–अनिल यादव
‘एक्लै हामी एकदमै कम गर्न सक्छौँ, एकसाथ मिलेर हामी धेरै कुरा गर्न सक्छाैं ।’
अमेरिकी साहित्यकार हेलेन केलरले सहकार्यको आवश्यकता र महत्व औँल्याउँदै गरेको टिप्पणी हो यो । कुरा नमिल्दा, विचार नमिल्दा या अन्य कुनै कारण यहाँ सम्बन्धहरू टुटिरहेका छन्, दुईबाट एक भइरहेका छन् । तर, नेपाली समाजमा यस्ता जोडीहरू पनि छन्, जसले सहकार्यको शक्तिलाई प्रस्टाइरहेका छन्, पुष्टि गरिरहेका छन् । चाहे श्रीमान्–श्रीमती हुन्, या प्रेमी–प्रेमिका, या साथी–साथी नै किन नहुन्, सहकार्यले उनीहरू सबैको जिन्दगीलाई उकासेको छ, भव्य बनाएको छ ।
सहकार्यको शक्तिको एउटा ज्वलन्त उदाहरण महजोडी हो । अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी मनोरञ्जन जगत्मा जमेको ३५ वर्षभन्दा बढी भइसक्यो । आजभन्दा तीन दशकअघि जसरी यो जोडी स्टेजमा जुन एकता र सहकार्यसहित प्रहसन गथ्र्यो, त्यो क्रमले आजसम्म पनि निरन्तरता पाएको छ । ‘यसलाई सहकार्य मात्र होइन, महकार्य पनि भन्नुपर्छ,’ मदनकृष्णले भने । ‘हाम्रो पेशा एउटै भयो, विचार एउटै भयो र सिद्धान्त पनि एउटै भयो, ’ आफूहरूको जोडी लामो समयसम्म टिकिरहनुको कारण दिन्छन् उनी, ‘हामीले सधैँ एक–अर्काको सम्मान गर्यौँ, एक–अर्कालाई प्रेम गर्यौँ । समयअनुसार दर्शकमाझ उपस्थिति जनायौँ । र, दर्शकले पनि हामीलाई कहिल्यै छुट्न दिएनन् ।’ स्टेज कार्यक्रदेखि सिरियलसम्मको स्क्रिप्ट उनीहरू सँगै बसेर तयार गर्ने गरेको मदनकृष्णले बताए । ‘पछिल्लो समय हाम्रो बसाइ टाढा–टाढा भएको र म अलि अस्वस्थ भएकाले हरिवंशले स्क्रिप्ट तयार गरेर सुनाउने गरेको छ,’ उनले भने ।
बलियो सहकार्यका लागि आर्थिक पारदर्शिता पनि हुन आवश्यक छ । यस कुरालाई महजोडीले राम्रोसँग बुझेको छ । ‘मान्छेहरू दुःखमा सँगै हुने तर सुख पाइसकेपछि अथवा आम्दानी हुन थालेपछि पैसाकै कारण फुटेका थुप्रै उदाहरण छन्,’ मदनकृष्णले भने, ‘तर, मलाई हरिवंशले पैसामा कहिल्यै अन्याय गरेन । ‘मैले बढी काम गरेको छु, त्यसैले तपाईंभन्दा बढी पैसा म राख्छु’ कहिल्यै भनेन । हामी दुई बेग्लै समुदायका थियौँ तर हाम्रो सम्बन्धमा त्यसले कुनै समस्या ल्याएन । आज पनि मलाई उकालोमा हिँड्दा गाह्रो प¥यो भने हरिले मेरो हात समाइदिन्छ । मलाई त्योभन्दा बढी के चाहियो र ?’
पूर्व मिस नेपाल उषा खड्गी र व्यवसायी जिपी तिमिल्सना श्रीमान्–श्रीमती हुन् । उनीहरूको पेशा बेग्लाबेग्लै छ । उनीहरूको सहयात्राको एउटा विशेषता छ– एक–अर्काको पेशामा दखलअन्दाजी नगर्नु । तर, यसको अर्थ उनीहरू सहयोग आदानप्रदान गर्दैनन् भन्ने होइन । हामी उषालाई जिपीले व्यवस्थापन गर्ने इभेन्ट र विज्ञापनहरूमा देखिरहेका हुन्छौँ । उषाले चलाइरहेको बुटिकमा पनि जिपीले आफ्नो ‘इनपुट’ दिइरहेका हुन्छन् । ‘मलाई चाहिएको सहयोग म उनीसँग लिन्छु, उनलाई चाहिएको सहयोग उनी मसँग लिन्छिन्,’ एकअर्काको सल्लाहमा अघि बढेकाले नै आफूहरू सफल भएको उषाको विश्वास छ ।
मिलीजुली काम
सहकार्य भनेको कुनै पनि काम मिलेर गर्नु हो । त्यसैले सहकार्य बाहिरी काम र पेशागत कुरामा मात्र हुँदैन, घरको काममा पनि हुन्छ र हुनुपर्छ । व्यवसायी सुरज वैद्य र ऋतु सिंहको जोडी यही सिद्धान्त आत्मसात् गरेर अघि बढिरहेको छ । बिहे गरेको कति वर्ष भयो ? त्यसको जवाफ दिएर बिहेलाई वर्षको अंकगणितमा मात्र कैद गर्न चाहँदैन यो जोडी । सुरज भन्छन्, ‘हामी बिहेको वर्षगाँठ मनाइरहन्छौँ तर बिहे गरेको यति वर्ष भयो भनेर हाम्रो सहकार्यको गन्ती गर्दैनौँ ।’ ऋतु सन् १९९१ की मिस इन्डिया एसिया वल्र्ड हुन् । अहिले सुरज र ऋतु दुवै जना व्यवसाय गरिरहेका छन् । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज हुन् भने ऋतु युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिकी प्रबन्ध निर्देशक छिन् । व्यवसायदेखि घरको कामसम्ममा उनीहरूको बलियो सहकार्य हुन्छ । ‘सफलता र असफलताको सुरुवात घरबाटै हुन्छ, त्यसैले सबभन्दा पहिले घरमा राम्रो सहकार्य हुनुपर्छ,’ सुरज भन्छन्, ‘हामी घर र व्यवसाय दुवै मिलेर चलाउँछौँ । मेरो जिन्दगीमा ऋतु आएपछि व्यवसाय पनि फस्टाएको छ । हामीले कामको बाँडफाँड गरेका छौँ । कम्पनीको वित्तीय व्यवस्थापन उनी गर्छिन्, म अन्य कुरा हेर्छु ।’ घरमा पनि उनीहरूको सहकार्य हुन्छ । घरभित्रको सजावट कसरी गर्ने भन्ने निर्णय ऋतुले लिन्छन् । बगैँचा कस्तो बनाउने, त्यो चाहिँ सुरजको हातमा हुन्छ । ‘घर भित्र कस्तो रङ लगाउने, सजावटका सामान कहाँ राख्ने त्यो ऋतुले गर्छिन, बगैँचा चाहिँ मेरो जिम्मा हो,’ सुरजले भने, ‘शनिवार म भान्छा सम्हाल्छु ।’
नेपाली संगीतको चर्चित जोडी उदय सोताङ र मनिला सोताङले बिहे गरेको ३० वर्ष भइसक्यो । यो समयमा उनीहरूबीच घरमा मात्र नभएर पेशागत सहकार्य पनि भयो । सँगसँगै स्टेजमा गाउन हिडेँ, सँगसँगै गीत रेकर्ड गराए । सँगसँगै गजल रेस्टुरेन्टमा गीत पनि गाए । तीन महिनाअघि काठमाडौँ, दरबारमार्गको मधुशाला गजल रेस्टुरेन्टलाई उनीहरूले आफ्नै स्वामित्वमा लिएका छन् । ‘लामो समय अरूका लागि गायौँ,’ मनिलाले भनिन्, ‘अब आफ्नै लागि गरौँ भनेर यसको स्वामित्व लिएका छौँ । यसमा गाउने र अरु कलाकारसँग संयोजन गर्ने जिम्मा मैले लिएकी छु । ग्राहकसँग कुराकानी गर्ने र व्यवस्थापनको अरू कुरा उहाँले हेर्नुहुन्छ ।’ यता उदय मनिलासँगको सहकार्यलाई मीठो र सुखद मान्छन् । ‘हामीले कलिलो उमेरमा बिहे गरेकाले सानैदेखि धेरै संघर्ष गर्नुप¥यो,’ उदयले भने, ‘तर, मनिलाको साथ पाएकाले मैले आफूलाई कहिल्यै दुःखी महसुस गरिनँ । आज जे–जति चर्चा पायौँ, जे–जति उपलब्धि भयो, यो सब हामी दुईबीचको सहकार्यले नै सम्भव भएको हो ।’
फरक पेशामा सहकार्य
लेखक युग पाठक र कल्पना बर्ताैलाको १४ वर्षअघि मागी बिहे भएको थियो । युग चर्चित लेखक हुन् भने कल्पना विशेष अदालतमा कम्प्युटर अपरेटर छिन् । उनीहरूको पेशा फरक छ । तैपनि उनीहरूबीच सहकार्य भइरहेको हुन्छ । युगको लेखनमा कल्पनाको पनि अप्रत्यक्ष सहयोग हुन्छ । कसरी ? ‘लेखनको मुख्य थिममै सहयोग नगरे पनि आफूले जानेका केही सूचना दिएर सहयोग गर्छु,’ कल्पनाले भनिन्, ‘कुनै–कुनै ठेट शब्द आएन भने उहाँले त्यसमा मेरो सहयोग लिनुहुन्छ ।’ कल्पनाको कुरामा युग सहमत देखिए । ‘म ठेट शब्दको मामिलामा अलि कमजोर छु,’ उनले भने, ‘त्यसैले उनलाई सोधिरहेको हुन्छु । खास गरी, स्थानीय रुखबिरुवाको नाम, पहाडको खास प्रकारको जीवनको बारेमा उनीसँग सोधिरहेको हुन्छु । उनी अदालतमै काम गर्ने भएकाले अदालतका विषयमा लेख्दा पनि उनले सुझाव दिइरहेकी हुन्छिन् ।’
प्रहरी प्रधान कार्यालयको सञ्चार निर्देशनालयका निर्देशक डीआईजी राजीव सुब्बा सम्बन्धलाई बलियो बनाउने मूल आधार नै सहकार्यलाई ठान्छन् । उनी र उनकी श्रीमती दुवैजना जागिरे छन् । श्रीमती एलिना रञ्जित सञ्चारिका समूहमा कार्यक्रम संयोजक छिन् । उनीहरूसँग दुई छोरी र ७५ वर्षीया आमा छिन् । एक–अर्काप्रतिको समझदारी र सहकार्यकै कारण घरपरिवार हाँसीखुशी चलेको छ । राजीव आफ्नो सफलताको सम्पूर्ण श्रेय श्रीमतीलाई दिन्छन् । ‘म आज जहाँ छु, त्यसमा उनको ठूलो योगदान छ,’ राजीवले भने, ‘मैलै अमेरिका, हवाईमा गएर विद्यावारिधि गरेँ । त्यतिबेला उनी जागिर गर्थिन्, म पढ्थेँ । म पढाइसँगै घरमा छोरीको स्याहार गर्थें । साँच्चै, उनले मलाई सहयोग नगरेको भए पाँच वर्षसम्म मलाई अमेरिका बस्दा निकै गाह्रो हुन्थ्यो ।’ उता एलिना पनि राजीवप्रति आभारी छिन् । ‘उहाँले मैले गर्ने काममा समर्थन गर्नुहुन्छ र यसरी गर्नुपर्छ भनेर गाइड पनि गर्नुहुन्छ,’ एलिनाले भनिन्, ‘हामीले कामको विभाजन पनि गरेका छौँ । म घरभित्रको कामको व्यवस्थापन हेर्छु, उहाँ घरबाहिरको कामको जिम्मा लिनुहुन्छ ।’ राजीव बिहान चिया र अम्लेट बनाउँछन् । ‘छोरीको खाजा पनि बनाइदिएर स्कुल पठाउने जिम्मा मेरो हो,’ उनले भने ।
सहकार्यको कमाल
चाहे के सम्भव हुँदैन ? सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले काममार्फत ‘सबै सम्भव छ’ भन्ने जवाफ दिएका छन् । यो एउटा यस्तो जोडी हो, जसले परिवार र पेशामात्र होइन, समाजसेवामा पनि सहकार्य गरेको छ । भूकम्पपछि यी दुईले मिलेर तीनटा एकीकृत बस्ती निर्माण गरिदिएका छन् । यसले यो जोडीलाई अहिले सर्वाधिक लोकप्रिय बनाएको छ । हास्य सिरियल ‘मेरी बास्सै’बाट जमेको यो जोडी हरेक काममा सहकार्य गर्छ । जस्तो, सीताराम सिरियलको स्क्रिप्ट लेख्थे, निर्देशन गर्थे भने त्यसमा कुञ्जना रोचकता थपिदिन्थिन् । ‘पन्चलाइनमा पनि उनको योगदान रहन्थ्यो,’ सीतारामले भने, ‘त्यही भएर नै एपिसोड रोचक हुन्थे ।’ हालकै कुरा गर्ने हो भने पनि सीतारामले फिल्डमा खटेर मुसहर बस्तीको निर्माण सकाएका छन् भने सुन्तलीले काठमाडौँमा बसेर फाउन्डेसन सञ्चालन गरिरहेकी छिन् । घर र छोरीको जिम्मा पनि उनैले लिएकी छिन । ‘हाम्रो सम्बन्ध त ‘सोधेर मात्र सास फेर्छौं’ भने जस्तो छ,’ कुञ्जना भन्छिन्, ‘एक अर्कालाई जे कुरा पनि सुनाउने र सल्लाह गर्ने कारणले पनि हाम्रो सम्बन्ध दिनहुँ मजबुत बन्दै गइरहेको छ ।’
सहकार्यले फाइदैफाइदा
मिलेर काम गर्दा कसलाई फाइदा हुँदैन र ? ‘सहकार्य गर्दा फाइदैफाइदा छ,’ अभिनेता मदनकृष्ण श्रेष्ठले भने, ‘हाम्रै उदाहरण लिऊँ । म एक जनाले कार्यक्रम बनाउँदा ५० प्रतिशत मान्छे हाँस्छन् भने हरि र म मिलेर बनाउँदा ७० प्रतिशत हाँस्छन् । २० प्रतिशत त बढ्यो नि ? त्यस्तै, स्टेजमा प्रस्तुति दिदाँदिँदै म एक जना थाकेँ भने अर्कोले माहोल तताइदिन्छ । दुई जना हुँदाको फाइदा यो पनि हो ।’ उनका अनुसार सहकार्यलाई बलियो बनाउने कसी भनेको पैसा पनि हो । ‘आर्थिक उपलब्धि हुँदै गएपछि सहकार्य झन्झन् बलियो हुने रहेछ, सँगै काम गर्ने उत्साह झन् बढ्दो रहेछ,’ मदनकृष्णले भने, ‘सहकार्य हुनुअघि हामी आ–आफ्ना ढंगले कार्यक्रम गर्दै हिँड्थ्यौँ । दुई जना सँगै भएपछि एक्लै–एक्लै हिँडेको भन्दा हाम्रो स्थिति बलियो भयो ।’
दीपकको ‘टेकअफ’, दीपाको ‘ल्यान्डिङ’
धेरैले धेरै कुरा गरेर फुटाउन नखोजेको होइन, हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीलाई । ‘त्यसले भन्दा त तैँले धेरै गरेको छस् नि । त्यसले के गरेको छ र ?’ भन्दै एक–अर्कालाई उचालेर सम्बन्ध बिगार्ने वातावरण सिर्जना नभएको पनि होइन । तैपनि २३ वर्षदेखि यो जोडी निरन्तर सहकार्यमा छ । रेडियो नेपालमा रामविलास र धनियाँ बनेर चर्चा कमाएको यो जोडीलाई हास्य सिरियल ‘तीतो सत्य’ले असाध्यै लोकप्रिय बनायो । सिरियलबाट फिल्मको निर्माण गर्दासम्म यो जोडीको सहकार्य टुटेको छैन्, झन्झन् बलियो बन्दै गइरहेको छ । ‘हामी दुवैको पेशा एउटै, उद्देश्य एउटै भएकाले पनि सहकार्य निरन्तर भइरहेको जस्तो लाग्छ,’ दीपाश्रीले भनिन्, ‘हामी सधैँ एक–अर्कालाई सम्मान, प्रेम र विश्वास गर्छाैं । पैसामा पनि बार्गेनिङ गर्दैनौँ । मान्छेहरू सफलताको एउटा शिखरमा पुगेपछि मातिन्छन्, आतिन्छन् । हामी चाहिँ यसलाई सहज रूपमा लिन्छौँ । अझै राम्रो कसरी गर्ने भन्ने सोच्छौँ । सायद यही कारण हामी टिकेका छौँ ।’
काममा उनीहरू सधैँ सहकार्य गर्छन् । दीपक स्क्रिप्ट लेख्छन्, दीपा त्यो स्क्रिप्टमा फूलबुट्टा भर्ने काम गर्छिन् । कलाकार छनोटलगायत व्यवस्थापकीय पाटो सम्हाल्छिन् । ‘हामीले गर्ने प्रायः प्रोजेक्टमा दीपक ‘टेकअफ’को काम गर्छ, म ‘ल्यान्डिङ’ गर्छु,’ दीपाले भनिन् ।
सहकार्यअघि उनीहरू आ–आफ्ना ढंगले लागिरहेका थिए । दीपक कमेडी गर्दै हिँड्थे, दीपा फिल्ममा काम गर्थिन् । ‘हामी दुवै त्यसरी लागिरहेको भए न हामी लामो समय टिक्थ्यौँ, न हाम्रो आज भएजति चर्चा हुन्थ्यो,’ दीपाले भनिन्, ‘आज हामीले जे–जे उपलब्धि हासिल गरेका छौँ, त्यो सहकार्यकै फल हो । आज हामी दुवैको जीवनस्तर उक्सिएको छ । हामी दुवैसँग आज घर छ, कार छ, बैंक ब्यालेन्स छ । यो सब हामी दुईले सहकार्य गरेर हासिल गरेका हौँ ।’
प्रकाशित: २६ वैशाख २०७४ ०६:१८ मंगलबार