२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

यात्रा खाडीको भरोसा पशुपतिको

रोजगारीका लागि साउदी अरेबीया जाने लागेका गुल्मीका तेजेन्द्र श्रीस गत मंगलबार पशुपतिनाथ मन्दिरबाहिर भेटिए। भिसा लागिसकेका उनी पशुपति क्षेत्र घुम्न गएका थिएनन्, साउदीमा कुनै संकट नपरोस् भन्ने कामना गर्दै पूजा गर्न पुगेका थिए।

उनले मंगल चतुर्थीको बिहानै पशुपतिनाथ पुगेर दर्शन गरे। विदेशमा कुनै व्यवधान नआओस् भनेर वर मागे। अनि थाले आफ्नो खाडी यात्राको तयारी।

उनीसँगै वैदेशिक रोजगारीमा जान लागेका अर्घाखाँचीका शिवलाल क्षत्रीको पशुपति पुग्ने उद्देश्य पनि फरक थिएन। रोजगारीका क्रममा कुनै समस्या नपरोस् र भनेजस्तो आय होस् भन्ने वर माग्न पुगेका थिए उनी पनि।

'पशुपतिनाथ हाम्रो आस्थाका केन्द्र हुन्, यहाँ पूजाआजा गरेपछि संकट टर्छ र मनोकामना पूरा हुन्छ,' तेजेन्द्रले भने, 'पशुपतिमा पूजा गरे पनि हामी जहाँ भएपनि पशुपतिनाथले रक्षा गर्नुहुन्छ, त्यसैले विदेश जानुअघि पूजा गर्न आएका हौं।'

पशुपतिनाथ मन्दिरबाहिर पूजा सामग्री किन्दै गरेका सर्लाहीका उमेश यादव दुई वर्षअघि रोजारीका लागि संयुक्त अरब इमिरेट्स गएका थिए। दुई महिनापहिले स्वदेश फर्किएका उनी फेरि अरब जानुअघि पशुपति दर्शन गर्न आए। 'दुई वर्षपहिले पनि पशुपतिनाथको दर्शन गरेर गएको थिएँ, उता गएपछि राम्रै भयो,' उनले भने, 'अहिले पनि विदेश जानुभन्दा पहिले दर्शन गर्न आएको हुँ।'

श्रीष, क्षत्री र यादव प्रतिनिधी पात्र मात्र हुन्। उनीहरू जस्तै वैदेशिक रोजगारीमा जाने युवा विदेश जानुअघि पशुपतिनाथको दर्शन गर्न पुग्छन्। पशुपति दर्शन पछाडि उनीहरूको एउटै साझा उद्देश्य हुन्छ– विदेशमा राम्रो रोजगारी र सन्तोषजनक आम्दानी। पशुपतिनाथमाथिको विश्वासका कारण उनीहरू विदेशमा भए पनि भरोसा भने पशुपतिनाथप्रति नै हुने गरेको छ।

पशुपतिनाथ वैदेशिक रोजगारीमा जानेका लागि मात्र होइन, विश्वभरका हिन्दूको आस्थाको केन्द्र हो। त्यसैले यसको दर्शनका लागि कुनै पर्व पर्खनुपर्दैन। पशुपतिमा सामान्य अवस्थामा पनि दैनिक १० हजार भन्दा बढी भक्तजन आउने पशुपति विकास कोषका सदस्य सचिव गोविन्द टण्डन बताउँछन्। विशेष पर्व तथा अवसरमा भने यो संख्या बढ्छ। पशुपतिनाथमा हिन्दूबाहेक ओमकार समूहभित्र पर्ने अन्य धर्मावलम्बी पनि आराधनाका लागि आउँछन्। 

भारत, मौरिसस, इन्डोनेसिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिकालगायत मुलुकबाट पशुपतिनाथ दर्शन गर्न भक्तजन नेपाल आउँछन्। भारतबाट आउने भक्तजन सबैभन्दा धेरै हुन्छन्।

अघिल्लो वर्ष तेस्रो मुलुकबाट आउने दर्शनार्थीको संख्या भने ९० हजार थियो। भूकम्पपहिले प्रत्येक वर्ष १ लाख ६० हजार दर्शनार्थी पशुपति दर्शनका लागि आउने गरेको टन्डन बताउँछन्।

प्रकाशित: २ असार २०७४ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App