१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्य

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

नेपाली कांग्रेसमा माग र दाबीबीच उम्मेदवारी टुङ्ग्याउन समस्या भएको बेला बाध्यतावश वीरगन्ज महानगरपालिकाको उपमेयरको टिकट पाइन्, ८७ वर्षे शान्ति कार्कीले । पैसाको खोलो बगाइएको भनिएको स्थानीय तह निर्वाचनमा आस्थाको राजनीतिमा ७० वर्ष बिताएकी, समाजिक परिवर्तन र महिलाहरुको आर्थिक समाजिक तथा राजनीतिक उत्थानका लागि उमेर खर्चेकी कार्कीले पैसा खर्चने न सवाल थियो न जोहो । उमेरसँगै छालामा थपिएका अनेक धर्सायुक्त अनुहार, चाउरिएका गाला र परेली अनि दुब्लो ज्यान लिएर टोल टोलमा उनी उपस्थित मात्र भइदिइन् । न हारको भय न जितको लोलुपता उनीसँग थियो । थियो त, मात्र एउटा निश्चल मुस्कान ।
पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुले चिनेकै थिए, ‘शान्ति दिदी’ हुन् भनेर । हात जोड्दै मुसुक्क हाँसेर भन्थिन्, ‘बाबु मलाई पार्टीले उपमेयरको टिकट दिएको छ ।’
‘दिदी तपाईं निश्चित रुपमा जित्नु हुन्छ,’ बटुवाले समेत त्यसो भन्थे । यस्तो सुनेपछि उनी मुसुक्क हाँस्थिन् । आफूले प्रशिक्षित गरेका महिलाहरु हात जोड्दै आउँदा उनी हर्षित भएर अँगालो हाल्थिन्, ‘तिमीले थाहा पायौ ? उपमेरमा म चुनाव लड्दै छु ।’ शुभेच्छा बटुल्दै चिन्ता लिन्थिन्, पार्टीका अन्य उम्मेदवारहरुको । चुनावको तयारी भइरहँदा उनका लागि अलग्गै गाडी वा कार्यकर्ता पार्टीले दिएको थिएन त उनले माग नै गरेकी थिइन् । कांग्रेसको एउटा ब्याच, भोकप्यास लागे झिकेर खान मिल्नेगरी हाते झोलामा बिस्कुट र पानी हुन्थ्यो उनीसँग । कसैले थमाइदिए पार्टीको सानो झण्डा बोक्न उनलाई उत्साह हुन्थ्यो ।
टिकट पाएपछि बुढ्यौली ज्यानमा बढेको फुर्ति लिएर टोलटोलमा हुने चुनावी सभा र घरदैलो मिसिन पुग्थिन्, तन्नेरी पुस्ताको बीचमा सबैभन्दा अग्रज शान्ति कार्की । भारतसँग सीमा जोडिएको र प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका अर्थप्रधान सहर वीरगन्जमा लोकप्रिय मत हासिल गर्दै कार्की उपमेयर विजयी भइन् । उनको नाम विजयी उम्मेदवारका रुपमा घोषित भएपछि उनीसँग मतगणनास्थलमा जाने नेता कोही थिएन । धर्म भाइ विजय उपाध्यायको हात समात्दै उनी मतगणनास्थल ठाकुराम बहुमुखी क्याम्पस पुगिन् । कसैले अबिरको सानो टीका लगाइदियो, कसैले सयपत्री फूलको एउटा माला । प्रमाणपत्र लिएर उनी बाहिरिन् । विजयको खुसीभन्दा मेयरमा पार्टीले पराजय भोगेको पीडा उनको अनुहारमा छरपस्ट थियो ।
अहिले उनी पदभार ग्रहण गरी महानगरपालिकाको उपमेयरको रुपमा काम गर्न थालेकी छन् । कसरी भ्याउँछिन् होला ८७ वर्षीया वृद्धले उपमेयरको जिम्मेवारी भन्नेहरु अहिले उनको फुर्ति र सक्रियता देखेर नाजवाफ भएका छन् । यस पटकको निर्वाचनमा निर्वाचित प्रदेशको सम्भवतः सबैभन्दा पाको जनप्रतिनिधि उनी नै हुन् ।
उनको पातलो र फुर्तिलो ज्यान आजीवन सक्रिय रहिआएको हो । राजनीतिमा होमिएकी अविवाहित कार्कीको उमेर नै विभिन्न सभा, गोष्ठी, धर्ना, प्रदर्शन र सामाजिक कार्यमा बितेको हो । किशोर अवस्थादेखि राजनीतिमा होमिएकी उनको स्मरणमा एउटा सिंगै इतिहास जीवित छ । गणेशमान सिंह, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला आदि कांग्रेसका सबै ठूला नेताहरुसँग उनले विभिन्न आन्दोलन र राजनीतिक सन्दर्भहरुमा काम गर्ने मौका पाएकी छन् । खासगरी प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरु भागेर भारत जाने क्रममा उनीहरुलाई वीरगन्ज भएर सुरक्षित रुपमा सीमापारि पु¥याउने अभिभारा कार्कीले होसियारीसाथ पूरा गर्थिन् । दलहरुमाथि प्रतिबन्ध लगाइएको अवस्थामा पटक पटक गरी १० वर्ष जेल जीवन पनि बिताएकी छन् ।
ललितपुरको कुपण्डोल बस्दै आएको धनुषाको खजुरी महुवाको कार्की परिवारमा जन्मेकी छोरी हुन् कार्की । विराटनगरबाट उनले माध्यमिक परीक्षा (एसएलसी) उत्तीर्ण गरिन् । त्यतिबेलै कांग्रेस पार्टीसँग नजिक रहेकी उनी पढाइकै क्रममा भातृसंस्था महिला संघमा आबद्ध हुन पुगिन् ।
आर्थिक, समाजिक र राजनीतिक रुपमा महिलाको अवस्था कमजोर हुनुका पछाडि देशको शासन व्यवस्था मुख्य कारक थियो । प्रजातन्त्रमा मात्र महिलाको अधिकारको बहाली सम्भव रहेको उनले ठम्याइन् र महिला संघमार्फत राजनीतिमा होमिदै वीरगन्जलाई कर्मथलो बनाई पूर्णकालीन कार्यकर्ता बनिन् । १५÷१६ वर्षको किशोर अवस्थामा उनी वीरगन्ज छिरेकी थिइन् । त्यतिबेलाकी शान्ति बहिनी अहिले सबैको शान्ति दिदी बनिसकेकी छन् । कांग्रेसका पर्सा जिल्ला सभापति पूर्वसांसद अजय द्विवेदीलाई उनले अजय बाबु भन्छिन् । जिल्लाका नेता कांग्रेस पर्साका पूर्व सभापति सांसद राजेन्द्रबहादुर अमात्य पार्टी पंक्तिका धेरैका लागि ‘दाजु’ हुन् तर नेतृ कार्कीका लागि ‘राजु’ हुन् । अहिले जिल्लाका र जिल्लाबाट केन्द्रीय समिति र संसद्मा प्रतिनिधित्व गर्ने सबै नेताहरुभन्दा उनी अग्रज हुन् ।
घुम्टो त्यागेर राजनीति र समाजको सार्वजनिक विषयहरुमा महिला सहभागिता बढाउन उनीहरुलाई संगठित र सक्रिय पार्ने अभियान कुनै बेला सञ्चालन गरेकी शान्ति कुनै बेला यस भेगमा एकल महिलालाई रातो टीका लगाइदिएर सामान्य जीवनमा फर्कने प्रेरणा दिने अभियन्तासमेत हुन् । सामूहिक ब्रतबन्ध जस्तो मितव्ययी कार्यक्रमको सुरुवात गर्ने श्रेय पनि उनलाई नै जान्छ । नाचगानसहित प्रतियोगितात्मक तीज कार्यक्रमको वीरगन्जमा थालनी उनले नै गरेकी हुन् । महिलालाई एकआपसमा जोड्ने, भेला गराइदिने र भलाकुसारीको मौका बनाइदिने एउटा पनि अवसर उनले छोडिनन् ।
उमेर सोध्दा उनी भन्छिन्, ‘उमेर त गइसक्यो बाबु, ८७ कटेर ८८ मा लागेकी छु । वीरगञ्ज आउँदा १५ बर्ष जतिको थिएँ होला । अहिलेको जस्तो केही कुरा थिएन यहाँ । विकास नभएको सानो ठाउँ थियो यो । उतिबेला राजनीतिमा लाग्न एउटा संगठनमा आबद्ध हुनुपथ्र्यो । म महिला संघमा लागेँ । मंगला (गणेशमान पत्नी) भाउजूको नेतृत्वमा हामीले यहाँ धेरै काम गर्ने प्रयास ग¥यौँ । उपत्यकाबाहिर महिला संगठन बन्न सकेको थिएन, हामीले यता भट्टराईजी (कृष्णप्रसाद भट्टराई)मार्फत पार्टीकै सदस्यता बाँडेर महिलाहरुलाई संगठित गर्न सुरु ग¥यौँ,’ कार्कीले सम्झिन्, ‘हामीले आन्दोलन गरिरहेका थियौं । मुख्य रुपमा रुढीबादी विरुद्ध चेतनाका लागि काम गरिरहेका थियौँ । तराईमा समाजिक प्रथाले गर्दा काम गर्न गाह्रो थियो । विधवा महिलाहरुको लागि हामीले अभियान चलायौं । अब भने बिहे नै नभएका एकल महिलाहरुको पक्षमा केही सोच बनाएकी छु । म निर्वाचित भएर आएँ, अब त्यसमा म काम गर्छु ।’
    उमेर कटिसके पनि जोश र सोच भने तन्नेरी नै छ । उनी भन्छिन्, ‘मेरो जीवन नै समाजसेवामा बित्यो, बाँकी जीवन पनि महानगरबासीको सेवा गरेरै बिताउने छु ।’ बिहान हल्का खाजा खाएर कार्यक्रमहरुमा निस्कने उनी दिउँसोको थोरै खाना खाएर केहीबेर ओछ्यानमा ढल्किने अनि साँझ काममा निस्कने उनको दिनाचर्या उपमेयर जितेपछि पनि कायम छ ।
    पदका लागि कहिले पनि उनले पार्टीमा लालसा देखाइनन् । यसपालि उपमेयरको टिकट पार्टीले दिएपछि त्यसलाई जिम्मेवारीका रुपमा लिई चुनावमा होमिइन् । टिकट कसरी उनको हातमा आइपुग्यो भन्ने बेग्लै कथा छ । कांग्रेस पार्टीले बलियो उम्मेदवारको खोजीमा जिल्ला सभापति द्विवेदीलाई अघि सारेपछि कुनै विरोध भएन । द्विवेदी र अरु नेताहरु जातीय तथा सामुदायिक सन्तुलन मिलाउने गरी उपमेयर उम्मेदवार ल्याउन खोजेका थिए । केन्द्रीय सदस्य रमेश रिजालले पुराना कांग्रेसीकी छोरी र पार्टी सदस्य नभकी नयाँ अनुहार प्रियंका केशरीलाई टिकट दिलाउन कम्मर कसेर लागेका थिए । केही यसको विरोधमा थियो । कुरो बाझिन थालेपछि अन्ततः निविर्वाद भनेर कार्कीको नाम अघि सारियो । कांग्रेस नेता रिजालले अन्तिमसम्म कार्कीको टिकट उडाउन प्रयास गरिरहे । सफलता पाएनन् किनभने कार्की टिकटको निर्णय गर्नेहरुभन्दा पनि अग्रज कांग्रेसी थिइन् ।
यसरी टिकट उनको हातमा आयो र चुनाव जितिन् । महानगरपालिकाको समग्र विकास आफ्नो एजेन्डा भए पनि महिला, दलित र बालबालिकाको शिक्षा र आम मानिसमा चेतनाको स्तर बढाउन विशेष काम गर्ने उनी बताउँछिन् । ‘मैले बुझेको कुरा हो, महिला विभेदमा छन्,’ उनले भनिन्, ‘पुरुषहरुमा चेतनाको कमी छ, दलितहरुसँग फरक व्यवहार छ किनभने अरुहरु चेतनशील छैनन् । उनको नजरमा अधिकार नपाएकाहरु जागेर मात्र नहुने रहेछ । अधिकारमाथि थिचोमिचोमा पर्नेहरु पनि चेत्नु जरुरी छ । यस किसिमको फर्मुलाले समाजका विभिन्न वर्ग र समुदायलाई संघर्षमा लैजाँदैन, समन्वयतिर डो¥याउँछ भन्ने उनको विश्वास छ ।
दाइजो प्रथा हटाउने काम उनको प्राथमिकतामा छ । उम्मेदवारी दिएदेखि जितेसम्म धेरैको ध्यान उनले खिँचेकी छन् । अन्तर्वार्ताका लागि सञ्चारकर्मीहरुको फोन आइरहन्छ । वीरगन्जमा उनी धर्म भाइ विजय उपाध्यायको घरमा बस्छिन् । दिदी शान्ति उपमेयर भएयता पेसाले कानुन व्यवसायी भाइ उपाध्यायलाई पनि फोन उठाउन भ्याई नभ्याई छ । कार्कीका भेटघाटका कार्यक्रम भने प्रायः गहवामाई मन्दिरको अतिथि सदनमा हुने गरेको छ । वीरगन्जले आकार ठूलो पार्दै लगेको उनले आफ्नै आँखाले देखेकी छन् । ‘विकास त भयो तर अधकल्चो, अव्यवस्थित छ, त्यसलाई दुरुस्त पार्नु छ,’ कार्कीले आगामी योजना सुनाइन्, ‘वीरगन्जमा विकासका लागि एउटा परियोजना पनि चलिरहेको छ । त्यसबारेमा मेयर साहेब र मलाई राखेर त्यसका कर्मचारीहरुले प्रस्तुति देखाउनु भएको छ, ढल निकासमा त्यसले राम्रो गर्ला । सडक फराकिलो बनाउने र मुख्य सडकमा निकासका लागि टोलटोलको सडकको सुधार गर्नु पर्ने जरुरी देखेकी छु ।’
उनी भन्छिन्, ‘जादुको छडी कसैसँग छैन तर विकास भने भएरै छाड्छ ।’
वीरगन्जमा उनले सुरुमा देखेको समाजिक अवस्था र अहिलेकोमा धेरै फरक आइसकेको उनको ठम्याइ छ । ‘महिलाहरुमा समाजिक चेतना आएको छ तर उनीहरुमा हिम्मत छैन,’ कार्कीले भनिन्, ‘एक दिन त्यसमा पनि परिवर्तन आउला ।’ मधेस आन्दोलनले यहाँको सामाजिक सौहाद्र्ध बिथोलिएको उनलाई लागेको छैन । ‘मधेसी–पहाडी भन्ने भावना मलाई परेको भोटकै आधारमा भन्नुपर्दा परेको छैन, केही अंश भए पनि मधेसी–पहाडी भन्ने कुरा त्यति छैन । नातावाद, कृपावाद र जातिवाद भन्ने हटेको छैन तर एक दिन यो कुरा पनि हट्ला किनभने तपाईंहामीजस्ता मान्छे लागेका छौं ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १३ कार्तिक २०७४ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App