सुर्खेत— वीरेन्द्रनगर नगरपालिकामा सोमबार दिउँसो २ बजे मतगणना सुरु भयो । साँझ ५ बज्दासम्म जम्मा सय भोटमात्रै गनिसकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढिलाइको प्रमुख कारण हो– जटिल मतपत्र र एक ठाउँमा मात्र मतगणना गर्ने दलहरुको अडान।
निर्वाचन आयोगले स्थानीय तहको अवस्थालाई ख्याल नगरी अनावश्यक चुनाव चिह्नले भरिएको मतपत्र पठाउँदा यस्तो जटिलता आएको निर्वाचन प्रक्रियामा संलग्न अधिकारी बताउँछन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मेयरका ११ उम्मेदवार छन् । तर, आयोगले पठाएको मतपत्रमा मेयर पदमा मात्र २८ चुनावचिह्न छन् । ‘ठूलो मतपत्र, ससाना चुनावचिह्न, एकछिन त आँखै तिरिमिरी भए,’ वीरेन्द्रनगरको शिद्धबहिरा केन्द्रमा मतदान गरेका लालबहादुर रानाले भने, ‘आफूले चाहेको चुनावचिह्न खोज्न यति ढिलो भएको यसपटक नै हो ।’
निर्वाचन आयोगले स्थानीय तहको अवस्थालाई ख्याल नगरी अनावश्यक चुनाव चिह्नले भरिएको मतपत्र पठाउँदा यस्तो जटिलता आएको निर्वाचन प्रक्रियामा संलग्न अधिकारी बताउँछन् ।
सुर्खेत जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भएका छन् । त्यसैले मतपत्रको क्रम संख्या १३ सम्म यी दलका चुनावचिह्न छन्। बाँकी एक सय पाँच चुनावचिह्न स्वतन्त्र उम्मेदवारका लागि राखिएका छन् । एक मतदाताले सातजनालाई भोट हाल्न एक सय ९६ ‘कोठा’ मा आँखा दौडाउनुपर्ने अवस्था आइलाग्यो। ‘ढिलाइको प्रमुख कारण भनेकै जटिल मत्रपत्र हो,’ मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले भने, ‘यसका साथै मतपेटिका संकलनमा भएको ढिलाइले पनि केही अबेर भयो।’
५० हजार मतदाता रहेको वीरेन्द्रनगरको मतगणना एउटै स्थानमा मात्र हुनुले अर्को समस्या निम्त्याएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाँच स्थानमा मतगणना गर्ने योजना बनाए पनि राजनीतिक दलले नमान्दा अहिले एउटै ठाउँमा मतगणना भइरहेको छ । ‘हामीले पाँच स्थानमा मतगणना गर्नेगरी आवश्यक तयारी गरेका थियौं,’ सुवेदीले भने, ‘तर दलका प्रतिनिधिले नमानेपछि एकै स्थानमा गनिरहेका छौं ।’ यही तरिकाले मतगणना गर्ने हो भने अन्तिम परिणाम आउन करिब पाँच दिन लाग्ने उनले बताए।
निर्वाचन आयोगबाट अनुगमनमा आएका अधिकारी भने वीरेन्द्रनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना व्यवस्थित गर्न नसक्दा समस्या भएको बताउँछन् । अहिलेको तरिकाले मतगणना गर्ने हो र एक मतका लागि कम्तीमा ३० सेकेन्ड छुट्याउने हो भने पनि अन्तिम परिणाम आउन झन्डै १३ दिन लाग्ने आयोगका एक कर्मचारीले बताए । ‘वीरेन्द्रनगर मतगणनास्थलको भद्रगोल अवस्था देख्दा म त अचम्भित भएँ,’ ती कर्मचारीले भने, ‘पर्यवेक्षकलाई समेत भित्र जान दिइएको छैन, मासु भागबिलो लगाएजस्तो गरेर मतपत्र गणना भइरहेको छ ।’
एउटै मसीले समस्या
निर्वाचन आयोगले मतपत्र (चुनावचिह्न) र स्वस्तिक छापको मसीजस्तो सामान्य विषयमा समेत विचार पु¥याउन नसकेको पाइएको छ । दुइटैको रङ निलो छ । यसले गर्दा स्वस्तिक छाप कुन चिह्नमा छ भन्ने ठम्याउनै गाह्रो हुने गरेको मतगणनामा बसेका कर्मचारी बताउँछन् । ‘अझ रातिको समयमा त गणना गर्न सकिने अवस्था छैन,’ वीरेन्द्रनगरको मतगणनामा बसेका एक कर्मचारीले भने, ‘निर्वाचन आयोगजस्तो ठूलो निकायले यस्तो समस्यालाई पूर्वानुमान गर्न नसक्नु विडम्बना हो।’
उनका अनुसार एक सय ९६ कोठामध्ये कुनमा छाप छ भनेर ठम्याउनपनि आँखा गाडेर हेर्नुपर्छ । ‘एकछापे’ मत आउँदा केही सजिलो भए पनि ‘क्रस मत’मा गाह्रो भइरहेको उनको भनाइ छ ।
चुनावचिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा मतदानको बेलासमेत मतदातालाई समस्या भयो । कतिपय मतदाताले एउटै चिह्नमा दुईतीनपटक स्वस्तिक छाप लगाएका छन् । ‘चुनावचिह्न र स्वस्तिक छापको रङ एउटै हुँदासमेत अलमल भयो,’ वीरेन्द्रनगर, इत्रामका दलबहादुर शाहीले भने, ‘छापको रङ रातो भइदिएको भए कति राम्रो हुन्थ्यो होला ।’
मततादा शिक्षा अभाव
त्यसै त जटिल मतपत्रले अन्योल थियो नै, निर्वाचन आयोगले मतदाता शिक्षामा ध्यान नदिँदा थप बढ्यो । आयोगले प्रत्येक मतदान केन्द्रलाई लक्षित गरी एकएकजना मतदाता शिक्षा स्वयंसेवक नियुक्त गरे पनि उनीहरु लक्षित व्यक्तिलाई सुसूचित गर्नतिर लागेनन् । यसले गर्दा निरक्षर र ज्येष्ठ मतदाताले कसरी मतदान गर्ने भन्ने थाहै पाएनन् । यसको प्रभाव मत परिणाममा पनि देखिएको छ । मतगणनामा बसेका एक कर्मचारीका अनुसार वीरेन्द्रनगरको सुरु चरणमा मतगणना गर्दा सयमा करिब १५–२० मत बदर देखिएका छन् । ‘यति धेरै मत बदर होलान् भन्ने त सोचिएकै थिएन,’ ती कर्मचारीले भने, ‘जटिल मतपत्र, मतदाता शिक्षाको अभावजस्ता कारणले बदर मतको संख्या अधिक देखिएको छ।’
स्वतन्त्रलाई झन् सास्ती
निर्वाचन आयोगको ‘गन्जागोल’ प्रक्रियाले स्वतन्त्र उम्मेदवारलाई झन् सास्ती दियो । मनोनयनपत्र दर्ता गरेको तीन दिनमा उनीहरुलाई चुनावचिह्न प्रदान गरियो । चिह्न प्रदान गरेको ६ दिनमै मौन अवधि सुरु भयो । ‘यति छोटो समयमा हामीले कसरी आममतदातालाई आप्mनो चुनावचिह्नबारे जानकारी दिन सक्छौं ?’ वीरेन्द्रनगरमा मेयरका उम्मेदवार गेहेन्द्रसाद दहालले भने, ‘यो प्रणाली भनेको त दलबाहेकका स्वतन्त्र उम्मेदवारलाई माथि आउनै नदिने षड्यन्त्रपूर्ण रणनीति हो ।’ उम्मेदवारको व्यक्तित्वको आधारमा मत दिन चाहने अधिकांश मतदातालाई चुनावचिह्न चिनाउनै नसकिएको र चिनेकालाई पनि जटिलखाले मतपत्रमा चुनाव चिह्न खोज्न मुस्किल परेको उनले बताए ।
उपाय के ?
निर्वाचन प्रक्रियामा सामेल सरकारी अधिकारी निर्वाचन आयोगको मतपत्र छाप्ने प्रक्रिया सम्बन्धित जिल्लामा दर्ता भएका दल र स्वतन्त्र उम्मेदवारको आधारमा तय गर्नुपर्ने बताउँछन् । घुस्रा मतदान केन्द्रका मतदान अधिकृत निराजन सापकोटा भन्छन्, ‘यसो गर्दा मतपत्र चुस्त हुनुका साथै छपाइमा पनि निकै सस्तो पर्न जान्छ ।’
यसका लागि उम्मेदवारको अन्तिम नामवली प्रकाशन मतदान हुने दिनभन्दा कम्तीमा एक महिनाअघि टुंग्याउनुपर्ने उनको सुझाव छ । यसो गर्दा हरेक जिल्लामा रहेका उम्मेदवारको आधारमा चुनावचिह्न राखेर मतपत्र छाप्न पनि समय धेरै नलाग्ने उनले बताए। ‘यसले मतपत्र छपाइमा आर्थिक व्ययभार कम हुनुका साथै मतदान गर्ने समयमा झन्डै आधा बचत, मतगणना छिटो र सहज तथा मत बदरमा पनि कमी आउन सक्छ,’ उनले भने।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय द्वन्द्व तथा शान्ति अध्ययन विभागका उपप्राध्यापक कमलराज लम्साल भने मतपत्र छपाइ, मतदाता शिक्षाजस्ता प्राविधिक कुरा स्थानीय तहको जिम्मा दिँदा अहिलेको समस्या हल हुने बताउँछन् । ‘निर्वाचन आयोगको सहयोग र समन्वयमा काम गर्नेगरी यस्तो प्रणाली विकास गर्दा स्थानीय तह पनि निर्वाचन प्रक्रियाप्रति जिम्मेवार हुन्छन्,’ उनले भने, ‘अब स्थानीय तहको निर्वाचन गर्ने जिम्मेवारी पनि स्वयं स्थानीय तहलाई दिने प्रणालीबारे छलफल चलाउन आवश्यक छ।’
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भने यसबारे छलफल चले पनि समय अभावले असम्भव भएको बताउँछन् । निर्वाचन हुनेनहुने अन्योलबीच ८३ दिनमा सबै प्रक्रिया सक्नुपर्दा यस्तो समस्या देखिएको उनको भनाइ छ । ‘हामीलाई यस्तो समस्या आउन सक्छ भन्ने अनुमान पहिल्यै थियो,’ उनले भने, ‘आखिर अहिले आएर त्यस्तै भयो ।’ समय अभावमा मतदाता शिक्षा पनि पर्याप्त नभएको उनले बताए।
मतपत्र र स्वस्तिक छापमा प्रयोग हुने मसीको रङ एउटै हुँदा जटिलता देखिएको उनले स्विकारे । दोस्रो चरणको मतदानमा फरक मसी प्रयोगबारे सोधिएको जिज्ञासामा उनले असम्भव भएको बताए । ‘सबै सामग्री खरिद गरेर सम्बन्धित जिल्लामा गइसकेका छन्,’ उनले भने, ‘खरिद गरिसकिएको सामानको जिम्मा कसले लिन्छ ?’
प्रकाशित: २ जेष्ठ २०७४ ०२:२३ मंगलबार