२ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

सुन्दर सुदूरपश्चिमः आध्यात्मिक परशुरामधाम

हिन्दु मान्यता अनुसार भगवान बिष्णुका दश अवतार मध्ये परशुराम छैटौं अवतार हुन् । सप्तऋषि मध्येका एक जमदग्नीका छोरा परशुराम । उनले शिवको तपस्या गरे । भगवान खुशी भएर बञ्चरो उपहार दिए । त्यसैले परशुरामलाई बञ्चरो बोक्ने राम पनि भनिन्छ ।

डडेल्धुराको विष्णुपुरमा तपस्या गरेर परशुराम चिरञ्जिवी बने । त्यहाँ उनले भिष्म पितामह, द्रोणाचार्य र कर्णलाई धर्नु विद्या सिकाएका थिए । भगवान रामले पनि त्यहीँ समाधि लिएको विश्वास गरिन्छ ।   

परशुरामले असुरहरुको विनास गरेर पृथ्वीलाई पटकपटक अधिनमा लिए । तिनै परशुरामले कहिल्यै नर्मने बरदान पाएको ठाउँ डडेल्धुराको परशुराम नगरपालिका–५ मा पर्छ । ऐला र श्यामा नदीको संगममा ।

स्कन्द पुराणमा महाकालीको विष्णुपुर तीनै लोकमा प्रसिद्ध छ भनेर लेखिएको छ । विष्णुपुर नै परशुराम क्षेत्र हो । त्यसलाई चक्र तिर्थ भनिन्छ जहाँ स्नान गरे सबै पाप नाश हुने विश्वास छ । साथै त्यसरी नुहाउने मान्छे स्वर्ग नजिकैको बिष्णु लोक पुग्दछ ।

रंगुन (ऐला) र महाकाली (श्यामा) नदीको संगममा परशुरामधाम । रंगुन पूर्वबाट पश्चिम बगेकि छिन् भने महाकाली उत्तरबाट दक्षिण । नदी किनारमा स्यानो टापु छ । टापुको बलौटे माटो कालो छ । त्यसलाई गाउँले यज्ञ गर्दा डढाइएको चरुका रुपमा वर्णन गर्छन् । उहिल्यै यहाँ देवसभा हुँदा परशुरामलाई अजम्बरी हुने बरदान मिलेको थियो ।   

परशुरामले बञ्चरो हिर्काएर तीन हात लम्बाई, तीन हात चौंडाई र तीन हात गहिराइको कुण्ड बनाएका थिए । त्यसमा विश्वकर्माले बिष्णुको मूर्ति राखे । आज कुण्ड देखिँदैन ।  केही समय अघि परशुरामधाम दर्शन गर्न आइपुगेका नेपालका प्रथम जगदगुरु मोहनशरण देवाचार्यले बिष्णुपुरको एक छेउलाई कुण्ड मानेर पूजापाठ गरेका थिए ।

युधिष्ठिर स्वर्ग जानु अघि छिरेको धर्मद्वारमा अचेल पनि मान्छे पस्छन् । द्वार छेउमा उम्रिएको बाबियो गाँठो पारेमा मनोकामना पुरा हुन्छ । प्रेम सफल हुन्छ । भाग्य बलियो बन्छ भन्ने भनाई छ ।    
स्यानो टापुमा मन्दिर छ । जुन विसं २०३१ मा बनाइएको । मन्दिर भित्र शिव र गणेशका मूर्ति छन् । बिष्णुपुरमा भगवान ब्रम्हाले सत्य युगमा रोपेको भनिएको वर र पिपल छन् । ती बिरुवा न कहिले बढ्छन् न कहिल्यै घट्छन् । तिनलाई बिष्णुस्वरुप मानेर पूजिन्छ ।

महाकाली किनारको बामघाट वनारस सरह पवित्र मानिन्छ । परशुरामधाममा माघ महिनाभर मेला लाग्छ । भक्तजन कल्प बास बस्छन् । त्यस बाहेक साउने सोमबार, अक्षय तृतिया र शिवरात्रीमा मेला लाग्छ ।
परशुराम क्षेत्रमा देउरा राख्ने घर छन् । देउरा भनेका चल देवता हुन् । मकर संक्रान्ति र सूर्य ग्रहण लागेका बेला डडेल्धुराका १६ वटा शिवालयका देउरा ल्याइन्छ । तिनलाई स्नान गराइन्छ । खिट्केश्वर, भागेश्वर, असीग्राम, बैद्यनाथ लगायतका देउरा ल्याइन्छ । देउराहरु स्नान गर्ने अलग अलग घाट छन् । उनीहरुलाई देवघाटमा सामूहिक स्नान गराइन्छ ।

परशुराम क्षेत्र विकास समितिले तीन तले परशुराम मन्दिर बनाउँदैछ । त्यसभित्र ६ फिट अग्लो तामाको मूर्ति राखिने समितिका अध्यक्ष कैलाश पाण्डेयले बताए । ‘वर्ष दिनभित्र मन्दिर तयार भैसक्छ’, उनी भन्छन्, ‘हामी दुई सय जना क्षमताको धर्मशाला पनि बनाउँदै छौं । स्नानघाट व्यवस्थित गर्दैछौं ।’
भित्रि मधेशमा पर्छ परशुरामधाम । त्यस क्षेत्रमा धान, गहुँ र मास राम्रो उत्पादन हुन्छ । तर, त्यहाँ व्यवस्थित होटल खुलिसकेका छैनन् ।  

सरकारले श्रीर्ष र जोगबुढा गाविस मिलाएर विसं २०७२ मा परशुराम नगरपालिका बनाएको हो । मन्दिर क्षेत्रसम्म मोटर बाटो पुगेको छ । त्यहाँ धर्मशाला छ । मन्दिरबाट २ किमि परको परिगाउँमा खाजा पसल छन् ।

परिगाउँको पनि आफ्नै कथा छ । बिष्णुपुरमा जमदग्नी ऋषिको आश्रम थियो । उनी र परशुरामको तपस्या भंग गर्न परी आएर नाच्ने ठाउँ नै परिगाउँका रुपमा प्रख्यात भयो जहाँ परशुरामकि आमा रेणुकादेवीको मन्दिर छ ।  

परशुरामधाममा चिया पसल छ । बास बस्न जोगबुढामा सामान्य होटल छन् । सडक पक्कि बनाउने, सुविधायुक्त होटल खुल्ने र परशुरामधामको महिमा राम्रो प्रचार गर्न सके नेपाली र भारतीय पर्यटक बढ्न बेर लाग्दैन । अन्त्यमा धनगढीका पत्रकार दिपक उपाध्यायको भनाई, ‘अरु धाम एकपटक परशुरामधाम पटकपटक ।’

कसरी पुग्नेः काठमाडौं–महेन्द्रनगर ७०० किमि । महेन्द्रनगरको दैजीबाट वेदकोट ताल जोगबुढा हुँदै परशुरामधाम ४५ किमि । डडेल्धुराको बुडहरबाट जोगबुढा हुँदै पनि ४५ किमि । महेन्द्रनगरबाट बिहान ८ बजे र धनगढीबाट बिहान ७ बजे बस छुट्छन् भने डडेल्धुराबाट बिहान ११ र दिउसो ३ बजे । दुबैतिरबाट छुट्ने बस जोगबुढा हुँदै परिगाउँ  पुग्छन् । परिगाउँ–परशुरामधाम–२ किमि । जोगबुढाबाट पश्चिम १५ किमिमा परशुरामधाम ।

महाकालीले कटान

कैलाश पाण्डेय
अध्यक्ष, परशुराम क्षेत्र विकास समिति

स्कन्द पुराणले परशुरामधाम अन्यत्र छैन भनेको छ । नेपालमा मात्र भएको यति पवित्र तिर्थलाई बर्सेनी महाकाली नदीले कटान गर्दै आएको छ । रोकथामका लागि ठूलै योजना चाहिन्छ । यसका लागि सरकारले बजेट छुट्टयाउनु पर्छ । हामी आफ्नो हिसाबले मन्दिरको गुरु योजना बनाउँदै छौं । मन्दिरको प्रचार गरिरहेका छौं ।
सम्पर्कः ९८४८७७६११५

प्रकाशित: १९ चैत्र २०७३ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App