पहेँलो बत्ती बल्यो। ऊ रातो नबल्दै बाटो काट्न चाहन्छ। तर, नसक्ने निश्चित देखेपछि रोकिन्छ।
बाटोको नियम त सजिलै हुन्थ्यो। ऊ नियमको बाटोमा छ आज। यात्राको नियम त उसले धेरै पटक तोडेको पनि छ। तर, वचन तोड्न सक्दैन। वचन आफूले बनाएको नियम हो। यसलाई पालन गर्नु कानुनका नियमभन्दा कति कठिन छ बल्ल बु‰दैछ।
'संकेत र कानुन बाटोका नियम हुन्। नियमको बाटोमा पहेँलो नबलिकनै रातो बत्ती बल्न सक्छ। त्यसपछि कहिल्यै हरियो बलेन भने पनि अघि बढ्न पाइँदैन,' एकैछिअघि यति भनेर रागिनी अगाडि बढेकी थिई। रौनक 'ग्रिन सिग्नल'को प्रतीक्षामा रातो बत्तीमै हेरिरहेको छ, आँखा पनि नझिम्क्याइ। नियमको रातो बत्तीले उसको पाइला रोकिए पनि मनको उडान बतासिएको छ। हुरी चलेको दिन चुँडिएको चंगाजसरी।
रागिनीले ढोका बन्द गरेको दिनदेखि घन्टी नबजाउने कसम खाएको थियो रौनकले। सताउन हैन, रमाउनको लागि यात्रा गर्ने सम्झौता थियो। सम्बन्धको आयु सकिएको जनाउ घन्टी बजाएपछि सबालजबाफ नगर्ने सहमति तोड्न सकेन रौनकले। ऊ मौन भयो। रागिनीले नै बोली– 'नियमको बाटोमा पहेँलो नबलिकनै रातो बत्ती बल्न सक्छ। त्यसपछि कहिल्यै हरियो बलेन भने पनि अघि बढ्न पाइँदैन।'
...
पुच्छर निमोठ्नेहरू उसलाई गतिशील देख्थे, त्यसैले चुप लाग्थे। ऊ पनि 'पुरुषार्थ'को राजमार्गमा 'स्पिड लिमिट' नगरी यात्रारत् थियो।
बाटो फराकिलो थियो। यात्रुहरू खचाखच थिए।
'तिमी अघि बढ्न जन्मिएका हौ। पछाडि फर्किएर कहिल्यै नहेर्नु,' अग्रजका यस्ता आवाजले उसलाई लखेटी रह्यो। ऊ कुदिरह्यो। यो बाटो कहाँ जाने हो, ऊ किन यात्रारत् छ– कहिल्यै सोधेन। उसलाई थाहा थियो केही सोधे मुखाले भन्थे, नमाने विद्रोही, दायाँबायाँ लागे पथभ्रष्ट र उनीहरूले कोरेको बाटो पच्छ्याए स्याबास्। स्याबासीका लागि उसले धेरै माइल पार गर्यो।
'यति सुन्दर बाटो संसारमै छैन। यात्रालाई यहाँजस्तो तेज तिमीले कहीँ बनाउन सक्दैनौ। आफ्नो गतिशीलताको उच्च प्रदर्शन गर,' जताततैबाट निर्देशन आउँथ्यो। उसले मानिरह्यो।
बाटो सोझो थियो, तर लक्ष्य अनिश्चित। दायाँबायाँ आँखा नदौडाउनु र पछाडि फर्केर नहेर्नु– यी दुई नियम पालन गरे दुर्घटनाको कुनै सम्भावना छैन भन्थे।
एकदिन अचानक उसलाई आफ्नो अन्त्यहीन यात्राको समीक्षा गर्न मन लाग्यो।
उपलब्धिको योगफल थियो हजारौँ माइल र प्रचुर थकाइ। यात्राको मात्रा असरल्ल छोडेर सहयात्रीहरू हराउँथे, कहिल्यै नफर्किने गरी। उसले औँला भाँच्यो, आफूले पार गरेको दूरी केही सहयात्रीको भन्दा निकै लामो थियो। फेरि, योभन्दा लामो यात्रा गरेर उसलाई उछिन्नेहरू पनि थिए।
'दूरीको रेकर्ड राख्नुमात्रै यात्राको उद्देश्य हो त?' एकछिन 'रेस्ट एरिया'मा थकाइ मार्दा अनायास उसको मगजमा प्रश्नको घन्टी बज्यो।
अचानक एकदिन यात्रारत् राजमार्गबाट 'एक्जिट' लिन मन लाग्यो उसलाई। नियमले तय गरेको राजमार्गबाहिरको संसार हेर्न मन लाग्यो। दायाँबायाँबाट नाकलाई लोभ्याउने गरी आउने सुगन्धको स्रोत जान्न मनलाग्यो। शरीरलाई शीतल बनाउने हावाको दिशा पछ्याउन मन लाग्यो। कर्णप्रिय धुनहरूमा ध्यान दिन मन लाग्यो। पट्यार लाग्दो यात्रामा कति एकोहोरो आँखा कुदाउनु? उसलाई यसो कर्के नजर घुमाउन मन लाग्यो।
तर, यात्राको नियमसम्मत चाहना थिएन यो। त्यसैले दबायो। चाहना पनि 'स्पि्रङ'जस्तो लाग्यो उसलाई। माथिबाट जति दबायो तलबाट उति नै प्रेसर दिने।
दबाबको प्रतिक्रियाले अन्ततः रौनकलाई 'एक्जिट' लिन बल दियो। एउटा सनातन यात्राबाट ऊ पाखा लाग्यो, एक्जिट नम्बर ३१ पछ्याउँदै।
बाटो सानो थियो, तर सुन्दर थियो। राम्राराम्रा फूल फुलेका थिए। नाकलाई लोभ्याउने सुगन्धका स्रोत त यिनै फूल रहेछन्। धित मरुन्जेल हेर्यो। त्यहाँ भमरा भुनभुनाइरहेका थिए।
अलि पर हेर्यो, देख्यो अन्त्यहीन आकाश। तल गाढा कालो, माथि सुन्तलाजस्तो पहेँलो, त्योभन्दा माथि नीलो। त्यो क्षितिज कहाँबाट सुरु भएर कहाँ टुंगिन्छ भेउ नपाए पनि त्यतै बत्तियो।
अलि पर पुगेपछि एउटी मृगनयानासँग उसको आँखा जुध्यो। त्यति सुन्दर आँखा उसले यसअघि कल्यिै देखेको थिएन। देख्नु पनि कसरी, उसका लागि तय गराइएको 'पुरुषार्थ'को यात्रामा यसरी अर्काको आँखामा आँखा जुधाउँदै त्यसको भाका पढ्ने अनुमति कहाँ थियो र! कसैसँग आँखा जुधिहाले कि भुइँमा हेर्थे कि मुन्टो बटार्थे।
तर, ती सुन्दरीले रौनकको आँखाबाट आफ्नो आँखा हटाइनन्, ओठ पनि टोकिनन्, लाजले गाला रातो पनि पारिनन्। बरु दाहिने आँखा झिमिक्क पारेर अघि बढिन्। आँखाले घायल पारेको कथा किताबमा मात्र पढेको थियो। त्यो घाउको चोट कहाँ र कसरी लाग्छ बल्ल बु‰यो। हृदयको पृष्ठभूमिमा गुन्जियो सुनेको तर नबुझेको एउटा गीत।
ऊ एउटा रमणीय बगैँचामा प्रवेश गरी। लेखिएको थियो– 'बिन्दास बगैँचा'। रौनक लोभिएर ती मृगनयनासँगै भित्र जान खोज्दा तगारो लाग्यो। 'प्रवेश निषेध' लेखिएको बोर्डले उसको मन खिन्न पार्यो। बोर्डबाट आँखा हटाउँदै ती सुन्दरीतर्फ हेर्यो। उसका नजर रौनकतिरै सोझिएका थिए। उसले फेरि बोर्डतिर हेर्दै ती युवतीतर्फ आँखा पुर्याउँदा सहयोगको याचना झल्किन्थ्यो। त्यतिखेर निरीह थिए युवतीका आँखा।
'तिमी बाटो बिराएर यता आयौ' उसको बोली पनि मीठो लाग्यो रौनकलाई।
'हैन जानीजानी, बाटो पट्यार लागेर' जवाफ फर्कायो उसले।
'तिमीलाई यहाँ प्रवेश गर्ने अनुमति छैन' आवाजको लबज यति लचिलो थियो कि निषेध पनि आमन्त्रणजस्तो मान्यो उसले।
'तर, रमाइलो रहेछ' रौनकले यति भनेपछि ऊ तगारोनजिकै आई।
'तिमी यहाँको रमाइलोमा भुल्न मिल्दैन। उताकाले थाहा पाए गतिछाडा भन्दै कारबाही गर्छन्। यताकाले देखे भने त खिसी गरेर टिक्नबस्न दिँदैनन्,' उसले सम्झाइ।
रौनकलाई थाहा थियो ऊ हिँडेको मार्गलाई अग्रजहरू 'पुरुषार्थ'को मार्ग भन्थे। धर्म, अर्थ, काम र मोक्षको मार्ग योमात्रै हो, दायाँबायाँ नलाग्नु भन्दै सचेत तुल्याउँथे। उसलाई यो पनि थाहा थियो आफूले 'एक्जिट' लिएको बाटोलाई काम, क्रोध, लोभ, मोह र अहंकारको भन्दै निन्दा गर्थे। निन्दामा सबैभन्दा चर्को आवाज हुन्थ्यो विजय शर्माको। आफ्ना इन्द्रियमाथि विजय प्राप्त गरेको भन्दै आफैले नाम फेरेका थिए उनले। अन्तर्यात्रा र स्वान्तसुखायको विषयमा खुब प्रवचन ठोक्थे। आफूलाई 'इन्लाइटेन' दाबी गर्दै अरुको यात्रा निर्देश गर्न आफै खटिएका थिए।
उसलाई अलिअलि विजयको डर लाग्यो। तर, नडराए जसरी भन्यो, 'आइ त हालेँ, थोरै परिचय गराउ न यताको।'
'अलिअलि हेर्यौ भने लोभिन्छौ, पूरै डुब्यौ भने उत्रिन सक्दैनौ। साह्रै खतरनाक छ यहाँको आकर्षण। त्यसैले गइहाल,' उसले तर्साउन खोजेको रौनक झन् आकर्षित भयो।
'तिमीले चाह्यौ भने केको डर? केहीबेर यहाँको स्वाद लिन देऊ, त्यसपछि आफ्नो बाटो लागिहाल्छु नि, सुटुक्क,' अड्डी लियो उसले।
उसले यसपटक नाइँ भनिन।
'नाम के हो?'
'बिन्दास बगैँचा।'
'हैन, तिम्रो के!'
'ए मेरो पो,' दुवै हातले हाँसो छेक्दै भनी– 'रागिनी'।
'राम्रो रै'छ।'
'के?'
'बगैँचा।'
'ए मैले त म पो भन्ठानेको,' रागिनीको जवाफ सुनेर रौनक पनि हाँस्यो।
'केके मनपर्यो अरु?' निकै बेरपछि रागिनीले रौनकको प्रतिक्रिया जान्न खोजी।
'सौन्दर्य, सुगन्ध, संगीत, स्वाद र स्पर्श,' उसले बतायो।
'उता यस्तो केही हुँदैन?' उसले फेरि सोधी।
'हुन्छ' उसले मुन्टो हल्लायो।
'अनि?' उसले आँखा तिखो बनाइ।
'तर, ती सबै चिज पूर्वपरिभाषित छन्। सबैको दायरा तोकिएको छ। जव स्वाद र सौन्दर्य पनि अरुको परिभाषाका आधारमा जान्नुपर्छ र मान्नुपर्छ, भन त त्यहाँ कुनै रस हुन्छ? कुनै स्वतन्त्रता हुन्छ?'
'त्यो यात्रा छोडेर यहाँ बस्छौ, मसँग स्वच्छन्द भएर?'
रागिनीको प्रस्ताव मीठो सुनिए पनि फ्याट्ट बोल्न सकेन रौनक।
उसलाई आफ्नो अवस्था एउटा अंकुरको जस्तो लाग्यो। बीउको बलियो विशेषता उसले त्यागिसकेको थियो। एउटा सुरक्षित परिवेशबाट आफूलाई अलग गराएको थियो। अबका जोखिम र अप्ठ्यारा भर्खर बीउबाट टुसाएको अंकुरजस्तो मान्यो उसले। यसले नयाँ परिवेशका शिशिर सामना गर्न सक्ला के!
तै पनि भनिदियो– 'ल हुन्छ, म तिमीसँग सहयात्रा गर्न तयार छु।'
रौनकको निर्णय सुनेपछि रागिनीले भनि– 'त्यसो भए त्यो मार्ग परित्याग गरेको पत्र ल्याउ। मैले यहाँका अधिकारीलाई देखाउनुपर्छ।'
नियमको उरुङदेखि छुट्कारा पाउन हिँडेको ऊ फेरि अर्को नियमसँग सम्झौता गरेर यात्रा गर्नुपर्ने दोधारले झन् बित्यासमा पर्यो ।
केही समयको उठबसपछि नै रागिनी रौनकको परिबन्द बु‰न सक्ने भएकी थिई। रौनकले पनि रागिनीका सीमा जानेको थियो। रौनक जुन मार्गबाट आएको थियो त्यो मार्गमा यात्रारत् हुन नपाएको कुन्ठा थियो रागिनीको अनुहारमा । र, रौनक जसरी आफ्नो मार्गप्रति लोभिएको थियो त्यसले उसमा केही अहंकारको अंश थपिएको थियो। आफू हिँड्न नसकेको मार्गबाट कोही सुटुक्क छिरेको थियो र लोभिएको थियो। अनुमतिपत्र नभए पनि ऊ रौनकलाई लखेट्न चाहन्न भन्ने भाव उसका आँखामा देखिन्थ्यो।
पुरानो नियम तोड्ने र नयाँ नियम जोड्ने शर्तको दोधारसँग रौनकले संघर्ष गरिरहेका बेला रागिनीले नै समाधान निकाली।
'तिमी तिम्रै बाटो हिँड, म नि मेरै बाटो हिँड्छु। दुईतिरकै मान्छेको आँखा छलेर भेटौँला, देखे भने बाटो छलिएछ भनौँला' रागिनीका आँखाजस्तै राम्रा कुराले गद्गद् भयो रौनक।
तर, रागिनीका केही शर्त अझै जीवित थिए।
जस्तै, यो सम्बन्धको मेसो कसैले पाउनु हुँदैन।
यो यात्रा कुनै पनि बेला अवरुद्ध हुन सक्छ, त्यतिबेला गला अवरुद्ध नहोस्।
यो सम्बन्ध दुवै मार्गीको 'मार्गचित्र'विरुद्धको छ। त्यसैले साह्रै सजग रहनू।
आफूले बनाएको नियम पालना गर्न तयार हुनुपर्छ, आनाकानी गर्न पाइने छैन।
रौनकले सबै शर्त स्वीकार गर्यो।
'तिमी साह्रै ज्ञानी छौ' भन्दै रागिनीले अंकमाल गरी।
त्यो दिन रागिनीले निर्वाध आफ्ना सुगन्धका स्रोत खोली। रौनकले लामो श्वास लियो।
रहस्यका लोकहरू देखाइ। उसले आँखा झिमिक्कै गरेन।
उसले मीठामीठा गीत गाइ। रौनकले कान ठाडो पारिरह्यो।
त्यहाँका एकसय एक परिकार चखाइ। उसले जिब्रो फड्कार्यो। उसले बल्ल थाहा पायो, खासमा जुठो पो मीठो हुँदो रहेछ।
रौनकले स्पर्शको चाहना गर्दा रागिनी उदार भइन।
'त्यताका अरु मान्छेजस्तै नकचरो नबन न! यत्तिकै लागि मरिमेट्ने?' रौनकले उसका कुरा सजिलै मान्यो। तर, 'उताका अरु मान्छे' भन्ने शब्दले भने अप्ठ्यारोसँग चिमोटिरह्यो।
'के उताका अरु मान्छे पनि यता आउँछन्? र, अरु मान्छेसँग पनि उसले यस्तै गर्थी जुन मसँग गरी!' तनाव विर्सजन गर्न गएको रौनक झन् थपिएसरि छट्पटायो।
तैपनि रागिनीसामु खुसीको मुस्कान छर्दै फेरि मूलधारमा मिसियो, सुटुक्क।
'तिमीले अँगालेको मार्ग पुरुषार्थको हो। धर्म, अर्थ, काम र मोक्ष यसका उपलब्धि हुन्,' हाम्रो यात्राबारे विजय सम्झाउँदै थिए।
'अनि त्यो नि?' उनले सधैँ उपेक्षा गर्ने 'त्यो' बाटोबारे प्रश्न गर्दा रौनकलाई डर लागेको थियो हप्काउँछन् कि भनेर।
तर, उनले त्यसो गरेनन्।
'त्यो काम, क्रोध, लोभ, मोह र अहंकारको बाटो हो। त्यहाँ दुखैदुःख छ' उनले प्रकाश पारे।
रौनक स्वयं दुई बाटोका यात्री भइसकेको थियो। उसले दुवै मार्गका सुख–दुःख मनमनै केलायो।
कामलाई दुवै मार्गले अपनाएको थियो। तर, फरकफरक अर्थ लगाएर। आफूलाई पुरुषार्थको हिमायती ठान्नेहरू कामलाई प्रजनन्का निम्ति अपरिहार्य बताएर त्यसमा लिन हुन्थे। उनीहरूले सांसारी बताउँदै आएकाहरू कामलाई मनोरञ्जन मानेर त्यसमा संलग्न हुन्थे। बहाना जे बनाए पनि बासना दुवै मार्गीका लागि प्रिय थियो।
रौनक भने 'पुरुषार्थ'को मार्गमा हिँड्दै 'सांसारिक सुख' लिन पल्केको थियो।
'तिमीलाई के इच्छा छ?' एकदिन रागिनीले प्रफुल्ल मुद्रामा सोधी। मानौ जे मागे पनि तथास्तु भन्न सक्ने देवीको अवतारमा छे ऊ।
'इच्छा त केके छ केके नि! तर, तिमी रिसाउँछौ भन्दिनँ,' एकैचोटी केन्द्रमा प्रवेश गर्न रौनकलाई उचित लागेन।
'भन के? आज तिमीले जेजे भनेपनि रिसाउँदिनँ। सम्झ यो शून्यसमय हो। अहिले भनेका र गरेका कुनै पनि चिजको रेकर्ड भविष्यमा रहँदैन ल!' उसैले यति मौका दिएपछि रौनक हौसियो।
'हेर, म त निषेधित क्षेत्र तोडेर आएको यात्री हुँ। तिमीमा प्रवेश गर्न चाहन्छु।'
'गर।'
कर्तव्यका लागि गरिने र प्रेमका लागि गरिने 'काम'को अनुभूति सँगालेर रौनक फर्किन खोज्दै थियो। रागिनीले केही आग्रह गरी।
'हामीले सही ठानेर गरेको काम दुवैतिर राम्रो मान्दैनन्। तिमीलाई त झन् पथभ्रष्टको ट्याग लाग्न नि सक्छ। त्यसैले यो सम्बन्धलाई यहीँ अन्त्य गर्नु उचित होला।'
रागिनीले ढोका बन्द गरेको दिनदेखि घन्टी नबजाउने कसम खाएको थियो रौनकले। सताउन हैन, रमाउनको लागि यात्रा गर्ने सम्झौता थियो। सम्बन्धको आयु सकिएको जनाउ घन्टी बजाएपछि सबालजबाफ नगर्ने सहमति तोड्न सकेन रौनकले।
ऊ मौन भयो।
रागिनीले नै बोली– 'नियमको बाटोमा पहेँलो नबलिकनै रातो बत्ती बल्न सक्छ। त्यसपछि कहिल्यै हरियो बलेन भने पनि अघि बढ्न पाइँदैन।'
...
रौनकलाई 'ग्रिन सिग्नल'को ठूलो आश छ। तर, जति प्रतीक्षा गरे पनि रातो बत्ती हरियो हुँदैन। रागिनीले अघि नबढ्न चेतावनी दिएर गए पनि ऊ चुपचाप फर्कन सक्दैन। दुनियाँको आँखा छलेर रागिनीसँग आँखा मिलाउन पल्केको थियो। अब त रागिनीलाई हेर्न पनि रागिनीकै आँखा छल्नुपर्ने कठिनाइ सम्झेर ऊ दुःखी छ। तर, हार मान्दैन। उसले ढोका बन्द गरेपछि खोपाबाट चिहाउन थाल्छ। जे देख्छ त्यसले अनुहारका रंग उड्छ रौनकको।
स्वभाव र सौन्दर्य उस्तै छन् रागिनीका। फेरिएको छ मात्र पारखी। बिन्दास बगैँचाका सबै चिज यथावत् छन्। केवल रौनकको ठाउँमा आएका छन् विद्वान् विजय शर्मा।
आफ्नो सम्बन्धको बोनस स्वरूप मिलेको इर्ष्या, अहंकार र क्रोध बोकेर ऊ हतारहतार 'पुरुषार्थ'कै मार्गमा मिसिन्छ। केहीबेरमै शर्माजीको उपदेश सुरु हुन्छ।
'त्यो काम, क्रोध, लोभ, मोहको मार्ग...' मच्चीमच्ची प्रवचन दिन्छन् शर्माजी। सरमको सानो धर्सो पनि छैन उनको अनुहारमा।
प्रकाशित: २३ पुस २०७३ ०४:१९ शनिबार