सन् १८९८ डिसेम्बर २१ मा नोबेल पुरस्कार विजेता वैज्ञानिक जोडी मेरी क्युरी र पियरे क्युरीले रेडियमको खोज गरेका थिए। जसले विश्वको चिकित्सा विज्ञान र परमाणु भौतिकीको इतिहासलाई सधैँका लागि नयाँ स्थान दिन सफल भएको थियो। चाँदीजस्तो सेतो देखिने रेडियमको खोज केवल एक वैज्ञानिक उपलब्धि मात्र नभएर मानव जीवन बचाउने अस्त्र बनेको छ।
मेरी क्युरी र पियरे क्युरीले युरेनियमको कच्चा खनिज पिचब्लेन्डमा अध्ययन गर्दा युरेनियमभन्दा कैयौँ गुणा बढी रेडियोधर्मी फेला पारेका थिए। उनीहरूले धेरै टन पिचब्लेन्ड अवशेषहरूलाई वर्षौंसम्म परिष्कृत गरेर सन् १९०२ मा मात्र ०.१ ग्राम शुद्ध रेडियम क्लोराइड तयार गर्न सफल भएका थिए।
रेडियमको प्रयोग क्यान्सरको उपचारमा हुँदा ट्युमरहरूलाई गामा विकिरण दिएर नष्ट गर्ने प्रविधिमा रेडियमको प्रयोग हुन्थ्यो। तर उपचारको क्रममा रेडियम शरीरभित्र जाँदा मानिसको हाडमा क्याल्सियमको स्थान रेडियमले लिँदा रक्तअल्पता र हड्डीको क्यान्सरबाट मानिसहरूको मृत्यु भयो।
वर्तमान समयमा रेडियमको ठाउँमा अन्य विकल्पहरू प्रयोग गर्दै आएको छ। तर मेरी क्युरीले देखाएको अनुसन्धानको बाटो र रेडियमका लागि गरेको बलिदान आज पनि विज्ञान जगतका लागि प्रेरणा बनेको छ।
प्रकाशित: ६ पुस २०८२ ०८:५१ आइतबार





