रामदेवी महर्जन
विहानैदेखि चर्केको घाम, त्यसमाथि सुन्दरीजलको ठाडो उकालो । निधारबाट पसिना छुट्न थाल्यो । हाइकिङको फाइदा यहि त हो, पसिना निस्कन्छ । पसिनासंगै शरीरमा जमेका विकार बाहिरिन्छ । ध्यान दिऔं–जति पसिना निस्कन्छ त्यति नै पानी पिउनु पर्छ नत्र डिहाइड्रेसन हुन सक्छ।
तर, एकैचोटी धेरै पानी पिउनु हुँदैन । प्रति घण्टा एकएक गिलाँस लगभग २५० एमएल पिउनु पर्छ । त्यस्तै दैनिक ३ लिटर पिउनु पर्छ । धेरै गर्मी भएर धेरै पसिना निस्केको अवस्थामा तापक्रम हेरेर अलि बढी पिउन सकिन्छ । त्यसैगरी ठोस आहार र पानीको अन्तर आधादेखि एक घण्टा राख्नु पर्छ । यसरी पिउँदा स्वास्थ्यलाई लाभ हुन्छ।
हिँड्दा खुट्टाका जोर्नीको कसरत भई शरीर बलियो हुन्छ । त्यसैले सके हप्तै पिच्छे नभए महिनाको एकपटक भए पनि स्वच्छ वातावरणयुक्त गाउँघरमा पदयात्रा गर्नु पर्छ । काठमाडौं वरपर धेरै ठाउँ छन् पदयात्रा गर्ने ठाउँहरु।
असोज २८ गने हामी प्रकृतिप्रेमी समूहको १२५ औं हाइकिङमा सुन्दरीजलबाट ठाडो उकालो हुँदै मुलखर्क पुगेका थियौं । असोज महिना चारैतिर खुल्ला, सफा निलो आकाश, अनि हरिया डाँडा । धान काटेपछिका सफा खेतका आलीहरु। बाटैभरि पहेंलपुर फुलहरु।
पदयात्राको सिजन भएकाले बाटैभरी नेपाली/विदेशी पदयात्रीको हुल थियो । हाम्रो पदयात्रा सुन्दरीजल बसपार्कबाट सुरु भयो । सुन्दरीजल (१,४००मिटर) नामैले राम्रा जलहरुको समूह । बागमती नदी वग्ने स्थान । सुन्दरीमाईको मन्दिर भएकाले पनि ठाउँको नाउँ सुन्दरीजल भएको भनाई छ ।
सु्न्दरीजल काठमाडौंबाट उत्तर १५ किमि दुरीमा पर्छ । यो शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको प्रबेशद्वार पनि हो । हरिया जंगल, पानीको मुहान, धेरै झरना । दुध जस्ता सेता झरना । साँच्चै झरना हेर्न टाढा जानै पर्दैन, सुन्दरीजल गए हुन्छ ।
काठमाडौंमा पिउने पानीको प्रमूख जलाधार सुन्दरीजलमै पर्छ । त्यहाँबाट काठमाडौंमा पानी ल्याइएको छ । नेपालको दोस्रो जलविद्युत गृह सुन्दरीजल जलविद्युत पनि यहीँ छ । मेलम्चीको पानी पनि सुरुङमार्ग भएर त्यतैबाट काठमाडौं ल्याइँदै छ।
सुन्दरीजल पिकनिक स्पट पनि हो । त्यहाँ थुप्रै होटल र रेस्टुँरा छन् । त्यहाँका झरनामा क्यानोनिङ खेलाइन्छ । डोरीमा समातेर झर्नामा नुहाउँदै तल झर्ने खेललाई क्यानोनिङ भनिन्छ।
सुन्दरीजलमा सुन्दरीमाइको मन्दिर मात्र होइन, गणेश र कृष्णका मन्दिर पनि छन्। सुन्दरीजल क्षेत्र जैबिक विविधताको भण्डार हो । त्यहाँ करिब २ सय थरी चरा, सय भन्दा बढी प्रजातिका पुतली पाइन्छ । त्यसैगरी जंगलमा भालु, चितुवा, खरायो, वनविरालो बाँदर जस्ता जनावर पनि देखिन्छ।
पदयात्रा गर्नु अघि निकुञ्जको द्वारमा टिकट काट्नु पर्छ । त्यत्तिकै प्रबेश गर्न पाइँदैन, सुरक्षाकर्मीले टिकट नलिएको भेटे कारवाही गर्छन । हल्ला नगरी, जथाभावि फोहर नफयाँकि शान्त ढँगले यात्रा गर्नु पर्छ।
बसपार्कबाट ठाडो सिँढीमा चढ्ने । करिब ३० मिनेट चढेपछि झरनाबाट उडेर आएको चिसो हावा अनुहारमा टाँसिन्छ। दायाँ–बायाँ दुबैतिर दुध जस्ता झरना । ख्याल गरौं–ढुँगामा चढेर फोटो खिच्दा लडिएला।
हाइकिङमा चराको चिरबिर सुनिन्छ । जनावरसँग भेट हुन सक्छ । कालीज, मृग, बँदेल आदि पशुपंछी भेटिन सक्छ। बर्ड वाचिङका लागि पनि यो क्षेत्र राम्रो मानिन्छ । चैत–वैशाखमा ऐंसेलु र चुत्रो खाँदै यात्रा गर्न पाइन्छ।
बाटोमा सैनिक चेक पोस्ट आउँछ । चेकपोस्टबाट अघि बढ्ने । जतिजति उचाई चढ्दै गयो उति शान्त वातावरण । धुवाँ, धुलो र गाडीको कर्कस अवाजबाट टाढा । जताततै हरियाली । वरपर डाँडा एकमाथि अर्को खप्टिएर बसेका । कति सुन्दर प्रकृति!
पदयात्राको नियम अनुसार सबैभन्दा पछाडी म र साथी सरिता थियौं । विस्तारै उकालो चढ्दै जाँदा बाटोमा आराम गरेर बसेकी दिदीलाई भेट्यौं । झट्ट हेर्दा मोटो जिउडालकि । बुझ्दै जाँदा थाहा भयो प्रेसरको पनि समस्या रहेछ उनलाई । हाम्रो समाजमा मोटो घाटोलाई खाइलाग्दो भन्ने चलन छ । वास्तवमा मोटोपनबाटै अरु समस्या आउँछ । त्यसैले उचाई अनुसार तौल ठिक ठाउँमा राख्नु पर्छ।
हामीले दिदीलाई स्याउ खुवाउँदै, छिनछिनमा पानी पिलाउँदै बिस्तारै अघि बढायौै । मोटोपन भएकाहरुले पदयात्रा गर्नै नहुने होइन र गर्नै नसक्ने पनि होइन । तर, तौल बढी भएकाले धेरै हिँडेमा पछि घुँडा दुख्ने लगायत स्वास्थ्य समस्या आउन सक्छ।
करिब तीन घन्टाको ठाडो उहालो पछि मुलखर्क (२,०४५मिटर) पुग्यौं । मुलखर्कबाट चिसोपानी ९ किमि दुरीमा छ । करिब तीन घन्टामा पुग्न सकिन्छ । पहिले पहिले यतैबाट गोसाईकुण्ड पदयात्रा गरिन्थ्यो । हामीले पनि त्यता जाने ठूलै हुल भेट्यौं।
खर्कमा हरियो फाँट । नजिकै चेक पोस्ट । केही वर्ष अघि आउँदा यहाँ सानो पाटी मात्रै थियो, अहिले राम्रो सुरक्षा चेक पोस्ट बनेछ । बाटोमा पर्ने तामाङ बस्तीमा पनि स–साना पसल मात्र थिए, अचेल खाना तथा खाजा खान होटल बनिसकेको रहेछ।
खर्कको चौरमा बसेर खाजा खान सकिन्छ । हामीले पनि त्यही बसेर खाजा खायौं । चौरमा खाजा पसल छैन, त्यहाँभन्दा करिब १० मिनेट मुनि पसल छ । हामीले बोकेर लगेको खाजा खायौं । च्यूरा, दुई थरी हरियो तरकारी र साँधेको आलु । अन्त्यमा सलादस्वरुप स्याउ खायौं । यसरी खाँदा कब्जियत हुँदैन । खाजा पछि केहिबेर अन्तरक्रिया गरेर हामी ओरालो झर्यौं।
पदयात्रामा होस पुर्याएर हिँड्नु पर्छ । उकाली चढ्दा छातीमा अफ्ठेरो नहुने गरी हिँड्नु पर्छ । स्वाँस्वाँ बढेमा बीचबीचमा पानी ब्रेक गर्दै आराम गर्दै हिँड्नु पर्छ भने ओरालो ओर्लिंदा घुँडाको ध्यान पुर्याउनु पर्छ।
दश मिनेट ओरालो झरेपछि अघिकै पसल आउँछ । त्यहाँ दोबाटो छ । दायाँ लागे अघिकै बाटो सुन्दरीजल पुगिन्छ । बायाँ झरे गाउँका दृश्य हेर्दै हिँड्न पाइन्छ । बायाँ लाग्ने । ढुँगा ओच्छाइएको बाटो, दायाँ घना जंगल । पश्चिम दक्षिणमा काठमाडौं उपत्यका देखिन्छ।
पुरै तामाङ बस्ती । बस्तीमा सफा ओछ्याइएको ओरालो, दायाँ बायाँ पसलहरु । पहिला आउँदाको तुलनामा धेरै विकास भएको देखें । गाउँमा पर्यटनको लहर छाएको रहेछ । भुईँचालो पछि यस्तो परिवर्तन आएको स्थानीय बताउँछन् । त्यस लगत्तै पर्यटक पनि बढेका छन् । गाउँमा विकास भएको देखेर धेरै खुशी लाग्यो । यस्तै विकास अरु गाउँमा पनि भए हामी यो अवस्थाबाट चाँडै उठ्न सक्ने थियौं।
त्यहाँबाट डेढ घण्टा ओरालो झरेपछि जंगल आउँछ । बाटो नछोड्ने । दोबाटोहरुमा बायाँ बाटो नछोड्ने । करिब आधा घन्टामा पिकनिक स्पट पुगिन्छ । त्यहाँबाट सिधा ओरालो झर्ने । करिब एक घण्टा हिँडेपछि चेकपोष्ट हुँदै मेलम्ची सुरुङ गेट पुगिन्छ । त्यहाँबाट गाडी चढेर गन्तव्यमा पुग्ने।
सुन्दरीजल माथिको तामाङ बस्तीमा पर्यटनको उज्यालो पुगेको रहेछ । त्यहाँ जस्तै अरु बस्तीमा पनि पर्यटनको उज्यालो पुगोस् । त्यसका लागि हिँड्ने बानी बसाल्नु पर्छ । हामी त पुग्यौं, सुन्दरीजल तपाईहरु पनि जाने होइन त ?
सुन्दरीजललाई आधार बनाएर पदयात्रा गर्न सकिने रुटहरू :
१. सन्दरीजल–पानी मुहान १२ किमि।
२. सुन्दरीजल, मणिचुड–बज्रयोगीनी १७ किमि।
३. सुन्दरीजल तारेभिर–बुढानिलकण्ठ १६ किमि।
४. सुन्दरीजल–चिसोपानी २२ किमि।
कसरी पुग्ने : काठमाडौं–सुन्दरीजल १५ किमि बसमा । सुन्दरीजल बसपार्कबाट मुलखर्क पुग्न २ देखि ३ घण्टा ठाडो उकालो ६ किमि । मूलखर्कबाट मेलम्ची गेट झर्न पनि ३ घण्टा ६ किमि । जम्मा ५ घन्टा । पदयात्रा दुरी १२ किमि।
प्रकाशित: १८ कार्तिक २०७४ ०६:०४ शनिबार