१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

खुर्सानीमय खोकना

खोकनामा सुकाइएको खुर्सानी । तस्बिर : उपेन्द्र लामिछाने

कतै छानामा सुकाइएको छ त कतै पेटीमा । कोही बारीमा टिप्दै छन् त कोही मालाझैँ उन्दै छन् । यस मौसममा खोकना पुग्ने जो–कोहीलाई लाग्न सक्छ, यो खुर्सानी गाउँ हो । डन्डीमा बाँधेर झुन्ड्याइएका राता लहरा देख्दा लाग्छ, खोकनाका हरेक झ्यालबाट खुर्सानीले चिहाइरहेका छन्। 

घाममा सुकाउँदा खुर्सानीबाट निस्कने वासनाले करिब पाँच सय वर्ष पुरानो बस्ती खोकना नै पिरो भएको महसुस हुन्छ । 
खोकनाका किसानले साउनबाट टिप्न थालेका हुन् खुर्सानी । उनीहरू टिपेका खुर्सानीलाई डोरीमा उनेर घरका झ्याल र बार्दलीमा झुन्ड्याउने गर्छन् । ‘यहाँ सबैजसो घरमा खुर्सानी झुन्ड्याइएको छ,’ खोकनाकी ६२ वर्षीय अष्टमाया महर्जन भन्छिन्, ‘हरेक वर्ष यसरी नै खुर्सानी सुकाइन्छ ।’ 

किसानले घरायसी प्रयोजनका लागि मात्र होइन, बिक्रीका लागि समेत खुर्सानी रोप्ने गर्छन् । खोकनाको खुर्सानी ठेकेदारले घरैमा आएर लाने गरेको स्थानीय दशराम डंगोल बताउँछन् । खासमा खुर्सानी तौलेर बेचिने भए पनि यहाँ आउने ठेकेदारले खुर्सानीको मालाको साइजअनुसार पैसा तिरेर लैजाने गर्छन् । यो बिक्रीको पुरानो चलनको परम्परा पनि हो । ‘साउन र भदौ दुई महिना खोकनाका घरघरमा खुर्सानीका लहरा देखिन्छन्,’ उनले भने, ‘दसैँ अगाडिदेखि घट्दै जान्छन्।’ 

३.४७ वर्गकिलोमिटरमा फैलिएको खोकनामा एक हजार एक सय घरधुरी छन् । स्थानीयवासी पनि पिरो औधि मन पराउँछन् । तरकारीमा खुर्सानी झान्नु उनीहरूको आदत नै हो । खोकनावासी रोपाइँका मौसममा खेतका आलीमा बसेर तरकारी चिउरासँगै हरिया खुर्सानी टोक्छन् । ‘यो खुर्सानी भण्डारणको तरिका हो,’ डंगोलले भने, ‘यसरी सुकेका खुर्सानी वर्षभर प्रयोग गर्न मिल्छ ।’ 

साउन–भदौको वर्षात्ले सुकुलमा खुर्सानी सुकाउँदा भिज्न सक्ने भएकाले धेरैले घरको बार्दली र झ्यालमा माला बनाएर झुन्ड्याउने गरेका हुन् । ‘पानी परेका बेला झ्याल र दलिनमा झुन्ड्याइन्छ,’ अष्टमाया भन्छिन्, ‘घाम लागेपछि भने सुकुलमा नै सुकाइन्छ ।’ 

 

प्रकाशित: ९ भाद्र २०७४ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App