डा. सूर्यराज आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट 'पूर्वाधार र क्षेत्रीय विकास'मा विद्यावारिधि गरेका छन्। जापानको भौतिक पूर्वाधार मन्त्रालय मातहतको 'पोलिसी थिंक ट्यांक' मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा समेत काम गरेका उनी हाल पूर्वाधार नीतिसम्बन्धी प्राध्यापन र अनुसन्धानमा संलग्न छन्।
पेसागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका आचार्यका दर्जनौँ शोधपत्र प्रकाशित छन्। उनका शोधपत्र अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत समेत भएका छन्।
आचार्यले 'ट्रान्सपोर्ट डेभलपमेन्ट इन एसिएन मेगासिटिज' पुस्तक लेखन तथा सहसम्पादन समेत गरेका छन्।
तपाईंको हातमा अहिले कुन पुस्तक छ?
जगत नेपालको 'पहिलो संसद : बिपी–महेन्द्र टकराव' पढिरहेको छु। राष्ट्रहितका कुरामा समानता तर राजनीतिमा फरक मान्यताका बिपी र महेन्द्रबीचको टकरावलाई पुस्तकमा केलाइएको छ। नेपाली राजनीतिका हाल चर्चामा रहेका कतिपय मुद्दाको गहिराइ बुझ्न यो पुस्तकले सघाउँछ।
यसअघि कुन पुस्तक पढ्नुभएको थियो?
यसअघि फ्रेन्च अर्थशास्त्री थोमस पिकेटीको 'क्यापिटल इन द ट्वान्टी फर्स्ट सेन्चुरी' पढेको थिएँ।
मन पर्यो कि परेन? किन?
मन पर्यो। थोमस पिकेटीको यो पुस्तकमा पुँजीवादी उदार अर्थव्यवस्थामा आर्थिक असमानता कसरी फराकिलो हुँदै जान्छ भन्ने तथ्य र आँकडामा टेकेर गरिएको वस्तुगत र सरल व्याख्या छ। प्रभावकारी नियमनबिनाको पुँजीवादी बजार अर्थतन्त्रले श्रमभन्दा पुँजीलाई पोस्छ। आर्थिक असमानताका हकमा पिकेटीको निचोड मार्क्सको नजिक देखिए पनि समाधानका उपायमा भने मार्क्सवादी दृष्टिकोणभन्दा नितान्त फरक छ। असमानतालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे बजार नियमन, प्रगतिशील कर प्रणाली र शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा सरकारको ठोस भूमिकालगायत विषय पुस्तकमा छन्। हाम्रोजस्तो विकासशील देशको आर्थिक र विकास नीति तर्जुमा गर्दा यो पुस्तकमा समेटिएका विश्लेषण र निचोड उपयोगी हुने देखिन्छन्।
अब के पढ्ने योजना छ?
म्याथ्यु डेस्मन्डको इभिक्टेड : पोभर्टी एन्ड प्रोफिट इन द अमेरिकन सिटी।
कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?
नेपालको इतिहास, राजनीति, समाज र विकासबारे लेखिएका धेरैजसो पुस्तक एकांगी आग्रहबाट ग्रसित भएको भान हुन्छ। हाम्रो बौद्धिक जगतको आलोचनात्मक चेत अलि निम्छरो भएर हो कि किन हो, हाम्रो समाज विचार र सोचले „ुवीकृत छ। सार्वजनिक बहस तर्क र विश्लेषणभन्दा भावनाबाट बढी निर्देशित देखिन्छ। त्यसैले इतिहास, राजनीति, समाज र विकासजस्ता पक्षलाई समेटेर देश निर्माणमा नागरिकलाई उत्प्रेरणा प्रदान गर्न सक्ने पूर्वाग्रहबिनाको वस्तुगत विश्लेषणमा आधारित पुस्तकको खाँचो छ। खासगरी पछिल्लो कालमा 'विकास र समृद्धि' को चर्चा चुलिएको छ। तर हाम्रो सन्दर्भमा यसको अर्थ, दायरा र कार्यविधि के हो भन्ने कुरामा लेखिने पुस्तकको समाज र राजनीतिका लागि समेत ठूलो महŒव हुन्छ जस्तो लाग्छ।
पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक कुन हो? किन?
बिपी कोइरालाको जेल जर्नल मलाई मन परेको पुस्तक हो। दर्शन, राजनीति र साहित्यको संगम छ यो पुस्तकमा। नेपालको लोकतान्त्रिक आन्दोलनका ऐतिहासिक परिघटनाबारे सूचनामूलक विषयवस्तु समेत भएकाले पनि धेरै मन परेको हो।
नपढी नहुने पुस्तक कुन हो? किन?
चार्ल्स डिकेन्सको 'अ टेल अफ टु सिटिज'। फ्रान्सेली क्रान्तिको कथावस्तुमा आधारित यो उपन्यासले ऐतिहासिक घटनाको तस्बिरलाई साहित्यको फ्रेममा रोचक तरिकाले प्रस्तुत गरेको छ। समाजमा व्याप्त शोषण र असमानतालाई हटाएर आदर्श समाजका लागि गरिने क्रान्तिलाई व्यक्तिको तहमा पलाएको कुण्ठा, प्रतिशोध र अविश्वासको भावनाले कसरी भड्काउन सक्छ भन्ने चित्रित गरिएको छ। खासगरी हिंसात्मक क्रान्तिले समाजमा पार्ने मनोवैज्ञानिक प्रभावलाई पुस्तकले पाठकको मन छुने गरी उजागर गरेको छ। क्रान्तिका आदर्श व्यावहारिक धरातलमा ओर्लंदा कतिसम्म निर्मम र कुरूप हुन सक्छन् भन्ने कुराको बोध प्रष्टसँग छ, यो पुस्तकमा।
नेपाली लेखकका पुस्तकले अन्तर्राष्ट्रिय बजार लिन किन सकेको छैन?
सम्भवतः भाषाका कारण नै होला। तर स्तरीय विषयवस्तु हुँदा सहजै अनुवाद हुन सक्ला। नेपाली पुस्तक बजार अझै सानो छ, त्यसैले अन्तर्राष्ट्रिय स्तरका पुस्तक प्रकाशनको स्वाभाविक चुनौती छ। तर हालैका वर्षमा देखिएको नेपाली पुस्तकको घरेलु बजार विस्तार र व्यावसायिक लेखकको बढ्दो क्रियाशीलताले नेपाली लेखकका पुस्तक अन्य मुलुकमा पनि पढिएलान् भन्ने आशा भने जगाएको छ।
पढ्न मन लागेर पनि नपाएको पुस्तक?
म्याक्सिम गोर्कीको आमा उपन्यास।
घरमा कति पुस्तक छन्?
हार्डकपी करिब १२ सय जति र सफ्ट कपी तीन सयजति।
प्रस्तुति : वसन्त खड्का
प्रकाशित: २७ जेष्ठ २०७४ ०४:४९ शनिबार