अचेल भक्तपुर पाण्डु बजारकी दयालक्ष्मी सुवालको दैनिकी फेरिएको छ । सधैँ घरधन्दामा रमाउने उनी अहिले भने घर छाडेर टाढा बस्न पुगेकी छन्।
काठमाडौं साँखुस्थित शालीनदीनजिकै धर्मशालामा स्वस्थानी अर्थात् माधवनारायण मेलाको व्रतालु बनेपछि उनको दैनिकी फेरिएको हो । सुवाल अचेल बिहानको शंखध्वनिसँगै उठेर शालीनदीमा चिसो पानीले नुहाउँछिन्, नजिकै स्थापित माधवनारायणको मूर्तिमा जल चढाउँछिन् र नित्य पूजामा सहभागी बन्छिन्।
भक्तपुर चाँगाथलीकी मीना गुरुङको घरमा स्वस्थानी कथा वाचन गरिँदैन । उनले आफ्ना छिमेकीको घरमा सानैदेखि स्वस्थानीको कथा सुन्न थालिन् । कथा सुनेपछि स्वस्थानीप्रति उनको आस्था बढ्दै गयो । त्यसैले यसपटक उनी छिमेकीसँगै व्रतमा सहभागी हुन साँखुमा पुगेकी छन्।
एकछिन आगो तापेर नित्य पूजा गरिसकेपछि उनी भजन गाउँदै साथीसँग बत्ती कातेर दिन बिताउँछिन् । उनले अचेल दुई छाक खाना खान पनि छाडेकी छन्।
सुवालले यस्तो कठिन व्रत एक दिन मात्र होइन, एक महिनासम्म बस्नुपर्नेछ । तैपनि उनको मुहारमा चिन्ताको भाव छैन । एक महिनासम्म एक छाक खाएर व्रत बस्न उनी उनी मानसिक रूपमा तयार छिन् । त्यसैले त उनको मुहारमा मुस्कान घटेको छैन । भजन गाउँदै उनी रमाइरहेको देख्दा लाग्छ, सुवाल कुनै उत्सवमा सहभागी हुँदै छिन्।
सुवालले यसरी स्वस्थानीको व्रत बसेको यो पाँचौँपटक हो । उनी हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म घर छाडेर साँखु आई स्वस्थानी व्रत बस्ने गर्छिन्।
सुवाल यसरी व्रत बस्दा पाप पखालिने र आत्मसन्तुष्टि मिल्ने विश्वास गर्छिन् । ‘बाहिरबाट हेर्दा व्रत निकै कठिन देखिन्छ,’ उनले भनिन्, ‘मनमा भगवान्को नाम लिएर सबैसँग मिलेर बस्दा समय कटेको पत्तो हुँदैन ।’ आस्तिक उनी भगवान्सँग आफ्नो कुनै माग नरहेको बताउँछिन् । तर, सुवाललाई भगवानले आफ्ना समस्या समाधान गरिदिनेमा भने पूर्ण विश्वास छ रे !
सुवाल मात्र होइन, उनीजस्तै एक सय ८८ महिला गत मंगलबारबाट शालीनदीमा स्वस्थानी व्रतमा सहभागी भइरहेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आएका महिला रातो पहिरनमा सजिएर बत्ती कात्दै बस्दा शालीनदी क्षेत्रको माहोल नै अर्कै देखिएको छ । व्रत बस्नका लागि भेला भएका विभिन्न जातजातिका महिलाले साँखुको माहोल भिन्न मात्र बनाएका छैनन्, सामाजिक सद्भावको सन्देश समेत दिइरहेका छन्।
भक्तपुर चाँगाथलीकी मीना गुरुङको घरमा स्वस्थानी कथा वाचन गरिँदैन । उनले आफ्ना छिमेकीको घरमा सानैदेखि स्वस्थानीको कथा सुन्न थालिन् । कथा सुनेपछि स्वस्थानीप्रति उनको आस्था बढ्दै गयो । त्यसैले यसपटक उनी छिमेकीसँगै व्रतमा सहभागी हुन साँखुमा पुगेकी छन् । ‘पहिलोपटक व्रत बस्दै छु, खुसी लागेको छ,’ मीनाले भनिन्, ‘यहाँ हामी सबै एकै वेशभूषामा रमाएर बसेका छौँ।’
उनीसँगै उनकी साथी संगीता बस्नेत पनि व्रतमा छिन् । ‘कसैको घरमा पढ्ने मान्छे नहुँदा उनी (मीना) अरुलाई स्वस्थानी कथा सुनाउँथिन्,’ उनले भनिन्, ‘यसपालि हामी सँगै माताको व्रतमा सहभागी भइन् ।’ सबैजना एकै ठाउँमा मिलेर व्रत बस्दा मन शान्त हुने उनी बताउँछिन्।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका उपाध्यक्ष जीवनमान सिंहले परापूर्वकालदेखि यहाँ यसैगरी व्रत बस्ने चलन रहेको बताए । पहिले व्रतालुको संख्या धेरै हुने भए पनि अहिले भने घट्दै गएको उनी बताउँछन् । ‘समयको अभाव, बदलिँदो जीवनशैली र कठिन व्रतका कारण व्रतालुको संख्या घटेको हो,’ उनले भने, ‘जतिजना आउनुभएको छ, उहाँहरूले यो प्राचीन संस्कृतिलाई जीवन्त बनाउन योगदान दिनुभएको छ।’
व्रतको नियम कडा छ । व्रतालुले के खाने, के नखाने भनी तोकिएको छ । व्रत अवधिमा कतिपय वस्तुको नाम समेत लिन पाइँदैन । नुन, माछामासु, मरमसलाको नाम लिन नपाइने नियम बनाइएको छ।
व्रतालुले साँझमा दूध, चामलको भात, चिउरा, घिउ, चाकु, चिनी, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मूला र पाटने पालुंगो मात्र भोजन गर्न पाउँछन् । व्रत बस्नैपर्ने कर नभए पनि रहरले धेरै आउने गर्छन्।
भक्तपुर दत्तात्रयकी नन्दकेशरी नेमाफुल ईश्वरकोे इच्छाले आफूलाई व्रत बस्ने शालीनदीसम्म डोर्याएको बताउँछिन् । व्रतलाई आगामी वर्ष निरन्तरता दिने वा नदिने पनि भगवान्कै हातमा रहेको उनी बताउँछिन् । व्रतका क्रममा विभिन्न मन्दिर तथा क्षेत्रको यात्रा पनि हुने गर्छ । ‘नियम कडा छ भन्ने थाहा छ तर आउन मन लाग्यो,’ उनले भनिन्, ‘यहाँ एकपटक व्रत बस्दा जीवनभर खुसी मिल्छ।’
परदेश यात्रा
व्रतमा सहभागीले विभिन्न मन्दिरमा जाने चलन पनि छ । यसलाई परदेश यात्रा भनिन्छ । यसपालि माघ १ गते साँखुबाट पशुपति गई एक रात बास बस्ने योजनामा छन् उनीहरू । व्रतालु माघ २ गते पशुपतिबाट फर्पिङ पुगी त्यहीँ बास बस्नेछन् । माघ ३ गते फर्पिङबाट साँखु फर्केपछि माघ ६ गते साँखुबाट पनौती जानेछन् । त्यसरात पनौतीमा बास बसी भोलिपल्ट ७ गते साँखु फर्कनेछन् । यसैगरी माघ १३ गते साँखुबाट चाँगुनाराण पुगी एक रात बास बस्ने र भोलिपल्ट साँखु फर्केनेछन्।
हिन्दू धर्मअनुसार आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो भन्ने मान्यता छ । उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास गरिन्छ।
स्वस्थानी व्रतकथाअनुसार सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेकी थिइन् । त्यसपछि उनले महादेव पति पाइन्।
स्वस्थानी व्रतकथामा ब्रह्माण्डको उत्पत्तिदेखि गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको वर्णन समेत स्वस्थानी व्रतकथामा छ।
स्वस्थानी सुरु भएपछि मंगलबारबाटै साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायण मेला पनि लागेको छ । पुस १८ देखि माघ १७ गतेसम्म २५ लाख दर्शनार्थीले सहज रूपमा दर्शन गर्न सक्ने गरी मेलाको तयारी गरिएको समितिले जनाएको छ।
भक्तपुरमा पनि हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला मंगलबारदेखि हनुमानघाटमा सुरु भएको छ।
नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको सो मेलाअन्तर्गत हनुमानघाटमा पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिनाभर व्रत बसिन्छ। नेपाल संवत् ७२२ मा राजा रणजित मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको कुरा त्यसबेलाको शिलालेखमा उल्लेख छ।
प्रकाशित: २२ पुस २०७४ ०९:०९ शनिबार