–प्रवीण बानियाँ
गंगामाया बस्नेत (७९) ले पढ्ने बेला गाउँमा स्कुलै थिएन । दिक्तेल–खोटाङ त्यो बेला ‘पढे जेलनेल हुन्छ’ भन्ने शासन व्यवस्थाकै छायामा थियो । मानबहादुर कटुवालसँग १२ वर्षको अबोध उमेरमै उनको बिहे भयो, २००७ सालमा । ‘आमाबाले दिदी दुर्गामाया र मेरो एउटै जग्गेबाट बिहे गरिदिएका थिए,’ उनले सम्झिइन् ।
तर, मानबहादुरसँग उनको जिन्दगीको गाडी धेरै चलेन । बिहे भएको छ वर्षपछि गंगामाया घर छाडेर हिँडिन् र माइतमै गएर बसिन् । ‘अहिले धेरै कुरा याद गर्न सक्दिनँ,’ उनले भनिन्, ‘त्यो बेला धेरै दुःख पाएँ । सहन नसकेपछि घर छाडेर हिँडेँ ।’
२००७ सालको राजनीतिक आन्दोलन र त्यसको रापताप गंगामायालाई थोरबहुत थाहा छ । राजनीति र आन्दोलनप्रति सुरुबाटै उनको एकसरो बुझाइ रह्यो– आन्दोलनले देशमा परिवर्तन ल्याउँछ, गरिब–दुःखीका दिन फिर्छन् ।
२०१३ सालमा गंगामायाको जीवनमा नयाँ मोड आयो । गाउँकै नन्दबहादुर बस्नेतसँग उनको दोस्रो बिहे भयो, नाटकीय शैलीमा । बिहेपछि श्रीमान्को घर त्यागेर माइत बसेकी गंगामाया काम गर्न सानैदेखि माहिर । उनको काम देखेर गावैँ छक्क पथ्र्यो । उनी कसैकहाँ काम गर्न गइन् भने पुरुषसरह ज्याला पाउँथिन् । उनको त्यही काम देखेर लोभिएकी नन्दबहादुरकी हजुरआमाले एक दिन नातिलाई आदेश गरिन्, ‘त्यो देउजाकी छोरी काम गर्न मसुर छे । जा, त्यसलाई बोकेर ले ।’
नभन्दै नन्दबहादुरले पनि ठाउँको ठाउँ हजुरआमाको आदेश पालना गरे । र, अर्काकी श्रीमती गंगामायालाई त्यही दिन बाटोबाटै काँधमा हालेर घर ल्याए । अब घरमा उनका दुई श्रीमती भए । गंगामायालाई ल्याएपछि नन्दबहादुरलाई ‘जारी’ लाग्यो । एक दिन कम्मरमा दुई हात लामो खुकुरी भिरेर नन्दबहादुर जारी तिर्न हिँडे, एक्लै । अर्काकी श्रीमती ल्याएबापत उनले जारको घरैमा पुगेर त्यसबेलामै खनखनी आठ हजार रुपैयाँ जारी तिरे । र, गंगामायालाई आफ्नी बनाए ।
०००
२०३४ सालमा परिवार बसाइँ सरेर मोरङको डाँगीहाट आयो । त्यसपछि उनले थोरबहुत राजनीति बुझ्न थालिन् । ०१७ सालको राजनीतिक घटनाक्रम देखेकी उनले ०३६ सालको जनमतसंग्रह भोगिन् । ०४६ सालमा बहुदलको पक्षमा भोट हालेकी गंगामायालाई लाग्यो– अब चाहिँ देशमा परिवर्तन आउँछ । ‘सायद त्यसैबेलादेखि मैले अलिअलि राजनीति र आन्दोलन बुझ्न थालेँ,’ उनले भनिन् ।
०४६ सालमा देशमा बहुदल आएपछि गंगामाया हुनसम्म खुशी भइन् । तर, बिस्तारै बहुदल पनि उनलाई ‘केही हैन रैछ’ भन्ने लाग्न थाल्यो । र, उनमा निराशा बढ्दै गयो । त्यसैबेला नेकपा माओवादीले ०५२ सालदेखि जनयुद्ध सुरु गर्यो । क्रमशः माओवादी आन्दोलन देशैभरि फैलियो । त्यसबेला ‘माओवादीले गरिबलाई हेर्छ’ भन्ने मात्र सुनेकी गंगामाया एकाएक माओवादी आन्दोलनप्रति आकर्षित भइन् ।
बिस्तारै गाउँघरमा पुलिस–प्रशासनको आँखा छलेर गंगामायाले माओवादीका लागि काम गर्न थालिन्, भेला–बैठकमा लुकी–लुकी जान थालिन् । अन्ततः एक दिन गाउँमा माओवादीले मध्यरातमा राखेको बैठकमा गएर उनले पार्टीको सदस्यता लिइन् । र, महिनैपिच्छे पार्टीलाई लेबी तिर्न थालिन् । ‘सबैले तँलाई मार्छन् भनेर डर देखाउँथे,’ उनले सुनाइन्, ‘तर, मैले कसैको कुरा सुनिनँ, राति बैठकमा गएर पार्टीमा नाम लेखाएँ ।’
सुरु–सुरुमा त माओवादीमा लागेको भन्दै उनलाई परिवारका सदस्यले गर्नु गाली गरे । छरछिमेकीका लागि उनी छलफलको विषय बनिन् । तैपनि, उनलाई गाउँमा सबैले माया गर्थे । त्यसबेला ‘बस्नेतनी आमै’ भनेपछि उनलाई जो कोहीले माओवादी भनेर चिन्थे । ‘धन्न ! पुलिससम्म मेरो नाम पुगेन,’ उनले भनिन् ।
बिहेपछि श्रीमान्को घर त्यागेर माइत बसेकी गंगामाया काम गर्न सानैदेखि माहिर । उनको काम देखेर गावैँ छक्क पथ्र्यो । उनी कसैकहाँ काम गर्न गइन् भने पुरुषसरह ज्याला पाउँथिन् । उनको त्यही काम देखेर लोभिएकी नन्दबहादुरकी हजुरआमाले एक दिन नातिलाई आदेश गरिन्, ‘त्यो देउजाकी छोरी काम गर्न मसुर छे । जा, त्यसलाई बोकेर ले ।’
गंगामाया माओवादीका लागि घरमा गाउँभरिबाट बटुलेर राति–राति चना–मकै भुट्थिन्, सातु बनाउँथिन् । र, भोलिपल्ट सबेरै माओवादी सेनाका लागि ठाउँ–ठाउँमा पठाउँथिन् । अरूले थाहा पाउलान् भनेर उनले कतिपटक रातमा घर फेरी–फेरी मकै भुटिन् । उनले त्यसरी भुटेका मकै र सातु बोरा कसेर थुप्रैपल्ट इलाम, पाँचथरसम्म पठाइन् । ‘मैले पार्टीका लागि सकेजति गरेँ,’ गंगामायाले भनिन्, ‘आन्दोलन सफल होला र भनेजस्तो व्यवस्था आउला भन्ने सपना थियो ।’
पछि माओवादी शान्ति प्रक्रियामा आएपछि गंगामायाले शान्तिको लामो सास फेरिन् । लगत्तै सुरु भएको ०६२÷०६३ को दोस्रो जनआन्दोलनमा उनी सक्रिय हुन थालिन् । त्यसताका दिनहुँ हुने आन्दोलन र प्रदर्शन उनले सायदै छुटाइन् । पूर्व क्षेत्रमा जहाँ–जहाँ माओवादीको प्रदर्शन–आमसभा हुन्थ्यो, उनी त्यहाँ पुग्थिन् । यसरी कति बुझेर–कति नबुझेर, गंगामायाले लामो समयसम्म माओवादीको झण्डामुनि बसेर अधिकारका निम्ति मुठ्ठी उठाइन्, गणतन्त्रका सुरिला नाराहरू घन्काइन् ।
०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी भयो । तब भने गंगामायालाई लाग्यो– अब त पक्कै देशमा परिवर्तन आउँछ, गरिब–दुःखीले अधिकार पाउँछन् । माओवादीले चुनाव जितेर ठूलो दल हुनुलाई उनले सिंगो आन्दोलनै सफल भएको भन्ने अर्थमा बुझिन् । र, भोलिपल्ट उसैगरी उनी विजय ¥यालीको अग्रपंक्तिमा देखिइन् । ‘पार्टीले चुनाव जित्दा मैले मेरा सपना पूरा भएजस्तै ठानेकी थिएँ,’ उनले सुनाइन् ।
समयक्रमसँगै गंगामायाका आदर्श पात्र प्रचण्ड–बाबुरामहरू गणतान्त्रिक मुलुकका प्रधानमन्त्री–मन्त्री भए । देशको जिम्मा तिनैको हातमा पुग्यो, जसलाई हिजो उनले भुटेका मकै र सातु खुवाएकी थिइन् । गर्दै–भन्दै जाँदा महिना–वर्ष बिते । माओवादी पटक–पटक सरकारमा पुग्यो, राज्यको बागडोर सम्हाल्यो । तर, गंगामायाले केही पाएको अनुभूत नै गर्न पाइनन् । न त उनले सोचेजस्तो गरिब–दुःखीका दिन नै फिरे । सर्वथा उनीभित्र आन्दोलनले रोपेको परिवर्तनको भरिलो सपना केवल सपनै रहँदै आयो ।
बरु, त्यसको सट्टा एउटा माओवादी फुटेर छवटा पार्टी भए । हिजो युद्धकालमा पार्टी र नेताले देखाएका सपना त कता छुटे कता ! फेरि पनि गंगामायालाई आन्दोलनको मर्मअनुसार देशमा परिवर्तन भएन, आफूले केही पाइनँ भन्दा पनि पार्टी फुटेको कुराले गहिरो चोट पु¥याएछ । ‘हिजो जे भयो–भयो, अब हिजो फुटेर गएकाहरू मिले हुन्थ्यो,’ उनको कामना छ, ‘मेरो जीउ छँदै कम्निस्टहरू मिलेको हेर्न मन छ ।’
‘हिजो जे भयो–भयो, अब हिजो फुटेर गएकाहरू मिले हुन्थ्यो । मेरो जीउ छँदै कम्निस्टहरू मिलेको हेर्न मन छ ।’ –गंगामाया बस्नेत
जीवनको ७९ औँ देउराली उक्लिरहेकी गंगामाया अहिले कान्छा छोराको हेरचाहमा बसेकी छन् । उनका श्रीमान् नन्दबहादुर गत वर्ष बिते । बाँकी जिन्दगी जसोतसो चलिरहेछ । यो उमेरमा पनि गंगामाया देश सोच्छिन्, पार्टी र आन्दोलन सोच्छिन् । अहिले पनि उनी कतै आमसभा–जुलुस छ भन्ने थाहा पाइन् भने दौडिहाल्छिन् ।
प्रकाशित: २९ जेष्ठ २०७४ ०६:४१ सोमबार