२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

दशैंको स्मृतिबिम्ब

 टीकाराम उदासी

मानिसको जीवन अनुभवको घामछाँया हो । यो जीवनभित्र सुख र दुःख दुबैको सहअस्तित्व छ । मानिसको भविष्ययात्रा अनिश्चित भएपनि विगतको स्मृति र वर्तमानको अनुभूति भने यथावत् नै छ । अझ उमेर बढ्दै जाँदा पुराना दिनहरु सम्झनाका अनेक पत्रहरु बनेर अगाडि आइपुग्छन् कहिले आँखाभरिभरि भएर, कहिले मनभरिभरि भएर । यी सम्झनाका बिम्बहरु पनि समय, घटना र सन्दर्भ सापेक्ष हुँदा रहेछन् । अहिले दशैं सम्झनाका यी हरफहरु लेखिरहँदा मलाई यस्तै अनुभव भइरहेको छ । 
जब हरेक वर्ष नेपालीहरुको घरआँगनमा घुमिफिरी दशैं आउन थाल्छ, तब मलाई दशैका पुराना सम्झनाहरुले सताउँन थाल्छन् । खासगरी बाल्यकालका दशै अनुभवहरुले मलाई घेर्न थाल्छन् । यसपल्ट म तिनै दशै अनुभवमाथि केही हरफहरु लेख्न थालेको छु ।
हामी सपरिवार चौतीस वर्षअघि रोल्पाबाट बसाइँ सरेर दाङ आएका हौँ २०४० सालमा । त्यसपछि म एकपल्ट मात्र रोल्पा पगेको छु सदरमुकाम लिवाङमा २०६२ सालतिर । त्यतिबेला पनि एकदिन लिवाङमा भएको साहित्यिक कार्यक्रम सकेर म फर्किएको हुँ । सायद विडम्वना र संयोग दुबै नै मान्नुपर्छ कि म चौतीस वर्षयता आफू जन्मेको ठाँउमा पनि पुनः पुग्न सकेको छैन अथवा पुग्ने अवसर नै पाएको छैन । पहिले पढाइलेखाइको बहाना, अहिले घरगृहस्थी र जागिरको चक्कर । त्यस्तै चारैतिरका यी सामाजिक जीवन र नानाथरिका झन्झट । रोल्पा र दाङ जोडिएका जिल्ला, अझ जाऊँ त भन्ने हो भने छ सात घण्टाको बाटो । तर अझै त्यो साइत जुरेको छैन । 
रोल्पा जिल्लामा दुईवटा गर्पा गाँउ छन् । एउटा पश्चिम रोल्पामा पर्ने जुगाँरतिरको गर्पा गाँउ अनि अर्को चाँहि सदरमुकाम लिवाङसँगै जोडिएको गर्पा गाँउ । केही समयअघि त्यो ह्वामा गाँउ विकास समितिमा थियो, अहिले लिवाङ नगरपालिकाभित्रै पर्दछ । हो, मेरो गर्पा गाँउ लिवाङसँगै जोडिएको गर्पा हो । सायद त्यहाँबाट लिवाङ बजार आइपुग्न हिडेर एक घण्टा पनि मुस्किलले लाग्छ होला ।
मैले तीन कक्षासम्मको शिक्षा गर्पामै लिएको हँु । अहिले पनि गर्पाको स्कुलमा पाँच कक्षाभन्दा बढीको पढाइ हुँदैन भन्ने सुनेको छु मैले । सायद बत्तीमुनिको अँध्यारो भनेको यही नै हुनुपर्छ । यता लिवाङ बजारबाट हेर्दा भिरालो पाखोजस्तो मात्रै देखापर्ने गर्पा लिवाङ पश्चिमको रेउघाबाट भने अलि बढी देखिन्छ ।  उता पुगेपछि भने यो गाँउ अति सुन्दर र रमाइलो छ । सबैभन्दा माथि स्कुल, तमारी गाँउ जाने बाटोनिरै । त्यसपछि लहरै मिलेका घरहरुले बनेको कामी (सुनार र विश्वकर्मा) हरुको बस्ती । थोरै तल बैजाली बुढा मगरहरुको लहरै मिलेका घर । लिवाङ आउने बाटाछेऊमै दुईचार घर दमाइहरुका, नजिकै बाटोमा पानी पधेँरा । गाउँको उत्तरतर्फ थापाडेरा अर्थात् थापा मगरहरुको टोल । उत्तर लाग्ने बाटोमुनि गाँउलेहरुको पानीपधेँरो । पानीपधेँरामा थिए त्यतिबेला केही ओखरका बोट, बैसका रुख  र केही थान बिसाउनीहरु । थिए वस्तुभाउले पानी खाने एकदुई पोखरी र खोल्साखाल्सी अनि भीरपाखाहरु । तलतिर एकनासले बगिरहेको हुन्थ्यो फाल्जाखोला । पारि देखिन्थ्यो गडपारि भनिने पाखो । यता बैजाली बुढाहरुको घर सकिएसँगै सुरु हुन्थ्यो सन्चीडेरा । त्यहाँ केही घर गिरीहरु बस्थे र पुछारमा थियो गैपुगैरा । गैपुगैरामा बस्थे बुढा मगरहरु । यसरी बनेको गर्पा गाँउको ठिक दक्षिणतिर भीर र जंगल छ । सिधैँ तल धाङ्सी खोला बगिरहेको छ हतारहतारमा माडीखोलामा मिसिन । मेरो आँखामा अझैसम्म पनि रहिरहेको गर्पा गाँउको सालाखाला बिम्ब यही हो । 
गर्पा गाँउमा दशैतिहार आँउदा उल्साह भरिन्थ्यो सबैतिर । बिदेश गएकाहरु घर फर्कन्थे । आउन नपाएकाहरुले पत्र पठाउँथे एकपल्ट यस्तै भयो, अर्को साल आँउछु भनेर । केटाकेटीहरु रमाउँथ्यौ । त्यतिबेलाको बिदेश भन्नु भारत नै थियो र भारत पुगर फर्कनेहरुलाई लाहुरबाट फर्केको भन्ने चलन थियो । गाँउका केही युवाहरु भारतीय सैनिकमा पनि कार्यरत थिए । हाम्रा कान्छा बुबा नै भारतीय सैनिक हुनुहुन्थ्यो भने छिमेकी रोकाका चार भाइ छोरा नै भारतीय सेनामा थिए । लाहुरेहरु आउँदा गोली मिठाई वा गुड (भेली) लिएर आउँथे । हामी केटाकेटीलाई त्यत्ति भए पुग्यो । 


पञ्चायती व्यवस्थाको समय । हामी सानो छँदा गर्पा गाउँमा थिए एउटा मुखिया र एकजना घाउडा । मुखिया थिए हाम्रै बाजे पर्ने । उनको नाम थियो लालसिंङ । यताउता गाँउका मानिसहरु उनलाई गर्पाली लालसिङ मुखिया भन्थे । उनी पनि हामीजस्तै बैजाली बुढा मगर थिए अथवा हामी गोत्यार थियौँ । हाम्रै बुबा हुनुहुन्थ्यो घाउडा । मुखिया र घाउडाहरुले के काम गर्थे भन्ने कुरा हामी साना केटाकेटीहरुको चासोको विषय थिएन । मुखिया र घाउडाको घरमा दशै विशेष हुन्थ्यो । 


हामी छँदासम्म गर्पा गाँउमा सबै घरहरु ढुङ्गाका थिए । ती घरहरु खरले छाइएका हुन्थे । कान्छा बुबाहरुको घरमा स्लेट ढुङ्गाले छाइएको थियो । अरु दुईचार घरहरु पनि स्लेट ढुङ्गाले छाइएका थिए । सिमेन्टबाट बनेका घरहरु एउटा पनि थिएनन्  । सबै घरमा भुइँतला गाईवस्तु बाँधन्थे अनि माथिल्लो तलामा मानिसहरु बस्थे । भर्याङ सबैको बाहिरबाटै हुन्थ्यो । दशैं शुरु हुनुअघि गाँउका घरहरु पोतिन्थे, रातो माटोले  र सेतो कमेरो माटोले पनि । गाँउ नै रङ्गीचङ्गी देखिन्थ्यो नयाँ दुलही सिंँगारिएजस्तै । 
 कान्छा बुबा र हाम्रा घरका बीचमा साझा आँगन थियो । माथितिर कान्छा बुबाको घर अनि  तलतिर हाम्रो घर । कान्छा बुबाको घरको पूर्वतिर साँजको ठूलै रुख थियो, अलिपर दारिम र भिमलका केही रुखहरु थिए । ढिकतिर उहाँको र हाम्रो अलगअलग उरिमहरु थिए अन्नपात राख्ने । हाम्रो गोठ घरको छेउमै थियो, जहाँ तल वस्तुभाउ बाध्ँने र माथिको तलमा अनाजहरु थन्काउने काम  हुन्थ्यो । 
हाम्रै घरमा ढिँकी थियो । त्यसमा धान कुट्ने काम हुन्थ्यो, रोटी बनाउने पिठोका लागि चाँखी (जातो) पिस्ने काम पनि हुन्थ्यो । मालुका पातहरुको जोहो गरिन्थ्यो टपरीका लागि । महिना दिनअघि देखि नै दशैको सुरसार चल्थ्यो । घरघरमा दशैका जमराहरु पनि राखिन्थ्यो । मगर गाँउ भएकाले घरघरमा जाँड र रक्सीहरु बनाउने काम पनि हुन्थ्यो । 
फूलपातीका दिन । घर पोत्ने काम हुन्थ्यो । गाँउमा खसीबोकाहरु काटिन्थे । गाँउमा राँगाभैसीहरु काटिन्थे । त्यसका लागि अन्य गाँउमा गएर पनि व्यवस्था गरिन्थ्यो । घरघरमा मासुभात पाक्थ्यो अनि भारमा सुकुटीहरु झुण्डिन्थे । हाम्रा घरमा पनि धेरै सुकुटीहरु बन्थ्यो दशैँमा । दशैको टीकाको दिन । हामीले नयाँ कपडाहरु लगाउँथ्यो । बिहानै हामीले टीका लगाउँथ्यौ । सबैभन्दा पहिले बाजेले लगाइदिनुहु्न्थो । त्यसपछि बुबाले अनि अरु अग्रजहरुले । टिकापछि पैसा दिनु हुन्थ्यो तर खर्च गनेै कुनै ठाँउ नै थिएन त्यतिबेला । हामीले आमालाई पैसा राख्न दिन्थ्यौँ । 
दशैंको दिनभरि मानिसहरु आफ्ना घरघरमै परिवार र आफन्तहरुलाई टिका तथा आशीर्वाद ग्रहणमै समय खर्च गर्थे । जब साँझ पथ्र्यो । त्यसपछि शुरु हुन्थ्यो हाम्रा घरमा नाँचगान र टीका थाप्नेहरुको लर्को । गर्पादेखि तमारी गाँउसम्मका मानिसहरु मुखिया र घाउडाका घरभरि हुन्थे । कोही मुखिया बाजेका घरमा हुन्थे कोही हाम्रा घरमा । तमारी गाँउमा केही बुढाथोकी क्षेत्रीबाहेक पूरै डाँगी क्षेत्रीहरुको बसोबास थियो । सायद अहिले पनि त्यस्तै नै होला । डाँगीहरुसँग हाम्रो मितेरी साइनो थियो । हाम्रा बुबाले डाँगीसँग मित लगाउनु भएको थियो । मितबुबा इन्डियन आर्मी हुनुहुन्थ्यो । अहिले मितबुबा र  बुबा दुबै यस धर्तीमा हुनुहुन्न । 
घरभित्र र घरबाहिर सबैतिर गाँउलेहरुको भीड हुन्थ्यो । घरको तल्लो तलामा गाईभैसी बाँध्ने गरिन्थ्यो, माथिल्लो तला जान बाहिरबाटै ढुङ्गामाटोको भर्याङ थियो । बाहिर रातभर जाग्राम बसेर गाँउलेहर नाच गरिरहेका हुन्थे, भित्र रातभरजसो टिकाग्रहण चलिरहेकै हुन्थ्यो । रोचक कुरा त के थियो भने टीका लगाउन आउने सबैले उपहार पनि सँगै लिएर आएका हुन्थे । उपहारमा हुन्थ्यो माना वा आधा माना जति चामल, ढिके नूनको एकदुई टुक्रा अनि दुईचारवटा राँगाको सुकुटी (भुत्रा) । पहिलो दिन बोरामा त्यत्तिकै खनाइएको हुन्थ्यो । अर्को दिन ती सबैलाई छुट्याएर अलग अलग भाँडामा राखिन्थ्यो । हामीले त्यसलाई धेरै दिनसम्म पनि खान्थ्यौैं । यसरी सानामा दशैं निकै रमाइलो हुन्थ्यो । जब दाङ झरियो । पहाडको त्यो दशैपन रहेन । बुबाहरुलाई बसाइँ सर्नेै भूत चढेपछि जग्गा खोज्न दाङदेखि नेपालगन्जसम्म हिड्नु भयो । अन्ततः दाङमा जग्गा किन्नु भयो । शुरुमा बोई र आमाहरुले बसाइँ सर्न मान्नु भएको थिएन तर बुबाको जिद्दीका अगाडि उहाँहरुको केही सिप लागेन । 

कान्छा बुबाहरुले हामीभन्दा एक वर्षअघि बसाइँ सर्नु भयो दाङको हलवार खाद्रेमा । हामीह अर्को साल आयौँ दाङको अघरामा । उहाँहरु तुल्सीपुर बजारको छेऊमा, हामी घोराही बजारको छेऊमा, बीस बाइस किलोमिटर टाढा । एक वर्ष हामी तीन दाजुभाइहरु दशैमा बाजेसँग टीका लगाउन खाद्रे जानुपर्ने भयो किनभने बुबा रोल्पा जानु भएको थियो । हामी बिहान अलि चाँडै खाना खाएर अघराबाट निस्कियौँ । यात्रमा थियौ ठूल्दाइ, माहिला दाइ र म तीनजना । घरबाट खेतको बाटो हुँदै हामी घोराही सर्रा चोमा पुग्यौं । केही समय कुर्दा पनि घोराहीबाट तुल्सीपुर जानो बस भेटिएन । बाटोमा गाडी पाएपछि चढ्ने विचारले हामी तीन भाइ मोटरबाटो भएरै पैदल हिड्यौ, हिडिरह्यौ तर साँझ पर्दासम्म पनि घोराहीबाट कुनै गाडी तुल्सीपुरका लागि गुडेको भेटिएन । हामी पैदल नै खाद्रे पुग्यौँ । हामी त्यहा पुग्दा रात धेरै परिसकेको थियो । हामी पुगेपछि बाजेबोईहरु निकै खुसी हुनुभयो । टीका ग्रहण र खानपान चल्यो । दुईतीन दिन जति बसेर फेरि घर फर्कियोँ । अहिले पनि मलाई त्यो घोराही तुल्सीपुर (पर्सेनी) को पैदल यात्रा र दशैको सम्झना खूब आइरहन्छ ।
दशैको प्रसङ्गमा मलाई अर्को घटनाको पनि सम्झना भइरहन्छ । बयालीस त्रिचालीस सालतिरको कुरा हो । दशैंको दिन दिउँसोतिर हामीहरु फुटबल खेल्न भनेर गाउँनजिकै खोलाकिनार चौरमा गएका थियौँ । त्यहाँ भर्खरजसो नेपाली सेना छाडेर आएका एकजना गाँउले दाइ पनि थिए । उनले मार्सल आर्टका केही झलकहरु देखाइरहेका थिए । त्यसै क्रममा रक्सी खाएका केही गाँउलृे युवाहरु पनि त्यहीँ आए । अचानक झगडा भयाृे । गोपाल नाम गरेका एकजना दाइसँग हाम्रो ठूल्दाइको भनाभन र हात हालाहाल नै भयो । गोृपाललाई दाइले बालुवामा नराम्ररी पछार्नु भयो । गोपालले हातमा आंैंठी लगाएको थियो । औंठीलेृ हानेपछि दाइको गालामा चोट लाग्यो । रगत बग्न थाल्यो । त्यसपछि माहिला दाइ र उदय मामाले गोपाललाई  नराम्ररी पिट्नु भयो । पछि अरुले छुट्टाएका थिए । त्यो नरमाइलो घटना पनि मैले बिर्सैको छैन । 
     जागिरको सिलसिलामा म जाजरकोट जिल्लामा पनि बसेँ करिब पाँच वर्ष । दशैमा घर आउँदा बाटामा कालापार (भारत) बाट फर्किएका जाजरकोटीहरु मात्र होइन, पूर्वी रुकुम र पश्चिम सल्यान क्षेत्रका युवाहरु बाटैभरि भेटिन्थे । नेपालगन्ज, कोहलपुर, छिन्चु, मेहलकुना, सल्लीबजारदे्खि राउचे, गर्चेसम्म । अझ त्यो भन्दा माथि कयन काँडाको लेक, सानीपिपलीका होटेल र रुकुम चौरजहारीका बाटाहरुमा पनि दशैंतिर उनीहरुकै चहलपहल देखिन्थ्यो । उनीहरु सबैले काँधभरि आफ्ना झोला र पोकापन्टुरा आफै बोकेर घरतिर गइरहेका हुन्थे । प्रायः सबैको हातहातमा एकएकवटा टेपरेकर्डरहरु हुन्थे जोडजोडले घन्किरहेका । उनीहरु सबै टेपरेकर्डरबाट घन्किरहेका गीतहरुमा मस्त भएर हिडिरहेका देखिन्थे । अचम्म कुरा त के थियो भने दशजना साथीहरु सँगै हिडिरहेका भए पनि वा बसिरहेका भए पनि सबैका टेपरेकर्डर (क्यासेट प्लेयर) बजिरहेकै हुन्थे । उनीहरुले गीत सुनेका हुन्थे वा हुन्नथे, थाहा छैन तर उनीहरुले दुःख, अभाव, थकान सबैलाई बिर्सिएर घरतिर लागिरहेका जस्ता भने देखिन्थे । यसरी पहाडी गाँउको दशै आगमन पनि आफैमा रमाइलो र रोचक हुन्थ्यो ।  
    आजसम्म आउँदा जीवनले यात्राका धेरै थरिका घुम्तीहरु पार गरिसकेको छ । यसले उमेरका धेरै सिंढीहरु पनि छिचोलिसकेको छ । यतिखेर आफूसँग त्यो बालापन त के युवावय पनि बाँकी छैन । तर प्रत्येक वर्ष घुमिफिरी दशैंको आगमन भइरहँदा बाल्यकालको सम्झना झनझन ताजा स्मृतिबिम्ब बनेर मनभरि आँखाभरि आइरहन्छ, आइरहन्छ ।  

(नागरिक परिवारबाट साभार)
 
 
 

प्रकाशित: १४ आश्विन २०७४ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App