अनुपम रोशी
एक बोतल कीटनासक! एउटा रिभल्बर! धारिलो चक्कु। सिलिङ पंखा टुल तथा डोरी सबै उपकरण छन्। कसरी मर्ने म सोचिरहेको छु। किनकि बाँच्नका लागि कुनै आश अब बाँकी छैन।
–यो रुख, पहरा, तल बगिरहेको नदी, यी छाप्राहरू, त्यो गाउँ, यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मान्छेले आफ्नो शरीर सुम्पेकै छन्। कोही झुण्डिएर। कोही हामफालेर। कोही बिष पिएर आफूलाई विश्राम गराएका छन्! धेरैको रगत बगेको छ यो ठाउँमा। यो आत्महत्याको जंगल हो जहाँ तपाईं एक्लो यात्री होइन। मभित्रको अज्ञात स्तनधारीले मलाई सुनाइरहेको छ। म मौन भएर उसको कुरा सुनिरहेको छु ।
–आउनुस् एक पटक यो बाटो भएर जाउँ। उसले मलाई निर्देशन गर्छ, म उसको पछि लाग्छु।
–यहाँ तपाईंजस्तै आत्महत्याका रोगीहरू भेटिन्छन्, तपाईंले आफ्नो परिचय दिन सक्नुहुन्छ। उनीहरू पनि यतिबेला तपाईंजस्तै मर्ने कुरा सोचिरहेका छन्। उसले भन्छ।
आत्महत्याको जंगल! नाम सुनेर म झस्किन्छु! हो म मर्न चाहन्छु, तर आत्महत्या! यो शब्दसँग मलाई घोर वितृष्णा छ।
–तपाईं अब यो बाटो भएर हिँड्नुस! उसले ठाडो निर्देशन गर्छ। म त्यो जंगलको निशर्त यात्रा गर्न निस्किन्छु।
चारैतिर अँध्यारो छ। मध्यरात भएकाले कुकुर पनि भुक्न छोडेका छन। शून्यताले चारैतिरबाट घेरेको छ।
यस्तो शून्यतालाई कसरी आत्महत्याको जंगल भन्न सकिन्छ? म सोच्छु। आत्महत्याको जंगल त कोलाहलमय हुनुपर्ने! जिन्दगीका चिच्याहट र पीडाका स्वर गुन्जायमान हुनुपर्ने! मलाई निर्देशन गर्ने त्यो अज्ञात स्तनधारीले मेरो प्रश्नको उत्तर दिँदैन बस् एकोहोरो निर्देशन गरिरहन्छ।
म विष्णुदेवीको पूल तरेर इच्छा वृषेश्वर हनुमान घाटतिर ओर्लिन्छु। हनुमान घाटमा खोलाका ढुंगा मौन देखिन्छन्। ढुंगाका कापमा अड्केका फोहोरका चाङहरू केही विशिष्ट लाग्छ। विशिष्ट यसकारण कि निर्वाधरूपमा यो खोला र यी ढुंगाका चपरी हाम्रो अधिकार क्षेत्र हुन् भनेर उनीहरूले स्थान जमाएका छन्। देब्रेपट्टि एउटा डर लाग्दो पहरा छ। दाहिनेपट्टि गहिरो छाँगो, जहाँ दिउँसो प्रदूषित पानी बगिरहेको देख्न सकिन्थ्यो।
उसले मलाई माथि पहरातिर उक्लिन संकेत गर्छ। म जान्दिनँ त्यो पहराबाट देखिने संसार सुन्दर छ कि कुरूप। तर, म उसको निर्देशन पालना गर्छु र पहरातिर लम्किन्छु।
पत्रे चट्टानका पत्रहरू बाटोमा तेर्सो परेका छन्। जसमा जतनसाथ टेकिएन भने सीधै तल खोलामा पुगिन्छ। म सम्हालिँदै अगाडि बढ्छु। केही माथि बाटोमा मैले कसैलाई उभिएको देख्छु।
–यो मध्यरातमा अरु पनि छन् जो योे जंगलको यात्रा गर्न आउँछन्? आश्चर्य लाग्छ। म उसको नजिक पुग्छु। नजिक पुगेपछि थाहा हुन्छ ऊ एउटी केटी थिई। भर्खरकी केटी! झोक्राइरहेकी। यो सुनसान ठाउँमा उसलाई देखेर म छक्क पर्छु। तर, ऊ छक्क परेजस्तो मलाई लाग्दैन। किनकि उसले मलाई देखेर कुनै प्रतिक्रिया जनाउँदिन।
–तपाईं...? म अस्पष्ट प्रश्न गर्छु? ऊ बोल्दिन। उसको मौनतालाई अरु डिस्टर्ब गरुँ कि नगरुँ? म दोधारमा पर्छु।
–ओके...इ...! बिस्तारै फुसफुसाउँदै म अगाडि बढ्न थाल्छु।
–म निरीहता..मलाई मर्नु छ! ऊ भन्छे। म रोकिन्छु।
–मर्न कि आत्महत्या गर्न? मैले सोध्छु।
–कुरा एउटै हो। उसले भन्छे।
–मर्न चाहनु र आत्महत्या गर्नु कसरी एउटै हुन्छ?
–समय नआइ मर्न चाहनु नै आत्महत्या गर्नु हो। यसमा के विवाद गर्नु। उसले भन्छे।
–हुन त हो! बाई द वे तपाईं किन मर्न चाहनु हुन्छ? म ऊ भएतिर नजिकिँदै सोध्छु?
ऊ मौन हुन्छे। तल खोलाको ढुंगामा अड्किरहेका फोहोरतिर टोलाउँछे। उसलाई लागेको हुनुपर्छ, कारण बताउनुको कुनै अर्थ रहने छैन।
–इट्स ओके...इ... भन्न नचाहनु भएको हो भने कुनै जबरजस्ती छैन। तर, भन्नु भए तपाईं कसरी मर्दा ठीक हुन्थ्यो सल्लाह गर्न सक्थ्यौँ भन्दै म पुनः उकालो चढ्न लम्किन्छु।
–म मेरी आमालाई घृणा गर्छु! उसले एकाएक सुनाउँछे। अगाडि बढेको मेरो पाइला रोकिन्छ। म फर्केर उसको नजिक पुग्छु।
–आमालाई घृणा? सोध्छु।
–हो। आई हेट माई मम! उसले फेरि भन्छे।
–बट ह्वाई? मैले सोध्छु।
–छन् केही कारण।
–तपाईंलाई थाहा छ कि छैन तपाईंको मृत्युमा सबैभन्दा बढी रुने तपाईंकी आमा नै हुनेछिन्। मैले भन्छु।
–सो ह्वाट! रोउन्–नरोउन् मलाई कुनै चासो छैन। आई हेट मम। ऊ पुनः आमाप्रतिको घृणालाई लिएर त्यसरी नै प्रस्तुत हुन्छे ।
–कस्तो अजिब हुनुहुँदो रहेछ, के जन्म दिने आफ्नी आमालाई घृणा गर्न सकिन्छ?
–नेभर, जन्म दिने आमालाई त म कुनै पनि अवस्थामा घृणा गर्न सक्दिनँ।
–फेरि के भयो त? भन्नुहुन्छ आमालाई घृणा गर्छु!
–मैले मेरी जन्मदिने आमालाई होइन क्रूर शासकजस्तो उनको आवेगलाई घृणा गर्छु। किनकि मेरो आत्महत्याको कारण उनको त्यही आवेग हो।
–के भएको थियो त्यस्तो जसले जीवन त्याग गर्ने अवस्थामा पुर्यायो?
–उनी मेरो विश्वासलाई विश्वास नगर्ने आमा हुन्। तपाईंलाई थाहा छ उनले मेरो 'भर्जिनिटी डिस्ट्रोयड' गरेकी छन्। उसले सुनाउँछे।
–कस्तो अनौठो कुरा? म छक्क पर्छु।
–यही सत्य हो। मेरी आमा एक क्रूर शासक हुन्। म उनको अगाडि सधैँ आंशिक अपराधी महसुस गर्छु, जो म होइन।
–त्यस्तो कसरी सम्भव छ?
–कथा धेरै लामो छैन। म प्लस टु पढ्दै गरेकी केटी हुँ। तपाईं नै भन्नुस् स्कुल–कलेजमा साथीहरू हुन्छन् कि हुँदैनन्?
–त्यो त नहुने कुरै भएन।
–कहिलेकाहीँ साथीहरू घरमा आउँछन् कि आउँदैनन्?
–यार आउँछन् नि! त्यस्तो पनि कथा हुन्छ र!
–हो त्यो दिन मेरा केही केटा साथी मकहाँ आएका थिए। मेेरी आमा घरमा थिइनन्। हामी गफ गरेर बस्यौँ, चियाखाजा खायाँै। मस्तीमजाक गर्यौँ। र, बिदा भयौँ। हामीबीच कुनै त्यस्तो कुरा भएन जो हुनुपर्थ्यो। तर, हाम्रो एउटी छिमेकीले मेरी आमालाई त्यो कुरा सुनाइन् जो झुटो थियो।
मेरी आमाले मलाई विश्वासै गरिनन्। मैले होइन भनेर रोएँ, चिच्याएँ! अँहँ उनले मान्दैमानिनन्। मलाई भकुर्न थालिन्, कोपरिन्, चिथोरिन्, शरीरभरि लठ्ठी वर्षियो। मैले नो मम इट्स रंग भनिरहेँ। तर, मेरी आमाले विश्वास गर्दैगरिनन्। उसले बरर आँसु झारी।
थाहा छ अन्त्यमा वहाँले के गर्नुभयो? उसले सोधी, मैले 'छैन' सूचक टाउको हल्लाएँ।
सि अट्याक्ट टु अट्याक्ट मी...! यति भनेर ऊ रोकिइ... ऊभित्र एउटा दर्दनाक पीडाको ज्वार उठेको मैले महसुस गरेँ। मैले उसको हात समात्न उचित सम्झेँ। ऊ लामो स्वास फेर्दै एकछिन मौन भई र मेरो हातबाट आफ्नो हात अलग गरी।
–यु नो, त्यसपछि उहाँले मेरो यौनांगमा एउटा खुर्सानी कोचिदिनु भयो र हातमा समाइरहेको लठ्ठीले त्यसलाई 'पुस' गर्नुभो। म रगताम्मे भएँ। त्यतिबेलै मेरो भर्जिनिटी डिस्ट्रोयड भयो।
–तपाईंले कल्पना गर्न सक्नुहुन्छ? मैले कस्तो अनुभव गरेँ? उसले सोधी। म मौन भएँ, किनकि त्योबेला उसलाई कस्तो अनुभव भएको थियो त्यो मैले महसुस गर्न सक्ने कुरा थिएन।
–मलाई लाग्छ मर्दा पनि त्यति पीडा हुँदैन होला, जति त्योबेला भएको थियो। के एकछिन कसैसँग बस्दैमा सबैथोक हुन्छ?
–त्यो त एउटै बेडमा सुत्दा पनि हुँदैन। त्यसको लागि छुट्टै मानसिकता तयार हुनुपर्छ।
–यो कुरा कसले सम्झाओस् मेरी आमालाई। उनलाई त लाग्छ केटा साथीसँग बस्नु भनेको फिजिकल रिलेसन हुनु हो।
उफ् कस्तो भयानक कुरा, मलाई उसको कुरा सुनेर कम्पन छुट्यो।
–मेरो मन त्यतिबेलै मरिसकेको हो। अब यो देहमात्र बाँकी छ जसलाई त्याग गर्दा मलाई कुनै अप्ठेरो हुने छैन।
उसले आफ्नो कुरा सिध्याइ। मभित्र थुप्रै प्रश्न उब्जिन्छ।
त्यस्तो कसरी हुन सक्छ? एउटी आमाले आफ्नी छोरीलाई त्यस्तो आपराधिक सजायँ कसरी दिन सक्छे! मलाई विश्वास लाग्दैन। तर, उसले भनेको कुरा सम्भि्कन्छु।
'मेरी आमा मेरो विश्वासलाई विश्वास नगर्ने आमा हुन्, सो आई हेट माई मम।' त्यसपछि मैले उसलाई अविश्वास गरिरहन सक्दिनँ। मैले ऊतिर हेर्छु। उसको आँखाबाट मोतीका दानाजस्ता आँसु झरिरहेका थिए।
–यसमा तपाईंको आमाको गल्ती छैन। गल्ती हामीले बाँचेको समयको हो जो विषालु सर्प भएर ती आमाहरूको मनमा बास गरेको छ। तपाईंको असुरक्षाको महसुस एउटी आमालाई भएको हो। उनलाई डर छ कि तपाईंलाई कसैले प्रयोग गरेर छोडिदिने त होइन! कसैले तपाईंको कलिलो भावनामाथि खेलबाड गर्ने त होइन? त्यही डरले उनलाई त्यो आवेगमा पुर्याएको हुनुपर्छ। प्लिज कन्ट्रोल योर पेन! मैले उसलाई थपथपाउँदै भन्छु।
०००
आई हेट सेक्स, आई हेट म्यारिड लाइफ, आई टोटल्ली हेट योङमेन, एन्ड आई हेट द लाइफ...! दे आर चिटर, दे आर लायर... दे आर युजलेस... आई वाना डाइड! मध्यरातमा त्यो आवाज यसरी गुन्जिन्छ, पहरामा ठोकिएर त्यसको पराकम्पन हामीसम्म आइपुग्छ ।
सुनसान रातमा युवतीहरू यो आत्महत्याको जंगलमा भेटिँदै थिए।
–मलाई बाँच्नु छैन अब। म मर्न चाहन्छु। ऊ कराउँदै हिँडिरहेकी थिई। उसको बाटोमा हामी पनि उभिएका थियौँ। सायद उसलाई पनि त्यो अज्ञात तŒवले यो पहराको टुप्पोमा पुग्न निर्देशन गरेको थियो।
–को हौ तिमीहरू? किन मेरो बाटोमा उभिएका छौ? हिँडिरहेको बाटोमा हामीलाई उभिएको देखेपछि उसले कराउन छाडेर हामीलाई सोध्छे।
–हामी तपाईंकै सहयात्री हौँ। वि अल सो वाना डाइड! सो कमन, जोइन अस्... हामी मिलेर मृत्युलाई इन्जोय गरौँ! म भन्छु।
–मेरो कुरा सुनेर ऊ स्थिर हुन्छे। यस्तो लाग्छ मनमनै उसले आत्महत्याको योजना परिवर्तन गरिरहेकी होस्!
–के सोच्नु भो? कम्तीमा हामी सँगै मरौँ न! अँ त्योभन्दा अगाडि हामी डिस्कसन गरौँला कि हामी कसरी मर्दा उपयुक्त हुन्छ!
–मलाई मृत्युको डिस्कसन गर्नु छैन। मेरो लोग्ने चिटर हो। घटिया कुकुर हो। युजलेस एनिमल हो। तिमीहरूलाई थाहा छ, मैले ऊसँग परिवारविरुद्ध गएर लभ म्यारिज गरेकी हुँ। तर, ऊ नपुंशक निस्कियो। फेरि पनि मैले उसलाई प्रेम गरेँ। बट हि चिट टु चिट मी। उसले बाहिर केटी राखेको छ। अब मबाट स्यटिस्फाइड हँुदैन रे! खुलेआम भन्छ म बाहिर सेक्स गर्छु। मलाई तिमीसँग मन भरियो। ऊफ् म के गरुँ? मलाई बच्चाको रहर थियो। टेस्टट्युब बेबीको लागि कति सम्झाएँ। कहिल्यै मानेन। अरुको शुक्राणुबाट जन्मिने बच्चालाई म हेट गर्छु भन्यो! तर, आफूचाहिँ सधैँ बाहिर अरुसँग सुतेर आयो। मैले त्यस्तो नपुंशकलाई प्रेम गरिरहेँ। त्यसले मेरो मनलाई पलपल मारिदियो। अब मसँग यही शरीरमात्र बाँकी छ। यसलाई बचाउनुको कुनै अर्थ छैन। त्यसैले म मर्न चाहन्छु। ऊ रुन थाली।
–किन रोएको त मर्ने बेलामा? रुनुको अर्थ हो तपार्इं मर्न चाहनु हुन्न। किनकि तपाईंलाई डर छ। आफू मरेपछि उसले त्यो केटीलाई बाहिर होइन तपाईंको घरमा ल्याउने छ। तपाईं सुतेको बेडमा सुताउने छ र त्यो सब गर्ने छ जो हजुर सोच्न पनि सक्नु हुन्न। म भन्छु।
'नेभर' म त्यो सब हुन दिन्नँ। म उसलाई मारिदिन्छु।
उसलाई मार्नका लागि त तपाईं बाँच्नुपर्यो नि! त्यसपछि ऊ रोकिन्छे। र, हामीसँगै हिड्न थाल्छे। अब हामी तीनजना सँगै हुन्छौँ।
००
–म लाछी हुँ, निकम्मा हुँ, फेलियर हुँ। मलाई मर्नु छ।
हारेको मानिससँग जिन्दगी बिताउन सबलाई कठिन हुन्छ। मैले कति दुःखले पढेको हुँ? कति संघर्ष र मेहनतले त्यो जागिर खाएको हुँ। तर, अब त्यो संघर्षको कुनै मूल्य छैन। मलाई बहिष्कार गरियो। शक्तिसम्पन्न एउटा झुण्डले मलाई नालायक घोषित गर्यो। म बेरोजगार भएँ। अब म कसैको इच्छा पूरा गर्न सक्दिनँ। यस्ता प्रत्यक्ष अपमानले मेरा इन्द्रिय निष्त्रि्कय बन्दै गएका छन्। मेरी स्वास्नीले मेरा तिनै इन्द्रियलाई घृणा गर्छे। म मर्न चाहन्छु। एउटा युवक देखा पर्छ।
हामी मौन हुन्छौँ। उसले मसँगै उभिएका निरीहता र उक्त युवतीलाई देख्छ।
प्लिज ब्रो जोइन अस्! हामी तपाईंकै सहयात्री हौँ। म भन्छु। ऊ अलमलिन्छ। उसलाई लागेको हुनुपर्छ मृत्युका सहयात्री पनि हुन्छन्?
हो हामी मृत्युका सहयात्री नै थियौँ। हामी सबै मर्न चाहन्थ्यौँ। हाम्रो चित्कारमा वर्तमानको क्रन्दन थियो। हामीले बाँचेको युग 'इको भ्वाइलेन' भएर गुञ्जिइरहेको थियो। त्यो बेरोजगर सर्टिफिकेटको चित्कार। पासपोर्टको लाइनमा उभिएका परदेशी सपनाहरूको चित्कार। हामी यही मुलुकका प्रतिनिधि पात्र थियौँ! र, आत्महत्याका गम्भीर विरामी!
यसैगरी थपिँदै गएको मृत्युको भीड हामीसँग थियो। युवा, युवती, बूढा, बूढी, प्रौढ सबै उमेरसमूहको बेजोड सहभागितामा मृत्युको सहयात्रा हुँदै थियो।
हामी त्यो पहरा उक्लिँदै थियौँ। र, त्यसको टाकुरामा पुग्नै लागेका थियौँ। एकाएक झलमल्ल उज्यालो पोखियो र एउटा रंगिन उपत्यका त्यहाँ देखा पर्यो। आत्महत्याका रोगीहरू एकाएक दौडिन थाले। अहम्, पीडा र लालचको राक्षस फेरि जुर्मुरायो।
प्रकाशित: २ पुस २०७३ ०५:०९ शनिबार