१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

‘लियोनार्डोलाई भेट्न पाए...’

केकी अधिकारी नेपाली फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छिन्ः

पुस्तक
ब्राजिलियन उपन्यासकार पाउलो कोहेलोको ‘इलेभेन मिनट्स’ मैले दोहो¥याएर पढेको छु । महिलासम्बन्धी संवेदनशील विषयलाई पुस्तकमा उठान गरिएको छ । म आफू नारीवादी भएकाले पनि यो पुस्तकले छोएको होला । महिलाको वास्तविक भावनालाई यो पुस्तकले उजागर गरेको जस्तो लाग्छ ।

लेखक
मलाई पछिल्लो समय प्रिय लागेका लेखक हुन्, बुद्धिसागर । उनको ‘कर्नाली ब्लुज’, ‘फिरफिरे’ दुवै किताब पढेकी छु । उनको लेखनमा नेपाली माटोको स्वाद आउँछ । उनीसँग पाठकलाई बाँध्न सक्ने क्षमता छ ।

भेट्न मन लागेको व्यक्ति
मलाई अभिनेता लियोनार्डाे डिकाप्रियो असाध्यै मन पर्छ । फिल्म ‘टाइटानिक’ हेरेदेखि नै म उनको फ्यान हुँ । उनलाई एक पटक भेट्न पाए जीवन सार्थक हुन्थ्यो ।

भेटिरहन मन लाग्ने व्यक्ति
मेरो प्लस टूदेखिको साथी नित्या कार्कीलाई भेट्न मन लागिरहन्छ । ऊ अहिले डाक्टर छे । उसका र मेरा विचार मिल्छन् । उसको वाहियात गफ सुन्दा पनि दिक्क लाग्दैन ।

नेता
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा मलाई प्रिय लाग्ने नेता हुन् । ओबामा सबैलाई सम्मान गर्छन् । सबै लिंग, धर्म, जातजातिप्रति समान व्यवहार गर्छन् । त्यस्ता व्यक्ति संसारमा कमै हुन्छन् ।

सौन्दर्य प्रसाधन
म लोरियल ब्रान्डका कस्मेटिक प्रोडक्ट प्रयोग गर्छु । यसका ब्रान्डका प्रोडक्ट टिन एज पार गरिसकेकालाई ध्यानमा राखेर बनाइएको हुन्छ जस्तो लाग्छ । नाइट क्रिम, डे क्रिम, फेसवास सबै प्रायः यही ब्रान्डकै प्रयोग गर्छु । लिपस्टिक चाहिँ म्याक ब्रान्डको लगाउँछु । यो लङ लास्टिङ हुन्छ र विभिन्न रङमा पनि पाइन्छ ।

ब्याग
मलाई एमके ब्रान्डका ब्याग मन पर्छन् । ब्यागमा धेरै सामान हाल्नुपर्ने हुन्छ । त्यसैले यसका लागि ब्याग सजिलो र भरपर्दो लाग्छ ।  

घडी
अचेल मलाई डी डब्लुको घडी एकदम मन पर्छ ।

चस्मा
मेरो अलटाइम प्रिय हो, रेबन ।

सपिङ स्टोर
मलाई काठमाडौँ, सुन्धारास्थित सिभिल मलको पीजे कलेक्सनमा पाइने सामान खूब मन पर्छन् । त्यहाँ थरी–थरीका सामान पाइन्छन् ।

हेर्न मन लागिरहने फिल्म
‘टाइटानिक’ जति पटक हेरे पनि धीत मर्दैन । टीभीमा जतिचोटि आउँदा पनि हेरिरहेको हुन्छु । फिल्मको प्रेमकथाले मलाई छोएको हो ।

चरित्र
आफूले निर्वाह गरेका चरित्रमध्ये फिल्म ‘लभसाशा’ को ‘साशा’ मलाई प्रिय लाग्ने चरित्र हो । यो चरित्र  धेरैको वास्तविक जीवनसँग नजिक छ ।

कलाकार
मलाई अभिनेता हरिवंश आचार्य असाध्यै मन पर्छन् । उनको अभिनय जीवन्त लाग्छ ।

सुन्न मन लागिरहने गीत
नारायण गोपालको ‘केही मीठो बात गर’ जति सुने पनि अघाउँदिनँ ।  अर्थ नबुझ्ने हुँदादेखि नै यो गीत मलाई मन पर्न थालेको हो । अर्थ बुझ्न थालेपछि त मनभित्रै गएर बस्यो । जहाँ बज्दा पनि मेरो गीत बजेको जस्तो लाग्छ । यसको अन्तरा साह्रै मन पर्छ ।


पर्व
तिहार मेरो मन पर्ने पर्व हो । यो पर्वमा झिलिमिली हुन्छ, मान्छेलाई अँध्यारोबाट उज्योलोप्रति प्रेरित गरेको जस्तो लाग्छ । अरू पर्वजस्तै यो पर्वमा पशु हत्या हुँदैन । बरु, जनावरको सम्मान गरिन्छ, पूजा गरिन्छ । त्यसैले तिहार एकदमै मन पर्छ ।

प्रस्तुतिः अनिल

 

प्रकाशित: २८ चैत्र २०७३ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App