महावीर विश्वकर्मा
पुस २३ गते शनिबार नागरिक दैनिकको 'अक्षर'मा कवि प्रोल्लास सिन्धुलीयको तीन कविता प्रकाशित भयो। जसमध्ये एक थियो, म झप्पड नेपाली। केही समयअघि यो कविता वाचन गर्दै गर्दा उनले भनेका थिए, 'झप्पड नेपाली मेरो बाल्यकालको साथी हो।' त्यही दलित समुदायको साथीको नाममा उनले कविता नै लेखे। तर कसरी लेखे? यो प्रश्नको जवाफ खोजिनु यसकारण पनि आवश्यक छ कि वर्षौंदेखि अन्यायमा पारिएको यो समुदायको मुद्दालाई कतिपय मान्छे कसरी बु‰छन्? वा उनीहरूको मागप्रति अरुहरूको धारणा के हो? भन्ने आकलन(लगभग) गर्न पनि त्यसले सघाउँछ।
कविताले भन्छ, म पनि तिमीजस्तै श्रमजीवी मान्छे हुँ। हो, वर्गीय रुपमा हामी समान हौँला। तर एउटा गरिब बाहुन र एउटा गरिब दलितको पीडा उस्तै हो भन्नु बिल्कुल गलत कुरा हो। दलितहरू दलित भएकैले गरिब भएका हुन्। अझ महत्वपूर्ण कुरा के हो भने, वर्गीय आँखाले मात्रै हेरेर नेपालको दलित समस्या समाधान हुनै सक्दैन।
कवि लेख्छन्–
तेरो जिजुबाजेले मेरो जिजुबाजेलाई
कुन्नि के गरेथ्यो भन्दै
मसँग सिँगौरी खेल्न उद्दतहरूको भीडमा
तिमी पनि रहेछौ
ओ बालसखा झप्पड नेपाली!
दलित समुदायले आफ्नो अधिकार पाउनुपर्छ भनेर आन्दोलन गर्नु, सिँगौरी खेल्नु हो? अनि यो दलित आन्दोलन कुनै व्यक्तिप्रति लक्षित हो? होइन, यो त राज्यसँगको कुरा हो। अनि राज्यसँग अधिकार माग्दा कोही कसैलाई यतिविधि बिझाउँछ किन?
अगाडि लेख्छन्–
तिम्रो त्यो पुस्तैनी त्राससँग
बाह्र हातको टाँगोले पनि नछुने मान्छे
कतिन्जेल उभिइरहन सक्छु
यो विवेकशून्य कठघरामा?
यस्तै अर्को पंक्ति पनि छ कवितामा,
भ्रूण भएर यो पृथ्वीमा
श्वास लिन थाल्नुभन्दा
युगौँ अगाडिका सवालहरूको कसरी उत्तराधिकार लिन सक्छु?
कवि आफू जन्मिनुभन्दा अघिको कुरासँग आफ्नो कुनै सरोकार नभएको तर्क पेस गर्छन्। यो भन्नुभन्दा अगाडि हिजो कवि र झप्पड नेपालीलाई राज्यले हेर्ने दृष्टिकोणमा केही फरक थियो कि थिएन भनेर बु‰नुपर्ने हुन्छ।
एउटा उदाहरण पेस गर्यौं, करिब २२ सय वर्षअगाडि लेखिएको भनिएको मनुस्मृतिमै 'दलितहरूले शास्त्रहरू सुने भने पनि कानमा फलाम तताएर हालिदिनू' भन्ने उल्लेख छ । राज्यले योजनाबद्ध रुपमा, नियम बनाएर उसलाई औपचारिक शिक्षाबाट टाढा राखेको हो। यस्तो विभेद कविको पुर्खा(बाहुन)लाई थिएन। बरु संरक्षण थियो राज्यबाट। जात बाहुन हुनेबित्तिकै संस्कृत विद्यालयमा निःशुल्क रुपमा खाने, बस्ने र पढ्ने व्यवस्था थियो, तर कथित अछुत भित्र छिर्नै पाउँदैनथ्यो, यसरी कोही विकसित र कोही उत्पीडित हुँदै आएको हो राज्यबाटै।
त्यसैले युगौँ अघिको व्यवस्थाले गर्दा आज पनि हामी पीडित छौँ भनेर दलितले गुनासो गरिरहँदा, 'त्यो कुरा मलाई मतलब छैन, म जन्मिनुभन्दा धेरै अघिको कुरा हो' भनेर कोही कथित उच्च जातको व्यक्तिले भन्न मिल्छ? जब कि त्यही विगतको आधारमा हरेकको वर्तमानको अधिकांश हिस्सा तय भएको हुन्छ।
उनी अगाडि लेख्छन् :
म पनि नेपाली हुँ झप्पड नेपाली
यो देशको ऐनअनुसार
कुनै पनि प्रकारको जातीय भेदभाव सहन
म पनि बाध्य छैन।
दलित समुदायको असन्तुष्टि यही त हो। उनीहरू पनि त्यही त भनिरहेका छन्– 'यहाँ हामीचाहिँ बाध्य भयौँ ऐनअनुसार नै जातीय भेदभाव सहन। हामीलाई जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन १९१० मै किटान गरियो, पानी अचल जात भनेर।' यो समाजमा बाहुनलाई दलितले जस्तै जातीय भेदभाव सहन कसले बाध्य बनायो र कविले ऐनको हवाला दिँदैछन्?
'म पनि बाध्य छैन' भनेको 'तिमी पनि बाध्य छैनौ' भनेको हो। तर दलितलाई त कानुन बनाएरै भेदभाव सहन बाध्य पारिएको थियो। कविताले उठाउनुपर्ने विषय त यो होला नि!
लगत्तै उनी लेख्छन्–
तिम्रो घरमा नछिरेको धेरै भयो
तिम्री आमाले पकाएको नखाएको धेरै भयो
यसको अर्थ
तिम्रो अचेलको शब्दकोशले अर्कै लगाउँछ भने लगाओस्
वर्षौं भयो
मैले मेरी आमाले छोएको पनि
खान पाएको छैन।
यो त झन् मुद्दालाई नै बंग्याउन खोज्ने चेष्टा भयो। 'मेरो घरमा आएर खाएनौ' भनेर गुनासो गरेकै होइन नि। 'तिमीले खाने कुरा दलितले छुँदा अशुद्ध हुन्छ भन्ने सोँच्छौ भने त्यो हटाउ' पो भनेको हो त।
उनी लेख्छन्–
अस्वीकार गरेर पुर्ख्यौली विरासत
म उभिएको उभियै छु तिमीहरूकै कित्तामा
यो त ठीक हो। हामीले पनि भनिरहेका छौँ, दलित मुक्तिको आन्दोलनमा गैरदलितहरूको पनि सहभागिता थियो, छ र सधैँ भइरहनुपर्छ पनि।
तर, कवि अगाडि लेख्छन्–
मेरा बाउबाजेले
तिम्रा बाउबाजेले छोएको खाएनन् भन्दैमा
तिमीसँगै बसेर खाँदै गरेको गाँसमा
'नुन चर्को रहेछ' भन्न पनि नपाउनु मैले?
यो पंक्तिले चाहिँ दलित आन्दोलनले कविलाई कतिसम्म दिक्क बनाएको रहेछ भनेर अड्कल गर्ने सुविधा प्रदान गर्छ। नत्र यो स्तरको कुरा गर्नुको तुक के हो त? 'हामीसँग बसेर खाँदा नुन चर्को रहेछ भन्न समेत पाउँदैनौँ' भनेर आजसम्म दलित आन्दोलनले कतै भनेको छ?
उनी लेख्छन्–
पुस्तौँपुस्ताका कुनै सदस्यले
कुनै दिन गरेको कुनै अपराधको
सजाय भोग्न
यो देशको सार्वभौम कानुनअनुसार
म पनि बाध्य छैन
कविले के कुरालाई सजाय भोग्नुपरेको भनेर बुझेका छन्? हिजो मेरा पुर्खालाई तिम्रा पुर्खाले छुवाछुत गरे भनेर कसैले पनि तिनका सन्ततिको विरुद्धमा मुद्दा दर्ता गरेका छैनन्। कविज्यू, यो कुनै एक दिनको कुरा होइन, यो त हो वर्षौं वर्षको शोषणको कुरा हो। राज्यले कानुन नै बनाएर शोषण गरेको भएर नै अहिले दलितहरू यति पछाडि छन्। त्यसैले अब राज्यले आरक्षण मात्रै होइन, क्षतिपूर्ति सहितको विशेष व्यवस्थाको नीति अवलम्बन गर्नुपर्छ भन्नुलाई तपाईं सजाय मान्नुहुन्छ?
कविताको एउटा अंश यस्तो छ :
ओ मित्रवर!
असमानताका
अनेकन् खण्डहर मसँग पनि छन्
हेपिनु, थिचिनु र दलिनुका दस्ताबेज
मेरा पनि छन्
हो, अरु पनि हेपिएका छन्, अरु पनि थिचिएका छन् तर एउटा बाहुन हेपिनु र दलित हेपिनुमा फरक छ। अरु गरिब भएर हेपिए होलान्, तर दलित त मान्छे हुन नपाएर हेपिएको छ। र, यो हेपाई अरुले भोगेको भन्दा कति हो कति गुणा कहालिलाग्दो छ। त्यसैले हामी दुवै उत्तिकै शोषणमा छौँ भन्नु गलत हो।
म मान्छु, दलित मात्रै होइन, बाहुन–क्षेत्री पनि गरिब छन्। तर को कसरी गरिब भए? भन्ने कुरा नबुझेसम्म हामी सही विचार निर्माण गर्न सक्दैनौँ।
बुक वर्म फाउन्डेसनले पोखरामा गरेको नेपाल लिटरेचर फेस्टिभल– ०७२ मा एउटा सेसन थियो, जातको कथा। त्यहाँ लेखक आहुतिले भनेका थिए, 'सामान्य अर्थ राजनीतिक प्रक्रियामा जो पनि गरिब हुन सक्छ। जो पनि भूमिहीन हुन सक्छ। एकजना ब्राह्मण शिक्षामा पहुँच भएन भने त्यो जनरल सोसियो इकोनोमिक्स प्रोसेसले भएको हो। त्यो कुनै नियम बनाएर भएको होइन। तर, दलितलाई औपचारिक शिक्षामा जान नदिएको चाहिँ नियम बनाएर हो। दलितहरू भूमिहीन हुन पुगेको उसले जमिन राख्न पाउँदैन भन्ने नियम बनाएर हो। दलितहरूलाई त जमिनमाथि मात्रै होइन, दलित पुरुषलाई उसकी श्रीमतीमाथि पनि हक हुँदैनथ्यो। त्यहाँबाट भएको हो भूमिहीन, त्यहाँबाट भएको हो गरिब।'
कविताले भन्छ, म पनि तिमीजस्तै श्रमजीवी मान्छे हुँ। हो, वर्गीय रुपमा हामी समान हौँला। तर एउटा गरिब बाहुन र एउटा गरिब दलितको पीडा उस्तै हो भन्नु बिल्कुल गलत कुरा हो। दलितहरू दलित भएकैले गरिब भएका हुन्। अझ महŒवपूर्ण कुरा के हो भने, वर्गीय आँखाले मात्रै हेरेर नेपालको दलित समस्या समाधान हुनै सक्दैन।
यहाँ तिमी र म उस्तै हौँ भनेर जसरी भनिएको छ, यसले 'अब अधिकारको कुरा उठाउन पनि छाड' भन्ने आसय राख्छ। यो कवितालाई ठीक मान्ने हो भने, दलित समुदायलाई हिजो राज्यले विभेद गरेको पनि होइन त्यसैले विशेष अधिकार दिनु पनि पर्दैन भन्नेमा सहमत हुनुपर्ने हुन्छ। र, यो कुराले दलित आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको छ।
प्रोल्लास यो समयको नाम चलेका कवि हुन्। उनले दलित विषयलाई ठीक ढंगले लेखिदिँदा यो समुदायलाई सामाजिक न्यायका लागि साथ मिल्छ। सिंगो समुदाय उनीजस्ता कविको साथ चाहन्छ।
प्रकाशित: २२ माघ २०७३ ०५:४२ शनिबार