंले यात्रा अवधिभर मोबाइललाई साइलेंट मोडमा सेट गरेर छाड्न पनि सक्नुहुन्छ । 

यस लगायत गाडी हँकाइसँग असम्बन्धित क्रियाकलाप जस्तै अरु सामान चलाउने, ऐना हेर्ने, मेकअप गर्ने आदि काम पनि गर्नु हुँदैन । यदि तपाईंको साना बच्चा छन् भने बच्चालाई पछाडिको सिटमा सिट बेल्ट बाँधेर राखिदिनु होस् ।

सवारी साधन विस्तारै हाक्नुहोस्

‘ढिलो गए अवस्य पुगिन्छ, हतार गरे भन्न सकिँदैन’, आजभोलि यो भनाइलाई ध्रुवसत्य मान्दा पनि फरक पर्दैन किन कि सवारी अत्यधिक गतिमा चलाएर हुने दुर्घटनाको संख्या दिन प्रतिदिन बढिरहेको छ । तर, याद गर्नुहोस्, तपाईं यस्तो दुर्घटनाको समाचार बन्न चाहनुहुन्न । सडक सुरक्षा कायम गर्न हरेकले सवारी सीमित गतिमा चलाउनु जरुरी हुन्छ ।

सवारी धेरै हाँक्दा तपाईंले आफ्नो मात्र नभई सडकमा हिँड्ने पैदल यात्रु र अन्य सवारी चालकको ज्यान पनि जोखिममा पार्न सक्नुहुन्छ । यसबाहेक सवारी चलाउँदा कुनै पनि घुम्ती र मोडमा गाडीलाई स्लो गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । तसर्थ, सवारी साधन विस्तारै र तोकिएको गतिमा हाँक्नुहोस, एक जिम्मेवार नागरिकको पहिचान दिनुहोस् । 

ट्राफिक नियम पालना गर्नुहोस्​​

ट्राफिक नियम यात्रु र चालकको सुरक्षा कै लागि भनेर बनाइएको हो । ट्राफिक नियमको पालना गर्नाले दुर्घटना हुने सम्भावना धेरै घटेर आउँछ । तर, नेपालमा ट्राफिक नियमको पालना सुरक्षाको लागिभन्दा पनि जरिवानाबाट बच्नको लागि गरिन्छ । अर्थात, ट्राफिक प्रहरी नभएको स्थानमा त ट्राफिक नियम पालन गर्ने व्यक्ति निकै कम भेटिन्छन् । तर, यस्तो गर्नु राम्रो हुदै होइन ।

तपाईं सडकमा एक्लो हुनुहोस् या सहरको माझमा, हरपल तपाईंले ट्राफिक नियम पालन गर्नुपर्छ । जेब्रा क्रसिङमा गाडी स्लो गर्ने वा रोक्ने, साइड लाइटको प्रयोग गर्ने, लेन नमिच्ने, ट्राफिक सिग्नल अनुसार चल्ने, सिट बेल्ट लगाउने जस्ता ट्राफिक नियम हाम्रै सुरक्षाका लागि बनेका हुन् र यसको पालनाले हामीलाई जरिवानाबाट मात्र होइन ठूलो दुर्घटनाबाट पनि बचाउँछ। 

रक्षात्मक ढंगमा सवारी साधन चलाउनु होस्

सडक सबैको साझा सम्पत्ति हो र सो सडकमा एकजनाले मात्र सवारी चलाउने त हुदैन होइन । यसकारण, सडकमा सवारी चालकबीच एकआपसमा समझदारी हुनु महत्वपूर्ण छ ।

कुन सवारी कतातिर जाँदैछ, ओभरटेक गर्न सुरक्षित छ कि छैन, अन्य चालकलाई तपाईंले साइड दिएको हुनुहुन्छ या हुनुहुन्न, पैदल यात्रु कताबाट बाटो काट्न खोज्दै छन् जस्ता कुरा तपाईंले सडकमा सवारी साधन चलाउँदा ख्याल गर्नुपर्छ । अन्य गाडीबाट आवश्यक दूरी कायम गर्नुपर्छ र साइडलाइट प्रयोग गर्नुपर्छ भने जथाभावी ओभरटेक गर्नु हुदैन।

 

धेरै पैदल यात्रु हुने ठाउँमा र चोकहरुमा झन् धेरै सतर्कता अपनाउनु पर्छ । अतः जस्तो सुकै परिस्थितिमा पनि तपाईंको मुख्य उद्देश्य तपाईं र तपाईंको नजिकैको सवारी साधनको सुरक्षा हुनुपर्छ । आक्रामक शैलीमा र प्रतिस्पर्धाको सोच लिएर र मदिरा पिएर कहिल्यै सवारी साधन चलाउन हुदैन।

बिमा गर्नुहोस्

सवारी साधन सडकमा लानुअघि अब के हुन्छ भन्ने कुराप्रति हामी सबै अनविज्ञ छौं । गन्तव्यमा सुरक्षित पुग्ने चाहना सबैको हुन्छ र सवारी साधन दुर्घटना होस् भन्ने चाहना कसैको हुँदैन । तर दिनहुँ जसो स–सानो गल्तीबाट पनि धेरै सवारी दुर्घटना भइरहेको हुन्छ । यस्तो सवारी दुर्घटनामा परी धेरैले ज्यान पनि गुमाउनुपरेको छ ।

सवारी दुर्घटनाले हुने यस्तो मानवीय क्षतिको क्षतिपूर्ति केही चिजले गर्न सक्दैन । तर दुर्घटनामा हुने भौतिक र आर्थिक क्षतिको क्षतिपूर्ति भने बिमाले गर्न सक्छ । बिमा भन्नाले आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । बिमा गरेर तपाईंले भोलिका दिनमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न सक्नुहुन्छ ।

दुर्घटनामा परी चालकले ज्यान गुमाउनुपरेमा पनि मृतकको परिवारले बिमाको रकमबाट धेरै राहत पाउन सक्छन् । तसर्थ, बिमा आजको दिनमा अपरिहार्य छ र तपाईंले पनि सकेसम्म चाँडै बिमा गर्नु आवश्यक छ । 

मोटर बिमाको थप जानकारीका लागि क्लिक गर्नुस

प्रकाशित: १९ माघ २०७४ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App