१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

डेढ सय वर्ष पुरानो खाजा पसल

भक्तपुर, दतात्रेयस्थित भीमसेन पाटीको सामुन्ने उत्तरतिर फर्किँदा देखिन्छ, ढोकामा पुरानो सादा पर्दा लगाइएको खाजा पसल । साला गणेशस्थानको कायस्थ परिवारको स्वामित्वको यो पसल एक सय पचास वर्षभन्दा पुरानो हो । पसलको अहिलेका मालिक हुन्, ७३ वर्षका चिरञ्जीवि कायस्थ।

हिजोआज बिहानको समय खाजा पकाइरहेकी हुन्छन्, चिरञ्जीविकी श्रीमती रामदेवी कायस्थ । दिउँसो भने उनी आफैं पनि काम गर्छन् । भन्छन्, ‘दमले बिहान काम गर्न सक्दिनँ । त्यसैले श्रीमती काम गर्छिन्।’

‘सानैदेखि पसलमा काम गर्नुपथ्र्याे । यहि पसलमा भाँडा माझेरै म हुर्केको हुँ, त्यसैले लेखपढ गर्न पाइएन।’

यो पसल सबैभन्दा पहिले उनको हजुरबुवा मुकुन्दसिंह कायस्थले सुरु गरेका हुन् । उनी सुनाउँछन्, ‘हजुरबाले यहिँ ठाउँमा सुरु गरेका रहेछन् । पछि बुबाले चलाउनुभयो ।’ हजुरबुबा १९८० मा ९० वर्षको उमेरमा बिते । त्यहि आधारमा पसल एक सय ५० वर्ष पुरानो हुन सक्ने अनुमान उनी गर्छन् । हजुरबा बितेपछि उनका बुबाले त्यहि पसल चलाए । बुवा पनि बितेपछि भने चिरञ्जीविको परिवारले नै यो पसल चलाउँदै आएको छ।

यसबाहेक आफूले जीवनमा कुनै व्यवसाय नगरेको उनी सुनाउँछन् । उनको समयमा विद्यार्थी नजिकै निकेतन स्कुल खुलिसकेको थियो, तर उनले पढ्न पाएनन्।

‘सानैदेखि पसलमा काम गर्नुपथ्र्याे । यहि पसलमा भाँडा माझेरै म हुर्केको हुँ,’ उनले भने, ‘त्यसैले लेखपढ गर्न पाइएन ।’
एक पैसाको बारा बेच्ने गरेको सम्झना अझै छ उनलाई । अहिले बिहान खाने मासु हालिएको बाराको मूल्य पाँच रूपैयाँ छ । जबकी वरपरका पसलहरूमा सादा बाराकै मूल्य पाँच रूपैयाँ छ । ‘सस्तो र स्वादिलो हुने भएकाले नै ग्राहकको भीड हुन्छ । ग्राहकले स्वाद मन पराउने भएकाले भाउ बढाउन सकिएको छैन,’ उनी भन्छन्।

उनी सानोमा पसलमा भाँडा माझ्ने काममा सघाए । बुबा बितेपछि उनी आफैं पसलको हकदार भए । त्यसपछि पनि उनले कुनै अरु पेसा वा व्यवसाय रोजेनन् । बिहान झिसमिसदेखि झम्के साँझसम्म पनि उनी पसलमा खाजा पकाइरहन्थे । त्यसको परिणाम अहिले आफूलाई श्वासप्रश्वासको रोग लागेको उनले ठहर गरेका छन्।

‘पहिले दाउरा बालेर खाजा पकाउनुपथ्र्याे । धेरै धुवाँ खाइयो । पछि मट्टितेलको स्टोभले पनि असर ग¥यो,’ पसलको पिँढीमा दमको औषधी तान्दै उनले भने, ‘त्यसैकारण अहिले दम भयो।’

चिसो मौसममा दमले च्याप्दा कहिलेकाहिँ रात पनि नभनी अस्पताल दौडिनुपर्छ उनलाई । महिनाको दुई–तीन पटक अस्पताल जानुपरेको उनी सुनाउँछन् । ‘तर यहि पसल चलाएर छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको सम्झँदा रोग पनि बिर्सन्छु,’ चिरञ्जीविले भने।

यो सानो पसलमा एक–दुई हजारको दैनिक कारोबार हुने उनी बताउँछन् । पसलकै आम्दानीले उनले छोरालाई इन्जिनियर बनाए । जेठी छोरीले व्यवस्थापनको पढाइ सकेकी छिन् । कान्छी छोरी कानुन पढ्दैछिन्।  

छोराछोरी आ–आफ्नो क्षेत्रमा लागिसकेकाले आफूहरूपछि भने यो पसल चलिरहला भन्नेमा कायस्थ दम्पतिलाई शंका छ । दुःखको काम भएकोले छोराछोरीले गरुन् भन्ने पनि लाग्दैन उनलाई।

‘सानो पसल छ । यसको आम्दानीले ठूलो काम आँट्न पनि सकिन्नँ,’ चिरञ्जीवि भन्छन्, ‘छोराछोरीको ठूलो रहर यसले पूरा गर्न सक्दैन।’

पसल निकै साँघुरो छ । एक जना पकाउने मान्छे मुस्लिलले अटाउने । ग्यास बल्ने चुल्होमा खाजा पाक्छ । चुल्होमा बिहान रामदेवी बस्छिन् । दिउँसो कहिलेकाहिँ चिरञ्जीवि पनि मासको बारा पकाइरहेको भेटिन्छन्।

२०३८ सालसम्म पसल सानो छाप्रो थियो । त्यो साल उनले छाप्रोलाई गाह्रो लगाएर घर बनाए, तर घर पनि उहिबेलाको छाप्रोभन्दा ठूलो भएन।

आरामले बसेर खाने कुर्सी टेबल अटाउने कुरै भएन । ग्राहकहरू बाहिरपट्टि पेटीमै बसेर खान्छन् । भित्रपट्टि सानो फल्याक अड्याएर बस्ने ठाउँ बनाइएको छ, जहाँ मुस्किलले दुई जना अटाउन सक्छन् । यो मुस्किलमा पनि पसल अलि फराकिलो बनाएर व्यापार बढाउने चाहना चिरञ्जीविलाई लागेन । कारण उनी यसरी खुलाउँछन्, ‘पसल ठूलो बनाएपछि मान्छे राख्नुप¥यो । मान्छे राखेपछि केही बिगार्न पनि सक्छ । खानेकुराको स्वाद पनि बिग्रिन पनि सक्छ।’

मुख्य कुरा उनी आफूले बेच्ने खाजाको स्वादमा चनाखो छन् । भन्छन्, ‘यो बाजेदेखिकै स्वाद हो । यहि स्वादकै कारण यत्रो वर्ष चलेको पसल हो ।’ पसल सामुन्ने कुनै नेवार परिवारको भान्छा पसेजस्तै बास्नाले नाक समात्छ । पसलमा पसलको कुनै पनि मसला प्रयोग गरिँदैन । खुर्सानी, जिरा, धनियाँलगायत बाह्र मसला सिलौटामै पिसिन्छ । रामदेवी भन्छन्, ‘त्यसैले घरमै पकाएजस्तो स्वाद हुन्छ।’

त्यसैले समयसँगै सहरका मानिसको जीवनशैली बदलियो । भक्तपुर सहरको बस्ती पनि बढ्यो, तर कायस्थ परिवारको खाजा पसलको न स्वाद बदलियो न त पसलको क्षेत्रफल नै । त्यहि स्वादले तानिरहेको छ, यहाँ बारा खान आउनेलाई । कुनै आकर्षक नाम छैन । पसलमा चम्किलो बोर्ड पनि छैन । बस्न साधारण कुर्सी टेबल पनि छैन, तर शताब्दी पुरानो पसल चलिरहेकै छ, कायस्थ परिवारको छत्रछायामा । मात्र त्यहि पुरानो स्वादको भरमा।

उसो त यो पसलको कहिल्यै नाम नराखिएको भने होइन । २०६५ सालतिर एक रक्सी कम्पनीले बोर्ड राख्न आए । चिरञ्जीवि सुनाउँछन्, ‘त्यहि बेला बोर्ड झुन्ड्याउन आएकै मान्छेले ‘स्याभाइ खाजा घर’ नाम त्यो बोर्डमा लेखिदिए ।’  त्यो बोर्ड पनि एक वर्षपछि कम्पनीले नै हटाइदियो।

अहिले पनि कसैले पसलको नाम सोधे ‘स्याभाइ’ भनिदिने गरेका छन्, तर पसलमा कुनै बोर्ड टाँगिएको छैन । ‘बाजेले राखेनन् । बाबुले पनि राखेनन् । नाम नभए पनि यत्रो वर्ष चलेकै छ । अहिले आएर किन चाहियो नाम ?’ उत्तरजस्तै प्रश्न सोध्छन् चिरञ्जीवि।   
त्यसैले कुनै नाम राखेर ठूलो व्यापार होला भन्ने लोभ छैन उनलाई । जसरी हजुरबाले चलाए त्यसैगरी चलाउँदैछन् उनी ।
पसलमा हजुरबाको बेलादेखि नै पाक्दैछन्, एउटै खालका परिकारहरू । बिहान मुगीको सानो बारा र दिउँसो मासको ठूलो बारा । दिउँसो चिउरा, आलु, गोलभेंडाको अचार अनि उसिनेर पकाइएको राँगाको मासु  ।
उनले थपेको एउटा मात्र परिकार हो, सानो केराउको अचार ।

प्रकाशित: ५ माघ २०७४ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App