पुष्कर शाह
संसारकै बलशाली देश संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पर्यटन प्रवद्र्धन गर्न कहिल्यै पनि विज्ञापन गर्दैन । ५० वटा राज्य भएको संयुक्त राज्य अमेरिकामा आन्तरिक पर्यटनले नै उसको पर्यटनको अर्थतन्त्र थेग्छ । नेपाल एउटा १००० किलोमिटर लम्बाई र २०० किलोमिटर चौडाई भएको संसारकै भूस्वर्ग हो । यहाँ धार्मिक, सांस्कृतिक, प्राकृतिक अनेकन पर्यटन गर्न सकिन्छ । सम्भवतः नेपाल संसारकै एउटा यस्तो देश होला जहाँ जनसंख्याभन्दा देउता धेरै छन् । जहाँ घरभन्दा मन्दिर धेरै छन् । जहाँ वर्षभरिका दिनभन्दा चाडपर्व र उत्सब धेरै मनाइन्छन् । नेपालमा पछिल्ला केही वर्षयता आर्थिक विकाससँगै अन्तरिक पर्यटनले गति लिन थालेको छ । भनिन्छ नि, एउटा यात्रा गर्दा एउटा पुस्तक पढे जत्तिकै आनन्द मिल्छ । नेपालजस्तो मुलुकमा पछिल्ला केही वर्षयता आर्थिक विकाससँगै आन्तरिक पर्यटनले गति लिन थालेको महसुस हुन्छ । विशेषगरी पछिल्लो समय नेपाली जीवन स्तरको आर्थिक उन्नतिसँगै उनीहरुमा विभिन्न उद्देश्यका साथ स्वदेश तथा विदेश भ्रमण गर्ने चलनको क्रम बढिरहेको छ । जीवनलाई सधैँ एउटै आयाममा डोर्याइरहनु मात्र पनि जीवन हैन । मानव सभ्यताको विकास पनि यात्राबाटै सुरु भएको छ । मार्कोपोलो, हु यान साङ, कोलम्बसजस्ता डुलुवा यात्रीहरुले संसार यात्रा मात्र गरेनन्, उनीहरुले यात्रा गरिने बाटो पत्ता लगाए । नयाँ देशको पहिचान गरे । एक देशबाट अर्को देशमा व्यापार प्रवद्र्धन पनि गरे ।
जीवन भनेको केवल खेती, जागिर, व्यापार मात्र हैन । जीवन एउटा यात्रा पनि हो ।
नेपालमा हजारौँ वर्षदेखि धार्मिक यात्राको प्रचलन चलिआएको छ । हाम्रा पुर्खाहरु सातु सामल बोकेर स्वदेश लगायत भारतका विभिन्न धार्मिक तीर्थ स्थलहरु भ्रमण गरेको यात्रा कथाहरु सुन्ने गर्छौं । काशीमा श्राद्ध गरेर फर्केका, चारधाम दर्शन गरेर फर्केका, मान सरोवर, कैलाश घुमेर फर्केका बाजेहरुको रोमाञ्चक यात्राकथा नै हामीलाई दन्त्य कथाझैं लाग्थ्यो ।
तर अहिले समय परिवर्तन भइसकेको छ । जापानबाट आमालाई फोन गरेर उड्यो भने जिरीबाट बसमा हिँडेकी आमाभन्दा अगाडि नै काठमाडौँ पुगिन्छ । कहाँ त्यो बाजेको लामो दन्त्य कथाको जीवनयात्रा र कहाँ अहिलेको नाति पुस्ताको कम्प्युटर युगको जीवनयात्रा । नेपालमा धार्मिक पर्यटन सँगसँगै पछिल्लो समय प्राकृतिक पर्यटनको रोमाञ्चक यात्रामा निक्कै उन्नति भइसकेको छ । नेपाल संसारको सबैभन्दा सुन्दर हिरा भएर पनि हामी हिरामाथि टेकेर हिरा खोजिरहेछौँ । संसारका धेरै गोलाद्र्धबाट नेपालका सुन्दर, अति सुन्दर दृश्य अवलोकन गर्न आउने पर्यटकको उल्लेख्य प्रगति हुन सकेको छैन, जति हामी चाहन्थ्यौं । जति यो (नेपाल) संसारकै सुन्दर हिरामाथि संसारकै मान्छेहरु उभिनु पथ्र्यो, त्यति हुन सकेन । यो देख्दा भने मलाई दुःख लाग्छ ।
भनिन्छ नि, एउटा यात्रा गरे बराबर एउटा पुस्तक पढेजस्तै हो । हामीले गर्ने यात्रा लामा, छोटा जे भए पनि कोही कविताजस्ता, कोही उपन्यासजस्ता र कोही कथाजस्ता हुन्छन् । यात्राले मान्छेलाई मानसिक तनावमुक्त गराउँछ र नयाँ ऊर्जा दिन्छ । चाहे त्यो धार्मिक होस् वा प्राकृतिक । पछिल्लो समय युवा पुस्ताहरुमा नेपालका विश्व प्रसिद्ध पद मार्गहरुमा साइकल, पैदल यात्रामा निस्कने रहर बढेको छ । नेपालका प्रत्येक गाउँबाट रोजगारीको सिलसिलामा नेपाली युवाहरु संसारको कुनै न कुनै देश पुगेकै छन् । रेमिट्यान्सले भित्रयाएको आर्थिक उन्नतिसँगै नेपालीहरुको यात्रा गर्ने परम्परा फक्रदैछ, विकास हुँदैछ ।
नेपालीहरुमा हामी पनि यात्रा गर्नुपर्छ भन्ने सोचको विकास हुनुमा सामाजिक सञ्जालको भूमिका अत्यन्त महत्वपूर्ण छ । केही वर्ष अगाडिसम्म रारा पुग्नु भनेको चीनको ल्हासा पुग्नुजत्तिकै मानिन्थ्यो ।
अहिले युवा पुस्ताहरु काठमाडौँदेखि साइकल चढेर त्यहाँ पुग्न थालिसके । सगरमाथा आधार शिविर पुग्नु भनेको सगरमाथाको टुप्पो नै पुग्नुपर्ला जस्तो हुन्थ्यो । अहिले नेपालीहरु पनि उल्लेख्य मात्रमा सगरमाथाको गोरेटोमा भेटिन्छन् । चाहे त्यो कालिन्चोकको टुप्पो होस् या पाथिभराको, चाहे त्यो थोरंगलाको टुप्पो होस् या लुम्बिनीको फाँट, चाहे त्यो खोटाङको हलेँसी महादेव होस् वा जनकपुरको जानकी मन्दिर, पोखराको फेवा फाँटदेखि इलामको चियाबारीसम्म सेल्फी खिच्दै गरेका यात्रीहरु छरपस्ट भेटिन्छन् अचेल । यो सब सामाजिक सञ्जालको उत्कृष्ट देन हो ।
केही वर्ष अगाडि नेदरल्याण्डको एसएनभी भन्ने संस्थाको अगुवाईमा संसारकै सबैभन्दा लामो र उचाईमा रहेको ग्रेट हिमालयन ट्रेलको विकास गरियो । जुन ट्रेल नेपालको सुन्दर पश्चिम दार्चुलादेखि सुदुरपूर्व इलामसम्म १८०० किलोमिटर दुरी पार गर्दा २४ वटा जिल्ला छुन्छ । सन् २०१२ मा आप्पा शेर्पा र उनका टिमले ताप्लेजुङदेखि हिँडेर दार्चुलासम्म त्यो दुरी १०० दिनमा पूरा गरेका थिए । सन् २०१३ मा म र मेरो टिमले त्यही दुरी साइकलमा दार्चुलाबाट इलामसम्म ४५ दिनमा पूरा गरेका थियौं ।
जीवनको हरेक कुराको बोझबाट केही समय मुक्ति लिने र प्रकृतिसँग रमाउँदै त्यसको आनन्द लुट्ने हो भने नेपालजस्तो सानो भूगोलमा जताततै साना सुन्दर हिरा भेटिन्छन् । ग्रेट हिमालयन ट्रेल त संसारकै सबैभन्दा लामो ट्रेल मात्र हैन संसारकै सबैभन्दा लामो प्राकृतिक हिरा पनि हो । त्यो ट्रेलभित्र भेटिने प्राकृतिक सुन्दरताको बयान जति गरे पनि अपूरो हुन्छ । त्यहाँका निश्चल मान्छे र मनहरुसँग दाँैतरी गाँस्दै हिँड्दाको क्षण जति सम्झे पनि अधुरो हुन्छ । साँच्चिकै नेपाल हेर्ने हो भने जीवनमा एउटा छोटो फुर्सद मिलाएर ग्रेट हिमालयन ट्रेलमा अलमलिए हुन्छ । अनि बुझिन्छ प्रकृति, अनि बुझिन्छ जीवन ।
प्रकाशित: २१ कार्तिक २०७४ ०५:२८ मंगलबार