१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

लालगोपाल, योगमाया, पानी र इन्द्रेणी

कृष्ण धरावासी

भावको सघनता गद्यको शक्ति हो। विवरणात्मकताबाट मुक्त र व्याख्याबाट जोगिएको भावपक्षको उपस्थिति नै कविता हो। गद्य कवितामा आइरहने संकट भनेकै व्याख्या र आख्यानको दबाब हो। कवितामा भेटिने शब्दहरूको भावमय उपस्थिति भावकलाई बाँधेर राख्ने तŒव हो। त्यसको अभाव कविताको कमजोरी हो। विषयलाई प्रस्तुत गर्दागर्दै कविता लेख्न बसेको कवि निबन्ध लेखेर उठिरहेको भेटिन्छ, कैयौँ ठाउँमा। कवितामा घटना हाल्दाहाल्दै कथा लेखिसकेको हुन्छ।

गद्य कवितामा करुणाको पक्ष निकै कमजोर भेटिन्छ। बुद्धिको कुरा गर्दागर्दै कहिले त भाषणजस्ता लाग्न थाल्छन् कविता। कवितामा हृदय ओछ्याउन नसक्ने कविहरू आख्यानतिर उक्लिरहेका छन्। कविताको गद्य शैलीबाट प्रवेश गरेर कवितामै अडेर रहने कविहरू साह्रै थोरै छन्।

योगमाया एक ऐतिहासिक पात्र हुन, तर त्यस्ती ऐतिहासिक पनि होइनन् कि राज्यसत्ता नै उल्टाउने। तैपनि त्यो युगमा त्यो तहको विद्रोह पनि अकल्पनीय नै थियो। यो काव्यका प्रत्येक नारीपात्रलाई योगमायाको प्रतीकको रुपमा प्रस्तुत गरिएको छ।

पद्य कविताबाट लेखनयात्रा प्रारम्भ गरी त्यसैमा अडिरहेका एक कवि लालगोपाल सुवेदी ४० को दशकदेखि नेपाली कविताप्रेमीले चिनिल्याएको नाम हो। लामो अवधिको अमेरिका प्रवासपछि उनी फेरि एकपल्ट सुन्दर कविताकृतिका साथ देखापरेका छन्। पछिल्लो कालमा यिनी कविताका गद्यपद्य दुवै फाँटमा एकैसाथ देखापरेका छन्। अनुभूति र चेतनालाई सन्तुलित शब्दशिल्पीका साथ सिँगार्ने लामै अभ्यास गरेको अनुभूत हुन्छ।

पानी, योगमाया र इन्दे्रणी यिनको नयाँ काव्यकृति हो। कृतिको नाम लामो भए पनि विषयवस्तु र भावपक्ष एकदम नै अर्थमय छ। ३९ वटा स्वतन्त्र शीर्षक भएको यो कृति कवितासंग्रह जस्तो लागे पनि काव्यका तŒवले भरिपूर्ण छ। कविताहरू मात्र पढे पनि स्वतन्त्र कविताको छुट्टै रसास्वादन गर्न सकिन्छ। नियमित रुपमा पढ्दै गए ती एकअर्कोसँग दरो गरी बाँधिएका पनि छन्।

कृतिको मूल आसय महिलाहिंसा र मुक्ति प्रसंग हो। हाम्रो समाजमा महिलाको पूर्व र वर्तमान अवस्थाको चित्रण र त्यसबाट हुन खोजिरहेका मुक्तिका प्रयत्नको मिहीन उल्लेख छ। विषयको गद्यात्मक शक्तिलाई काव्यमय बनाउन गरिएको परिश्रम सबभन्दा प्रशंसनीय छ। यसो त कविताले उठाएका मुद्दा अब उति नयाँ होइनन्। नारी हिंसा र विद्रोहको स्वर आज सबैभन्दा कडा रूपमा सुनिन थालेको छ। अब नारीहरू आफैँ नै आफ्नाबारेमा बोल्न र लेख्न सक्ने हुन थालेका छन्।

यो कृतिमा नारी जीवनको तरलतालाई जुन प्रकारले व्याख्या गरिएको छ, त्यो नै कृतिको नयाँपन हो। विचार र विषय प्रचलित सन्दर्भबाटै उठाइएको भए पनि त्यसलाई प्रस्तुत गर्ने कला नै लालगोपालको मौलिक विशेषता हो। उनको दोस्रो नयाँ कृति सबाल्टर्न पात पनि यिनै गुणले परिपूर्ण छ।

पानी, योगमाया र इन्दे्रणीको सुरुवात मंगलाचरणबाट गरिएकाले पनि पाठको पठन प्रवेश काव्यात्मक बन्दछ। फेरि प्रत्येक कविता स्वतन्त्र पठनको हक पनि राख्न खोज्छन्। जुनसुकै पृष्ठको जुनसुकै कविता पढे पनि उस्तै रस प्राप्त हुनु र सिध्याउनै मन लाग्नु कविको पाठकलाई बाँध्न सक्ने क्षमताको कला हो। सीधै खोजे आख्यान भेट्न गाह्रो छ तर पढ्दै गयो भने सिंगो कथाको अध्याय नै उघि्रन थाल्छ। बादलसँग घामले लुकामारी गरेजस्तो आख्यान देखिँदै हराउँदै गरिरहन्छ अन्त्यसम्म नै।

योगमाया एक ऐतिहासिक पात्र हुन, तर त्यस्ती ऐतिहासिक पनि होइनन् कि राज्यसत्ता नै उल्टाउने। तैपनि त्यो युगमा त्यो तहको विद्रोह पनि अकल्पनीय नै थियो। त्यो एक आध्यात्मिक विद्रोहजस्तो देखिए पनि त्यसले समाज सुधारका निम्ति ठूलो आवाज उठाएको थियो। उनको त्यो विद्रोह नेपाली महिलाको आदि विद्रोहका रूपमा चिनिन्छ। आजभन्दा झन्डै डेढ सय वर्षअघि जन्मिएकी ती महिलाले त्यसबेला गरेको सामाजिक अन्धतामाथिको विद्रोह आश्चर्यजनक लाग्छ, जुन युगमा सतीप्रथाको नाममा नारीलाई जीवितै जलाउनुलाई जायज मानिन्थ्यो। सतीप्रथा जीवितै रहेको समाजमा पटकपटक विधवा भएर पनि पुनर्विवाह गर्न सक्नु र अन्त्यमा सांसारिकताबाट विरक्त भई आध्यात्मिक मार्गतिर लागे पनि समाजकै पक्षमा आवाज उठाउनु अनि उनको त्यो आवाजलाई सुन्ने ठूलो समाजको निर्माण हुन सक्नु भनेको सानो कुरा होइन।

सात वर्षको उमेरमा विवाह भई नौ वर्षको उमेरमा विधवा भएकी उनी दोस्रोपल्ट पनि विधवा हुन पुगेकी छन्। दोस्रो पतिबाट एक छोरी भई विधवा भएकी उनी तेस्रो विवाह गर्न फेरि तयार भएकी देखिन्छिन्। आज त विधवा वा छोडपत्र गरेकी महिलाले पुनः विवाह गर्नुलाई नकारात्मक आँखाले हेर्ने समाज जीवितै छ भने त्यो युगमा उनले कति संघर्ष गर्नुपर्‍यो होला। भक्तिमार्गमा उभिएरै राणा प्रधानमन्त्री जुद्धशमशेर समक्ष सामाजिक सुधारका लागि माग राख्न सक्नु र ती माग पूरा नभए दुई सय ४० जनाले सामूहिक अग्निदाह गर्नेजस्तो साहसिक धम्की सरकारलाई दिने आँट आश्चर्यलाग्दो छ। पहिलो आन्दोलन तुहाई थुनिएका उनीहरूले जेल मुक्त भएपछि पुनः माग राख्दै १९९८ मा ६८ जना  अरुण नदीमा फाल हानी जल समाधि लिएका थिए। आज पनि विद्रोह गर्नेहरू कतिले जिउमा आगो लगाई आत्मदाह गरी सरकारलाई असजिलो पार्ने गर्छन्।

यो काव्यका प्रत्येक नारीपात्रलाई योगमायाको प्रतीकको रुपमा प्रस्तुत गरिएको छ। आधुनिकताले सुधारका कैयौँ मार्ग खोलेको भए पनि नारीमाथि आज पनि उनको स्वतन्त्रतामाथिको नकारात्मक दबाब यथावत नै छ। आज पनि घरेलुहिंसा तथा सामाजिक अपमानमा खासै कमी आएको छैन। यस कृतिमा कविले हाम्रो समाजमा विद्यमान नारी समस्याको मार्मिक चर्चा गरेका छन्। गर्भजाँच गरी छोरी तुहाउने आजको समाजमा नारीको अवस्था जति नै सुरक्षित माने पनि सारमा खासै परिवर्तन भएको देखिँदैन। आमा, प्रेमिका र पत्नीका लागि ठुल्ठूला आदर्श गाउनेहरू किन छोरीलाई गर्भैमा तुहाउँछन्? गाई, भैंसी, बाख्राले बाच्छी, पाडी र पाठी पाउँदा खुसी हुने पुरुष समाज पत्नीले छोरी पाउँदा किन दुःखी हुन्छ? किन? कवि लेख्छन्।

(क)  

भन्न मन लाग्छ मलाई

पिता पनि जाली

पति पनि जाली

र पुत्र पनि जाली

अझ पिता पुत्र र पतिभन्दा पनि

उहिल्यैदेखि चलिआएको

परम्परा हो महाजाली।

( पृष्ठ २४)

(ख)

यो कस्तो वचन हो बाउको?

भन्नुहुन्थ्यो पटकपटक मेरी आमालाई

छोरो पाइस् भने पाउँछेस् खसीको टाउको,

म जन्मिँदा पिउनु भो मेरी आमाले फर्सीको झोल

भाइ जन्मिँदा भाइकी आमालाई खसी

म जन्मिँदा मेरी आमालाई फर्सी।

कवितामा नारीलाई पानीसँग तुलना गरिएको छ। पानीको रूप तरल भए पनि कहिले भल बग्छ, कहिले दह जम्छ, कहिले पोखरी हुन्छ। बग्दाबग्दै थुनिन्छ कहिले, बाफ भएर सुक्छ कहिले। नारीभित्रको सिर्जनशीलता र संघर्षशीलता सधैँ कुण्ठित भइरहेको हुन्छ। नदीजस्तो बग्न चाहने नारी मन दहजस्तो पोखरीजस्तोमा थुनिएर, मैलिएर त्यत्तिकै कुण्ठित भइरहेका हुुन्छन्। आज पनि उनीहरू अझै घर, सडक अफिस सबैतिर असुरक्षित अनुभव गरिरहेका हुन्छन्। कविले कृतिभरि घरेलु हिंसा, अत्यधिक श्रम र अपमानका विम्ब प्रयोग गरेका छन्। प्रत्येक कविता नारी मनका घाउजस्ता छन्। काव्यमा हुने नौ रस र इन्द्रेणीमा हुने सातै रंग नारीको जीवनमा घुलेर रहेका हुन्छन्। नारीको यो रूप र अवस्थालाई नबुझेसम्म घरभित्रैबाट उनीहरू सधैँ असुरक्षित भइरहने छन्।

कृति आख्यानात्मक भएर पनि स्वतन्त्र कविताको संग्रह पनि छ। छन्दबाट चिनिएका कवि लालगोपालले गद्यमा आफ्नो कलमलाई जुन शक्ति प्रदान गरेको भेटिन्छ, त्यसबाट उनमा बौद्धिकता र कलाले फरक ढंगबाट पनि प्रवेश गरिरहेको बोध हुन्छ। पछिल्लो कालमा नेपाली परिवेशभित्र कविताको शक्ति देखाइरहेका समकालीन पुस्तासँग लालगोपाललाई सहजै दाँज्दै फरक चिन्तनका साथ पत्याउन सकिने ठाउँ पुस्तक भरी भेटिन्छन्। कवितामा लीलाबोधको चेतना प्रवेश गराएर पनि फरक स्वाद दिन सकेको भेटियो। इतिहास, दर्शन, राजनीति, भूगोल र चेतनासँग खेलिएका उनका कविताले पठनमा नयाँ स्वाद बोकेका छन्।

नारीलाई पानी र इन्दे्रणीसँग तुलना गर्दै तिनीभित्र रहेको धैर्य, सहनक्षमता, रंग र तरलतालाई सनातन विम्बको रूपमा प्रस्तुत गर्दा यो कृतिले पाठकभित्र एक प्रकारको तरंग उत्पन्न गर्छ।

खाँदिएका वाक्य, सूत्रात्मक प्रस्तुति, सूक्तिमय विम्ब, उनका कविताका शक्ति भएर उभिएका छन्। लामो समयसम्म देशभन्दा टाढा रहेर पनि उनमा भूगोलबाट चुँडिएको र समसामयिक सूचनाबाट एक्लिएको बोध हुँदैन। राष्ट्रियताबाट उठेर सार्विक चिन्तन गर्न सफल यी कविताले लालगोपाललाई फेरि एकपल्ट नयाँ स्वरको कवि बनाएर उभ्याएको छ।

प्रकाशित: २६ चैत्र २०७३ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App