- प्रकाश जंग थापा
एर्ली डिक्सन एक अमेरिकी नागरिक जोन्सन एन्ड जोन्सन कम्पनीमा कार्यरत थिए । उनी जोसेफाइन नाइटसँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए । बिहे भएको धेरै समय भएको थिएन । हनिमुनको मजा लिइरहेका थिए । उनले आफ्नो नवविवाहित जीवन संगिनीलाई औधि प्रेम गर्थे । कुनै कुराको अभाव खड्किन दिएका थिएनन् । एक आदर्श श्रीमान्को भूमिका इमान्दारी साथ निभाएका थिए । श्रीमतीलाई कुनै समस्या आइपरे सहयोेग गर्न हरदम तयार हुन्थे । गुनासो गर्ने कुनै मौका दिएनन् । सधैँ प्रेमिल व्यवहार गर्थे । सम्बन्ध समधुर नै थियो । यद्यपि उनको श्रीमती एउटा समस्यामा अल्झिरहेकी हुन्थिन् । भान्सामा काम गर्दा कहिले आँैला काट्ने त कहिले तातो भाँडाले हात जलाउने गर्थिन् । भान्साको काम गर्दा मात्रै होइन, अरु घरायसीजस्तै सरसफाई गर्दा चोट पटकबाट मुक्त हुन सकेकी थिइनन् । समस्या यस्तो थियो कि बिहे भएको पहिलो हप्तामा नै दुई पटक औँलामा घाउ बनाइसकेकी थिइन् । दिनहरु बित्दै गए तर समस्या गएनन् । अनेकौँ कोसिसका बाबजुद पनि स्थितिमा सुधार आएन । श्रीमतीको हातमा नाङ्गो चक्कुले चोट पुर्याउँदा उनलाई आफ्नै हातमा चक्कु चलेजस्तो भान हुन्थ्यो । पीडाको महसुस गर्थे । त्यसैले आफ्नो श्रीमतीको निकै ख्याल राख्थे । उनले काम गर्ने कम्पनीमा कटन कपडाको पट्टि र एडहेसिभ टेप उत्पादन हुन्थ्यो । यही पट्टि र टेप घाउमा लगाइदिन्थे । यसले केही फाइदा दिलाए पनि यसको उपयोगिता सशक्त हुन सकेको थिएन । श्रीमतीले घरायसी काम गर्दा पट्टि सजिलै झर्ने गथ्यो । त्यसपछि फेरि अर्को पट्टि र टेप लगाउनु पथ्र्यो । केही सुधारको आवश्यकता भएकाले एर्लीले एउटा जुक्ति पहिल्याए ।
सन् १९२० को कुनै एक दिन एर्ली बिदामा थिए । बिदाको भरपूर सदुपयोग गर्न चाहन्थे । उनी कटन कपडाको पट्टि, टेप र कैँची लिएर बसे । एकछिन घोरिए । टेपलाई स–साना टुक्रामा काटे र पट्टिलाई स्क्वाएर (वर्गाकार) आकार दिए । त्यसपछि वर्गाकार आकारको पट्टिलाई टेपको मध्यभागमा टाँसे । यसरी घरेलु एवं रेडिमेड ब्यान्डेज तयार भयो । उनले पर्याप्त संख्यामा ब्यान्डेज बनाए ताकि श्रीमतीले हात काटेको बेला प्रयोग गर्न सकून् । यो ब्यान्डेज लगाउन निकै सहज र छिटो हुन्थ्यो । महŒवपूर्ण पक्ष चाहिँ यो ब्यान्डेज अघिल्लोको तुलनामा काम गर्दा वा भिज्दा खस्ने समस्या कम थियो । बजारमा प्रयोगमा आएका अन्य ब्यान्डेजका हिसाबले भने यो अलि झन्झटिलो थियो । काटेको ठाउँमा अलग्गै पट्टी राख्नुपर्ने अनि बल्ल टेप लगाउनु पथ्र्यो । एर्लीकी पत्नीले रेडिमेड ब्यान्डेज रुचाइन् ।
एर्लीसँगै काम गर्ने साथीले नयाँ ब्यान्डेजका बारेमा कम्पनीको अफिसमा जानकारी दिए । कम्पनीको नेतृत्व तहले ब्यान्डेजको ठूलो सम्भावना देखे । अन्ततः बजारमा लैजाने निर्णय लिए । कम्पनी अनावश्यक घाटा ब्यहोर्न चाहँदैन थियो, त्यसैले सुरुमा थोरै मात्रामा उत्पादन गरियो । नयाँ उत्पादन भएकाले सोचेअनुरुप बजार लिन सकेन । बजारमा अस्वीकृत हुने लक्षण देखियो । तीन हजार डलर बराबरको प्रडक्ट मात्र बिक्री हुन सक्यो तर चार वर्षपछि प्रडक्टले गति लिन थाल्यो । सन् १९२४ मा कम्पनीले बजारको अत्यधिक माग सम्बोधन गर्न नयाँ मेसिन जडान गर्नुपर्ने भयो । कम्पनीका सञ्चालकहरु प्रडक्टलाई के नाम दिने भन्नेमा निधो गर्न सकेनन् । यो चुनौती जेम्स वुड जोन्सनले ब्यान्ड–एड नाम दिएर हल गरिदिए । एर्लीको सोच भएकाले उनलाई जोन्सन एन्ड जोन्सन कम्पनीको उपाध्यक्षमा बढुवा गरिनुका साथै सञ्चालक समितिमा पनि स्थान दिइयो ।
हिजोआज एउटा सानो घाउ लागे पनि हाम्रो दिमागमा आउने भनेको ब्यान्ड–एड नै हो । ब्यान्ड–एडको लोकप्रियता अहिलेसम्म बढिरहेको छ । यसलाई हरेक हस्पिटल र फस्ट–एड किटमा अनिवार्य गरिएको छ । प्रत्येक वर्ष सय अर्ब युनिट ब्यान्ड–एड संसारभर बिक्रीवितरण हुन्छ । जसका कारण तीन अर्ब डलरभन्दा बढी कारोबार हुन आउँछ । एक पटक कल्पना गरौँ– एर्लीको ठाउँमा बसेर सोचौँ । हामी एर्लीको ठाउँमा भए कस्तो व्यवहार गर्ने थियौँ होला ? सधै औँला काट्छे भनेर श्रीमतीलाई किचकिच गथ्र्यौं होला । कि तपाईं केही सिर्जनात्मक तरिकाले सोच्नु हुन्थ्यो ? यो अनुमान गर्नमा गलत नहोला कि हामी अधिकांश पत्नीसँगै रिसाउने थियाँै । तर एर्ली फरक थिए, बुझ्झकी पति थिए । सधैँ समस्यालाई प्रेमले कोणबाट जुध्ने प्रयत्न गरे । फलस्वरुप उनले संसारलाई नयाँ ब्यान्डेज किट दिन सफल भए । सानै प्रयासबाट पनि ठूलो परिवर्तन ल्याइदिए ।
त्यसैले समस्या हल गर्न प्रेम मिसाउने गराँै, रिसाएर कहिल्यै नयाँ सिर्जना हुँदैन ।
प्रकाशित: १८ माघ २०७४ ०९:३७ बिहीबार