१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

‘कारखाना’मा रमाउँदै, सिक्दै

शुष्मा बराली
कोठाको मध्यभागमा टेबल राखिएको छ । टेबललाई डोरीले दलिनमा बाँधेर झुन्ड्याइएको छ । कोठामा गोलाकाररूपमा युवायुवती बसेका छन् । बीचमा रहेकी शिक्षकले उनीहरूलाई पढाइरहेकी छन् । यो दृश्य शनिबार ज्ञानेश्वरस्थित ‘कारखाना’ कक्षामा देखिएको हो।

कारखाना ! झट्ट सुन्दा जो कोहीले पनि यसलाई सामान उत्पादन गर्ने कारखाना भन्ने बुझ्छन्, तर यो सामान उत्पादन कारखाना नभएर आधुनिक तरिकाले पढाउने शिक्षण केन्द्र हो।

मुख्य कार्यकारी अधिकृत पवित्र गौतम ‘कारखाना’मा नेपाल सरकारको पाठ्यक्रम अनुसार विद्यार्थीलाई सहज र बुझ्ने तरिकाले पढाइने बताउँछन् । उनका अनुसार ‘कारखानामा ‘बि क्रेटिब’ र ‘कारखाना इनोभेटरस’ गरी दुई कार्यक्रम छन् । यससँग सम्बन्धित उपकार्यक्रम पनि रहेको उनले बताए ।

‘यस कार्यक्रममा जुनसुकै ठाउँका विद्यार्थी पनि सहभागी हुन सक्छन्, कक्षासम्म पुग्न नसक्नेले इन्टरनेटबाट सिक्न सक्छन् ।’

उनका अनुसार हरेक शनिबार कारखानामा तीन घन्टा पढाइ हुने गरेको छ । ‘शनिबार विद्यार्थीलाई यही बोलाएर सिकाउँछौं भने अरु दिन हाम्रो टोली नै विद्यालय जाने गरेको छ,’ उनले भने।

गौतमका अनुसार कारखाना स्थापना भएको चार वर्षभन्दा बढी भइसकेको छ ।
उनका अनुसार कारखानामा विभिन्न टिम बनाइएको छ । ‘टिचिङ टिम’ले शिक्षण सम्बन्धी योजना बनाउन गरेको छ । यसले कुन स्कुलमा कुन विषय पढाउनेलगायत योजना बनाउँछ।

कारखानामा अर्काे टिम छ, ‘कन्टेन जेनेरेसन टिम’ । यसले नेपाल सरकारको पाठ्यक्रम अनुसार कन्टेन तयार पार्ने गरेको उनी बताउँछन्।

विद्यार्थीलाई कसरी सहज र बुझ्ने गरी पढाउने भन्ने विषयमा टिमले आवश्यक खोज तथा अनुसन्धान गर्ने उनको भनाइ छ ।
कारखानाले विद्यार्थीको क्षमताका आधारमा पनि सिकाउने गरेको उनले बताए । उनका अनुसार विज्ञान, इन्जिनियरिङ, टेक्नोलोजी, आर्ट र गणितका कक्षा सञ्चालन गरिन्छन्।
‘हामी विद्यार्थीलाई आवश्यक पर्ने हरेक सामग्री व्यवस्था गर्छौं,’ उनले भनिन् ।
‘कारखाना’मा ‘स्टोरी टेलिङ टिम’ पनि बनाइएको छ । उक्त टिमले योजना बनाउने, समन्वय गर्नेलगायत काम गर्ने गौतम बताउँछन् ।

उनका अनुसार कारखानाको टिमले हप्तामा कम्तिमा ७० विषय, १८ विद्यालयका साढे दुई हजार विद्यार्थी पढाउने गरिएको छ ।
कारखानामा ‘एजुकेसन रिसर्च टिम’ पनि बनाइएको छ । यसले पनि शिक्षाका विविध विषयमा खोज गर्ने गौतम बताउँछन् । टिमले परिवार, विद्यार्थी, विद्यालय लगायतका समस्याबारे छलफल गरी शिक्षाको गुणस्तर नहुनुको कारण पत्ता लगाएर समाधान गर्ने उनले बताए ।

‘बि क्रेटिभ’ टिमका शिक्षक रोशन भट्ट नयाँ टेक्नोलोजी प्रयोग गरी विद्यार्थीलाई पढ्न सहज बनाउने बताउँछन् । टिमले विद्यार्थीलाई नयाँ कुरा कसरी आविष्कार गर्ने र समूहमा मिलेर काम गर्ने कुरा सिकाउने उनी बताउँछन्।
‘विद्यार्थीले पढाएको कुरा बुझे मात्रै राम्रो सिकाइ हुन सक्छ,’ उनी भन्छन्, ‘कारखानाले यो कुरालाई  जोड दिएको छ ।’
विद्यार्थीलाई समूहमा राखेर केही गर्न लगायो भने पनि धेरै कुरा सिक्न सक्ने उनको भनाइ छ।

संस्कार ढकाल कक्षा ७ का विद्यार्थी हुन्। ‘बि क्रेटिभ’मा आधारभूत कोचिङ ल्याङ्ग्बेज सिकिरहेका छन्, संस्कार ढकाल । कक्षा ७ मा अध्ययनरत उनी प्रत्येक शनिबार कारखानामा आउने गरेको बताउँछन् । ‘समूहमा पढ्न र सिक्न पाउँदा खुसी लागेको छ,’ उनी भन्छन्।

कारखानामा रमाइलोसँग धेरै कुरा सिक्न पाएको उनी बताउँछन्। ‘इच्छाअनुसार पढ्न र सिक्न पाइन्छ, नबुझेको कुरा जतिपटक सोधे पनि कोही रिसाउँदैन,’ उनले भने । उनले ‘लाइन फलोयर रोवर्ट’, ‘अबस्ट्याकल कार’ र ‘पुस बटम पिच पियानो’ बनाएको सुनाए । ‘यहाँ मैले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएँ,’ उनले भने।

कारखानाका अर्का प्रशिक्षार्थी हुन्, समय खड्का । इन्टरनेटको माध्यमबाट कारखानामा जोडिएको उनले बताए । ‘यहाँ आएपछि आफूमा धेरै परिवर्तन भएको पाएँ,’ उनी भन्छन्, ‘यहाँ काम गर्दा एकअर्काप्रति आत्मियता र सद्भाव बढेको छ।’
उनी यहाँ प्रशिक्षार्थीका रूपमा ६ महिना बस्नेछन् । तर, उनलाई यहाँ अरु थप समय बस्ने मन लागेको छ । ‘यहाँ नम्र र सहयोगी भावनाले सिक्ने र सिकाउने वातावरण भएकाले नै काम गर्न मन लागेको हो,’ उनले भने।

कारखानामा आवश्यक कच्चा पदार्थ आफै उत्पादन गर्दै आएको मुख्य कार्यकारी अधिकृत गौतम बताउँछन् । ‘घरमा आवश्यक सियोदेखि कोदालीसम्म आफै बनाउँछौं,’ उनी भन्छन् । आफूलाई चाहिने सामान आफै बनाउँदा सीप र कला बढेको उनको अनुभव छ।

कारखानाले हरेक विद्यार्थीलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएको उनले बताए । ‘हामी विभेदरहित शिक्षा प्रदान गर्छाैं,’ उनी भन्छन् । कारखानामा पाठ्यक्रम अनुसार कुनै विषयवस्तुमा रमाइलो र रुचिकर हिसाबले सिकाउने उनको दाबी छ।
कारखानाले विद्यार्थीको क्षमता अभिवृद्धि कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । ‘यस कार्यक्रममा जुनसुकै ठाउँका विद्यार्थी पनि सहभागी हुन सक्छन्,’ उनी भन्छन्, ‘कक्षासम्म पुग्न नसक्नेले इन्टरनेटबाट सिक्न सक्छन् ।’ उनका अनुसार विद्यार्थीलाई सिकाउने तरिकाबारे इन्टरनेटमा भिडियो अपलोड गरिएको छ ।

प्रकाशित: ५ माघ २०७४ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App