३० असार २०७७ मंगलबार
अन्य

वाम हो, वाम होइन

गएको हप्तादेखि राजनीतिमा एउटै कुराको चर्चा छ– वाम एकता । जहाँ गए पनि वाम एकताकै कुरा । वाम एकता देशमा यसरी चर्चामा आएको छ, मानौँ गएको दुई हप्तादेखि देशमा वाम एकताबाहेक अरु केही भएकै छैन । भएकै छैन के भनौँ, केही सानातिना घटना भएका छन् । तर, वाम एकताको सामु त्यो कुनै उल्लेखनीय घटना होइन । जस्तो कि राजधानीमा दिनदहाडै एक निर्माण व्यवसायीको हत्या भयो । त्यो कुनै ठूलो घटना होइन, खासगरी वाम एकताको सामु । कमल थापा पनि देउवाको सरकारमा आउने भए, यो पनि कुनै ठूलो घटना होइन, वाम एकता सामु ।

आफूमा अलिकति बढी वामपन्थ आउनेबित्तिकै अरुलाई दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादी देखिहाल्छन् । अनि, त्यस्ता दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादीसँग बस्न सक्दैनन् । र, छुट्टिएर अर्को पार्टी खोलिहाल्छन् । जो जति धेरैपटक फुटेको छ, त्यो त्यति नै असली वामपन्थी हो ।

वाम एकताजस्तो महŒवपूर्ण घटना भइरहेकै अवस्थामा केही बुद्धिजीवीले यो वाम एकताको कडा आलोचना गरेको पनि पाइयो । उनीहरूको तर्क रहेछ, यो कुनै वाम एकता होइन । किनभने एकता गर्ने तीन पार्टी जो छन्, उनीहरू वामपन्थी नै होइनन् । जो वामपन्थी नै होइनन्, उनीहरूको एकतालाई कसरी वाम एकता भन्ने ?
अहिले विवाद यतातिर आएको छ । यथार्थमा यो विवाद गरिरहनपर्ने विषय भने होइन । किनभने अहिले एकता गर्ने तीन पार्टी वामपन्थी होइनन् भन्ने कुरो त उनीहरूले एकता गरेबाटै थाहा भइसक्यो नि । वास्तवमा उनीहरू वामपन्थी नभएकै कारण यो एकता सम्भव भएको हो । वामपन्थी भएको भए यस्तो एकता हुन्थ्यो ? यो पार्टी एकता हुनु नै उनीहरू वामपन्थी नहुनुको प्रमाण हो ।
वामपन्थीको एकता र विभाजनको परम्परा हेर्नुस् । वामपन्थी वामपन्थी रहुन्जेल एकता हुँदैन । जब वामपन्थ त्यागेर अन्तको पन्थ समाउँछ, तब एकता हुन्छ । अहिले पनि त्यही भएको हो । जबसम्म उनीहरू वामपन्थी रहे, तबसम्म एकता सम्भव भएन । अब वामपन्थी रहेन, तब एकता पनि सम्भव भयो ।
नेपालमा वामपन्थीको इतिहास भनेकै फुटको इतिहास हो पनि भनिन्छ । विज्ञ इतिहासविद् त यही भन्छन् । नेपालमा वामपन्थीले अहिलेसम्म केही गरेको छ भने यही फुट्ने काम मात्रै गरेको छ । जतिजति उनीहरू वामपन्थी हुन्छन्, त्यतित्यति नै बढी फुट्ने गर्छन् । आफूमा अलिकति बढी वामपन्थ आउनेबित्तिकै अरुलाई दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादी देखिहाल्छन् । अनि, त्यस्ता दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादीसँग बस्न सक्दैनन् । र, छुट्टिएर अर्को पार्टी खोलिहाल्छन् । जो जति धेरैपटक फुटेको छ, त्यो त्यति नै असली वामपन्थी हो । अहिलेसम्म नेपाली वामपन्थमा भएकै यही हो । अनि यही नै नेपाली वामपन्थीको इतिहास हो ।
तर अहिले एकता गरेका एमाले र माओवादीलाई हेर्नुस् । उनीहरू आफ्नो इतिहास बिर्सेर एकता गरिरहेका छन् । जसले आफ्नो इतिहास बिर्सन्छ, उसले आफ्नो देश पनि बिर्सन्छ । जसले आफ्नो देशै बिर्सन्छ, त्यसलाई कसरी वामपन्थी भन्ने ? वास्तवमा आफ्नो इतिहास बिर्सेकै कारण उनीहरू वामपन्थी होइनन् भन्ने पुष्टि हुन्छ ।
उनीहरू वामपन्थी होइनन् भनेर पुष्टि गर्ने अरु पनि केही प्रमाण छन् । जस्तो, उनीहरू वामपन्थी भएको भए एकता गर्न बहस चलाउनैपर्ने केही मौलिक विषय छन्, जसमा सहमति नगरी वामपन्थीहरूको कुरै अघि बढाउन सकिँदैन । जस्तो कि, चीन समाजवादी देश हो कि साम्यवादी देश हो ? यसमा बहस हुनैपर्छ । यदि यसमा कुरा बाझियो भने एकता हुँदैन । त्यस्तै, भारत साम्राज्यवादी मुलुक हो कि विस्तारवादी मुलुक ? यसमा पनि मतैक्य हुनुपर्छ । नभए एकतै हुँदैन । क्युबाले अमेरिकासँग सम्बन्ध बढाएको ठीक हो कि गलत ? पेरुका कम्युनिस्ट नेता गोन्जालो जेलमै बस्नुपर्छ कि बाहिर निस्कनुपर्छ ? उत्तर कोरियाले क्षेप्यास्त्र हान्दा पश्चिमतिर हान्नुपथ्र्यो कि दक्षिणतिर हान्नुपथ्र्यो ? यी जम्मै कुरामा मत मिल्नैपर्छ । मत मिलेन भने एकता पनि मिल्दैन ।
बरु नेपालको आफ्नै विषयमा भने कुरा मिले पनि ठीक छ, नमिले पनि ठीक छ । नेपालका कम्युनिस्ट नेपालकै कुरालाई लिएर विभाजित हुँदैनन् । विदेशको कुरालाई लिएर विभाजित भइदिन्छन् । अहिले यस्तो कुनै पनि विषयमा बहस भएन । न चीनको कुरा उठ्यो, न भारतको । कसरी उठ्नु ? कम्युनिस्ट भए पो उठ्नु !
अर्को प्रमाण हो, डा. बाबुराम भट्टराई । उहाँले त वामपन्थ नै छोडिसक्नुभएको थियो । उहाँ आफूलाई वामपन्थी भन्न रुचाउनु हुन्न । वामपन्थीको ठाउँमा नयाँपन्थी भन्न उहाँलाई बरु मन लाग्छ । यो नयाँपन्थी पनि यही एकीकरणमा मिसिन आयो । वामपन्थी नै भएको भए उहाँ किन आउनुहुन्थ्यो ? वामपन्थी पार्टी त्याग गरी पूर्णरूपमा अवामपन्थी बनिसकेको मान्छे फेरि वामपन्थमै फर्कन्छ ? खोलो फर्केको कहिल्यै देख्नुभएको छ ? खोलो फर्किंदैन भने बाबुराम किन फर्किनुहुन्छ ?
जेहोस्, यो एकीकरणबाट अरुले केही नपाए पनि बाबुराम र प्रचण्डले भने धेरै कुरा पाएका छन् । बाबुरामले त जीवन दानै पाएभन्दा पनि हुन्छ । प्रचण्डले ४० प्रतिशत पाए । बरु एमालेले चाहिँ के पायो ? यो पार्टी एकीकरणबाट एमालेले के पाएको छ ?
एमालेकै एकजना चल्तापूर्जा नेतालाई यो प्रश्न राखेको थिएँ । जवाफ आयो, ‘करिश्मा मानन्धर पायो नि ! करिश्मा मानन्धर पहिले नयाँ शक्तिकी मात्र हुनुहुन्थ्यो । अब एमालेकी पनि हुनुभयो ।’ यो एकीकरणबाट एमालेले पाएको सबैभन्दा ठूलो उपलब्धि सायद यही हो । छ अर्को उपलब्धि ?

प्रकाशित: २८ आश्विन २०७४ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App