कुमार नगरकोटी
समकालीन नेपाली साहित्यमा फरक शैलीको लेखनमा चिनिएको नाम हो, कुमार नगरकोटी । नगरकोटीका घाटमान्डु, मिस्टिका, अक्षरगन्ज, फोसिल, मोक्षान्त : काठमान्डु फिभर, दोचालगायत पुस्तक प्रकाशित छन्। औपचारिक/अनौपचारिक भेटमा साधुको भेषमा भेटिने नगरकोटीकोे लेखनमा गहन कल्पनाशीलता, मृत्युचिन्तन र एकान्तप्रेमको समिश्रण पाइन्छ ।
तपाईंको हातमा कुन पुस्तक छ ?
टर्किस लेखक ओरान पामुकको लेटेस्ट नोभल ‘दी रेड हेयर्ड वुमन भर्खर सुरु गरेको छु ।
यसपालिको दसैँ–तिहारमा पुस्तक पढ्नुभयो कि भएन ?
झन्डै एक दर्जनजति पुस्तक अध्ययन गरेँ । त्यसमध्ये विदेशी लेखकका सम्झनलायक पुस्तकमा रुपी कौरको मिल्क अफ हनी, केन लिउको दी पेपर मेनाजरी, हारुकी मुराकामीको म्यान विथआउट वुमन, युभल नोह हरारीको होमो डिउस र ओल्ड सिनेमा हुन् । त्यस्तै, नेपाली लेखकमा अर्चना थापाको कथासंग्रह कठपुतला र यज्ञशको भुइयाँ पढेँ ।
मनपर्यो कि परेन ?
विदेशी लेखकका मनपरेका पुस्तक मात्र उल्लेख गरेको हुँ । नेपाली लेखकमा अर्चना थापाको पहिलो कथासंग्रह भए पनि उनले पुस्तकमा आदर्श काम गरेकी छन्, त्यस्तै भुइयाँ पनि मनपर्यो ।
तपाईंको रोजाइमा अंग्रेजी पुस्तक बढी पर्नुको कारण ?
म मात्र होइन, अन्य नेपाली लेखकलाई पनि विदेशी लेखकका समकालीन कृति अध्ययन गर्न आग्रह गर्छु । यसले वर्तमान अवस्थामा विश्वमा कस्ता पुस्तक लेखिएका छन् भनेर थाहा पाउन सकिन्छ र आफूलाई अपडेट गर्न पनि सकिन्छ । लेखकले आफ्नो धरातल बुझ्नका लागि पनि बाहिर हेर्न आवश्यक छ । यसले लेखनमा विविधता र विकल्प खोज्न सघाउँछ।
नेपाली बजारमा लेखक र पुस्तकको अवस्था कस्तो देख्नुहुन्छ ?
विशेषगरी नेपाली साहित्यमा नयाँ–नयाँ लेखक नयाँ–नयाँ विषयवस्तु लिएर आएका छन्, यो सुन्दर पक्ष हो । तर, जति हुनुपर्ने हो, त्यस्तो अहिले पनि छैन । बजारमा संख्यात्मक रूपमा पुस्तक पर्याप्त छन् तर गुणात्मक र विषयवस्तुको विविधता निकै कम छ । हाम्रोमा एक्सपेरिमेन्टको निकै ठूलो अभाव छ । लेखकले जोखिम लिने आँट गर्नुपर्छ । यो आँट नै लेखकको आर्ट (कला) हो।
संख्याका हिसाबले पुस्तक अझै धेरै आउनुपर्छ । यसले पाठकलाई मल्टिपल च्वाइसमा रमाउने अवसर दिन्छ । कसैले गुणस्तरहीन पुस्तक प्रकाशन गर्छ भने पाठकले त्यस्ता लेखकलाई आफैँ पन्छाइदिन सक्छन् । किनभने, अहिलेका पाठक लेखकभन्दा सचेत छ । अझ भन्नुपर्दा नेपाली पाठक लेखकभन्दा बढी अपडेट छन् ।
लेखक तथा साहित्यकारले आफ्ना समकालिकका पुस्तक कम पढ्छन् भनिन्छ, तपाईंको पनि यस्तै अवस्था हो?
तपाईंले ठीक भन्नुभयो । प्रायः लेखकमा यस्तो समस्या देखिन्छ । हामीकहाँ उदार मनको अभाव छ । तर यसमा मेरो फरक दृष्टिकोण छ । म लेखकहरू उदार हुनुपर्छ भन्ने धारणा राख्छु । लेखकले चेतनाको होराइजनलाई अनलिमिट बनाउनुपर्छ । कथित वाद वा विचारको दायराबाट बाहिर निस्कन सक्नुपर्छ । जापानिज लेखक हारुकी मुराकामी, टर्किस लेखक ओरान पामुक, कोरियन लेखक हान काङ मेरा समकालीन हुन् । तर म उनीहरूको पुस्तक पढिरहन्छु ।
हाम्रोमा पुरानैलाई प्राथमिकता दिने चलन छ, मार्खेज, गोर्की, टोल्सटोयभन्दा पछाडि आउन सकिरहेका छैनौँ । हामी समकालीन कम, क्लासिक बढी पढ्ने ढोंगी बन्याैँ ।
पहिले र अहिलेको नेपाली साहित्यमा के परिवर्तन देख्नुहुन्छ ?
हामी अतीत प्रिय छौँ । हामी अहिले पनि देवकोटा, सम, भूपि वरिपरि नै घुमेका छाैँ । जब कि भूपिले लेखेभन्दा धेरै राम्रा कविता विनोदविक्रम केसी र मनु मञ्जिलले लेखिरहेका छन् । नेपाली साहित्यले राम्रो फड्को मारिरहेको छ, तर हामीले त्यसको कदर गरिरहेका छैनौँ ।
नेपाली पुस्तकको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म हुन नसक्नुको कारण के होला ?
यो नेपाली पुस्तकको मात्र समस्या होइन, अंग्रेजीबाहेकका अन्य भाषामा लेखिने पुस्तककै साझा समस्या हो । सबै क्षेत्रमा अंग्रेजी भाषाले डोमिनेन्ट गरिरहेको छ । यसका लागि अनुवाद हुन आवश्यक छ ।
नपढी नहुने पुस्तक ?
मान्छेको स्वभावअनुसार फरक–फरक विषयवस्तु मनपर्ने भएकाले यही पुस्तक पढ्नुपर्छ भन्न गाह्रो छ ।
तपाईंको लेखनमा पात्र चयनमा मौलिकता हुँदैन र एउटै हरफमा सिंगो पुस्तकको भाव समेट्नुहुन्छ भन्ने आरोप लाग्छ नि?
मेरो सबैभन्दा मौलिकता नै पात्र चयनमा हो । तथापि क्याजुअल राइटिङमा भने यस्तो आरोप केही हदसम्म सत्य पनि हो । साहित्य साहित्य मात्र होइन, किताबभित्र कला पनि हुन्छ । पुस्तक पढ्दा भिजुअल दृश्य आउनुपर्छ र विषयवस्तुको अनुभूति हुनुपर्छ । त्यसका लागि रेफरेन्सको प्रयोग धेरै भएको हो ।
तपाईंको प्राथमिकता बजार कि विषय ?
बजारको बालै भएन, त्यो पब्लिसरको कुरा हो । लेखाइबाट बजार क्रियट गर्न सक्नुपर्छ । मेरो प्राथमिकता त्यही हो।
हालसम्म कति पुस्तक पढ्नुभएको छ ?
ठ्याक्कै कति पढियो भनेर भन्न गाह्रो छ ।
प्रस्तुति : वसन्त खड्का
प्रकाशित: १८ कार्तिक २०७४ ०७:१० शनिबार