अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन्। हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ लमा डिन रहेका उनी नेपालसम्बन्धी इतिहास, कला, वास्तुकला, राजनीति, अर्थव्यवस्था, विकास, वैदेशिक सम्बन्ध, कूटनीति, राष्ट्रिय सुरक्षा लगायत विषयमा रुचि राख्छन्। संविधान र कानुनसम्बन्धी उनले दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरेका छन्। सन् १९९८ मा प्रकाशित उनको पुस्तक 'कमेन्टरी अन द नेपलिज कन्स्टिच्युसन' चर्चित छ।
तपाईंको हातमा अहिले कुन पुस्तक छ?
पुरुषोत्तम बस्नेतको 'नेपाली कांग्रेसको इतिहासको प्रारूप– २' मेरो हात लागेको छ। लेखकले नै दिनुभएको हो। हालै यसको विमोचन भयो। कार्यक्रममा टिप्पणी गर्नुपर्ने भएकाले सर्सर्ती हेरेँ।
त्यस्तै, हालै सियाटल (युएसए) जाँदा सेकेन्डह्यान्ड पसलमा दुइटा पुस्तक किन्न पाएँ। रिचार्ड क्लुजरले लेखेको 'सिम्पल जस्टिस' भन्ने पुस्तक अमेरिकी कानुनमा समानताको लडाइँको एक सय वर्षको चर्चा छ। त्यस्तै, मेल्भिन युरोफ्स्कीको पुस्तक 'लेटिङ गो : डेथ, डाइङ एन्ड दी ल' पढ्दै छु। यसमा मृत्यु तथा मृत्युन्मुख व्यक्तिको अधिकारबारे चर्चा छ। दुवै पुराना विषय हुन्। अलि–अलि बुझेको, पढिराखेको 'थिम' भएकाले त्यति 'एक्साइटिङ' भने छैन।
यसअघि कुन पुस्तक पढ्नुभएको थियो?
भोगिराज चामलिङले लेखेको 'जननायक रामप्रसाद राई' पुस्तक अलिअलि हेरेको छु। उनीबारे पहिले थाहा थिएन। बजारमा आफ्नो रुचिका नेपालसम्बन्धी यस्तै नयाँ किताब आउँदा घर ल्याउने गर्छु। आद्योपान्त पढ्ने भनेको त कमै हुन्छ। टाइम पनि हुँदैन। पछाडितिरबाट हेर्ने बानी छ। रुचि लाग्यो भने बिस्तारै अघिल्तिरबाट हेर्ने हो। होइन भने काम नपरुन्जेल्सम्म थन्किन्छ। यो पुस्तकमा धेरै नसुनेका, नपढेका क्रान्तिकालीन 'रेफरेन्स' छन्।
मन पर्यो कि परेन? किन?
कथानक छ। लेखकले मेहनत गरेको देखिन्छ। सबै पढेपछि मात्र प्रतिक्रिया दिन मिल्छ।
अब के पढ्ने योजना छ?
त्यस्तो केही योजना छैन। थुपारेर राखेकै धेरै छ। वास्तवमा आफ्नै विषयमा बरालिएको छु।
कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?
त्यस्तो धेरै कुरा छ। नेपालको भाषा, साहित्य, कला, इतिहासका साथसाथै दिगो आर्थिक विकास, सामाजिक न्याय, आन्तरिक तथा बाह्य सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध वा मुलुक टिकाउने तथा समृद्धि प्राप्त गर्ने बृहत्तर आधारबारे राम्रो पुस्तकको अभाव देख्छु। नेपालको दीर्घकालीन हित केमा छ? भन्नेबारे नेपालमा आन्तरिक सोचको विकास भएको छैन। 'पब्लिक कज'बारे विदेशीले हामीलाई भ्रमित पारेका छन्। हाम्रो आफ्नो सोचाइ पनि जंगली छ। जनताको सहभागिताबिना ठुल्ठूला निर्णय गराइने चलन छ नेपालमा। राष्ट्रियताको कुरा गर्ने र निमुखा जनताबारे सोच्ने मान्छे सरकारमा टिक्न सक्दैन। गर्न सकिने काम हुँदैन, चर्का कुराले एजेन्डामा स्थान पाउँछन्। तिनलाई कार्यान्वयन गर्न सकिँदैन। यी विषयमा पुस्तकको कमी छ।
पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक? किन?
त्यस्ता धेरै छन्। एउटाको मात्र नाम लिँदा अन्याय हुन्छ। जस्तो कला, इतिहास वा कानुनलाई एकै मापदण्डले कसरी हेर्ने? गुलाफको फूल र स्याउको स्वादमा कुन छोड्न नहुने हो? संसारमा १२–१३ करोड प्रकाशित पुस्तक छन् रे। साहित्यमा देवकोटाको मुनामदनजति राम्रो देखिन्छ, अर्थशास्त्रमा स्टिग्लिजको 'ग्रेट डिभाइड' (२०१५) वा बहुविषयक विष्लेषण भएको जरेड डायमन्डको 'गन्स, जर्म्स एन्ड स्टिल्स' (१९९७) त्यति नै राम्रा हुन सक्छन्। त्यसैले आफ्नो विषयका सन्दर्भमा मात्र यस्तो प्रश्नमा आफ्नो धारणा दिन सकिन्छ।
नपढी नहुने पुस्तक? किन?
आ–आफ्नो विचार हो। कुनै पुस्तक नपढी नहुने भन्ने हुँदैन। तपाईंको प्राथमिकता मेरो प्राथमिकता नहुन सक्छ। आ–आफ्ना विधा हुन्छन्। सबै कुराको आ–आफ्नो परिवेश हुन्छ, रुचि भएको विषयमा रुचिपूर्ण पुस्तक पढ्ने हो। आवश्यकताको हिसाबले पनि हेर्नुपर्ने हुन्छ। म एउटा 'जनरल रिडर' हुँ। 'फिक्सन'को पछि लाग्दिनँ। साहित्य पनि छुटिसक्यो। नेपालको बारेमा सबै कुरा मनपर्छ– इतिहास, कला, वास्तुकला, राजनीति, अर्थव्यवस्था, विकास, वैदेशिक सम्बन्ध, कूटनीति, राष्ट्रिय सुरक्षा। संविधान र कानुन त मेरो विषय नै भयो।
नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?
कसले भन्छ त्यस्तो? यहाँ लेखिएका राम्रा पुस्तक, जर्नलहरू बाहिर पनि प्रशस्त पढिएका छन्। धेरै सन्दर्भ सूची भेटिन्छ। नराम्रो त कसले पढ्न चाहन्छ र? यहाँका धेरै लेखकले अनुसन्धानमा आधारित भएर लेख्दैनन्। 'मेथोडोलोजी'लाई महŒव दिँदैनन्। उत्तिकै जान्ने अर्को विज्ञसँग पियर रिभ्यु गराउने चलन छैन। राम्रो सम्पादनलाई महŒव दिइँदैन। त्यसैले त्यस्ता प्रकाशन छेउ लगाइन्छन्। अनि फेरि हाम्रो मूल प्रवाह अंग्रेजीमा छैन। धेरै सामग्री नेपालीमा प्रकाशित हुन्छ। विदेशीले कसरी पढ्ने? सबै हिजोका फादर स्टिलर वा आजका माइकल हटजस्तो नेपाली चल्ने हुँदैनन् नि! अप्ठेरो त्यहाँ छ।
पढ्न मन लागेर पनि नपाएको पुस्तक?
प्रायः पुराना नेपाली पुस्तक पाउने समस्या छ। तर आजकाल विदेशी पुस्तक नपाइने भन्ने छैन। एकताका 'हिस्ट्री अफ धर्मशास्त्र' खोजेको सम्झना छ। यसले हिन्दू धर्मको प्राचीन र मध्यकालीन इतिहासको चर्चा गर्छ। म कानुनको विद्यार्थी हुँदा ल क्याम्पसको पुस्तकालयमा यसको पाँचै भोल्युम थियो। यो पाण्डुरंग वामन काणेको कृति हो। अहिले त सित्तैमा इन्टरनेटमा उपलब्ध छ। बरु पढ्ने समय भने गाह्रो छ।
घरमा कतिवटा पुस्तक छन्?
एक हजार भोल्युम जति छन् कि? मैले मेरो कलेक्सन सबै 'स्कुल अफ ल' खोल्दा उतै पुर्याएँ। ती पुस्तक काठमाडौंको धुलो र फोहोरबाट मुक्त भएका छन्। नयाँ कलेक्सन पनि उतै लैजाने गरेको छु।
प्रस्तुति : वसन्त खड्का
प्रकाशित: ७ श्रावण २०७४ ०६:५४ शनिबार